मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलङ्काका होटल र चर्चमा बिस्फोट: मर्नेको संख्या १३७ पुग्यो (अपडेट)

आइतबार, ०८ वैशाख २०७६, १४ : ०५
आइतबार, ०८ वैशाख २०७६

कोलम्बो–  श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च)सहित देशका पूर्वी भेगमा आइतबार भएका ६ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १३७ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ ।     
     
मृत्यु हुनेमा ९ जना विदेशी नागरिक समेत छन् । बिस्फोटका कारण अरु सयौं व्यक्ति घाइते भएका छन् ।    राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटलमा गरी ४५ जनाको ज्यान गएको छ भने राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्च बिस्फोटमा ६७ जनाको मृत्यु भएको छ ।

सेन्ट एन्थोनी बिस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ । चर्चसहित राजधानीका तीनवटा पाँचतारे होटलमा पनि बम बिस्फोटनका घटना भएको प्रहरीले जनाएको छ । राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन् ।     
     
मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा भएको बिस्फोटमा २५ जनाको मृत्यु भएको छ ।     
     
बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको बिस्फोटबाट घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताएका छन् ।     
     
बिस्फोट निकै शक्तिशाली भएका कारण चर्चभित्र व्यापक क्षति भएको देखिएको छ । चर्चको भुँइ टुटेफुटेका टाइल, भाँचिएका काठपात र रगत लतपतिएको देखिएको छ ।     
     
बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ ।     
     
दश दिन अगाबै चेतावनी दिइएको थियो     
     
श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयासुन्दराले १० दिनअघि नै राजधानी कोलम्बोसहित देशका विभिन्न भागका महत्वपूर्ण चर्चहरुमा आत्मघाती आक्रमण हुनसक्ने भन्दै अलर्ट जारी गरेका थिए ।     
एएफपीका अनुसार प्रहरी प्रमुख पुजुथले अप्रिल ११ का दिन प्रहरीका वरिष्ट अधिकारीहरुलाई गोप्य सूचना पठाएका थिए ।

 ‘एउटा विदेशी गुप्तचर निकायले राष्ट्रिय थोवित जमाथ (एनटीजे) नामको समूहले प्रमुख चर्चहरु र कोलम्बोस्थित भारतीय उच्चायुक्तको कार्यालयमा आत्मघाती आक्रमण गर्ने योजना बनाएको खबर प्राप्त भएको छ,’ प्रहरी प्रमुखको चेतावनीमा उल्लेख छ ।     
     
एनटीजे श्रीलङ्कामा सक्रिय अतिवादी मुस्लिम सङ्गठन हो र यो सङ्गठनका बारेमा गत वर्षमात्र जानकारी आएको थियो । यस सङ्गठनले गत वर्ष बौद्धमूर्तिहरुको तोडफोड गरेको पाइएको थियो ।     
     
राष्ट्रपति र प्रधानमन्त्रीको समवेदना     

     
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन अनुरोध गरेका छन् । उनले कायरतापूर्वक गरिएको यस आक्रमणका दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले आतङ्कवादी हमलाका कारण राष्ट्र शोकको घडीमा रहेको बताउँदै सबैलाई धैर्य रहन, घाइतेको उपचारमा विशेष ध्यान दिन तथा हमलाकारीको खोजीमा सरकारी सुरक्षाफौज सक्रिय रहने बताएका छन् ।  –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप