शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको ७७ जिल्लामा नेतृत्व: असन्तुष्टिलाई मिलाउन नेताहरुले दिए यस्तो सुझाव (भिडियो)

सोमबार, ०९ वैशाख २०७६, १८ : ४५
सोमबार, ०९ वैशाख २०७६

काठमाडौं– सोमबार काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७० औं स्थापना दिवस मनाएको छ । अघिल्लो बर्ष यतिबेलासम्म फरक–फरक दलको अस्तित्वमा रहेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले गत जेठ ३ गते पार्टी एकता गरेका थिए । पार्टी एकतापछि सांगठनिक संरचनालाई अगाडि बढाउन नसकेको सो दलले ७७ जिल्लाका अध्यक्ष र सचिवको विवरण सोमवार सार्वजनिक गरेको छ ।

 नेकपाको आइतबार बसेको सचिवालय स्तरको बैठकले जिल्ला तहको संगठनको संरचना तयार पारे पनि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएको बताइएको छ । सोमबारको कार्यक्रममा पनि उनी एकछिन बसेर बाहिरिएका थिए । यसबारेमा पार्टीभित्र असन्तुष्टि भए त्यसलाई मिलाएर लैजान सकिने कार्यक्रममा भेटिएका नेकपाका नेताहरुले बताएका छन् । 

फलामे ढोका पार गर्योः अग्नि सापकोटा

नेकपाका नेता एवं सांसद अग्नि सापकोटाले आजको दिन ऐतिहासिक भएको बताएका छन् । पार्टीले जिल्लाको नेर्तृत्व चयन गरेसँगै पार्टी एकताको फलामे ढोका पार गरेको उनले बताए । पार्टीभित्र पहिला केही असन्तुष्टि रहेपनि अहिले सर्वसम्मत निर्णय भएको उनले बताए । उनले भने–‘पहिले असन्तुष्टि रहेपनि अहिले सर्वसम्मत निर्णय भएको हुनाले यो सुखद छ । ढिलो भयो तर राम्रो भयो, सर्वसम्मत भएकोले यो अर्को ऐतिहासिक क्षण भएको छ ।’ नेता सापकोटाले अब ठूला–ठूला अभियान सञ्चालन गर्नुपर्ने बताउँदै पार्टी एकतामा भएको ढिलाईएको क्षतिपूर्ति पनि हुने उनको भनाई छ ।

७० बर्षपछि देश वामपन्थीमयः सूर्य थापा

नेकपाका अर्का नेता सूर्य थापाले पार्टी स्थापनाको ७० वर्षपछि देश वामपन्थीमय भएको बताए । आजको दिन कम्युनिष्टहरुको सफलताको गौरवमय दिन भएको बताउँदै उनले गत बर्ष भएको पार्टी एकताले कम्युनिष्टहरुको विजयलाई स्थापित गरेको बताए । उनले भने–‘दुँनियामा धेरै कम्युनिष्ट पार्टी बनेका छन्, तर यो तहको सफलता, जनताको म्यान्डेट, जनताको मतका आधारमा, लोकप्रिय मतका आधारमा सफलता हासिल गर्न सकेका छैनन् । तर नेपाली कम्युनिष्ट आन्दोलन ती सबैका लागि एउटा गतिलो दृष्टान्त बन्न सफल भएको छ । यो असाध्यै गौरवपूर्ण दिन हो ।’

उनले पार्टीमा असन्तुष्टि नरहेको दावी गर्दै माधवकुमार नेपालको समेत सहमतिमा सचिवालय बैठकको सर्वसहमतिले जिल्ला कमिटीको नेतृत्व तोक्ने काम गरेको बताए । पार्टी एकतामा हुने विषयहरु सचिवालयको बैठकबाट सर्वसम्मत निर्णय हुने भएकोले व्यक्तिगत  गुनासोको केही अर्थ नभएको बताए । 

आजको दिन सफलताको दिन : लेखराज भट्ट

 नेकपाका अर्का नेता एवं सांसद लेखराज भट्टले आजको दिन ऐतिहासिक दिन भएको बताए । उनले दुई पार्टीभित्रको फरक–फरक स्कुलिङका विचारलाई एक ठाउँमा ल्याउन एक बर्ष समय लागेको बताउँदै आज ऐतिहासिक सफलतामा पुगेको बताए । उनले पार्टीले अब केन्द्रीय सदस्यहरु, पोलिटब्यूरो सदस्य, स्थायी कमिटी र जिल्ला कमिटीलाई पूर्णता दिनुपर्ने उनले बताए । उनले भने– ‘तलसम्म वडा स्तरसम्म यसलाई हामीले पूर्णता दिएर अध्यक्ष प्रचण्डले भनेजस्तै एउटा अभियानमा जानुपर्छ । अब बाँकी एकताका कामहरु पूरा गरेर अभियानमा जान आवश्यक छ तर बाँकी काम पूरा नगरी एकताका काम पूरा हुन सक्दैन् ।’

असन्तुष्टि भए मिलाउनुपर्छ : प्रेम आले 

सांसद तथा नेकपाका अर्का नेता प्रेम आलेले नेकपालाई ठूलो पार्टी बनाएको दुई पार्टी अध्यय प्रचण्ड र केपी शर्मा ओलीलाई धन्यवाद दिए । उनले ७७ जिल्लाको नेतृत्व चयन गर्दा सहमतिमा भएको दावी गर्दै नमिलेको कुरा भए नेताहरुले मिलाएर लैजाने बताए ।

    पार्टी एकताको महत्वपूर्ण पक्ष मानिएको जिल्ला तहको संगठनमा दुई पार्टीबाट अध्यक्ष र सचिव पदाधिकारीको टुङ्गो लगाइएको हो । ४५ जिल्लामा तत्कालीन एमालेबाट र ३२ जिल्लामा तत्कालीन माओवादी केन्द्रबाट नेतृत्व चयन गरिएको छ । 

हेर्नुहोस भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप