केन्द्रीय संस्करण

चट्याङमय कारजङ पहाडको सम्झनामा

person explore access_timeबैशाख ७, २०७६ chat_bubble_outline0

युद्ध कालको समय थियो । जन गणतन्त्र रेडियो मगरात प्रसारण केन्द्र रोल्पाकै कारजङको धुरी पुग्दा नेपालको राजनीतिक परिवेशमा यु–टर्न आई सकेको थियो । जन गणतन्त्र रेडियोको इतिहासमा कारजङ पहाडले पनि एउटा ऐतिहासिक महत्त्व बोकेको छ । जलजला पहाड हाम्रो स्थायी स्टेसन जस्तै थियो । रेडियो जहाँ सरे पनि जलजला फर्केर आउँदा अर्कै आनन्द आउँथ्यो । कारजङ त्यतिखेर रोल्पाको सेरम गाविसअन्तर्गत थियो । अहिले सुनछहरी गाउँपालिकामा पर्दछ । सुलीचौरबाट थबाङ जाने क्रममा कारजङको धुरीमा, एउटा टल्किने चेप्टो चट्टान देखिन्छ । त्यसैको पछाडि हाम्रो रेडियो स्टेसन थियो । खैर, कारजङ डाँडामा बसेर अङ्ग्रेजीमा समाचार तयार गरी वाचन गर्दासम्म, देशमा गणतन्त्र यति छिटो आउला जस्तो लागेको थिएन । 

   कात्तिक मङ्सिरको समय थियो । नानीलाई रुकुमको मौराखारा पहाडमा रहेको पार्टीको कृषि फार्ममा छोडेर आएँ । त्यो फार्म उसको बुवा रविको कमान्डमा थियो । समुद्री सतहबाट चार हजार मिटरभन्दा बढी उचाइ रहेको छ त्यो पहाड । पार्टीको केन्द्रिय कृषि विभाग र रुकुमको जिल्ला पार्टीको सहकार्यमा फार्म सञ्चालनमा थियो । जङ्गली जनावरहरुको डर रहन्थ्यो । घुमन्ते रेडियो भएकाले पनि दुई वर्ष नपुगेका नानीलाई त्याहाँ छोडँे । त्यसपछि कुनै समयमा हिउँभन्दा मख्ख हुने म, कारजङको डाँडो निकै उराँठ लाग्न थाल्यो । नानीको स्वर कानमा गुन्जिरहन्थ्यो । तर पनि म आमा हुँदाहुँदै, पार्टीको जिम्मेवार कार्यकर्ता पनि थिए । त्यतिखेर धेरै नानीहरु बमबारुदका बीचमा जन्मिए र हुँर्किए । काममा मन लगाउने निकै प्रयास गर्थे । वरिपरि टुप्पा नै न भएका काला रूखहरु थिए । सुरुमा त रहस्यमै लाग्यो ।

रेडियो स्टेसन, त्यस्तै रुखहरुले घेरिएको थियो । पछि थाहा भयो, त्यो डाँडो चट्याङको राजधानी रहेछ । सपना जस्तो लाग्छ । त्यो मानव रहित, कम्मरसम्म हिउँ भएको डाँडामा, कसरी बस्यौँ ! सिद्धन्त र विचार बडो अच्चमको चिज रहेछ । जसले हाम्रो धमनीको रगतलाई पनि धातु बनाइदिन्छ । त्यतिखेर आमा नबन्ने सोच बदलेकोमा अफसोच लाग्यो । प्रवासको गोवामा बस्ने आमालाई निकै सम्झेँ । हेर्दा हेर्दै त्यो उराँठ लाग्दा डाँडा लालीगुराँसको फूलहरुले झपक्कै भरिए । अनेक रङ्गका लालीगुरास डाँडाभरी फुल्न थाले । माथि डाँडाबाट हेर्दा लागथ्यो, मानौँ कसैले माथिबाट विभिन्न रङहरु डाँडाभरी छरेको हो । अनि एक दिन मैले आँचल भरी लालीगुराँस टिपेर ल्याएँ । सवी बानियाँ र मेरो विस्ताराको बीचको टेबुलमाथि एउटा प्लास्टिकको डिब्बामा राखेर सजाएँ । रुकुम घर भएका प्राविधिक शिव गौतम भाइ केही कामले हाम्रो छाप्रोमा छिर्नुभयो । “बलै (बेकारमा) किन फूलहरु टिप्नुभएको आँचल दिदी । त्यस्तो मन पर्छ भने, बाहिर निस्केर रुखतिर हेरे भइहाल्यो नि !” उहाँले जाँदाजाँदै हाँस्दै भन्नुभयो । सवी मुसुक्क हास्नु भयो । त्यो मनलाई भुलाउने एउटा प्रयास थियो । छोडेको केही समयपछि नानीलाई भेटन जाँदा उसले मलाई टाढाबाट आन्टीभन्दा, आँसु थाम्न सकिनँ । 

   एक दिन बेलुका प्रसारणमा, सल्यानको हेमन्त वली कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्थ्यो । मेरो कार्यक्रम भर्खरै सकिएकाले म त्यतै नजिकै थिए । उहाँले वाकमेनमा मलाई कार्यक्रम रेकर्ड गर्न लगाउनुभएको थियो । एक्कासि चटयाङ पर्यो । हेमन्तजी लड्नुभयो । प्राविधिक साथी एमबी बाठा र म दौडिएर उहाँको नजिक गयौँ । सचिन पनि आउनुभयो । उहाँलाई छाप्रोतिर लग्यौँ । प्राविधिक साथी राजेश चौधरी पनि हल्का चोट लागेछ । धन्न ठूलो अप्रिय घटना भएन । त्यसपछि प्रायः सबै रात चटयाङमय हुन थाले । बिहान उठ्दा पारितिर रूखहरुबाट धुवाँ निस्किरहेको हुन्थ्यो । तारहरु अर्थिङ गरेका थियौँ तर विश्वस्त थिएनौँ । 
   एक दिन फुसफुस हिउँ परिरहेको थियो । दुई जना स्थानीय बहिनीहरु रेडियोका सामग्रीहरु बोकेर तल गाउँबाट आए । उनीहरु स्थानीय पार्टीमा जोडिएका थिए । एक जनाको खुट्टामा चप्पल थिएन । हिँड्दा हिँड्दै चप्पल चुडिएछ । त्यस्तो हिउँमा एक भारी सामान लिएर ३ घण्टा ठाडो उकालो हिँडेर आएको देख्दा निकै पीडा भयो । मैले इन्चार्ज सचिनजीसँग कुरा गरँे । रेडियोमा एक जोर जुत्ता रहेछन् । उनीहरु खुशी भएर झरे ।
 

 २०५८ र २०६० का वार्ता विफल भएपछि पनि पार्टीका तर्फबाट, निकै प्रयास भएका थिए । तर राज्य गम्भीर देखिएन । तेस्रो वार्ताको सङ्केत कहीँ कतै थिएन । २०६० को वार्ता चलिरहँदा दोरम्बा हत्या काण्ड घटेको थियो । साउन ३२, २०६० मा रामेछापको दोरम्बामा १९ माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिई हत्या गरिएको थियो । वार्ताका बीचमै यस्तो नरसंहार घटाउनु युद्ध बिराम तथा राजनीतिक आचरण विरुद्ध ठूलो उपहास थियो । यसले आम नेपाली जनता र वार्ताको पक्षधरलाई निरास बनाएको थियो । त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्रले नागरिक तथा राजनीतिक अधिकारविरुद्ध २०६१, माघ १९ का दिन ‘कू’ गरे ।

यो नेपालको इतिहासमै कालो दिनका रूपमा दर्ज भयो । उनकोे निरङ्कुश तथा तानाशाही कदमबारे समाचार हामीले जलजलाबाट प्रसारण गरेका थियौँ । पार्टीले पनि सैन्य कारवाहीहरु घनिभूत रुपले अगाडि बढायो । कालीकोटको पिली कारबाही २०६२ भाद्र २३, सबभन्दा उल्लेखनीय मानिन्छ । एक वर्षअघि २०६१ को चैतमा रुकुमको दोस्रो खारा कारबाही विफल भएको थियो । पिली सफलतालगत्तै असोजमा रुकुमको चुन्वाङमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ फौजी कार्यनीति ल्यायो । सोही बैठकले रणनीतिक प्रत्याक्रमणको दोस्रो योजना तयार पार्यो । “हुरी आउँदै छ, यो मनोगत कुरा होइन । त्यसको मुख्य कारक तत्व निश्चित रूपमा हाम्रो पार्टी, जनयुद्ध र सहिदहरु हुन । हामी इतिहासको ठूलो कठघरामा छौँ अहिले,” अध्यक्ष क. प्रचण्डले प्रशिक्षण दिनुभएको थियो ।

सामन्तवादको अन्त्य गर्न दुस्मनको सैन्य आधार कमजोर बनाउने कुरा थियो । “लोकतान्त्रिक गणतन्त्रका पक्षमा व्यापक मोर्चा कायम गरौँ ! राजनीतिक र फौजी प्रत्याक्रमणलाई नयाँ उचाइमा उठाऔँ !” यो मूल नारा रहेको थियो । सबै सैन्य डिभिजन र नेतृत्व गण्डक केन्द्रित गर्ने कुरा थियो । राजमार्गहरुमा कारबाही अगाडि बढाउने कुरा थियो । डेपुटी कमान्डर जनार्दन शर्मा ‘प्रभाकर’ पाल्पा, तानसेन लगायतका कारबाहीमा आफै सहभागी हुनुभएको थियो । तोप काठमाडौँतर्फ सोजिएको थियो । 

   २०६२ माघ १ मा थानकोट इलाका प्रहरी कार्यालय, माघ ८ मा झुरझुरे–मकवानपुर भिडन्त, माघ ९ मा फापरबारी–मकवानपुर, माघ १८ मा तानसेन–पाल्पा, माघ २३ मा धनकुटा सदरमुकाम, फागुन २७ सुनौल–नवलपरासी, माघ १३ मा घोडेतार–भोजपुर, फागुन १६ मा तिनगिरे–पाल्पा, चैत २४ मा मङ्गलवा–सर्लाही, चैत २५ मा तौलिहवा–बुटवललगायत विभिन्न अन्य कारबाहीबारे समाचार रेडियोबाट प्रसारण गरेका थियौँ । तानसेन, तिनगिरे, सुनौललगायतका सफल कारबाहीहरु थिए । रुकुमको दोस्रो खारा कारबाहीको प्रत्यक्ष प्रसारण मगरात र भेरी कर्णाली, दुवै जन गणतन्त्र रेडियोले गरेका थिए । उता काठमाडौँमा दलहरुबीच राजनीतिक एजेन्डा मिल्न धेरै समय लागेन । कि राजाको कदम ठीक भन्नुपथ्र्यो कि निरङ्कुशताको डटेर सामना गर्नु पथ्र्यो । देशमा गणतन्त्रका लागि आँधी हुरी सिर्जना हुन थाल्यो ।

नेताहरु कोही नजरबन्दमा परे, कोही भने भूमिगत भए । कोही भारत पुगे । प्रत्येक दिन धरपकड जारी रह्यो । नेता, कार्यकता, पत्रकार, नागरिक समाजका अगुवा, बुद्धिजीवी, अधिकार कर्मीलगायतको गिरफ्तारी हुन थाल्यो । ब्यारेकहरुमा उनीहरुलाई राख्ने ठाउँको अभाव हुन थाल्यो । आस्थाका बन्दीहरु पहिले नै त्यहाँ लुकाइएका थिए । अदालतले रिहा गरेका माओवादी कार्यकता वा समर्थकहरुलाई अदालत परिसरबाटै सादा पोसाकमा सेनाले पुनः पक्राउ गथ्र्यो । संवैधानिक राजतन्त्र पक्षधरहरु समेत राजतन्त्रको समाप्तिको कामना गर्न थाले ।

सबै सञ्चार माध्यममा सेना उपस्थित थियो । सम्पादकीय अधिकार सेनाले जबर्जस्ती आफ्नो हातमा लियो । जनमुक्ति सेना सहर पसेको कुरा व्यापक थियो । त्यसैले पनि सबै ठाउँमा सरकारी गुप्तचर खटाइएका थिए । कू हँुदा नेपाल पत्रकार महासङ्घका सभापति तारानाथ दाहाल र महासचिव विष्णु निष्ठुरी हुनुहुन्थ्यो । महासङ्घले २१ गते कू विरुद्ध विज्ञप्ती निकालेको थियो । नेपाल बार एसोसिएसनले पनि आफ्नो धारणा सार्वजनिक गर्यो । देशमा नयाँ किसिमको उथल पुथलको शङ्खघोष भइसकेको थियो । यसलाई रोक्ने तागत कसैसँग थिएन ।

बेलुकी बीबीसी नेपाली सेवा सुन्थ्यौँ । अन्तरवार्ताका लागि विभिन्न राजनीतिक नेताहरुलाई सम्पर्क गथ्यौँ । उहाँहरु भएको स्थान सुरक्षाको दृष्टिकोणले गोप्य राखिन्थ्यो । चौरमा समाचार लेख्दै गर्दा विभिन्न विषयमा चर्चा गथ्र्यौं । “दलहरुले खुट्टा कमाएनन् भने नतिजा राम्रो निस्कन्छ,” किशोर पन्थीजी भन्नुहुन्थ्यो । देशैभरी पार्टी कार्यकर्ताहरुलाई नयाँ विकसित घटनाक्रम बारे राजनीतिक प्रशिक्षण दिने क्रमले व्यापकता लियो । यसबीच हाम्रो रेडियो टिम पनि जलजलामा हुँदा, संयुक्त प्रशिक्षणमा सहभागी भएको थियो । सारा मानिस सडकमा उत्रिए । संयुक्त जनआन्दोलनको वातावरण बन्नका लागि १५ महिना लागेको थियो । २०६२ मङ्सिर ७ गते, दिल्लीमा सात दल र माओवादीबीच १२ बुँदे समझदारी भयो ।      

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...