शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैशाख ६ गतेः पाँच नम्बर प्रदेशमा कहाँ के भयो ?

शुक्रबार, ०६ वैशाख २०७६, १९ : ११
शुक्रबार, ०६ वैशाख २०७६

राष्ट्रपतिसँगको भेटघाटले जनप्रतिनिधि उत्साहित

बाँके– राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित भएका छन्

“हाम्रै शहरमा राष्ट्रपतिज्यूले हामीलाई सम्झना गरेर भेटघाट गर्नुभयो, यस क्षेत्रको विकास निर्माणबारे चासो देखाउनुभयो, यो हाम्रो लागि ठूलो अवसर हो,” नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले भने, “राष्ट्रपतिज्यूसँग प्रत्यक्ष रुपमा भेटघाट गरेर विकास निर्माणका सवालमा छलफल गर्न पाउँदा खुशी लाग्यो ।”

उनले राष्ट्रपतिसामु स्थानीय सरकारका कामकार्वाही र बाँके बर्दियाको विकासको सवालमा कुरा राख्न पाउँदा आफूहरु उत्साहित भएको बताए । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले नेपालगञ्ज विमानस्थलको स्तरोन्नति र सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालनका बारेमा राष्ट्रपतिसामु कुरा राख्न पाउँदा हर्षित भएको बताए ।

राष्ट्रपतिसामु आफूले प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय हुनुपर्ने, स्थानीय सरकारको अधिकार कटौती नगर्नुपर्ने लगायतका सवालमा गाउँपालिका महासङ्घका तर्फबाट कुरा राखेको बताए ।भेटघाटमा स्थानीय सरकारका जनप्रतिनिधिले राखेका समस्या र प्रदेश सरकारका बारेमा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले राष्ट्रपतिसामु आफ्ना कुरा राखेका थिए ।

जनप्रतिनिधिको कुरा सुनेपश्चात् राष्ट्रपति भण्डारीले जनप्रतिनिधिलाई जनताको काम सहज रुपमा गर्न आग्रह गरेकी थिइन् ।

स्थापना दिवसमा नेविसंघले बनायो ३ ठाउँमा जेब्राक्रस

बुटवल । ५० औं स्थापना दिवसको अवसरका नेपाल विद्यार्थी संघ हरैया बहुमुखी क्याम्पस इकाइले जेब्राक्रसकोे निर्माण गरेको छ ।

रुपन्देहीको कञ्चन गाउँपालिका ३ स्थित हरैया मावि, हरैया बहुमुखी क्याम्पस र कञ्चन ५ स्थित लुम्बिनी ज्ञान निकेतन मावि अगाडिको सडकमा जेब्रा क्रसिङ निर्माण गरेको हो ।

शैक्षिक संस्था नजिकै दुर्घटना बढेकाले विद्यार्थीले सडक पार गर्ने ठाउँमा जेब्रा क्रसिङ बनाएको हरैया क्याम्पसका स्ववियु सभापतिसमेत रहेका प्रकाश उपाध्याय पौडेलले बताए ।

जेब्रा क्रसिङको उद्घाटन नेपाली काँग्रेस कञ्चन गाउँपालिका संयोजक यमबहादुर क्षेत्रीले गर्दे आगामी दिनमा यस्तै सकारात्मक सामाजिक काम गर्न नेविसंघलाई सुझाव दिए । ५० औं स्थापना दिवसको अवसरमा हरैया बहुमुखी क्याम्पसमा शुक्रबार नेविसंघमा आवद्ध विद्यार्थीहरुले  पाँच नम्बर प्रदेशका बिभिन्न ठाउँमा दीप प्रज्वलन गरेका छन् ।

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

दाङ–वैदेशिक रोजगारमा ठगी गरेको आरोपमा प्रहरीले दाङबाट एकजनालाई पक्राउ गरेको छ । अमेरिका पठाइदिन्छु भन्दै लाखौं रूपैयाँ ठगेको उजुरी परेपछि नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले घोराहीका टोपबहादुर जिसीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका जिसी नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य हुन् । उनलाई दाङ प्रहरीको सहयोगमा ब्युरोको टोलीले पक्राउ गरेको दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् । 

विप्लव माओवादीका जिल्ला सचिवालय सदस्यद्वारा राजीनामा

कपिलबस्तु–नेकपा विप्लव माओवादी कपिलवस्तुका जिल्ला सचिवालय सदस्यले राजीनामा दिएका छन् । 

 विप्लव माओवादी जिल्ला सचिवालय सदस्य कपिलबस्तु नगरपालिका–६ गोबरी निवासी जीत बहादुर यादवले पार्टीबाट राजीनामा दिएको बताए ।

उनले एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लव माओवादी छोडेर स्वतन्त्र रहेको बताएका छन् ।

पार्टी आफूलाई काम गर्न नसक्ने बताउदै घर बस्न भनेकाले आफू स्वतन्त्र रहन चाहेको  विज्ञिप्तीमा उल्लेख छ ।


भैरहवामा राप्रपाको कार्यक्रममा तनाव
बुटवल ।  सरकार समक्ष बिभिन्न २२ बूंदे माग राखी आन्दोलनरत राप्रपाका कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ

सिद्धार्थ नगरपालिकाको मिलनचोकमा राप्रपा नेता तथा कार्यकर्ताहरुले धर्मनिरपेक्षता लेखिएको ब्यानर जलाउने क्रममा प्रहरीले रोक्न खोज्दा दुई पक्ष बीच सामान्य झडप भएको हो ।

आफूहरुले गरिरहेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले अवरोध सिर्जना गरेको राप्रपा जिल्ला अध्यक्ष सागरप्रताप राणाले जानकारी गराए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप