शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

किन मौन पारिन खोजिँदैछ असान्जलाई ?

असान्जले हामीलाई धमिलिँदै गएको स्वतन्त्रता पढाए, अब उनको प्रतिरक्षा गर्ने हाम्रो पालो
मङ्गलबार, ०३ वैशाख २०७६, १३ : ४४
मङ्गलबार, ०३ वैशाख २०७६

स्लाभोज जिजेक

एजेन्सी । अन्तत जे डर थियो त्यही भयो । जुलियन असान्जलाई इक्वेडर दूतावासबाट बलजफ्ती निकालेर पक्राउ गरियो ।

धेरैले यसलाई आश्चर्यको रूपमा लिएनन् । किनकि यस कुराको सङ्केत केही अघिदेखि नै देखिँदै थियो । 

एक, दुई हप्ताअघि नै विकिलिक्सले असान्जको पक्राउको सङ्केत गरिसकेको थियो । विकिलिक्सको आशङ्कालाई निवारण गर्न इक्वेडर दूतावासले जुन जवाफ दिएको थियो, त्यो झुट रहेछ भनेर हाल प्रमाणित भइसकेको छ ।

मिडियाको वेबास्तामा परेको हालसालैको चेल्सी म्यानिङको पुनः पक्राउ पनि खेलकै अंश हो । उनलाई बन्दी बनाएर विकिलिक्ससँगको सम्बन्ध बकाउने र त्यसलाई अमेरिकामा तयार गरिँदै गरेको असान्जको मुद्दामा प्रयोग गर्ने खेल चलिरहेको छ ।

त्यस्तै असान्जविरुद्धको कारबाहीको सङ्केत लामो समयदेखि योजनाबद्ध रूपमा चलिरहेको उनको चरित्रहत्या अभियानबाट पनि देखिएको थियो । पहिले असान्जको दुर्गन्ध र फोहोर कपडाको कारण दूतावास उनीबाट मुक्त चाहन्छ भन्ने हदसम्मको तुच्छ प्रचार गरियो ।

असान्जमाथिको पहिलो चरणको आक्रमणमा, उनका पूर्वमित्र र सहकर्मीहरु सार्वजनिक रूपमा अघि आएर विकिलिक्स सुरुमा राम्रै रहेको तर पछि असान्जको राजनीतिक पूर्वाग्रहको कारणले पथभ्रष्ट भएको आरोप लगाए । तिनका अनुसार असान्जको राजनीतिक पूर्वाग्रहमा हिलारी क्लिन्टन–विरोधी विचार र रुससँगको सम्भावित सम्बन्धहरु प्रमुख थिए ।

त्यसपछि असान्जमाथि सिधै व्यक्तिगत प्रहार हुन थाल्यो । उनी मानसिक रूपमा दिग्भ्रमित छन्, घमण्डी छन्, शक्ति र नियन्त्रणको भोको छन् जस्ता आरोप लाग्न थाले ।

पहिले असान्ज मानसिक रूपमा दिग्भ्रमित छन् भन्ने आरोपलाई हरौँ । जब तपाईं एक यस्तो ‘अपार्टमेन्ट’मा बस्नुहुन्छ जुन तलदेखि माथिसम्म ‘बग्ड (जासरी उपकरण जडित)’ छ र तीमार्फत एक जासुसी एजेन्सी तपाईंमाथि नित्य निगरानी गरिरहेको हुन्छ । ती कुरा तपार्इंलाई थाहा हुन्छ र लामो समयदेखि तपाईं त्यो भोगिरहनुभएको छ भने तपाईं मानसिक रूपमा ठीक रहन सक्नु हुन्छ ?

अनि अर्को आरोप ठूलो पल्टिने मानसिकतालाई हेरौँ । जब सीआईएका (हाल पूर्व–) प्रमुखले तपार्इंको गिरफ्तारी उनको प्राथमिकता हो भनेर भन्छन् तब यसले कम्तीमा पनि तपाईं कसैको लागि ठूलो चुनौती हो भन्ने देखाउन्न ? त्यसरी त्यति ठूलो संस्थालाई चुनौती दिने व्यक्तिलाई यो आरोप सामान्य हो ।

विकिलिक्समाथि जासुसी सङ्गठन जस्तो व्यवहार देखाएको भन्ने आरोप पनि छ । तर विकिलिक्स यदि जासुसी सङ्गठन हुन्थ्यो भने पनि यो जनतालाई सेवा दिने, तिनलाई पर्दा पछाडिका कुराहरुबारे सुसूचित गराउने संस्था हो ।

यसैले यी तपशीलका कुरा हुन् । हामीले मुख्य प्रश्नमा ध्यान दिनु आवश्यक छ । जस्तो असान्जलाई अहिले किन पक्राउ गरियो ? मेरो विचारमा एक नामले यी सबै कुरालाई प्रष्ट्याउँछ । त्यो नाम हो क्याम्ब्रिज एनालिटिका ।

यो नामले असान्जले जेविरुद्ध लडेका थिए, त्यसको प्रतिनिधित्व गर्छ । यो नामले ठूला निजी कोर्पोरेसन र सरकारी निकायबीचको सम्बन्धलाई व्याख्या गर्छ । पछिल्लो दुई वर्ष अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपको विषय कति ठूलो चर्चाको विषय बनेको थियो, सम्झनुहुन्छ ? अहिले हामीलाई के थाहा भएको छ भने मतदाताहरुलाई ट्रम्पको पक्षमा मत हाल्न हस्तक्षेप गर्ने रुसी ह्याकर (असान्ज समेत) थिएनन् । बरु ती त राजनीतिक शक्तिसँगको सहकार्यमा तथ्याङ्कको मूल्याङ्कन गर्ने एजेन्सीहरु थिए ।

यसको अर्थ रुस र उसका मित्रहरु पूरै निर्दोष थिए भन्न खोजेको होइन । सम्भवतः उनीहरु जसरी अमेरिकाले अन्य देशका निर्वाचन परिणाम प्रभावित गर्न खोज्छ, त्यति त अमेरिकाको निर्वाचनलाई प्रभाव पार्न खोजे होलान् ।

तर मुख्य कुरा पछिल्ला निष्कर्षहरुले हाम्रो (अमेरिकाको) लोकतन्त्रलाई भ्रष्ट पार्न खोज्ने ‘ठूलो’ ब्वाँसो क्रेमलिन (रुसको राष्ट्रपति कार्यालय)मा नभएर हामीभित्रै रहेछ भन्ने देखाएको छ । यही कुरा असान्जले सुरुदेखि भन्दै आएका थिए ।

तर त्यो ‘ठूलो दानवी’ ब्वाँसो चाहिँ कहाँ ? यो नियन्त्रण र छलको व्यापक स्तर बुझ्नका लागि हामीहरुले निजी कर्पोरेसनहरु र राजनीतिक पार्टीहरुका सम्बन्धभन्दा पर गएर हेर्नुपर्छ । त्यो भनेको गुगल र फेसबुक जस्ता कम्पनी र सरकारी सुरक्षा एजेन्सीहरु हुन् ।

धेरैले राज्य निगरानी विकराल स्तर चीनमा मात्र छ भन्ने ठान्छन् । तर हामीले उस्तै खालेको निगरानी र नियमन स्वीकारेका छौँ । अझ चीनका जनता आफूहरु नियन्त्रित छौँ भन्ने पूर्ण सचेत छन् तर पश्चिममा भने पूर्ण स्वतन्त्रताको भ्रम छ र पूर्ण स्वतन्त्रता प्राप्तिमा मिडियाले सहयोग गरिरहेको छ भन्ने महाभ्रम छ ।

यी सबै जोड्दा बन्ने तस्बिरमा ‘बायोजेनेटिक्स (कम्युटर चिप्पलाई दिमागसँग सम्पर्क गर्ने प्रविधि)’ मा भएको पछिल्लो विकासलाई जोडेर हर्ने हो भने समाजिक नियन्त्रणको नयाँ स्वरूपको एउटा डरलाग्दो चित्र देखिन्छ । यसले त २०औं शताब्दीका ‘सर्वसत्तावाद’ अभ्यासलाई समेत फिका देखाउँछ ।

नयाँ मनोवैज्ञानिक–सैन्य गठजोडलाई शासकहरुले ठूलो उपलब्धिका रूपमा लिइरहेका छन् । यसले गर्दा अब जनतालाई प्रत्यक्ष र तिनले अनुभव गर्ने दमन गर्नुपर्ने आवश्यकताको अन्त्य भएको छ । अब नयाँ प्रविधिमार्फत शासकहरु मनिसहरुलाई जीवनमा स्वनिर्णय गर्ने अवस्थामा छु र पूर्ण स्वतन्त्र छु भन्ने आभास गराएरै चाहेको काम गराउन सक्ने भएका छन् ।

यही नै विकिलिक्सको प्रमुख पाठ हो । हाम्रो ‘अ–स्वतन्त्रता’ सबैभन्दा खतरनाक तब हुुन्छ जब हामी त्यसलाई हाम्रो स्वतन्त्रताको साधनको रूपमा लिइरहेका हुन्छौँ । 

प्रत्येक व्यक्तिलाई सञ्चारको नित्य प्रवाहमा आफ्ना मन्तव्य लोकप्रिय बनाउने अवसर हुनु र आफूले चाहेको डिजिटल समुदाय निर्माण गर्नुभन्दा निर्वाध कुरा के होला ?

हाम्रो समाजमा अनुमति लिनुपर्ने र स्वतन्त्र चयनलाई सबैभन्दा उच्च मूल्यमा बनाइएको छ । यसपछि सामाजिक नियन्त्रण र शासनलाई व्यक्तिको स्वतन्त्रतामाथिको खतराका रूपमा हेर्न छाडिएको छ । इन्टरनेटमा स्वतन्त्र विचरण गर्नुभन्दा स्वतन्त्र कार्य के हुन सक्छ ? ‘लोकतन्त्रको जलप लगाएको फासीवाद’ आजकल यसरी सञ्चालन भइरहेको छ ।

यसैले डिजिटल सञ्जालहरुलाई निजी पुँजी र राज्य शक्तिको नियन्त्रणबाट बाहिरै राख्नु एकदम अत्यावश्यक छ । यसलाई सार्वजनिक बहसमा खुला छाडिनुपर्छ ।

असान्जद्वारा लेखिएको र अचम्मलाग्दो गरी वेबास्तामा परेको पुस्तक ‘वेन गुगल मेट विकिलिक्स (जब गुगले विकिलिक्स भेट्यो)’ मा यस सम्बन्धमा राम्रो तर्कहरु छन् । आज हाम्रा जीवन कसरी नियमन भइरहेको छ, कसरी यी नियमनहरुलाई हाम्रो स्वतन्त्रताका रूपमा व्याख्या गरिँदैछ । यसलाई स्थापित गर्न हाम्रो सामूहिक स्रोतलाई नियन्त्रण गर्ने निजी कर्पोरेसन र गुप्चतर सरकारी एजेन्सीबीचको गोप्य सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण योगदान छ ।

यति ख्याल गरेपछि असान्जलाई किन मौन पारिन खोजिँदैछ भन्ने जानकारी हुन्छ । ‘क्याम्ब्रिज एनालिटिका काण्ड’ सार्वजनिक भएपछि शक्तिमा रहेका सबैको प्रयास त्यसलाई केही निजी कर्पोरेसन र राजनीतिक पार्टीहरुको सामान्य ‘दुरूप्रयोग’को रूपमा न्यूनीकरण गर्नेमा रह्यो । त्यसो हो भने राज्य र अर्ध–अदृश्य संयन्त्र मानिने तथाकथित ‘डिप स्टेट’ कता गयो त ?

असान्जले आफूलाई जनताको र जनताका लागि काम गर्ने जासुसका रूपमा प्रस्तुत गर्ने गरेका छन् । यसको अर्थ उनी शक्तिमा रहेकाहरुका लागि जनताको जासुसी गरिरहेका छैनन् बरु त्यसको उल्टो जनताका लागि शक्तिमा रहेकाहरुको गुप्चतरी गरिरहेका छन् ।

यसैले अफ्ठ्यारोमा पर्दा उनको सहायताका लागि पनि हामी जनता अघि आउनुपर्छ । हाम्रो दबाब र परिचालनले मात्र उनको कठिन अवस्थामा सघाउ पुग्नेछ ।

सोभियत सङ्घको गुप्चतर इतिहास पढ्नेहरुले थाहा पाएको कुरा हो कि उसले आफ्ना देशविरुद्ध लाग्नेहरुलाई दशकौँ पछ्याएर भए पनि सजाय दिने गथ्र्यो । तर फेरि तिनै व्यक्तिहरु शत्रुको नियन्त्रणमा रहँदा तिनलाई मुक्त गर्न पनि गोप्य रूपमा कारबाहीहरु अघि बढाइरहेको हुन्थ्यो ।

असान्जको प्रतिरक्षा गर्नका लागि कुनै राज्य छैन । उनको प्रतिरक्षा गर्ने भनेको हामीले मात्र हो । त्यसैले आऊँ हामी सोभियत गुप्तचर एजेन्सीहरुले गर्ने जस्तै गरौँ । यसमा जति समय लागे पनि हामीहरु उनको प्रतिरक्षाका लागि तयार होऔं ।

विकिलिक्स सुरुवात मात्र हो । हाम्रो नारा माओवादीहरुको जस्तै सयौँ विकिलिक्स फुल्न दिऊँ भन्ने हुनुपर्छ । हाम्रो साझा डिजिटल स्रोतलाई नियन्त्रणमा राखिरहेका शक्तिमा रहेकाहरुले जुन भय र हतासामा असान्जविरुद्ध कारबाही बढाए, त्यसले पनि यस्ता क्रियाले तिनको गुह्यमै प्रहार गरेको प्रमाणित गर्छ ।

यस सङ्घर्षमा धेरै व्यक्तितग लाञ्छानाहरु प्रहार हुनेछन् । हाम्रो पक्षलाई शत्रुको हातमा गएको आरोप लगाइँदैछ (जसरी असान्जको प्रतिरक्षाको अभियानलाई पुटिनको अभियान भनिँदैछ) तर हामीले यिनलाई बानी पार्नुपर्नेछ र हाम्रो चासोमा अडिग रहन सिक्नुपर्छ । त्यसरी मात्र हाम्रो पक्षमा बलियो एकता निर्माण गरेर तिनका पक्षलाई हराउन सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप