शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देशभरका ५० लाख २५ हजार ३८३ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

शुक्रबार, ०६ वैशाख २०७६, १३ : ०८
शुक्रबार, ०६ वैशाख २०७६

आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन सुरु गरिएको छ ।

वैशाख ६ र ७ गते दुई दिन सञ्चालन हुने राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि कार्यक्रममा देशभरका ५० लाख २५ हजार ३८३ जना बालबालिकालाई खुवाइने सरकारको योजना रहेको छ ।

भिटामिन ‘ए’ ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइने छ भने जुकाको औषधि १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २६ लाख ६८ हजार ५ सय ४० जना र जुकाको औषधि २३ लाख ५६ हजार ८ सय ४३ जना बालबालिकालाई खुवाइने नेपाल सरकार भिटामिन ‘ए’ कार्यक्रमका केदार पराजुलीले जानकारी दिए ।

 भिटामिन ‘ए’ कार्यक्रमसँगै बालबालिकाको पाखुराको नाप लिने काम पनि भइरहेको छ । बालबालिकाका पाखुराको नाप लिने क्रममा रातो, पहेँलो र हरियो रंगको चिन्ह राखिएको छ ।

बालबालिकाको स्वास्थ्यमा धेरै समस्या छ भन्ने रातो चिन्हले जनाउँछ भने पहेँलो चिन्हले बालबालिकालाई पोषण नमिलेको जानकारी दिन्छ । यस्तै हरियो चिन्हले बालबालिकाको स्वास्थ्य अवस्थामा सामान्य रहेको भन्ने बुझिन्छ ।

भिटामिन ‘ए’ कार्यक्रममा पाखुरा नाप्ने क्रममा रातो चिन्ह देखिएको बालबालिकालाई तुरुन्त उपचारमा पठाइने छ । अविभावकलाई पोषणको बारेमा पनि जानकारी गराइने छ । 

यसैदौरान बालबालिकालाई पोषणतत्व बालभिटा वितरण कार्यक्रम पनि रहेको छ ।

दुई दिने भिटामिन ‘ए’ कार्यक्रममा ७ देखि ८ करोड बराबरको बजेट लाग्ने सरकारको अनुमान छ ।

हाल देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउनको लागि ३६ हजार बुथमा स्वयम्सेविका खटाइएको छ ।

करिब ५२ हजार स्वयसेविका परिचालन गरिएको भिटामिन ‘ए’ कार्यक्रमका केदार पराजुलीले रातोपाटीलाई जानकारी दिए ।

भिटामिन ‘ए’  ले बालबालिकालाई पु¥याउने फाईदा

हाल देशभरका ५३ प्रतिशत बालबालिकामा रक्तअल्पताको समस्या रहेको छ । भिटामिन ‘ए’  ले बालबालिकामा हुने रक्तअल्पतालाई कम गर्दछ ।

साथै भिटामिन ‘ए’  ले बालबालिकामा रोगसँग लड्न सक्ने २५ प्रतिशत क्षमताबृद्धि गर्दछ । यस्तै भिटामिन ‘ए’ बालबालिकालाई नियमित खुवाउँदा बालबालिकामा हुने मुत्युदरमा २५ प्रतिशत कम हुने अपेक्षा गरिएको छ । साथै बालबालिकालाई कुपोषण हुन नदिने, रतन्धोबाट बचाउने, पुड्कोपनलाई कम गराउन भिटामिन ‘ए’ को निकै ठूलो भूमिका हुन्छ ।

बालबालिकालाई जुकाको औषधिको रुपमा दिइने  औषधिले बालबालिकाको पेटमा भएको अंकुसे किरालाई मार्ने काम गर्दछ ।

सो किराले बालबालिकाको पेटमा बसेर  प्रत्येक दिन ०.०५ एमएल रगत चुस्ने हुदा बालबालिकाको शरीरमा रगतको कमी हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप