शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद छक्कबहादुर लामाको छक्क पार्ने जीवन : मन्त्री भिनाजुलाई मार्न आफ्नै सालोले खाल्डोसमेत खने

सोमबार, ०९ वैशाख २०७६, १० : ३४
सोमबार, ०९ वैशाख २०७६

१६ वर्षपछि फेरि प्रतिनिधि सभाको चुनाव जितेर हुम्लाका सांसद छक्कबहादुर लामाले सबैलाई छक्क पारे । २०४८ सालमा ८ मतले चुनाव जितेर छक्क पारेका उनले २०७४ सालमा भएको प्रतिनिधि सभाको चुनावमा पार्टीले टिकट नदिएपछि वागी उम्मेदवारी दिएर ४७ मत अन्तरले विजयी भएका थिए । उनी आफै छक्क परेका छैनन्, तर उनलाई हेरेर भने दुनियाँ छक्क परेको सांसद लामा बताउँछन् । अझ अर्को छक्क पार्ने कुरा बामपन्थी विचारधाराका लामाले  तत्कालीन राजा ज्ञानेन्द्रले गठन गरेको शाही सरकारमा १० महिना राज्यमन्त्री भएर पनि काम गरे । उनी भन्छन्– ‘मसँग बामपन्थी अनुभव पनि छ दक्षिणपन्थी अनुभव पनि ।’

हुम्लामा कम्युनिष्ट पार्टीको जग बसाल्ने श्रेय पाएका लामा मानवशास्त्री समेत हुन । कम्युनिष्ट विचारधारा बोकेका उनी आध्यात्मवादी सिद्धान्तलाई पनि आत्मसाथ गर्छन् । हामीले हुम्लाका यी सांसदलाई नजिकबाट नियाल्ने कोशिस गरेका छौँ ।

छ्वाङबाट छक्कबहादुर

सांसद छक्कबहादुर लामाको खास नाम भने छ्वाङ लामा हो । राजा महेन्द्रले हुम्लामा २०२१ सालमा महेन्द्र जनजागृति पाठशाला खोलेका थिए । ललितपुरको लुभुबाट सीताराम पौडेल अध्यापनका लागि हुम्ला पुगेका थिए ।

उनले भने– ‘लुभुबाट पढाउनका लागि राजा महेन्द्रले खराँठ बाहुन पठाएछन् । त्यतिबेला सिमिकोटमा प्लेन थिएन, नेपालगन्जमा पनि थिएन । नेपालगन्जबाट हिँडेर हाम्रो गाउँमा आउनुभयो । उहाँले नेपाली भाषा सिकाउनुभयो । उहाँ चाहिँ खराँठ शुद्ध बाहुन । दूध, दही मात्र खाने, मासु नखाने, वेद पढ्ने । उहाँको म एकदम राम्रो विद्यार्थी थिएँ । मेरो बुबाले राखेको नाम छ्वाङ थियो, उहाँले मेरो नाम छक्कबहादुर बनाइदिनुभयो । मेरो मात्र हैन धेरैको नाम फेरिदिनुभयो । त्यसरी नेपलाइजेन गर्नुभयो ।’

२०१६ साल वैशाख १२ गते हालको सिमिकोट गाउँपालिका वडा नं. ३ मा लामा सुरुमा आफ्नै बुबासँग बुद्ध धर्मसँग सम्बन्धित विषय अध्ययन गर्र्दैै थिए । उनका बुबा त्यहाँ लामाका साथै वैद्यका रूपमा पनि काम गर्थें ।

राजा महेन्द्रले पठाएको शिक्षकसँग उनले त्यहाँको पाठशालामा अध्ययन गर्न थाले । शिक्षकले टोपी लगाउन सिकाए, दौरा सुरुवाल लगाउन सिकाए । त्यतिबेलाको पाठशालामा कक्षा थिएन । त्यहाँ भाषाको मात्र पढाइ हुन्थ्यो । ३ वर्ष पाठशाला पढेपछि छक्कबहादुर उनका बुबासँग भारतका बौद्ध तीर्थस्थल घुम्न गए । त्यसपछि उनी काठमाडौँ आए । भक्तपुर कटुन्जेका ज्ञानुप्रसाद कुँइकेललाई गुरु बनाए । उनीसँग केही समय अङ्ग्रेजी सिके । पछि अमेरिकी मानवशास्त्री न्यान्सीसँग भेट भएपछि उनले अङ्ग्रेजी सिके ।

लस एन्जेल्स विश्वविद्यालयका प्रोफेसर मानवशास्त्री न्यान्सी ली आफ्नो पिएचडी अध्ययनका सन् १९७४ तिर लागि हुम्ला गएका थिए । उनले ती प्रोफेसरलाई भोटे भाषा सिकाउने र उनले अङ्ग्रेजी भाषा सिकाउने काम गरे । 

अमेरिकी  प्राध्यापक न्यान्सी लीबाट प्रभावित भएर आफू पनि अनुसन्धानको काममा खटिएको उनले बताए । उनले भने– ‘त्यतिबेला मानव शास्त्रबारे अध्ययन अनुसन्धान गर्न बाहिरबाट धेरै मान्छे आउँथे । त्यतिबेला धेरैजनासँग मेरो भेटघाट भएको थियो । म काठमाडौँमा पढ्दै पनि गर्ने र एन्थ्रोपोलोजिस्टसँग असिस्टेन्टका रूपमा काम पनि गर्दै जान्थेँ । त्यसक्रममा पश्चिम नेपालको विभिन्न जाति जनजातिको अध्ययन गर्ने मौका पाएँ ।’

उनले पश्चिम नेपालको बाजुरा, अछाम लगायतका क्षेत्रमा अध्ययन गरे । पश्चिमेली अनुसन्धानकर्तासँग अध्ययनका क्रममा  कास्मिर, पाकिस्तानको बलुचिस्तान, भारतको कुमाउ, गढवाललगायतका ठाउँमा पुगे । भारत र चीनबीच, नेपाल र चीनबीच रहेका हिमाली जनजातिबारे अध्ययन गरे । उनले यसलाई रुचिका रूपमा लिएका छन् ।

स्विस नागरिक डा. हाना राउवासँग अनुसन्धानका लागि खटिए । उनका लागि ट्रान्सलेटरका रूपमा काम गरे । एसएलसी दिने बेलामा अछाम गए । पछि आएर उनले प्राइभेट ट्युसन पढेर २०३५ सालमा काठमाडौँबाट एसएलसी पास गरे ।

कानुन सङ्काय अध्ययनका लागि नेपाल ल क्याम्पसमा भर्ना भए ।

सिनासमा उलने डा. डोरबहादुर विष्टसँग पनि काम गरे ।

विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश

३१ सालतिर उनले काठमाडौँमा कार्ल माक्र्स र एङ्गेल्स बारेमा किताब पल्टाउन थाले । बामपन्थ निकट कालिकोटका प्रेम कैदीसँग सिमिकोटका लोकबहादुर राउतसँग उनको सम्पर्क बढ्यो । 

२०३६ सालमा भएको विद्यार्थी आन्दोलनमा लामा सहभागी भए । अनेरास्ववियु छैटौँमा लागे । ३८ सालमा सो विद्यार्थी सङ्गठनको केन्द्रीय सदस्य भए । त्यतिबेला उनका समकक्षी देव गुरुङ, पम्फा भुसाल, शशी श्रेष्ठ, शिक्षा मन्त्री गिरिराजमणि पोखरेललगायत थिए । त्यतिबेलाको नेकपा चौथो महाधिवशेनको भूमिगत रूपमा सदस्यता लिए । पार्टी फुटेपछि उनी एकताकेन्द्र मसालमा आबद्ध थिए ।

२०४२ उनी हुम्ला जिल्ला सभापतिमा पनि उठे । उनलाई हराउन अञ्चलाधीशले अर्को उम्मेदवार खडा गरिदिए र ३६ फर्जी मत हालेर हराइदिएको उनले बताए ।

२०४८ सालमा सांसद हुँदा उनी जिल्ला कमिटी सदस्य थिए । उनले स्मरण गरे– ‘हुम्लाको माथिल्लो भागमा बढी राजनीतिक गतिविधि हुन्थ्यो । सुरवीर शाही, चक्रबहादुर शाहीको राम्रो राजनीतिक पकड थियो । कर्णाली अञ्चलमा शाहीहरुको राजनीति थियो । ठकुरीले राज गरेको ठाउँमा पहिलो पटक जनजातिको तर्फबाट मैले जित हासिल गरे ।’

२०४८ सालको चुनावमा एमालेबाट गोरख बोगटी उठेका थिए । राप्रपाबाट चुनाव लडेका छविलाल लामाले ३२ सय मत ल्याए । उनले ४ हजार मत ल्याएका थिए । चक्रबहादुर, गोरख र उनको झन्डै बराबरी मत आएको थियो । उनले ८ भोट बढी ल्याएर चुनाव जिते । त्यो निर्वाचनमा उनले काँग्रेसबाट निर्वाचित चक्रबहादुर शाहीलाई पराजित गरे । 

त्यो बेला चुनाव उठ्न पार्टीले टिकट दियो तर उनलाई उम्मेदवार बन्न मन थिएन । टिकट लिएर आफू रोएको उनले बताए । त्यो बेला रहर नभएर बाध्यताले चुनाव लडेको बताए ।

त्यतिखेर सांसदको इज्जत राम्रो थियो । उनले भने– ‘हाम्रो भूमिका पनि आदर्शको थियो । त्यतिखेर जनतामा आशा पनि बढी थियो । स्ट्रङ्ली टिमवर्क पनि थियो । सरकार नभए पनि फरक नपर्ने जस्तो थियो । अहिले चाहिँ हामीलाई यो बजार अर्थतन्त्रले धेरै नै छोइसकेको छ । अहिले मान्छेहरु सामूहिकभन्दा पनि व्यक्तिगत कामका लागि व्यस्त छन् ।’

आजभोलि सांसदहरु कसरी आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको उनी बताउँछन् । उनले भने– ‘त्यतिबेला सांसद भइसकेपछि आफ्नो क्षेत्रको मात्र नभएर पूरै देशको चिन्ता हुन्थ्यो । असाध्यै आदर्शको थियो, बलियो थियो । अहिले धेरै पुँजीवादमा फसेजस्तो लाग्छ ।’

लामा ४८ सालमा सांसद त भए तर नेपाली काँग्रेसको सरकारले भनेजस्तो बजेट दिएन । जनताले भने धेरै अपेक्षा गर्थे । त्यतिबेला उनले हुम्लामा धेरै एनजीओहरू क्रियाशील भएको पाए र आफैले एउटा एनजीओमार्फत गरेर जनताका काम गर्न थाले ।

जनमोर्चाबाट निर्वाचित भएका लामाका लागि पार्टीको कडा नीति पनि पालना गर्नुपर्ने बाध्यता थियो । सांसद भएर संसदीय व्यवस्थाको भण्डाफोर गर्नुपर्ने, सांसदको लोगो लगाउन नपाउने नीति थियो ।

तर जनता भने सांसदबाट धेरै आशा गर्थे । उनले भने– ‘विकास गरौँ भने गिरिजा सरकारले बजेट नदिने, त्यस्तो अवस्थामा एउटा एनजीओ लिएर गएर त्यसमार्फत काम गरेँ । त्यसले जडीबुटीसम्बन्धी काम गथ्र्यौं । मैले सामुदायिक बन गठन गराएँ । त्यहाँ जडीबुटी पहिचान गरेर जनताको हातमा रोयल्टी पार्ने, समूह गठन काम गरेँ । हुम्ला कन्जरभेसन एन्ड डेभलोपमेन्ट एसोसिएसन हुम्लामा चर्चित भयो ।’

अर्को वर्ष घाँस राम्रो आउँछ भनेर जङ्गलमा आगो लगाउने चलन थियो । उनले त्यहाँ जडीबुटी फ्याक्ट्री खोल्ने भनेर २ वटा प्रशोधन केन्द्र बनाए । समूहमा आठ नौ लाख रकम जम्मा गराए ।

उनका बुबा आयुर्वेदका पनि जानकार थिए । उनी आफै अनिदोको बिरामी थिए । हुम्ला जडीबुटीले भरिएको क्षेत्र भएको हुँदा उनी आफै पनि जडीबुटीको अध्ययनमा लागे । नेपालमा पहिलो पटक यार्चागुम्बा आफूले पक्ता लगाएको उनको दाबी छ ।

६२ सालमा राजाको मन्त्री

२०५२ सालमा जनयुद्ध सुरु भयो तर उनी त्यतातिर लागेनन् । हुम्लामा एनजीओ चलाएर बसे । जनयुद्ध उत्कर्षमा पुगेका बेला तत्कालीन राज ज्ञानेन्द्रले २०५९ माघ १९ मा सत्ता हातमा लिए । राजाको शासनकालमा उनी १० महिना राज्यमन्त्री भए ।

स्थानीय विकास मन्त्रालयमा ५ महिना र भौतिक पूर्वाधार मन्त्रालयमा ५ महिना गरी १० महिनामा उनले २ वटा मन्त्रालयमा सहायक मन्त्री भएर काम गरे । मन्त्रीको लोभले भन्दा पनि बाध्यताका कारण आफू मन्त्री बनेको उनले बताए ।

उनले भने– ‘मसँग बामपन्थी अनुभव पनि छ, दक्षिणपन्थी अनुभव पनि छ । धार्मिक अनुभव पनि छ, राजनीतिक अनुभव पनि छ । सहरी सुविधा र दुर्गमको कठिनता त्यसको पनि अनुभव छ । बाख्राको छाला ओछ्याएर गुफामा सुतेको अनुभव पनि छ । फाइभस्टार होटेलमा बसेको, खाएको, नुहाएको अनुभव पनि छ । सबैथोकको अनुभव छ । राज्यसत्तामा पुगेर काम गर्न भनेजस्तो अवसर पाइनँ । राजाको शासनकालमा पनि शासन ढल्ने बेलामा पुगेँ । जनमोर्चाको सांसद हुँदा पनि काम गर्न पाइनँ । अहिले पनि दुई तिहाइ सरकार भएको पार्टीको सांसद छु तर काम गर्न गाह्रो ।’

राजाले क्षेत्रीय प्रशासक बनाउँदैछन् भन्ने उनले हल्ला सुनेपछि आफ्नै साथीहरु कृष्णबहादुर महराहरुसँग लडाउने भए भनेर उनी २ महिना तिब्बत गएर बसे । भिसा सकिएपछि सिमिकोट आएर अध्ययनका लागि भारत जाने तयारी गरेका थिए । त्यतिबेला दरबारबाट फोन आयो । राजा ज्ञानेन्द्रले हुम्ला भ्रमण गरेका बेला उनले आफूले लेखेको कैलाश मन्त्र भन्ने पुस्तक उपहार दिएका थिए । सोही पुस्तकबाट प्रभावित भएर मन्त्री बनाएको उनले बताए ।

मन्त्रीकालमा राजालाई उनले ३ पटक भेटे । माघ १९ को सन्देशलाई राम्रोसँग कार्यान्वयन गर्न राजाले निर्देशन दिएका थिए । राजाको शासन हटेपछि मन्त्रीहरुको बिदाइका लागि खसी काटेर बिदाइ भोजको आयोजना गरेका उनले भने–‘राजाको शासन गएपछि अरू साथीहरु दुःखी भएका थिए । मलाई चाहिँ खुसी नै लागेको थियो ।’

मार्ने भनेर हुम्लामा ३ वटा खाडल खनियो 

माओवादी युद्ध उत्कर्षमा पुगेको थियो । मन्त्री भएपछि उनलाई मार्न हुम्लाको खार्पु भन्ने स्थानमा खाडलसमेत खनियो । उनका एकजना सालो छिरिङ लामा माओवादीको त्यहाँको इन्चार्ज थिए । आफूलाई मार्न सालोको हातबाट खाडल खनाइएको उनले स्मरण गरे । उनले भने– ‘एउटा मलाई, एउटा जिल्ला विकास समितिको सभापति र अर्को उपसभापतिलाई गरेर ३ वटा खाडल खनेका थिए ।’

जनआन्दोलन सकिएर लोकतन्त्र आएपछि हुम्लामा उनलाई त्यहाँको सीडीओले चामल दिन मानेनन् । सीडीओले दलका नेताहरुले चामल नदिनू भनेको बताए । उनले मन्त्रीको हैसियतले नभई हुम्लाको नागरिकको हैसियतले चामल दिन भन्दै सीडीओलाई थर्काएर चामल लिए ।

द्वन्द्वकालमा उनले जेठी छोरी गुमाए । मुगुमा सेनाले मार्यो । अर्की छोरी पनि माओवादी युद्धमा लागेकी थिइन् । उनलाई काठमाडौँ ल्याएर नाम परिवर्तन गरेर पढाए ।

हेटौँडा महाधिवेशनपछि उनी फेरि माओवादीमा फर्किए । पार्टीले केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यसम्म भए ।

पार्टीको बागी उम्मेदवार बनेर विजयी

२०७० सालमा भएको प्रतिनिधि सभाको चुनावमा पार्टीले हुम्लाका लागि छिरिङ लामालाई टिकट दियो । त्यतिबेला माओवादी फुटेर ड्यास माओवादी पनि बनेको थियो । छिरिङलाई टिकट दिएकोमा विरोध भयो । छक्कबहादुरलाई टिकट दिन कार्यकर्ताहरुले माग गरे । अन्तिम समयमा फ्याक्सबाट पार्टीले छक्कबहादुरलाई उम्मेदवारको टिकट दियो । छिमी लामा पहिलो संविधान सभाका मनोनित सांसद उनको विरुद्धमा उत्रिए । उनले प्रतिघात गरेकोले आफूले चुनाव हार्नुपरेको लामाको बताए । उनले भने– ‘सुरुमा मेरो माहोल राम्रो थियो । पछि आफ्नै साथीहरुले विरोध गर्न थालेपछि मैले हारेँ । माओवादीको अर्को ड्यास समूह पनि भएकाले मैले हार्नुपर्यो ।’

चुनाव हारेपछि उनले उनले खसी काटेर भोज कार्यक्रम राखे । आफ्नोविरुद्धमा लागेका छिमीलाई बोलाए । घात प्रतिघात गर्दै गयो भने पार्टी चल्दैन, अब यस्तो कुरा नदोहोर्याऊँ भने ।

२०७४ सालको चुनावमा बाम गठबन्धन बनेपछि फेरि छिमी लामाले आफूविरुद्ध षडयन्त्र गरेको बताए । उनले भने– ‘म हुम्लाको लिमीमा घुम्दै थिँए, ऊ काठमाडौँ गइसकेछ । मलाई पनि काठमाडौँ बोलायो । पार्टीले कस्तो मान्छे चुनावमा उठ्ने भनेर सर्कुलर गरेको रहेछ । उसले त्यसलाई दबाइदियो । यहाँ आएर आफ्नो बारेमा मात्र लबिङ गर्दो रहेछ । मैले यस्तो हुँदैन भने । हामी दुवै नउठी अरू कसैलाई उठाउने भए म तयार छु भनेँ । हामी यहीँ थियौँ । उसले पार्टीको इन्चार्जसँग टिकट लिएर सिमिकोट गइसकेछ । सिमिकोटमा पनि २० दिन व्यापक छलफल भयो । तर उनले टिकट नछोडेपछि कलम चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएँ, स्वतन्त्र सांसदको हैसियतमा चुनाव जितेँ ।’

आफ्नो व्यक्तिगत प्रभाव र त्यहाँको सङ्गठनको सहयोगमा चुनाव जितेको उनले बताए । छिमीले २८ सय ५० मत ल्याएका थिए । छक्कबहादुरले ८ हजार ४ सय ११ मत ल्याए । छिमी उनका प्रतिस्पर्धी मात्र नभई नाताले ज्वाइँ समेत हुन् ।

स्वतन्त्र उम्मेदवार भएर जित निकाल्नुको रहस्य

स्वतन्त्र उम्मेदवार भएर पनि चुनाव जित्नुको रहस्य आफूले विगतमा गरेको कामको आधार भएको उनले बताए । उनले भने– ‘पार्टीभन्दा पनि जनताले मलाई धेरै विश्वास गर्नुको रहस्य सुरुमा मानवशास्त्रको बारेमा अनुसन्धान गर्दा उनीहरु मसँग नजिक भए, फेरि मलाई चार पाँचवटा भाषा आउँछ । त्यो बेला हुम्लामा अलि बढी पढेको मान्छे पनि मै थिएँ । पछिल्लो काल खण्डमा एनजीओ चलाएर काम गर्दा जनसम्पर्क बलियो बनिरह्यो । यो मान्छेले काम गर्न सक्छ भन्ने सबैलाई लाग्यो । पछिल्लो समय डब्लूडब्लूएफको चामल लिएर गएँ, गाउँ गाउँमा बाँढे । लिमी लाप्चा रोडको २० किलोमिटर म एक्लैको प्रयासले अघि बढ्यो । जनार्दन शर्मा, हिसिला यमी, टोपबहादुर रायमाझीको सहयोगमा बजेट पारेर पहिलो पटक मैले हुम्लामा डोजर पुर्याएँ ।’ हुम्लामा डोजर पुगेपछि स्थानीय खुसी भए । एक वर्षमै ताक्लाकोटसम्म बाटो जोडियो ।

नयाँ नयाँ विकास भएको प्रविधि हुम्लामा भित्र्याउने आफ्नो इच्छा रहेको उनले सुनाए ।

सिंहदरबारभित्र खुट्टा मात्रै दुख्छ

चुनाव जितेर सिंहदरबार छिरेको १ वर्ष बितिसेकेको छ । तर छक्कबहादुर सन्तुष्ट छैनन् । सांसद भएअनुसार काम गर्न नसकेकोमा उनको गुनासो छ । उनले भने– ‘गाह्रो चाहिँ गाह्रो छ । उतिबेला ४८ सालमा सांसद हुँदा गिरिजा पनि आलोकाँचो मान्छे थिए । प्रतिपक्षी भनेपछि हेर्दै नहेर्ने । त्यतिबेला पनि मैले केन्द्रबाट त्यति सहयोग पाइनँ । अहिले शासन प्रणाली फेरियो । बजेट जति अहिले सबै सुर्खेतमा गएको छ ।’

कानुनी क्षेत्रबाट समानुपातिक सांसद भएर आएका साथीहरुले उनलाई कानुन निर्माता भएर बस्नुपर्ने सुझाव दिएछन् । तर उनलाई प्रत्यक्ष निर्वाचित सांसद भएर पनि खुम्चिएर बस्नुपर्ने सल्लाह मन परेको छैन । निर्वाचन क्षेत्रका जनताले सानो सानो योजना माग्ने गर्छन् । ठूला सडक पूर्वाधारमा लगानी गरे पनि उनीहरुले देख्दैनन् ।

खानेपानी मन्त्रालयले ५ हजारभन्दा बढी जनसङ्ख्या भएको ठाउँमा मात्र खानेपानी आयोजना सञ्चालन गर्ने निर्णयले हिमाली क्षेत्रमा प्रभाव परेको उनले बताए । बजेट सबै प्रदेशमा गएपछि जनताले मागेको योजनालाई अघि बढाउन नसकेको उनले बताए ।

उनले भने– ‘हरेक दिन मेरा दुइटा खुट्टा दुख्ने गरेको छ । एक वर्षमा दुई शनिबार मात्र म घर बस्न पाएको छु । सिंहदरबारका मन्त्रालयहरुमा जाने, कहाँ कस्तो भएको छ हेर्ने काम मात्र भएको छ । कतिपय योजना माग्न सिंहदरबारमै आउँछन् । अलिकति अप्ठेरो छ । सङ्घीयता लागू भयो, बजेट जति सबै सुर्खेतमा छ । सुर्खेत र हाम्रो बीचमा सहकार्य हुन सकेको छैन । हाम्रो दुई तिहाइ बहुमतको सरकार भए पनि काम गर्न धेरै अप्ठेरो छ ।’

अहिले उनी हुम्लामा कसरी पर्यटन प्रवद्र्धन गर्ने, जडीबुटीको फार्मिङ, अर्गानिक कृषिको संरक्षण र विकास कसरी गर्ने भन्नेमा केन्द्रित छन् ।

उनले भने– ‘हुम्लाको बजार चीनमा राम्रो छ । त्यहाँ क्वारेन्टाइनको पनि व्यवस्था छैन, त्यसैले व्यापार अघि बढ्न सकेको छैन । हिजो चाइनाबाट हुम्लामा च्याङ्ग्रा आउने गरे पनि अहिले नेपालबाट उता बढी जान्छ । व्यापार, उद्योग विकास बढाउने हो भने बाटोघाटो र बिजुली चाहिन्छ ।

अबको ५ वर्षमा हुम्लामा विद्युत ट्रान्समिटर लाइन जोडियोस्, सडक विकास होस्, फलफूल जोनहरु स्थापना हुन्, सीमामा क्वारेन्टाइन होस् भनेर प्रधानमन्त्रीसँग माग गरेको बताए । अहिले चीनले कैलाश मानसरोवर छेउमा एयरपोर्ट बनाइरहेकाले भारतीय पर्यटक नेपालको बाटो नभई सीधै भारतबाट गए असर पर्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । यसका लागि हुम्लामा पनि ठूलो विमानस्थल बनाउनुपर्ने उनको आग्रह छ ।

लिमी लाप्चा सडक, हिल्सा सिमिकोट सडकलाई स्तरोन्नति गर्नुपर्ने छ । होटलको व्यवस्थापन राम्रो गर्ने हो भने पर्यटन, कृषि र जडीबुटीले समृद्धि आउने उनको सपना छ ।

ध्यान र आध्यात्म

बिहानको समयमा लामा ध्यान गर्छन् । मानिसभित्रै अथाह ज्ञान छ, त्यसलाई आफैले निकाल्नुपर्ने उनी बताउँछन् । उनले भने– ‘मेरो रुचि भनेको आध्यात्म पनि हो । हामी भनेको माइक्रो कोष हो । म्याक्रो कोष भनेको त पूरै ब्रह्माण्डै भइहाल्यो । माइक्रो कोषमा सबैथोक हामीभित्रै छ । हामीले ध्यान गरेर कन्सन्टे«ट गरेर शक्ति निकाल्न सक्छौँ । जसरी हामीले मोबाइलमा एप्सहरु डाउनलोड गर्छौँ नि, त्यसरी नै हामीले पनि नयाँ नयाँ मौलिक ज्ञानहरु खिच्न सक्छौँ । बाहिर अनुभव गर्ने र ज्ञान खिच्ने आफैले हो । ऋषिमुनिले पनि यही गरेका हुन् ।’

खाना खाएपछि उनी हरेक दिनजसो सिंहदरबार पुग्छन् । संसदीय गतिविधिमा सहभागी हुने, साथीभाइ भेट्ने गरेर साँझ मात्रै घर पुग्छन् ।

नेपाल यातायात र माइक्रो सवारी  

घरबाट हरेक दिन उनी माइक्रो बस र नेपाल यातायात चढेर सिंहदरबार पुग्छन् । कोचाकोचको यात्रा चलिरहेको उनले बताए । धापासीबाट चक्रपथसम्म माइक्रो बस र त्यहाँबाट नेपाल यातायात चढेर उनी सिंहदरबार पुग्छन् । यात्रुलाई भयङ्कर पीडा भएको उनले देखेका छन्, आफूले पनि अनुभव गरेका छन् ।

उनले भने– ‘म पहिलेदेखि नै लो प्रोफाइलमा बसेका कारण सार्वजजिक बस चढेर हिँड्न नै मजा लाग्छ ।’

हुम्लाको विकासका लागि काठमाडौैँमा दौडधूप गरिरहेका लामा हुम्लामा अझै ३ वटा युग रहेको बताउन ।  उनले भने– ‘हुम्लामा सिकारी युग, कृषि युग, वस्तु विनिमय प्रथा र अहिलेको पछिल्लो बजार अर्थतन्त्र पनि पुगेको छ । बजार अर्थतन्त्र मात्र भएको काठमाडौँले त्यहाँको त्यो युग पहिचान गर्न सकेको छैन ।’

नयाँ आर्थिक वर्षका लागि बजेट बनिरहेको छ । पिछडिएको हुम्ला जस्तो क्षेत्रलाई ग्लोबलाइजेसनको जस्तो नभएर मौलिक ढङ्गको बजेट व्यवस्थापन हुनुपर्ने उनको तर्क छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप