बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बालुवाटार जग्गा प्रकरणमा महासचिव पौडेलले फेरि मुख खोले

शुक्रबार, ०६ वैशाख २०७६, १८ : ५९
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौं– नेकपा महासचिव विष्णु पौडेलले  आफू र छोरा नवीन पौडेलको नाममा रहेको बालुवाटारको जग्गाबारे भ्रम सिर्जना गर्न खोजिएको दाबी गरेका छन् । 

 कित्ता नं. ३०९ को क्षेत्रफल ०–०–१–१ र कित्ता नं. ३१५ को क्षेत्रफल ०–७–२–३ (कूल आठ आना) जग्गाका सम्बन्धमा  वास्तबिकता ओझेल पर्नेगरी  समाचारहरू प्रकाशित भएको उनले दाबी गरेका छन् । 
‘सरकारी जग्गा हडप्ने दुषित मनसायले कागज श्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै कार्यमा म र मेरो परिवारका कुनै पनि सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको र कहिल्यै नरहने पनि अवगत गराउन चाहन्छु ’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेरो निम्ति यस्तो अपराधजन्य गतिविधि सोच्नसमेत नसकिने बिषय हो ।’

उनले २०६१ पुस २९ गते काठमाडौँ महानगरपालिका वडा नं. ४, बालुवाटारस्थित उक्त ८ आना जग्गाको दर्ता श्रेस्ता सम्बन्धित मालपोत कार्यालयमा बिक्री गर्ने व्यक्ति उमा ढकाल र माधवी सुवेदीको नाममा कायम रहेको र प्रचलित कानुनबमोजिम सम्बन्धित कार्यालयले खरिद बिक्री गर्न मिल्ने एकिन गरी लिखत पारित गरी लाग्ने राजश्व लिई छोरा नवीन पौडेलको नाममा पास गरिदिएको समेत जनाएका छन् । 
सो जग्गा आफूले २०६१ असोज २४ गते नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. १० (साविक तिलकपुर गाउँ विकास समिति, वडा नं. ३) मा पूर्व–पश्चिम राजमार्ग नजिकै श्रीमतीको नाममा रहेको ८ कठ्ठा जग्गा बिक्री गरी प्राप्त श्रोतबाट खरिद गरिएको पनि बताएका छन् । 

त्यतिबेला आफू मन्त्री, साँसद वा कुनै पनि तहको जनप्रतिनिधिको जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन् । 

आफूले  सो जग्गाबारे २०६४ सालमा रुपन्देही जिल्लाबाट संविधानसभा सदस्यमा निर्वाचित भएपश्चात् बार्षिक रुपमा सम्पत्ति विवरणमा उल्लेख गरिरहेको पनि उनले स्मरण गराएका छन् । 

उनले यस सम्बन्धमा राज्यको औपचारिक र आधिकारिक निकायबाट यथाशीघ्र छानविन माग गर्दै उनले निष्कर्षहरू कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । 

उनले भनेका छन्, ‘राज्यको आधिकारिक निकायबाट हुने छानविनका
निष्कर्षहरू प्रति मेरो दृढ समर्थन रहनेछ । म माथि लगाइएका आरोपहरू पुष्टि गर्न सम्बद्ध सबैलाई आह्वान गर्दछु ।’

यसअघि पनि पौडेलले एक विज्ञप्तिमार्फत जग्गा घोटाला प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए । तर यो विषयले थप उग्ररुप लिइरहँदा पौडेलले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आजाव समेत उठ्न थालेको छ ।

पोडेलले जारी गरेको विज्ञप्ति :– 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप