केन्द्रीय संस्करण

अमादब्लम र मनहरू

person explore access_timeबैशाख ७, २०७६ chat_bubble_outline0

-साकारबाबु सुवेदी

अमादब्लम मभित्र चुलिन छाडेछ
अब मन पनि मन नरहने होला
चिसै नहुने मन पनि के मन हो र ?
शिशिरमा पनि जम्न नसक्ने ।

अहम्ताको रापले पग्लिनुपर्र्ने
झरेर आकार लिन नसक्ने
ओरालै ओरालो महाभारतसम्म
आवेगमै सधैँ दौडनुपर्ने ।

डर लाग्दो हो, सम्म सपाटमा चल्न
गति क्रमशः क्षय हुँदै जानाले
अरूकै उचाइबाट गति लिनाले
आवेग बिस्तारै गुम्दै जाने होला ।

कद काटिने भो अमादब्लमको
मन चाहिँ महभारतकै फाटिने होला
कहाँ स्थिर रहला र ओरालो गतिमा ?
डुब्नुपर्ने त सपाटले नै भयो ।
अमादब्लम मभित्र चुलिन छाडेछ
चिसा बन्न नसकेका मनहरूले सोचे
रापिलो मस्तिष्क छामेर बुझ्नुपर्ने
तरलै सरल लाग्ने महाभारतको रुचि ।

वेग जब आवेगमै गहिरो बन्न थाल्छ
क्षय त महाभारतको पनि देखिने होला
अचल बेगहरू सतहमै उत्तानो पर्दा
सम्म सपाट उचाइ घाँटीसम्म नापिने भयो ।

कद त सबै उचाइअनुसार नै घट्दै जालान्
घट्न नसक्ने मनको उचाइ बढ्ने नै होला
एकैनाश नहोला दुर्गति सबको गतिमा
बढेर उचाइ सपाटको भय त झन् देखिने भो ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...