शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर ५ मा दुई विधेयक पारित

आइतबार, ०८ वैशाख २०७६, १६ : ३०
आइतबार, ०८ वैशाख २०७६

खस्यौली– प्रदेश नं ५, प्रदेशसभाको आजको बैठकले दुई विधेयक सर्वसम्मतिले पारित गरेको छ ।  जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति गर्न बनेको विधेयक बैठकले पारित गरेको हो । सभामुख पूर्णबहादुर घर्तीले दुई विधेयक निर्णयार्थ प्रस्तुत गरेपछि बैठकले त्यसलाई पारित गरेको छ । 

जिल्लासभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले र प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति गर्न बनेको विधेयक भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए । यी दुई विधेयकसँगै प्रदेशसभाबाट पारित हुने विधेयकको सङ्ख्या ३२ पुगेको छ । 

बैठकमा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले प्रदेश पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदनसहितको विधेयक पेश गरेका थिए ।

यसअघि बैठकको शून्य समयमा प्रदेशसभा सदस्य तिलकराम शर्माले बर्दियाको कृष्णसार क्षेत्रले परिचित स्थानमा भएको बस्तीलाई संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराए । 

त्यस्तै विशेष समयमा प्रदेशसभा सदस्य रामजी घिमिरेले विकासमा तीव्रता नहुँदा आम नागरिकमा असन्तुष्टि बढेको उल्लेख गर्दै भौतिक पूर्वाधारको विकास समृद्धिको आधार भएको बताए । सो अवसरमा प्रदेशसभा सदस्य तारा जिसी, तुल्सीप्रसाद चौधरी, दीपेश थारूलगायतले समसामयिक विषयमा बोलेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप