बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटक लोभ्याउँदै राराताल, कर्णाली प्रदेशद्वारा पूर्वाधार निर्माणमा जोड

शनिबार, ०७ वैशाख २०७६, १३ : ३०
शनिबार, ०७ वैशाख २०७६

काठमाडा । मुलुकमा संघीयसहितको गणतन्त्रमा कार्यन्वयनको क्रममा छ । केन्द्र सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नाराअघि सारेको छ ।

कर्णाली प्रदेशको मुगु जिल्लास्थित सुन्दर पर्यटकीयस्थल रारा तालको स्तर उन्नती र प्रचार प्रसार गर्न सके राष्ट्रकै अर्थतन्त्रमा यसले महत्वपूर्ण टेवा पु¥याउने दुविधा छैन ।  

त्यसमा पनि सरकारले ल्याएको विकास र समृद्धीको योजना साँच्चीकै व्यवहारमा लागू हुन सके स्वर्ग जस्तै सुन्दर, शान्त एवम् मनोरम रारा ताल विश्वभरी नै पर्यटकका दृष्टिकोणले प्रख्यात हुन सक्छ । 

नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा परिचित रारातालको छिनछिन मै फेरिरहने सौन्दर्यताले त झनै आन्तरिक तथा बाह्य पर्यटकलाई लालायित बनाउँछ नै । 

त्यसमा पनि जेठदेखि असोज महिनासम्म विभिन्न फुलहरुको मुस्कानले सबैलाई स्वागत गर्दै मिठो आतिथ्य दिने रारातालको मनमोहक दृश्य देख्दा जो कोही पनि मनमोहीत हुने गर्दछन् ।

त्यसमा पनि रारातालमा डुंगा चढेर त्यहाँको सौन्दर्यतालाई नियाल्नुको आनन्द बेग्लै छ । 
रारातालमा रहेका २ वटा ढुंगामा पर्यटकको चाप अत्याधिक रहेको छ भने ढुंगा चालकको रोजीरोटी समेत यही तालले जुराइदिएको छ । 

हरियाली जंगलबाट चारैतिर घेरिएर बिचमा स्वच्छ पानीले भरिभराउ रारातालले घामको किरण अनुसार आफ्नो रुप फेरेर सुन्दरताको खानी प्रवाह गर्दछ । रारातालमा हवाई तथा स्थलमार्ग दुवै प्रयोग गरेर जान सकिन्छ । यसको लम्बाई ३.२ किलोमिटर छ भने चौडाई १ सय ६७ मिटर छ ।

यो ताले समुन्द्री सतहदेखि २९ सय ७२ मिटर उचाइमा छ । एकपटक रारातालमा पुगेर त्यहाँको सुन्दरता नियाल्ने जो कोहीलाई सैपाल हिमालको मनोरम दृश्यले  पनि थप मनमोहक बनाउँछ ।  त्यसमा पनि हिमपातले चाँदी झैं टल्किएका हिमाल तथा बाटाहरुले त स्वर्गको अप्सरा जस्तै देखिने राराताललाई झनै सुन्दरताको पकडी बाँधी दिन्छ । 

राराताल पुगेका पर्यटकहरु त्यसको सौन्दर्यता र मनोरमतालाई अझैं धितमरुन्जेल नियाल्न करिब २ घण्टाको पैदल यात्रापछि यसको पश्चिमतिर मुर्मा टपमा पुग्ने गर्दछन् । जहाँबाट रारातालका साथै तालमा छायाँ परेर बसेका सन्दर हिमालका आकृतिहरु र ताल छेउछाउमा रहेको हरियो जंगल, चराचुरुङ्गीको चिरविर आवाजले स्वर्गको आभास दिन्छ । माधक पदार्थले मानवीय स्वास्थ्यमा नकारात्मक असर परिरहेको बेला प्रदेश सरकारले राराताललाई मदिरामुक्त बनाएको छ । 

स्थानीय खानाका परिकारले गर्दा त्यहाँ पुग्ने पर्यटकले फरक किसिमको खानाको स्वाद लिने गर्दछन् । अझैं भन्नु पर्दा अर्गानिक खाना मार्सि चामलको भात र च्याङग्राको मासुको स्वादले पर्यटकलाइ लोभ्याउने गर्दछ । यस्तै फापरको रोटी र स्थानीयहरुले फलाएको हरियो तरिकारीको स्वाद चाख्न पाइन्छ । 

विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणमा गएका विद्यार्थीहरुका साथै आन्तरिक पर्यटकले भरीभराउ रारातालमा रारा लेक रिसोर्ट, हेरिटेज रिसोर्ट, डाँफे होटलका साथै रारा मुर्मा होमस्टेमा खाना बस्नको व्यवस्था छ ।

रारातालमा पुगेर त्यहाँको प्राकृतिक सौन्दर्यतालाई नजिकैबाट निक्लेका काठमाडौंका सिताराम शर्माले रारातालको पर्यटन विकास गर्न सकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भिक्र्यान सकिने बताए । 

रारातालमा घुम्न आएका नुवाकोटका सहदिप थापाले बाटो राम्रो बन्दै गएपनि त्यसलाइ अझै व्यवस्थापन गर्न सकिएमा राराताल नेपालकै सुन्दर पर्यटकीय स्थल बन्न सक्ने बताए ।

शैक्षिक भ्रमणमा गएका नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा एमएचएम मा अध्ययनरत विद्यार्थीहरुको टीलेम राराताल एकपटक पुग्नै पर्ने पर्यटकीयस्थल भएको बताए । 

नेपालका यस्ता पर्यटकीयस्थललाई विश्वभरि नै चिनाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनु पर्ने उनीहरुको सुझाव छ । रारातालका साथै त्यहाँ भएका प्राकृतिक साधन स्रोतले नेपाली हुनुको गर्वको अनुभूति गरेको उनीहरु बताउछन् । कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दसिंह बुढाले प्रदेश सरकारले रारातालको वरिपरि पदमार्ग निर्मााण ३ करोड बजेट छुट्याएको बताए ।  

प्रदेश सरकारले पर्यटकका लागि कार्यविधि तयार पार्न लागि परेको मन्त्री बुढाले बताए ।
कर्णाली प्रदेशमा राराताल हुनु नेपालकै लागि गौरवको विषय भएको भन्दै मन्त्री बुढाले समग्र कर्णाली प्रदेशको पर्यटन विकासको लागि प्रदेशस्तरीय पर्यटन वोर्डको गठनको तायरी भइरहेको बताए । 

मन्त्री बुढाका अनुसार आन्तरिक तथा बाह्य पर्यटकका लागि रारातालमा पुग्न र त्यहाँको सुन्दरतालाई अझै सहज तरिकाले अवलोकन गर्नको लागि प्रदेश सरकारले ३ ठाउँमा होमस्टेको व्यवस्था गर्न लागेको छ । 

रारा मुर्मा होमस्टेका संचालक देवीकृष्ण रोकायले रारातालको विकास र विस्तारका लागि विकास वोर्ड गठन गर्नुपर्ने सुझाव दिए । राराताल नजिकै रहेको डाँफे होटल तथा लजका बलिराज शाहीले रारातालमा होटल व्यवसाय गरेर पर्यटन क्षेत्रमा आफुले सहयोग गरेको बताए । 

बलिराज शाहीले सरकारले  राराताललाई प्रमुख महत्व दिएर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण केन्द्रविन्दु बनाउनुपर्ने बताए  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप