शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शैलुङ्ग कन्सट्रक्सनको अर्को लापरवाही : दुई वर्षमा बन्नुपर्ने नगरकोटको सडक सात वर्षमा पनि बनेन

आन्दोलनमा उत्रिए स्थानीय
शुक्रबार, ०६ वैशाख २०७६, ०९ : २८
शुक्रबार, ०६ वैशाख २०७६

नगरकोट । भक्तपुरको भत्केकोपाटी हुँदै पर्यटकीय क्षेत्र नगरकोट पुग्ने सडक ७ वर्षसम्म निर्माण सम्पन्न नभएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

धुलो, धुवा, हिलो र खाल्डाखुल्डीका कारण जनजीवन प्रभावित बनेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् ।

निर्माण व्यावसायी शारदा प्रसाद अधिकारीको स्वामित्वमा रहेको निर्माण कम्पनी शैलुङ्ग कन्सट्रक्सनको लापरवाहीका कारण नगरकोट पर्यटन व्यवसाय समेत धरासायी भएको छ ।

दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपार्टी–नगरकोट सडक ७ वर्षमा पनि नबनेपछि स्थानीयले २ सय ५१ सदस्यिय नगरकोट सडक पीडित संघर्ष समिति गठन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी–खरिपाटी–तेलकोट–नगरकोट खण्डको २० किमी सडक निर्माण आयोजनाको जिम्मा पाएको शैलुङ्ग कन्ष्ट्रक्सनले ७ बर्षमा पनि निर्माण अलपत्र बनाएपछि स्थानीय आन्दोलित बनेका हुन् ।

सडकखण्ड अन्र्तगतका नगरकोट, मण्डनदेउपुर, छालिङ्ग, बागेश्वरी, सुडालका स्थानीयहरुको भेलाले स्थानीय राजकुमार लामिछानेको संयोजकत्वमा सविता खत्री सहसंयोजक र रमेश अधिकारी सचिव रहेको सडक पीडित संघर्ष समिति गठन गरेका हुन् ।

स्थानीयहरुले अबको ५ महिनाभित्र सडक निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने, सडकका बीचमा छोडिएका विजुलीका पोलहरु हटाउनुपर्ने, जग्गाको मुआब्जा दिनुपर्ने, नाली तथा जोखिमयुक्त स्थानका सडक आसपासमा रिटेनिङ्ग वाल लगाउनुपर्ने, निर्माण कार्य गुणस्तरीय हुनुपर्नेलगायतका माग राखेका छन् ।

संघर्ष समितिले आफ्नो संघर्षको कार्यक्रम अन्र्तगत बिहीबार नगरपालिका र जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र समेत बुझाएको छ ।

अन्य कार्यक्रममा प्रदेश सरकार, संघ तथा प्रदेश सांसद, शैलुङ्ग कन्ष्ट्रक्सनका प्रोपाइटर शारदा अधिकारी, आयोजना कार्यालय, भौतिक योजना तथा निर्माण मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको संघर्ष समितिका संयोजक लामिछानेले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप