केन्द्रीय संस्करण

भाषामा रोजगार मनोविज्ञान

person explore access_timeबैशाख ९, २०७६ chat_bubble_outline0

हामीलाई अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकाले जान्नै पर्ने छ । यद्यपि आजभोलि चर्चित सञ्चार माध्यममा समेत् नेपाली शब्दका साथै अङ्ग्रेजीका शब्दलाई जबर्जस्ती घुसाउँदै बोल्ने प्रवृत्ति भेटिन्छ । यो बडप्पनको ढोङ मात्रै हो । नेपालले वर्तमान सन्दर्भमा हेर्दा शिक्षामा बहुभाषिक नीति अँगालेको भए पनि प्राथमिकतामा मूलतः अङ्ग्रेजी पहिलो, नेपाली दोस्रो र मातृभाषा तेस्रो कोटिमा छ । बालकले नेपाली भाषामा बुझ्दैन भने कमसेकम उसको मातृभाषामा त बुझ्छ भनेर आपूmले सपना देख्ने भाषामा शिक्षा दिन खोज्नु राम्रो कुरा हो । 

दिनानुदिन नेपाली भाषा र मातृभाषाप्रतिको रुचि, व्यावहारिक प्रयोग र शिक्षणकार्यमा कालो बादल लागेको अनुभूत हुन्छ । बहुभाषिक ज्ञानद्वारा स्पष्ट लक्ष्य, परिश्रम र निरन्तरताले बहुभाषिक व्यक्तित्व निर्माण गर्न सक्ने क्षमता बोकेका नेपालीले आफ्नै मातृभाषाको दोहन गरिरहेका छौँ ! नेपाली भाषा साझा सम्पर्कको भाषा भए पनि आज यसमा अङ्ग्रेजी मिश्रणबाट कुरूप बनाइरहिएको छ । 

आज सञ्चार माध्यममा भाषिक शुद्धताप्रतिको चासो, व्यापारिक ध्येयमा मात्र सीमित रहेका विज्ञापन, सामाजिक सञ्जालमा नेपाली भाषा मिश्रण तथा अशुद्धताले कुरूप बन्दै गएकाले अब नेपालको यो एउटा भाषाको स्वाभिमान रक्षाको विषय पनि चुनौती बन्दै छ । एयरपोर्टभित्र सबै अङ्ग्रेजी बुझ्ने मात्रै पुग्दैनन् ! हरेक सूचना, विज्ञापनलाई कमसेकम नेपाली भाषामा, स्थानीय भाषामा र अङ्ग्रेजी भाषामा राख्ने गर्दा बढी प्रभावकारी बन्न सक्छ । कमसेकम सूचना, सञ्चार, सार्वजनिक स्थलमा माध्यम भाषा, साझा बोलचालको आफ्नै देशको भाषा नहुँदा जनताले आफ्नै मुलुकमा भाषा नबुझेर तड्पनुपर्ने बाध्यता छ । विदेशमा यस्तो हुँदैन । 

पसलका साइनबोर्डदेखि सार्वजनिक स्थलका प्रायः सबै ठाउँमा आफ्नै भाषा र लिपिको प्रयोग गरेको भेटिन्छ । यदि भाषिक तहमा सहजता बढाउने नै हो भने यस्ता सूचना तथा सार्वजनिक स्थलमा सबै अङ्ग्रेजी माध्यम होइन बरु पहिला नेपालीमा र कोष्ठकमा अङ्ग्रेजी भाषा भए राम्रो हुने देखिन्छ । यस विषयमा समाज मनोविज्ञान र सरकारको भाषाप्रति अभैm दृष्टि पुग्न सकेको छैन ।

हाम्रो समुदायको मनोविज्ञानमा भाषाको मर्म सिकाइ ज्ञानका लागि भन्दा कमाइ खाने र विदेशिने कुरामा केन्द्रित छ । बहुभाषिकता पहिचानको नारा बनेको छ । समाजमनोविज्ञानले आज प्रश्रय दिइरहेको भाषिक पहिचानका पक्षसँगै आफ्नै मातृभाषालाई प्राथमिकता दिन खोज्दाखोज्दै पनि पछि परिरहेको छ । बुझेको भाषामा सिकाइ सहज हुन्छ भन्ने कुरा आम अभिभावकले बुझेका छन् तापनि मातृभाषा त घरमै सिकाउँछौँ बरु अङ्ग्रेजी सिकाइदिनोस् भन्ने सोच हाबी बनेको छ । हामीले नै बालमस्तिष्कमा समेत अङ्ग्रेजी भाषा सिके विदेश जान सहज बन्ने सङ्कुचनलाई बोध गर्न थालेका छौँ । 

बहुभाषिक ज्ञाताको दिमाग तेजिलो हुन्छ भन्ने अनुसन्धानका सन्दर्भमा अङ्ग्रेजी, जापानिज आदि भाषा जान्नु, धेरै भाषा सिक्नु अति नै सुन्दर विषय हुन् । आफ्नो भाषा चाहिँ नजान्ने तर अङ्ग्रेजी भाषा मात्रै जान्दछ भने त्यसमा पनि गर्व गर्न सकिँदैन । नेपाली भाषा पनि खिचडी अवस्थामा बोल्ने तर मातृभाषामा दिलचस्पी नराख्ने वक्ताले भोलिको पुस्तालाई कुन भाषा हस्तान्तरण गर्ला ? 

बालबालिकामा भाषा, संस्कृति र सकारात्मक परम्परालाई हस्तान्तरण गर्न नसक्नु आजको पुस्ताको ठूलो भुल हुन जान्छ । अहिले अभावका कारण आफ्नो भाषा र संस्कृतिको मूल्यलाई प्राथमिकता नदिँदा भोलिका दिनमा मानिस जतिजति सम्पन्न हुँदै जान्छ । उसमा स्वतः आफ्नो रैथाने ज्ञानतिर ध्यान जान थाल्छ । त्यतिखेर आउने नवपुस्ताले हाम्रो पुस्तालाई गाली गर्छ । वास्तवमा विदेशकै भूत चढाएर आजको युगमा घमण्ड, इज्जत, बडप्पनको मनोदशाले झापड हानिरहँदा समाजमा शिक्षाभित्रको वर्गीयता र खोक्रो आडम्बर जन्मिरहँदो रहेछ । 

अङ्ग्रेजी भाषा हरेक विषयवस्तुको गहन अध्ययन, शोध अध्ययन, प्राज्ञिक बौद्धिक विकास, अन्तर्राष्ट्रिय सहसम्बन्ध, भौतिक वैज्ञानिक विकास मात्रै होइन, विश्वव्यापीकृत बन्ने कुरा हुँदासम्म उपयोगी र आवश्यक छ । अध्ययनहरूले बहुलभाषी वक्तामा ज्ञानको क्षितिज फराकिलो हुने तथ्यलाई पनि पेस गरिरहेका छन् । हामीले मातृभूमिमा सङ्घर्ष गर्ने, नेपाल आमाको माटाको ऋण घटाउने सपना तुन्न सक्ने आधार नदेख्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने विषय विलय हुँदै गएको छ । मातृभाषा शिक्षाको विकाससँगै देश नवीन पर्यटन विकास गर्ने, यहाँका स्रोतसँग सहकार्य गर्दै आत्मनिर्भर बन्ने सपना देखाउनै जानेनौँ । सांस्कृतिक धरोहरका लागि पर्यटकीय सौन्दर्यसहित भाषा र सत्य परम्पराको समेत बेवास्ता र अपमान गर्दै हामी अन्धभक्त त बन्दै छैनौँ ?

संविधानको धारा २८७ बमोजिम २०७३ भदौ २३ मा नेपाल सरकारले संवैधानिक कार्यादेश अनुसार भाषा आयोगको गठन गर्यो । आयोगले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्यो । २०७४ मा पाँच वर्षे रणनीतिक मार्गचित्र पनि देखायो । नेपालका सबै भाषाको व्यवस्थित अध्ययन, लोपोन्मुख भाषाको संरक्षण, संवर्धन र विकासका पाटामा आयोग लागेको छ । यद्यपि समाज मनोविज्ञान र सरकारको नीतिगत सहयोगी भूमिका कम छ । 

भाषा आयोगले सरकारी कामकाजको भाषाका सम्बन्धमा प्रतिवेदनको परिच्छेद ६ मा गरेको सिफारिसको विषय साँच्चै पेचिलो लाग्छ– आयोगले सरकारी कार्यालयमा अभिलेख राख्दा, शैक्षिक वा अन्य प्रमाणपत्र तयार गर्दा, पत्राचार गर्दा, पत्रमा कार्यालयको नाम र विवरण उल्लेख गर्दा वा छाप प्रयोग गर्दा कार्यालयहरूको नामकरण गर्दा, औपचारिक समारोहमा सम्बोधन गर्दा, यातायातका साधन वा सार्वजनिक सरोकारका विषयमा भाषाको प्रयोग गर्दा, सार्वजनिक सूचना वा विज्ञापन गर्दा, सञ्चार माध्यममा, मुलुकभित्र वा बाहिर सम्बोधनमा नेपाली भाषाको प्रयोगलाई अनिवार्य गर्नुपर्ने संविधानसम्मत नीतिको तर्जुमा गर्ने सुझाव प्रस्तुत गरेको छ ।

कुनै पनि मातृभाषीको भाषालाई अर्को मातृभाषीले वर्षौँ सिकेर पनि सम्बन्धित मातृभाषीको जति ज्ञान हुन सक्दैन । आफ्नो भाषा जोगाउनुको अर्थलाई गाँस, बास र कपासको सन्दर्भमा लगेर जोड्नुपर्ने विवसता र विदेश पलायनका कारण राष्ट्रियता र स्वाभिमान पनि घट्दो छ भन्नुपर्ने हुन्छ । अभाव र आवश्यकताले आक्रान्त अवस्थामा भावनाले मात्र मानिसले भाषा र संस्कृति जोगाउन नसक्दा पहिचानभन्दा ठूलो कुरा गाँस, बास र कपास हुन्छ । भाषालाई जबर्जस्ती जोगाउनुपर्छ भनेर लादिने नियम निर्माण गरेर पनि हुँदैन । भाषिक प्रेमको विकास महत्त्वपूर्ण कुरा हो । यहाँको बहुभाषिक गौरव इतिहासका पानामा मात्र सीमाङ्कित हुने भय छ । अर्कोतिर नेपालभित्र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको नातो गाँस्ने सम्प्रेष्य आधार जुन ४४.६३ प्रतिशतका वक्ताले बोल्ने गरेको नेपाली भाषा नै अङ्ग्रेजी मिश्रणको खिचडी बनिरहेको छ । 

भाषामा आधुनिकीकरण, मानकीकरण तथा स्वीकरणमा आवश्यक व्यवस्थापन हुने साथै आफ्ना संस्कृति, परम्परा, आफन्त, नेपाली मौलिकतालाई छोडेर अर्कैको संसारमा रम्ने प्रवृत्तिमा लिप्त मानसिकताले नेपाली भाषा आक्रान्त भएको छ । मातृभाषा छायामा परेको छ । हरेक भाषालाई बाँच्न र प्रसारित हुन वर्ण, लिपि, व्याकरण, शब्दकोश, साहित्य, वाङ्मय विकास तथा प्रसारित र स्वीकरण गर्ने राज्यनीतिको खाँचो पर्छ । एउटा भाषाको वर्ण र लिपि तयार पारेर त्यसलाई जीवन्त बनाउने महान् र वैज्ञानिक कार्य कुनै भाँडाकुटी खेलो होइन । भोलि यो धरोहर कथम्कदाचित आजकै गतिमा पतोन्मुख बन्दै गयो भने यसको दोष बोक्ने क्षमता भएको जिम्मेवार को हुने ?– गम्भीर प्रश्न छ ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...