शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय खेलकूदः चन्द्रकलाको अर्को कीर्तिमान, आर्चरीको छनोट चरण सम्पन्न

शुक्रबार, ०६ वैशाख २०७६, २० : २०
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौं–आठौं राष्ट्रिय खेलकूद अन्तर्गत सुक्रबार भएको एथलेटिक्सको महिला ज्याभ्लिन थ्रोमा नेपाल प्रहरीकी चन्द्रकला लाम्गाडेले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

दाङको बेल्झण्डीमा भइरहेको प्रतियोगितामा चन्द्रकलाले ४४.०५ मिटर थ्रो गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी हुन् । एक वर्षअघि इटहरीमा भएको राखेप च्याम्पियनसिपमा चन्द्रकलाले ४३.९४ मिटरको कीर्तिमान बनाएकी थिइन् ।

पहिलो दिन बिहीबार चन्द्रकलाले सटपुटमा पनि कीर्तिमानी स्वर्ण जितेकी थिइन् । आर्मीकी लक्ष्मी थारु दोश्रो तथा एपीएफकी सीमाकुमार थारु तेश्रो भए ।

पुरुषमा आर्मीका रोहित चौधरी पहिलो भए । उनले ५६.५८ मिटर टाढा फाले । एपीएफका मनोज डगौरा दोश्रो तथा प्रहरीका वीरेन्द्र चौधरी तेश्रो बने । पुरुष १ हजार ५ सय मिटर दौडमा आर्मीका टंक कार्कीले स्वर्ण जिते । निर्धारित दूरी तय गर्न टंकले ४ मिनेट ०१.९ सेकेन्ड समय लगाए । आर्मीकै उमेश मगरले रजत तथा एपीएफका सन्तोष विष्टले कांस्य जिते । सो स्पर्धाको महिलामा आर्मीकी सरस्वती भट्टराईले शीर्ष स्थान हात पारिन् । सरस्वतीले ४ मिनेट ३६.० सेकेन्ड समय खर्चिन् । प्रदेश ३ की सन्तोषी श्रेष्ठ दोश्रो तथा एपीफकी फुलमती राणा तेश्रो भए ।

पुरुष लङजम्पमा आर्मीका डिल्ली खत्री पहिलो भए । उनले ६.९६ मिटर हाम्फाले । प्रदेश ३ का भुवन महतो दोश्रो तथा प्रहरीका गोपाल चौधरी तेश्रो स्थानमा रहे । त्यसै स्पर्धाको महिलामा ५.२१ मिटर हाम्फालेर आर्मीकी कृष्णा चौधरी पहिलो भइन् । एपीएफकी शिला चौधरी दोश्रो तथा प्रदेश ५ की जयरानी चौधरी तेश्रो भए ।

ह्यान्डबलमा गण्डकी विजयी

आठौंअन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुषमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४३–१५, आर्मीले कर्णाली प्रदेशलाई ४७–१०, प्रदेश १ ले प्रदेश २ लाई २८–१४ र एपीएफले प्रदेश ३ लाई ३९–२३ ले पराजित गरे । महिलामा गण्डकीले प्रदेश ५ लाई २२–४ र प्रदेश ३ लाई १५–४, आर्मीले कर्णालीलाई ५४–२, सुदूरले प्रदेश २ लाई ७–२ तथा एपीएफले प्रदेश १ लाई २८–१० ले हराए । पुरुष÷महिला दुवैमा सातै प्रदेश, आर्मी र एपीएफ गरी ९ टिम सहभागी छन् । पुरुषको १९ औं र महिलाको १० औं संस्करण हो । फाइनल बैशाख १० गते हुने छ ।

 
सेपाकताक्रोमा प्रदेश ३ सेमिफाइनलमा


राष्ट्रिय सेपाकताक्रोको महिला रेगुमा प्रदेश ३ समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

 दोहोरो जित हात पारेको प्रदेश ३ ले गण्डकीलाई २–० तथा प्रदेश ५ लाई २–० को सोझो सेटमा पराजित ग¥यो । तीन टिम रहेको यो समूहबाट प्रदेश ४ ले प्रदेश ५ लाई २–० को सीधा सेटमा हराउदै उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनायो । समूह ‘बी’ को लिगमा आर्मीले प्रदेश १ लाई २–० ले पन्छायो । बर्दियाको गुलरियामा भइरहेको प्रतियोगिताको पुरुष रेगुमा सुदूरपश्चिम प्रदेशले प्रदेश ३ लाई र प्रदेश १ लाई समान २–१, प्रदेश ३ ले प्रदेश १ लाई २–० र आर्मीले प्रदेश ५ लाई २–० को सेटमा निराश पारे ।


आर्चरीको छनोट चरण सम्पन्न

 राष्ट्रिय आर्चरी प्रतियोगिताको पहिलो दिन विभिन्न स्पर्धाका छनोट चरणका खेलहरु सम्पन्न भएका छन् । महिला रिकर्भमा आर्मीका ज्ञानु अवाले, आइशा तामाङ र मित्र राई तथा अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूसहित ८ खेलाडीले छनोट चरण पार गरे । उक्त स्पर्धाको पुरुषमा कास्कीका मुकेश तामाङ, आर्मीका रोशन नगरकोटी, कास्कीका अििशम शेरचन, प्रहरीका तिलक पुनसंगै १६ खेलाडीले छनोट चरणमा सफलता पाए ।

पुरुष कम्पाउन्डमा कास्कीका जाग्रित गुरुङ र राजेश राणा, थसाङ स्पोर्ट्स क्लब, काठमाडौंका रमेश भट्टचन र बाँकी २ ले छनोटमा सफलता पाए । पुरुष स्ट्यान्डर्ड ३० मिटरमा आर्मीका तविन गुरुङ, बेस्ट आर्चरी क्लब, काठमाडौंका प्रज्वल राइ, आर्मीका कमल दानी, अन्नपूर्णका राजकुमार छन्यालसहित ३२ खेलाडी छनोट भए । महिला स्ट्यान्डर्डमा अन्नपूर्णकी अर्चना थापा, एपीएफकी सोनुजया राई, अन्नपूर्णकी अनुशा गुरुङ, आर्मीकी मन्जु बजगाईंसहित १६ खेलाडी छनोट भए । प्रतियोगितामा ८८ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता आइतबारसम्म चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप