केन्द्रीय संस्करण
मेराे जीवन

व्यवसायी रूपेश पाण्डेको जीवन : एउटै सपना बिजनेसको माध्यमबाट विश्वमा चिनिन सकौँ भन्ने छ

person explore access_timeबैशाख ७, २०७६ chat_bubble_outline6
फोटोः सुवास श्रेष्ठ
कुवेर गिरी

रातोपाटी

व्यापार व्यवसायका लागि व्यावसायिक घरनामै जन्मनुपर्छ भन्ने मान्यता हाम्रो समाजमा छ । तर यो मान्यलाई गलत सावित गरिदिएका छन् व्यवसायी रूपेश पाण्डेले । रूपेश एउटा साधारण हाइस्कुल टिचरका छोरा हुन् । तर उनी यतिबेला भने नेपालको एक टप व्यवसायीमा समेत गनिन्छन् ।  पर्साको वीरगन्ज निवासी हाइस्कुल टिचर ब्रिजमोहन पाण्डे र उनकी श्रीमती लिलावती पाण्डेका छोरा रूपेशले २०५५ मा बुबाले ट्युसन फिस र कोठाभाड तिर्न दिएको ५ हजार रुपैयाँले भारतबाट रेडिमेट कपडा नेपालमा ल्याएर बिक्री गर्दै व्यवसाय थालेका हुन् । 

डाक्टर बन्ने उद्देश्यले आईएस्सी सके पनि त्यसपछि अगाडि पढ्ने पैसा नभएका कारण बीए अध्ययन गरेका रूपेश अस्थायी शिक्षकको जागिर छोडेर बिजेसमा होमिएका थिए ।  उनी बिजनेसमा मोडिनुको पनि बेग्लै कथा छ । ‘बुबाले पढाएको एक व्यवसायीले शिक्षण गरेर केही हुँदैन । बिजनेस गर भनेर हौस्याएपछि आफू जागिर छोडेर बिजनेसमा होमिएको उनले बताए । पारिवारिक होस् वा व्यावसायिक जिन्दगीमा क्लियर भएर अगाडि बढ्नुपर्ने मान्यता राख्दै आएका व्यवसायी रूपेशसँग रातोपाटीको मेरो जीवनस्तम्भका लागि गरिएको कुराकानी ।


मेरो खाना
जहाँ भए पनि मनपर्ने खाना रोटी, दाल, पालक पनिर र साग हो । मन नपर्ने खासै केही छैन । रेस्टुरेन्ट धेरै जाँदिनँ । कहिले काहीँ गेस्ट भएको समय जानै पर्छ । रेस्टुरेन्टमा गए पनि खाने भनेको कफी, हट लेमन मात्रै हो । मलाई पकाउन रुचि छ । घरमा खाना पनि पकाउने गरेको छु । पर्बल, काउली फ्राई गरेर दालभात, तरकारी पकाउन मनपर्छ । शनिबारको दिन कहिले काहीँ आफै पकाउँछु । मैले सबैभन्दा मीठो पकाउने भनेको पालक पनिर नै हो । 


  
मेरो पोसाक
मेरो मनपर्ने पोसाक फर्मल सर्ट पाइन्ट नै हो । सेतो र पहेलो रङ बढी मनपर्छ । ब्रान्ड कन्सेस पनि छु । लोकल किन्दा विभिन्न समस्या निम्तिन सक्छ ।
म धेरै कपडा ‘रेडिमेड’ नै किन्छु । पोसाकमा वार्षिक खर्च यति नै हुन्छ भन्ने छैन । सपिङ मेरो जिन्दगीको ठूलो शोख हो । यसमा पनि म लुगा धेरै किन्छु । बेलाबेलामा विदेशका विभिन्न देश पुगेको हुन्छु । त्यो बेला लुगा, घडी किन्छु । राम्रो लागेको र मन परेको पहिरन महँगो भए पनि किन्छु ।

मेरो फिट्नेस
बिहान नियमित ४ः३० मा उठ्छु । सुरुमा सौच सकेर योगा, सूर्य प्रणाम लगायत दैनिक ३० मिनेट एक्सरसाइजलाई नै दिन्छु । 

मेरो अध्ययन
हरेक दिन किताब पढ्छु । अहिले पढिरहेको किताव ‘हाउ टु स्टप वरिङ एन्ड स्टार्ट लिभिङ’ हो । जसको लेखक डेल कार्नेजी रहेका छन् । यो किताब हालै अमेरिका गएको बेला ल्याएको थिएँ । विशेष गरेर अर्थशास्त्र, व्यवसायसम्बन्धी किताबमा पढ्न रुचि रहँदै आएको छ । 

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । अहिलेसम्म ४१ देश घुमिसकेँ । देशका अधिकांश जिल्ला पुगेँ होला । परिवारसँग धेरै ठाउँ घुमेको छैन । बिजनेसको कारणले सधैँ लिएर जान पनि मिल्दैन ।
धेरैजसो छोरी लिएर जाने गरेको छु । व्यक्तिगत रूपमा पनि सपिङ महल, गार्डेन र कफीसपमा जान मनपर्छ । घुमेकामध्ये सबैभन्दा मन परेको देश बेल्जियम हो । बेल्जियको वातावरण राम्रो छ, त्यहाँका मानिस सहयोगी छन्, उनीहरुको मन सफा रहेको पाएँ ।

मेरो फुर्सद
फुर्सद धेरै हुँदैन । हरेक दिन बिहान ८ बजे म अफिस पुग्छु । साँझ ७ बजेसम्म रहन्छु । धेरै काम गर्नुपर्ने हुन्छ । पसल, अफिसलगायत सबैतिर आफैले हेर्नुपर्छ । सातामा एक दिन शनिबार फुर्सद हुन्छ । त्यो दिन बिहान पहिले मन्दिर जान्छु । शनिबार मात्र होइन । मन्दिर त हरेक दिन जान्छु । काठमाडौँमा रहँदा कमलादी गणेश मन्दिरमा पूजा नगरी पानी पनि खान्नँ ।

१७ वर्ष भयो मेरो यो रुटिङ नियमित नै छ । मन्दिर पुगे पनि म पहिले परेवालाई आहार खुवाउँछु । त्यसपछि गणेशको पूजा गर्छु । अनि हनुमान चालिसा पढ्छु । यी सबै कार्य गर्न मलाई ३० मिनेट लाग्छ ।
त्यसपछि म अफिस जान्छु । अफिस पुगेपछि कफी खाँदै पत्रपत्रिका पढ्छु । अनि दिनभरी गर्ने कामतिर लाग्छु । काममा पनि पहिले गर्नुपर्ने कामको लिस्ट बनाउँछु । साँझ ७ बजेसम्म काम गरेपछि घरमा जान्छु । घरमा पुगेपछि मोबाइल अफ गरेर आनन्दले बस्छु ।

फुर्सदको समय कहिले काहीँ परिवारसँग बिताउँछु । कहिले एक्लै धुलिखेल, बनेपा गएर त्यहाँको क्याफेमा कफी, नान खाँदै दिन विताएर मात्र फर्कन्छु ।   

मेरो खेलकुद
सानोमा म भलिबल र फुटबलको राम्रो खेलाडी थिएँ । गाउँमा स्कुल पढ्दा फुटबल खेल्थेँ । सो समय जिल्लास्तरीय फुटबल प्रतियोगितामा पनि भाग लिन्थेँ । वीरेन्द्रसिल नामक भलिबल प्रतियोगिताका लागि पहिलो पटक काठमाडौँ आएको थिएँ । अहिले पनि यी खेलमा रुचि छ । तर समयको कारण खेल्न सक्दिनँ । अहिले हेरेर आनन्द लिन्छु । फुटबल धेरै मनपर्छ । त्यसपछि मनपर्ने खेल क्रिकेट हो ।

मेरो मोबाइल
अहिले मसँग दुईटा मोबाइल छ । एउटामा नेपालको पर्मानेन्ट सिमकाड राखेको छु । अर्काेमा प्राइभेट रोमिङ नम्बर छ । जुन विदेश जाँदा लिएर जाने गरेको छु । 

मसँग आइफोन र स्यामसुङ दुवै ब्रान्डको लेटेस्ट भर्सनका मोबाइल सेट छन् । मोबाइलको नयाँ भर्सन अन्तर्राष्ट्रिय बजारमा भित्रिने बित्तिकै मैले पनि चलाउने गरेको छु ।  अमेरिकामा आइनफोन लन्च भएकै दिन मेरो घरमा पनि आइपुग्छ । एक पटक अमेरिकाको लस एन्जलसमा बोटिङ गर्दा मोबाइल, पर्स हराएको थिएँ । अहिलेसम्म गिफ्ट कसैले दिएको छैन । लिने काम पनि ठीक लाग्दैन ।

मेरो टीभी
हरेक बिहान र बेलुका टीभीमा बीबीसी न्युज हेर्छु । त्यसपछि कान्तिपुर टीभीको समाचार हेर्छु । कान्तिपुर टीभीको ८ बजेको समाचार कहिल्यै मिस गर्दिनँ । घरमा सामसुम र सोनी ब्रान्डका ७५ इन्चका २ वटा टीभी छन् ।

मेरो चलचित्र
चलचित्र हेर्छु । फिल्म हलमै गएर हेर्ने गरेको छु । पछिल्लो समय हेरेको बलिउडमा ‘टाइगर जिन्दा है’ र नेपालीमा ‘छक्का पन्जा ३’ हो । कहिले परिवारसँग, कहिले साथीको साथमा त कहिले एक्लै पनि फिल्म हेर्छु । हिन्दी होस् या नेपाली राष्ट्रियता बोकेका, एक्सनले भरिएका फिल्म मनपर्छ । फिल्मले समाजलाई केही बाटो देखाओस् । फिल्मबाट केही सिक्न मिलोस् भन्ने मेरो सोच रहन्छ । 

मेरो रोग
भगवानको कृपाले अहिलेसम्म रोग केही छैन ।
 
मेरो भाषाशैली
भाषामा भोजपुरी, हिन्दी, नेपाली र अङ्ग्रेजी बोल्न सक्छु । चाइनिस पनि बोल्न आउँछ । कुरा गर्दा घुमाएर गरेको मन पर्दैन । म कुरा घुमाएर गर्न पनि सकिन्न र अरूले गरेको पनि मन पर्दैन । फ्र्याङ र क्लियर कुरा गर्नुपर्छ भन्ने मेरो मान्यता रहँदै आएको छ । मुखमा रामराम बगलीमा छुरा राखेर कुरा गर्ने बानी भएका मानिस मन पर्दैन ।

मेरो मापसे
मापसे कहिल्यै गर्दिनँ । घरमा सजाएर भने राखेको छ । अरूलाई खुवाउन रमाइलो लाग्छ । साथीभाइलाई घरमा बोलाएर खुवाउने गरेको छु । रक्सी विदेशबाट पनि ल्याउने गरेको छु । साथीहरुले पनि दिन्छन् । 

मेरो सङ्गीत
कहिले काहीँ गीत सुन्छु । सेन्टिमेन्टल खालका गीत बढी मनपर्छ । गाडीमा हुँदा धेरै गीत सुन्छु । गीतसङ्गीतले मनमा शान्ति फिल गराउँछ । गाउन भने रुचि कहिल्यै भएन ।

मेरो भूल
जीवनमा धेरै भूल भएका होलान् । कोही मानिसलाई मैले धेरै विश्वास गरेको थिएँ । त्यो मेरो ठूलो भूल हो । मानिसलाई चाँडोभन्दा पनि सोचेर विश्वास गर्नुपर्छ भन्ने पाठ त्यसपछि  सिकेँ । स्कुल पढ्न होमवर्क गरेको कपी ब्यागमा हाल्ने बेलामा घरमै बिर्सिएछु । होमवर्क नगरेको भनेर स्कुलमा सजाय पाएँ । त्यो हो मैले भूल नगरी पाएको सजाय । मैले सरलाई सबै कुरा क्लियर गरेको थिएँ । तर मान्नु भएन ।


मेरो राशि
मेरो राशि तुला हो । कहिले काहीँ ग्रहदशासमेत हेराउने गरेको छु । विश्वास लाग्छ । अहिले मेरो ग्रहदशा राम्रो चलेको छ । हरेक दिन घर र कमलादी गणेशको पूजा नगरी पानी पनि खान्न ।

मेरो सौन्दर्यचेत
सौन्दर्यमा खासै ध्यान दिन्नँ । अहिलेसम्म केही गर्ने गरेको छैन । खाली दाह्री काट्छु । त्यसपछि सेभिङ क्रिम लगाउँछु ।

मेरो सपना
उद्देश्य र सपना भएन भने मानिस अगाडि बढ्न सक्दैन भनिन्छ । मेरो विचार पनि त्यही हो । म सधैँ आफूबाट कोही दुःखी हुन नपरोस् । कामको कारणले मानिसले मलाई चिनून् । बिजनेसको माध्यमबाट विश्वमा चिनिन सकौँ । एउटै सपना यही छ । 

मेरो प्रेम 
म तराईको हाइस्कुलमा पढेको व्यक्ति भएकाले प्रेम कहिल्यै परेन । त्यसतिर ध्यान पनि गएन । म सिम्पल हाइस्कुल टिचरको छोरा हुँ । व्यावसायिक घरानबाट आएको बिजनेस म्यान होइन । त्यसैले मेरो प्रेम, माया जे बस्यो । त्यो बिजनेसमा नै रह्यो । त्योबाहेक मैले कसैललाई प्रेम गर्न पुगिन् । सीधै भन्नुपर्दा प्रेम गर्ने फुर्सद भएन । जोसँग विवाह भयो । उनीलाई नै प्रेम गरेँ ।

मेरो मृत्यु
जन्मेपछि मर्नुपर्छ । यो सत्य हो । मृत्यसँग म कहिल्यै पनि डराउँदिन र डर लाग्दैन पनि । मृत्यु पछि आफूलाई चिन्नेले दुई थोपा आसु बगाउने काम गर्न सकिन कि भन्ने डर सधैँ लाग्छ । त्यस्तो एउटा इमेज बनाएर मर्न पाऔँ । मरेपछि पनि धेरैले सम्झना गरून् । कामका कारणले सबैको मनमा अमर भएर रहन सकौँ । 
 

कमेन्ट

  1. April 22, 2019, 9:38 a.m. sumit
    superb may god bless you rupesh,
  2.  0 Reply
  3. April 22, 2019, 9:36 a.m. parineeti
    hello rupesh thank you soo much and keep it up,real hero of business and life.take care.
  4.  0 Reply
  5. April 21, 2019, 7:38 p.m. Amaleshwar Mishra
    excellent story.May god bless you and be successful . Thanks
  6.  0 Reply
  7. April 20, 2019, 5:08 p.m. Narayan prasad sapkota
    Excillent story thank you so much I am a trainer Technical sector & skill test assessor of CTEVT
  8.  0 Reply
  9. April 20, 2019, 3:08 p.m. Prastav Kc
    Nikkai ramro x. Yesri Safal bykti le thorai farak dhanga bata aafno jiban chalaudanai unihru le sajilai sang unnati garna skeka hunxn vnne suchana sabai samu puraunu vyeko ko ma yeha ko sampurna pariwarlai antar aatma dekhi nai dhanyabad. Vabishyama yestai thap buaktitto ko bare ma pani hjur hruko dhyan jawas. Shuvakamana. Antwma uhako jasto soch vye ka yuwa hruma aafno bato byabsahaik dhar ma parinartan garn ke garnu parla yo bishyama pani chhalfal garidinu vye thap prvab kari hunthyo ki.
  10.  0 Reply
  11. April 20, 2019, 1:04 p.m. Nisha baniya
    Hero of my moto
  12.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...