बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओमानबाट विप्लवलाई खुला पत्र

बिहीबार, ०५ वैशाख २०७६, १५ : ५०
बिहीबार, ०५ वैशाख २०७६

आदरणीय विप्लव दाइ नमस्कार !
विदेशी भूमिमा पसिना बगाउँदै तपाईंलाई यो पत्र लेख्दै छु । जीवन निर्वाहका लागि प्रचण्ड गर्मीमा धेरै नेपालीले पसिना बगाउँदै आएका छन्, तीमध्ये म पनि एक हुँ । आज मजस्ता लाखौँ युवा विदेशी भूमिमा पसिना बगाउँदै देशका हरेक घटनालाई नजिकबाट नियाली रहेका छन् । साधन स्रोत नै भभएका देशहरु विकसित हुन पुगे तर स्वर्गको टुक्राजस्तो देशका नागरिक दैनिक गुजारा र रोजीरोटीका यी देशहरुमा सस्तो श्रम बेच्न बाध्य छौँ । 

देश विकासमा केही आशा देखिन थालेको थियो तर अर्काे कालो बादल मडारिन थालेकोे छ । के नेपाललाई शान्त र समुन्नत बनाउन सक्दैनौँ ? 

लोकतन्त्र र समृद्धि प्राप्त गर्ने सपना देखेका जनताले हरेक लडाइँमा राजनीतिक दललाई साथ दिइरहेका छन् । यसरी बलिदानी दिएको आज सत्तरी वर्ष बितिसक्यो । यो बीचमा विश्व मानचित्रमा नभएका कैयौँ देश जन्मिएर विकसित देशको सूचीमा दरिइसके । तर सदियौँदेखिको हाम्रो देश ठूला ठूला राजनीतिक परिवर्तन भए तर पनि गरिबी उस्तै छ । 
यसबाट के कुरा प्रष्ट हुन्छ भने नियत सही भएन भने जुनसुकै व्यवस्था परिवर्तन गरे पनि केही नहुँदो रहेछ । नेपालमा सही नियत भएका नेतृत्व देशले पाएको भए हामी पनि आज विकसित देशका नागरिक भएका हुन्थ्यौँ ।

आदरणीय कमरेड

यी सबै कुरा तपाईंलाई राम्ररी थाह छ । देशले धेरै दुर्गति भोगिसक्यो । जनताले धेरै पीडा भोगिसके । कैयौँ बिरामीले उपचार नपाएर ज्यान गुमाए । देश गरिबीमा पिल्सिएपछि त्यसको सबैभन्दा ठूलो मार आम सर्वसाधारण जनतामा परेको  छ । हामीले शान्तिपूर्ण आन्दोलन देख्यौँ, सशस्त्र द्वन्द्व देख्यौँ, आपत विपत देख्यौँ, अनि गरिबी अभाव र पछौटेपन देख्यौँ तर समृद्ध नेपाल देख्ने सपना सबैको अधुरो रह्यो । के समृद्ध देश हामीले देख्न नपाउने ? नेताहरुको अदुरदर्शिता र सनकीपनले देशले यो दुर्दशा भोगिरहेको छ । अहिले हामीले जुन संविधान पाएका छौँ, त्यो पाउनमा दशौं हजारले बलिदानी गरे । यसमा देशले ठूलो धनराशि गुमाएको छ । जुन संविधानलाई हामी मान्दैनौँ भनेर तपाईं देशमा सशस्त्र युद्धको आवश्यकता देखिरहनुभएको छ त्यसले देशलाई कदापि फाइदा गर्दैन । सोच्नुस अब फेरि युद्धको बाटोमा जानुभयो भने नेपाल अझै बीस वर्ष पछि पर्नेछ । त्यतिबेलासम्ममा तपाईंको जवानी सकिएको हुनेछ । अनि लाखौँ युवा तथा जनताको जीवनस्तर अरू खस्किएको हुनेछ । हो निश्चित तह र तप्काका केही ठेकेदारहरू अवश्य मोटाउने छन् । त्यसमा तपाईंकै पार्टीभित्रका पनि केही पर्नेछन् । तपाईंले सामन्तवादका नाममा थालेको यो युद्धले देशको राष्ट्रियतालाई अझ कमजोर हुनेछ । 

प्रिय कमरेड
देशमा अहिले सबै कुरा ठिक छ, सरकारबाट कमजोरी भएका छैनन् भन्न खोजेको होइन । समृद्धि र देश विकासका लागि धेरै काम गर्न बाँकी छ । भ्रष्ट लुटेराहरु खुलेआम घुमिरहेका छन् । जनताले सुशासनको अनुभूति गर्नै पाएका छैनन् । माफियाहरूको जालोमै देश फसिरहेको छ । तर अब देशले अशान्त वातावरण कति पनि थेग्न सक्दैन । तपाईंको नियत सही होला तर अब उठ्ने बम, बारुद र बन्दुकको नालले केवल अनि केवल देशमा क्षति मात्रै गराउने छ । कैयौँ नारी विधवा बन्नेछन् । धेरैलाई टुहुरा बनाउने छ । सोझासाझा जनतालाई कङ्गाल बनाउने छ । किनकि हतियार चलिसकेपछि त्यो नियन्त्रणबाहिर हुनेछ । तपाईंले चाहँदा चाहँदै पनि युद्ध सही उपयोग अवश्य हुनेछैन । त्यो युद्ध तपाईंको नियन्त्रणमा हुने छैन ।
 
प्रिय कमरेड ! तपाईंका धेरै भाषण र अन्तरवार्ता हेरेको छु । तपाईंको अनुहारमा प्रष्ट रूपमा इमानदारिता, पीडाबोध र राष्ट्रियताको भावना झल्किन्छ । तर अब अशान्त बाटो अपनाएर तपाईं यी समस्या समाधान किमार्थ हुँदैनन् । कुरीति, कुशासन, भ्रष्टाचार तथा माफियातन्त्रविरुद्ध लड्न अझै बाँकी छ । यिनका अवशेषलाई निमिट्यान्न पार्न बाँकी नै छ तर त्यसलाई शान्तिपूर्ण बाटोबाट सम्पन्न गर्नुपर्छ । ओली र प्रचण्डलाई देखाउँछु भन्दै सनकमा बम, बारुद र बन्दुक चलाउने निर्णय गर्नुभयो भने तपाईंको सपना पूरा हुन कठिन छ । देश र जनताले दुःख मात्र पाउने छन् । किनभने हाम्रो भूराजनीति नै यस्तै छ । दुई ठूला देशको खिचातानीमा नेपाल पिल्सिएको छ । जियोपोलिटिक्सलाई हामी चाहेर पनि नजर अन्दाज गर्न सक्दैनौँ । त्यसैले मध्यमार्गी बाटो अँगाल्नुको विकल्प छैन । बितेका कैयौँ दशक राजनीतिक प्रतिशोधमा अशान्तमा बिते व्यवस्था परिवर्तन गर्दैमा बिते तर देशले केही पाएन, धेरै गुमायो । त्यसैले अब बाटो बदल्ने बेला आएको छ । अबका केही दशक देशलाई शान्त राखौँ, कुशासनविरुद्ध शान्तिपूर्ण खबरदारी गरौँ । भ्रष्टहरुलाई सामाजिक बहिष्कारको नीति लिऊँ तर बन्द हडताल अनि बम बारुदको राजनीति नगरौँ । अहिले सञ्चार क्षेत्र बलियो भएको छ । सञ्चारकर्मी इमानदार भए भने माफियाहरु लुक्न या घटना लुकाउन सक्दैनन् । त्यसैले शान्तिपूर्ण बाटोबाट देश निर्माणको अभियानमा लागौँ । जहाँ हुनुहुन्छ तुरुन्तै सार्वजनिक भएर यही संविधानलाई स्वीकार गरेर त्यसमा रहेका कमिकमजोरी संशोधन गरी शान्तिपूर्ण बाटोमा आउनुस । देशका कुना काप्चामा पुग्नुस्, जनताले तपाईंहरुलाई अवश्य विश्वास गर्नेछन् । लडेर हेर्याैँ, तोडेर फोडेर धेरै हेर्यौं, अब बाटो बदलेर जोडेर हेरौँ । तपाईं हामी सँगै जोडिएर हेरौँ । सबैले आफ्नो जिम्मेवारी निर्वाह गरौँ, राष्ट्रिय एकता कायम गरौँ । दुई छाक खान अनि घरपरिवार पाल्न सात समुद्र पार गरेर गएका लाखौँ युवाहरु देश फर्किन आतुर छन् । देशलाई बदल्न लालयित छन् । बन्दले देश बन्दैन, अब नेपाल बन्द गर्ने कार्यक्रम सबै बन्द गरौँ । म परदेशको भूमिबाट तपाईंलाई राजनीतिक बाटो परिवर्तन गर्न विनम्र अनुरोध गर्छु ।
हाल मस्कट ओमान
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ताराप्रसाद पौडेल
ताराप्रसाद पौडेल
लेखकबाट थप