शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली कला–संस्कृतिमा लोभिएका चिनियाँ कलाकार

मङ्गलबार, १० वैशाख २०७६, १३ : ३३
मङ्गलबार, १० वैशाख २०७६

–नारायण ढुङ्गाना 

काठमाडौँ– धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा विविधतायुक्त मुलुक नेपालको मौलिकतामा विदेशी पर्यटक औधी रमाउँछन् । 

अध्ययनका लागि होस् या घुम्नका लागि विदेशी नागरिकको आकर्षण नेपालमा छ । त्यस्तै आकर्षणले अहिले १८ जना सम्मिलित चिनिया चित्रकारको एक समूह नेपालका पुरातात्विक क्षेत्रमा रमाइरहेको छ । नेपाली कला, संस्कृति, रहनसहन र प्राकृतिक छटाले उनीहरुलाई लोभ्याएको छ ।

मन्दिरै–मन्दिरको शहरका रुपमा परिचित काठमाडौँ उपत्यकाका कला र संस्कृतिलाई उनीहरुले क्यानभासमा उतारेका छन् । प्यागोडाशैली र कुँदिएका टुँडाल तथा आकर्षक भौतिक संरचनाले चिनियाँ चित्रकारलाई मुग्ध पारेको छ ।  ‘हामीलाई नेपाली कलाले औधी तानेको छ, धेरै देशमा पुग्यौँ तर यहाँको मौलिकता र रहनसहन साह्रै मन पर्यो, नेपालीहरुको सहयोगी भाव देखेर गर्वको महसुस भइरहेको छ’, चिनियाँ टोलीका प्रमुख चु चेङ याङले भने । 

नेपालीको अनुहार चमकदार हुनुका साथै यहाँको पोशाक निक्कै आकर्षक र मौलिक लागेको भन्दै याङले पुन नेपाल घुम्न आउने प्रतिक्रिया दिए । बुबाआमाको प्रेरणाका कारण ३० वर्षदेखि चित्रकारिता गर्दै आएका उनले यसपटक भक्तपुरका एक बटुवाको मुहार चित्र उतारेका छन् । आर्ट बनाउँदा निक्कै बेर बसेर स्थानीयले सहयोग गर्नु पनि ठूलो कुरा भएको उनले बताए । यस्तै उनले मौलिक कला र पुरातात्विक क्षेत्रमा जीवन्त तस्वीर पनि उतारेका छन् ।

नेपालको पशुपतिनाथ, स्वयम्भू, दरबार क्षेत्र, हिमशृङ्खला, पहाडी प्रकृति र संस्कृति, विश्व शान्तिका प्रतीक भगवान् गौतम बुद्धको जन्मथलो लुम्बिनी, पर्यटकीय क्षेत्र पोखरा, सौराहालगायत ठाउँमा घुमेर पर्यटक रमाउँछन् । 

चिनियाँ चित्रकारले पनि काठमाडौँ उपत्यका र पोखराको वातावरण तथा धार्मिक सांस्कृतिक क्षेत्रमा पुगेर प्रत्यक्ष अनुभव लिँदै कुची चलाएर क्यानभासमा नेपाली कला र संस्कृति भरे । चिनियाँ चित्रकारको समूहका ६४ वर्षीय मा क्वी से पनि १४ वर्षदेखि चित्र बनाउँदै आएका छन् । यसपटक नेपाली कलालाई चिनियाँ कागजमा रङ्ग्याउन पाउँदा बेइजिङका क्वी से औधी खुसी भए । 

बौद्धमा महिला पूजाआजाका लागि तयारी अवस्थामा रहेको जीवन्त दृष्यलाई क्यान्भासमा कैद गरेका क्वी सेले भने, ‘चीनमा पुगेर नेपाल चिनाउँदै चित्रकला प्रदर्शनी गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको छ ।’ उनीहरुसहित नि पियोङ, मा क्वी से, वाङ्ग क्वी जिङ्ग, सुयोङ्ग चेन, म्यागु से, ग्यु लङ, यु ग्वाङ्ग स्याङ, च्युङ स्यु मिङ, लि जिङ ज्याङ, लि मीलगायतका चित्रकार सहभागी छन् । उनीहरुलाई अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एन वी गुरुङले सहयोग गरिरहेका छन् । 

उनीहरुले मौलिक कला, रहनसहन, मुहार चित्र, महिला र पुरुषका दैनिक क्रियाकलापसम्बन्धीका चित्र तथा दृष्य उतारेको अध्यक्ष गुरुङले बताए । चिनियाँ चित्रकारलाई अङ्ग्रेजी र नेपाली दुवै भाषा आउँदैन । कसैसँग कुरा गर्नुपर्दा मोबाइलमा भएको सफ्वेयरमा चिनियाँ भाषा टाइप गर्छन् । 

भरपर्दो सञ्चारको माध्याम वी च्याट छ । सफ्वेरमार्फत रुपान्तरण गरेर कुराकानी हुन्छ । दश दिन अघिदेखि उनीहरुको दिनचर्या यसैगरी बितिरहेको छ । नेपालका मौलिक, पुरातात्विक र ऐतिहासिक महत्वका क्षेत्रमा पुगेर उनीहरुले चित्र बनाएका छन् ।

यो अवधिमा उनीहरु भक्तपुर, नगरकोट, पोखरा, पाटन, हनुमानढोका, स्वयम्भू, पशुपतिनाथ घुमेर चित्र बनाएका छन् । बनाएका चित्र नेपालमै र चीनमा समेत प्रदर्शन गर्ने योजना रहेको चित्रकारले बताएका छन् । नेपालमा बनाएका चित्रलाई सङ्ग्रह गरेर राख्ने उनीहरुको योजना छ ।

एक देशका चित्रकार अर्को देशमा गएर काम गर्दा दुई देशबीचको सांस्कृतिक सम्बन्ध विस्तार हुने र कला पर्यटनमा टेवा पुग्ने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप