शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वैशाख ५ गतेः प्रदेश ५ हेडलाइन, कहाँ के भयो ?

बिहीबार, ०५ वैशाख २०७६, १९ : ४५
बिहीबार, ०५ वैशाख २०७६

कपिलवस्तु प्रहरीले समात्यो सय बढी फरार प्रतिवादी
कपिलवस्तु प्रहरीले आर्थिक बर्ष २०७५र०७६ को  पछिल्लो ९ महिनामा १ सय १ जना फरार प्रतिवादी पक्राउ गरेर जिल्ला अदालतमा पेश गर्दै बाँकी कैद भुक्तानी र जरिवाना असुलीका लागि कारागार चलान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी रवि रावलका अनुसार गत साउन महिनादेखि चैत मसान्तसम्म प्रतिवादी पक्राउ गर्न सञ्चालन गरिएको बिशेष अप्रेशन अन्र्तगत फरारमध्ये १ सय  १ जना प्रतिवादी पक्राउ गरिएको हो ।

उनीहरुलाई अदालतमा पेश गरी २९ वर्ष २ महिना ६ दिन कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको र त्यसबाट ६ लाख ४० हजार ३ सय ९५ रुपैयाँ  जरिवाना समेत असुल हुने डिएसपी रावलले बताए ।

गुल्मीमा १५ वर्षीया किशोरी बलात्कृत, एकजना पक्राउ
गुल्मीको छत्रकोट गाउँपालिकामा गएराती एक किशोरीलाई बलात्कार गरेको आरोपमा गुल्मी प्रहरीले पाल्पाका एक जनालाई पक्राउ गरेको छ ।

पाल्पाको तानसेन नगरपालिका–५  निवासी ४१ वर्षीय हनुमान भन्ने अमिर मियाँलाई प्रहरीले गएराती नै पक्राउ गरेको हो ।

छत्रकोट गाउँपालिकाकी १५ वर्षीया किशोरी  (नाम  गोप्य) लाई  गएराती बलात्कार गरेको आरोपमा मियाँलाई पक्राउ गरि अनुसन्धान थालिएको गुल्मीका  प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले जानकारी दिए ।

घटनाबारे प्रहरी निरीक्षक खड्काका भन्छन्– ‘पाल्पाबाट मोटरसाइकलमा गुल्मीतर्फ आउँदै गरेका मियाँले मोटरसाइकल रोकेर ती किशोरीलाई घर पुर्याईदिन्छु भनेर चढाएको  र त्यसको केहि बेरपछि बाटैमा बलात्कार गरेको खुल्न आएको छ ।’

‘सो आधारमा मियाँलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘मियाँमाथि थप अनुसन्धान सुरु हुँदैछ

विद्युतीय कारोवार ऐनको दफा खारेजीको माग गर्दै प्यूठानका पत्रकारहरु धर्नामा
विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ खारेजीको माग गर्दै प्यूठानका पत्रकारहरु धर्ना बसेका छन् । बिहिवार विहान साढे ९ बजेदेखि साढे १० बजेसम्म एकघण्टा जिल्ला प्रशासन कार्यालय खलंगा अगाडी धर्ना बसेका हुन् ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आव्हानमा धर्ना कार्यक्रम गरिएको प्यूठान शाखाका सचिव विजयसिंह भारतीले बताए । 

‘विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ बुँदा लगाएर पत्रकारलाई कारवाही गर्न पाइदैँन,’ आफुहरुको माग बारे सुनाउँदै उनले भने, ‘पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिना शर्त रिहाईको माग गर्दछौं ।’

पत्रकारिता साइवर अपराध होइन, प्रेस स्वतन्त्रताको ग्यारेन्टीको विरोध ब्यानरसहित जिल्लाका क्रियाशिल पत्रकारहरु धर्ना बसेका छन् ।

बुटवल । बिहिवार दाङको एक जंगलमा वेवारिसे शव फेला परेको छ । बबई गाउँपालिका–७, कृष्णपुर सातपोखरीस्थित होरुङ सामुदायिक वनको जंगलमा नाम, थर र वतन खुल्न नसकेको शव फेला परेको हो ।

दाङका प्रहरी प्रबक्ता डिएसपी विनोद विक्रम शाहका अनुसार अन्दाजी वर्ष ६० का पुरुषको शव पोष्टमार्टम र पहिचानका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

करिब ५ फिट उचाई भएका उनी ब्राह्मण जस्तो देखिन्छन् । निलो खैरो सुईटर र पहेंलो ज्याकेट लगाएको शव रहेको उनले बताए । 

स्थानीय इतिहास र वर्तमान समेटिएको पाठ्यक्रम तयार
नेपाल एकिकरणपूर्व धुर्कोटका पहिलो राजा को थिए ? उत्तर–खड्गराज मल्ल । कति सालमा कसलाई हराएर उनले राज गरेका थिए ? उत्तर–१४६५ सालअघि मगर वंशजका जड्हया राजालाई हराएर खड्गराज मल्लले राज गर्न सुरु गरेका थिए ?

उनीपछिका राजा को हुन ? उत्तर–मणिक मल्ल ।  धुर्कोटका अन्तिम राजा को थिए ? उत्तर–भुपेन्द्र मल्ल । मल्ल वंशका राजा कहाँबाट र कोको लिएर आएका थिए ? उत्तर–जुम्लाबाट शिकार खेल्दै रतन पाण्डे, मैते धामी, टोटे ढोली, धनविरे कुमाल , लाम्चे कामी, गधले गायन, पिरु मिजार, भण्डारी र अहिले धुर्कोटमा भएका सबै जातजाती लिएर आएका थिए ।

यी र यस्तै आफ्नै गाउँको इतिहास, वर्तमान र भविश्य समेटेर गुल्मी जिल्लामै पहिलोपटक सामाजिक विषयवस्तुमा आधारित पाठ्यक्रम तयार पारेको छ गुल्मीको धुर्कोट गाउँपालिकाले । 

स्थानीय सामाजिक विषयवस्तुमा आधारित कक्षा १ देखि कक्षा ५ सम्मको सामाजिक विषयको पाठ्यक्रम तयार पारि पाठ्यपुस्तक छपाई गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काँशीराम पन्थीले बताए । 

यसै शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रमअनुसार विद्यार्थीहरुलाई पठनपाठन सुरु गर्न लागेको   धुर्कोटका शिक्षा अधिकृत मधु घिमिरेले बताए ।

घिमिरेले प्रदेश पाँचमा स्थानीय विषयवस्तुमै पाठ्यपुस्तक निकाल्न लागेको धुर्कोट गाउँपालिका पहिलो भएको दावी गरे । उनले भने, ‘कक्षा १ देखि कक्षा ५ सम्म धुर्कोटमा यसै शैक्षिक सत्रदेखि पढाई सञ्चालन गरिन्छ । यसपटक अर्को बर्षलाई समेत स्टक राख्नेगरी ५ हजार पुस्तक निकाल्न लागेका छौं ।’

धुर्कोटको सामाजिक, राजनैतिक,धार्मिक ईतिहास, धुर्कोटकै विभुतीको चर्चा समेटिएको सामाजिक विषयको पाठ्यक्रमले नयाँ पिढीलाई ब्यवहारिक  र  प्रभावकारी शिक्षा दिन सहयोग पुग्ने धुर्कोट गाउँपालिकाका उपप्रमुख  शिबहादुर केसीले बताए । 

‘पाठ्यक्रम मात्र छपाई भइसकेको छ । पाठ्यपुस्तक छपाई हुँदैछ,’ ’उनले भने, ‘आफ्नै वस्तुस्थित विद्यार्थीको मानसपटलमा घुस्ने भएकोले यो विषय आफैमा पनि ऐतिहासिक र ब्यबहारिक हुने कुरामा हामी विश्वस्त छौ,’ उनको भनाई छ ।

बुटवलको बम नेपाली सेनाद्वारा डिस्पोज
बुटवलको ट्राफिक चोकमा शिवम् मेसिनरी स्टोर अगाडि राखिएको संकास्पद वस्तुलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

परालमाथि रुखको छाहारीमा राखिएको उक्त शंकास्पद वस्तु बम भेटिएपछि नेपाली सेना बुटवलको टोलीले बमलाई डिस्पोज गरेको हो ।

मुख्य सडक तथा माथि हाइटेन्सन लाईन भएको हुँदा सडकको छेउम्मा राखेर डिस्पोज गरिएको हो ।

ट्राफिक चोकमा बम भएको खबर पाएपछि हजारौँ स्थानीयहरु सडकमै पुगेर बम डिस्पोज गरेको हेरिरहेका थिए । 

त्यस्तै रुपन्देहीको कोटिहवा, कञ्चन गाउँपालिका र बुटवलको ट्राफिक चोकमा पनि शंकास्पद वस्तु भेटिएका थिए । 

ती शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय बनाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिए । 

रुपन्देहीको बिभिन्न ठाउँ शंकास्पद वस्तु राख्दा स्थानीय त्रसित बनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप