बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लगानी सम्मेलनको प्रभाव: ३१ परियोजनामा २५ खर्बको प्रस्ताव

आइतबार, ०८ वैशाख २०७६, १७ : ४४
आइतबार, ०८ वैशाख २०७६

 -रमेश लम्साल 

काठमाडौँ– सरकारले आयोजना गरेको लगानी सम्मेलनको प्रतिफल देखिन थालेको छ । ठूलो मात्रामा लगानी भित्र्याएर आर्थिक समृद्धिको लक्ष्य पहिल्याउने उद्देश्यका साथ गत चैत १५ र १६ गते आयोजना गरेको सम्मेलनमा क्रममा प्रस्तुत भएका कूल ७७ परियोजना मध्ये ३१ परियोजनामा कूल रु २५ खर्ब बराबरको लगानी प्रस्ताव आएको छ । त्यसमा २६ वटा सम्मेलनमा क्रममा ‘शोकेश’ मा राखिएका र आह्वान नभएका थप पाँच गरी कूल ३१ परियोजनामा आवेदन परेको हो । 

लगानी बोर्डले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने, ‘उत्साहजनक रुपमा प्रस्ताव आएका छन् । प्राप्त भएका प्रस्तावलाई मसिनोसँग अध्ययन गरेर आवश्यक निर्णय लिइन्छ ।’ 

सम्मेलनका क्रममा सरकारीस्तरबाट ५० र निजी क्षेत्रले २५  आयोजनालाई ‘शोकेश’ मा राखेका थिए । शो केशमा राखिएका आयोजनामध्ये धेरैले भौतिक पूर्वाधार, ऊर्जा, शहरी पूर्वाधारमा चासो व्यक्त गरेका छन् । 

बोर्डका अनुसार कृषि पूर्वाधारतर्फ सात वटा परियोजनाका लागि प्रस्ताव आएको छ । त्यसमा उर्लाबारी, हेम्जा, बनेपा र चितवन, वीरेन्द्रनगर र तिलोत्तमामा एकीकृत कृषि पूर्वाधारका लागि प्रस्ताव परेका हुन् । 

यस्तै स्वास्थ्य तथा शिक्षमा धुलिखेल मेडिसिटी र गण्डकी टेक्निकल विश्वविद्यालयका लागि समान एक/एक प्रस्ताव परेका छन् । 

यस्तै ऊर्जातर्फ ७६२ मेगावाट क्षमताको तमोर जलाशयुक्त आयोजनाका लागि दुई वटा प्रस्ताव आएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए । पश्चिम सेती ७५०, एसआर ६ ९२७, सुनकोशी दोस्रो एक हजार ११०,  सुनकोशी तेस्रो ५३६, तल्लो अरुण एक हजार ३०० र ५५० मेगावाट क्षमताको सौर्य परियोजनाका लागि समान एक/एक वटा प्रस्ताव आएका छन् । 

औद्योगिक पूर्वाधारतर्फ एक आवेदन परेको छ । पर्यटनतर्फ तीन वटा परियोजनाका लागि प्रस्ताव आएका छन् । त्यसमा जानकी हेरिटेज होटल, तालतलैया थेमे पार्क र ड्रिमल्याण्ड धुलिखेलका लागि पनि एक/एक वटा प्रस्ताव परेका छन् । 

यातायात पूर्वाधारका लागि नौ वटा परियोजनाका लागि प्रस्ताव आएका छन् । काठमाडौँ चक्रपथ, बाहिरी चक्रपथका लागि समान चार÷चार वटा प्रस्ताव आएका छन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि छ वटा प्रस्ताव आएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए । 

काठमाडौँ उपत्यका मेट्रो रेल, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौँ–पोखरा लुम्बिनी रेलमार्ग, काठमाडौँको स्कार्य रेलका लागि समान एक÷एक प्रस्ताव परेका छन् । सामाखुसी–टोखा–छहरे सुरुङमार्ग र धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि समान दुई/दुई वटा प्रस्ताव आएका छन् । 

शहरी पूर्वाधारतर्फ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र  निर्माणका लागि दुई, जनकपुरको फोहर व्यवस्थापन, विराटनगरको फोहर व्यवस्थापन र मेलम्ची, खोकनालगायतका क्षेत्रमा फोहर पानीव्यवस्थापनका लागि एक/एक प्रस्ताव परेका छन् । 

सम्मेलनमा भएको सहभागिताका बारेमा पहिलो पटक आधिकारिक जानकारी दिँदै बोर्डले ४० देशका ८०९ प्रतिनिधि सहभागी भएका थिए । त्यसमा ३०० कम्पनी सहभागी थिए । यस्तै नेपालका १०० कम्पनीका ७०० प्रतिनिधि सहभागी भएका थिए । चार वटा छलफल सत्रमा विभिन्न छ विषय समावेश भएका थिए । त्यस्तै छुट्टै चार विषयगत छलफल सत्र, ३६ द्विपक्षीय बैठक, ३९ सरकारी र निजी क्षेत्रबीचको बैठक, ३० वटा व्यवसायी–व्यवसायीबीचको बैठक भएका थिए । 

बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले शनिबारसम्म २६ परियोजनामा ४३ आवेदन आएका छन् । पहिलो चरणमा २७ परियोजनाका लागि तीन महीनाभित्र विकासकर्ता छनोट गरिसक्ने तयारी गरिएको छ । 

दोस्रो चरणमा १७ परियोजनाका लागि नौ महिनाभित्र र तेस्रो चरणका छ परियोजनाका लागि १४ महीनाभित्र विकासकर्ता छनोट गर्ने गरी कार्ययोजना तयार भएको छ । प्राप्त भएका आवेदनको मूल्याङ्कन तथा सम्मेलनमा भएका समझदारी तथा सम्झौताको कार्यान्वयनको अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आर्थिक तथा भौतिक पूर्वाधार हेर्ने सचिवको नेतृत्वमा छ सदस्यीय समिति गठन गरिएको छ । 

यही वैशाख ५ गते बसेको बोर्ड बैठकले भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बोर्डका कार्यालयका एक/एक जना सहसचिव रहने गरी समिति गठन गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप