शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के गायक ड्रेक फुटबल खेलाडीहरुका लागि ‘अशुभ’ हुन् ?

जसले ड्रेकसँग फोटो खिच्यो, त्यो हा-यो हा-यो !
बुधबार, ०४ वैशाख २०७६, ११ : ५८
बुधबार, ०४ वैशाख २०७६

क्यानाडेली गायक ड्रेकको एल्बम ‘स्कोर्पियन’ ले गत वर्ष धेरै रेकर्डहरु तोड्यो । संगीतको क्षेत्रमा उनका करोडौँ फ्यानहरु रहेका छन् ।

तर, फुटबलको क्षेत्रमा भने उनलाई धेरैले अहिले अशुभ करार गरिरहेका छन् । नगरुन् पनि कसरी ड्रेकले जुन टोलीको फुटबल खेलाडीसँग खिच्छन्, त्यस टोलीले आगामी खेल हार्ने गरेको छ ।

इटालियन क्लब एएस रोमाले ठट्टा गर्दै ट्वीट नै गर्यो – यो सिजनको अन्त्यसम्म सबै रोमाका खेलाडीहरुलाई ड्रेकसँग फोटो खिच्न प्रतिबन्ध गरिएको छ ।

पछिल्लो पटक शिकार बने फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका डिफेन्डर लेयविन कुरजावा । कुरजावाले ड्रेकसँग तस्विर खिचेको भोलिपल्ट पेरिस सेन्ट जर्मेनले लिलेसँग ५–१ को लज्जास्पद हार बेहोर्यो । यो पछिल्लो २० वर्षमा टोलीले बेहोरेको सबैभन्दा ठूलो हार थियो ।

ड्रेकको ‘शिकार’ पिएसजी मात्र होइन, युरोपका अन्य क्लबहरु पनि परेका छन् ।

आर्सनल स्टार पिएरे–एमरिक आउबामेयाङले लण्डनको ओटुमा आयोजित ड्रेकको कन्सर्टमा सहभागी भए । तीन दिनपछि आर्सनल एभर्टनसँग पराजित भयो ।

म्यान्चेस्टर युनाइटेड पनि ड्रेकको ‘अशुभ’ लक्षणको शिकार बन्यो । रोमेलु लुकाकु र पाउल पोग्बाले ड्रेकसँग फोटो खिचेपछि युनाइटेड एफए कपमा वुल्भसँग पराजित भयो ।

यता, अर्को म्यान्चेस्टर क्लब सिटी समेत यसको शिकार बन्यो । सर्जियो अगुएरोले ड्रेकसँग तस्विर खिचाएपछि च्याम्पियन्स लिगमा टोटनहम हटस्पर्सविरुद्ध पेनाल्टीबाट गोल गर्न सकेनन् । सिटी १–० ले पराजित भयो ।

गत महिना ड्रेकले डर्टमण्डका युवा इंग्लिस खेलाडी जाडोन सान्चोसँग तस्विर खिचाए । डर्टमण्ड चिरप्रतिद्वन्द्वी बायर्न म्युनिखसँग ५–० ले पराजित भयो ।

ड्रेकको ‘ब्याड लक’ फुटबलमा मात्र सिमित छैन । खबिब नुर्मागोमेडभविरुद्धको युएफसी खेलअघि ड्रेक कोनर म्याकग्रेगरसँग देखिएका थिए । सो खेल म्याकग्रेगरले हार्न पुगे ।

यता, केहीले टोरोन्टो र्याप्टर्सले एनबीएमा राम्रो प्रदर्शन गर्न नसक्नुमा ड्रेक कारण भएको बताउँदै आएका छन् । ड्रेक टोलीको पुरानो समर्थक हुन् ।

साँच्चिकै ड्रेक अशुभ नै हुन् कि यो संयोग मात्र हो ? यसमा मत विभाजित छ । तर, खेल समर्थकहरु भने ड्रेकलाई ‘अशुभ’  मानिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप