शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के भएको थियो चार नेताबीच चन्द्रागिरीको ‘गोप्य’ बैठकमा ?

मङ्गलबार, ०३ वैशाख २०७६, १६ : ३२
मङ्गलबार, ०३ वैशाख २०७६

काठमाडौँ– ०७५ सालको अन्त्य हुनै लाग्दा सत्तारुढ नेकपाको राजनीतिमा एकाएक नयाँ तरङ्ग आयो । 

तरङ्ग यसकारण कि तत्कालीन दुई पार्टीबीच एकीकरण घोषणाको ११ महिना बितिसक्दा पनि तल्लो तहसम्म एकता टुङ्गिन सकेको छैन । 

जसले गर्दा नेकपाका नेता कार्यकर्तामा निराशा बढेको छ । यस्तो अवस्थामा अचानक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड ‘गोप्य’ बैठकका लागि चैत २८ गते चन्द्रागिरी पुगे । 

अध्यक्षद्वयसँगै पार्टी महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल पनि चन्द्रागिरी हिल्स पुगेका थिए । चार नेताबाहेक सचिवालयका अन्य नेतालाई बैठकबारे जानकारी थिएन । 
एकता प्रक्रिया नटुङ्गिँदा नेता कार्यकर्तामा निरासा बढिरहेका बेला अचानक तय भएको गोप्य बैठकले एकताका बाँकी काममा ‘ब्रेक थ्रु’ गर्ने चर्चा पनि चल्यो । नेकपाकै नेताहरुले उक्त बैठकलाई चासोका साथ हेरेका थिए । 

तर बैठकमा सहभागी एक नेताले आफू निकटका नेतालाई बताएअनुसार उक्त आवसीय बैठकमा महासचिव पौडेल र सचिवालय सदस्य बादलले एकीकरणको खाका पेश गरेका थिए । 

सचिवालय सदस्य बादल एकता प्रक्रियाका कामको गृहकार्यका लागि स्थायी कमिटीले गठन गरेको ९ सदस्यीय कार्यदलका संयोजक थिए । महासचिव पौडेल पनि कार्यदलका सदस्य थिए । यी दुई नेता रहेको दुई सदस्यीय कार्यदलले प्रदेश कमिटी सदस्यहरूको नामावली पनि तयार गरेको थियो । 

चन्द्रागिरीको आवासीय बैठकमा पौडेल र थापाले आफूले पेश गरेको खाकामा लामो ब्रिफिङ गरेका थिए । झण्डै २३ घण्टा चन्द्रागिरी बिताएका अध्यक्षद्वयले दुई नेताको ब्रिफिङ सुन्नेबाहेक कुनै निर्णय गरेनन् । 
अर्थात बाहिर चर्चामा आए जस्तो उक्त आवासीय बैठकले एकताको गाँठो फुकाउन सकेन । बैठकमा पौडेल र थापाले पेश गरेको खाकामा रहेर वरिष्ठ नेता माधवकुमार नेपालसँग अध्यक्षद्वयले छलफल गर्ने सहमति भएको थियो । 

ती नेताका अनुसार बैठकमा जिल्ला नेतृत्वको विषयबाहेक राजनीतिक प्रतिवेदन बारे पनि सामान्य छलफल भएको थियो । 

चन्द्रागिरी जानुपूर्व अध्यक्षद्वयले सचिवालयका शीर्षस्थ नेताहरूसँग बेग्लाबेग्लै परामर्श गरेका थिए । बिहीबार अपराह्न ५ बजे चन्द्रागिरी हिल्स पुगेका ओली–प्रचण्ड शुक्रबार ४ बजे फर्किएका थिए । 

नेकपामा यसअघि नै जिल्ला नेतृत्वको भागबन्डा गर्दा तत्कालीन एमालेबाट अध्यक्ष भए तत्कालीन माओवादीबाट सचिव हुने र तत्कालीन माओवादीले अध्यक्ष लिएको ठाउँमा तत्कालीन एमालेबाट सचिव हुने सहमति भइसकेको छ । 

चन्द्रागिरीको गोप्य बैठकमा पनि जिल्ला र राजनीतिक प्रतिवेदनबारे छलफल भए पनि जनवर्गीय सङ्गठनको भागबन्डा, केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्युरो गठन, केन्द्रीय विभाग गठन लगायतका विषयमा नेताहरुले कुनै छलफल नगरेको ती नेताले रातोपाटीलाई बताए । 

वैशाख ९ गते जिल्ला तहको एकता टुङ्ग्याउने सामान्य सहमति भए पनि वरिष्ठ नेता नेपाल कन्भिन्स नभएसम्म एकता टुङ्गिने सम्भावन कम रहेको सचिवालयका एक नेताले रातोपाटीलाई बताए । 

झन्डै एक वर्षदेखि एकता प्रक्रिया अल्झिएकाले अध्यक्ष ओली र प्रचण्डले कम्युनिस्ट पार्टी स्थापना दिवस (आगामी ९ वैशाख) भित्रै सबै काम टुङ्ग्याउने बताउँदै आएका छन् । यसैअनुसार दुई अध्यक्षले संवाद बाक्लो बनाएका छन् । 

सोही सहमतिअनुसार सोमबार अध्यक्षद्वयले नेता नेपालसँग दुई चरणमा छलफल गरेका छन् । तर छलफल सकारात्मक नभएको बालुवाटार स्रोतले बतायो । 

जिल्ला तहको एकतामा वरिष्ठ नेता नेपाललगायत नेताहरूले भने पोलिटब्युरो गठनपछि केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्नुपर्ने, जिल्ला नेतृत्व मापदण्डका आधारमा टुङ्ग्याउनुपर्ने अडान राख्दै आएका छन् ।

सोमबार नेता नेपालसँगको परामर्शमा चन्द्रागिरीमा पौडेल र थापाले पेश गरेको सूचीबारे छलफल भएको थियो । तर एकताको निष्कर्षमा नेताहरु पुग्न सकेनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप