कृष्ण पाउरोटी भण्डार सञ्चालक राजकर्णिकार भन्छन्– मृत्युपछि बाँच्नका लागि साहित्य लेख्छु

person access_timeसाउन २०, २०७४ chat_bubble_outline0


कृष्ण पाउरोटी चोक । हिजोआज कमलपोखरी चोकलाई कृष्ण पाउरोटी चोक भन्ने गरिन्छ । कृष्णबहादुर राजकर्णिकारले आफ्नै निवास कमलपोखरीमा ६९ वर्षअघि कृष्ण पाउरोटी उद्योग सञ्चालनमा ल्याएका थिए । संवत् २०१६ मा राजकर्णिकारको निधनपछि कृष्ण पाउरोटी भण्डार प्रालि झन् विस्तार भएको छ । प्रालि अध्यक्ष हुन्– घनश्याम राजकर्णिकार ।

राजकर्णिकारलाई कृष्ण पाउरोटी भण्डार प्रालि अध्यक्षमात्रै भनिए उनको परिचय अपुरो हुन्छ । नेपालकै इतिहास बनेको कृष्ण पाउरोटी भण्डार प्रालि अध्यक्ष उनी नियात्राकारसमेत हुन् । स्नातकोत्तरसम्मको अध्ययन पार लगाएका उनी नेपालका नाम चलेका नियात्राकारमा पर्छन् । कथा, कवितासमेत लेख्ने उनी पछिल्लो समय नियात्रालेखनमै रमाएका छन् । उनको नियात्राका चार किताब प्रकाशित छन् । 

नियात्रालेखनमै रमाउनुको पनि कारण छ । ‘विविध विधा ‘समेटेर केही चिन्तन केही मन्थन’ नामक किताब ०३५ मा प्रकाशित भयो,’ नियात्राकार राजकर्णिकारले सुनाए, ‘धेरैले नियात्रा मन पराइदिए । त्यसमध्येका एक थिए– माधवलाल कर्माचार्य । कर्माचार्यले नियात्रालाई निरन्तरता दिँदा राम्रो हुन्छ भने । मैले त्यसै गरें ।’

उनले त्यहीताका जनार्दन समबारे लेखिएका आलेख पढेका थिए । बालकृष्ण समका छोरा जनार्दन कवि, कथाकार हुन् । उनले गीत गाउनुका साथै नृत्यसमेत गर्थे । त्यति धेरै विधासँग जोडिए पनि जनार्दन कुनैमा पोख्त थिएनन् । 

त्यसपछि साहित्यका विविध विधामा कलम चलाउने घनश्याम नियात्रामा केन्द्रित रहे । नियात्रा भनेको के हो ? उनले प्रस्ट्याए, ‘कुनै ठाउँको यात्रा गर्दा त्यसको वर्णन गर्नुमात्रै नियात्रा होइन । नियात्रामा अनुभव, अनुभूति, प्रतिक्रिया, आलोचनात्मक दृष्टिकोण हुनुपर्छ ।’

हिजोआज नियात्रा भनेर लेखिएका अधिकांश यात्रावर्णनमात्रै भएको उनको बुझाइ छ । त्यसमा नियात्राको गुण छैन । भन्नेमात्रै नियात्रा । नियात्रा लेख्न सामथ्र्य चाहिन्छ । तारानाथ शर्मा, प्रदीप नेपाल, देवीचन्द्र श्रेष्ठ, दामोदर पुडासैनीहरूमा नियात्रा लेख्न सामथ्र्य भएको उनको दाबी छ ।

साहित्यकार युवराज नयाँघरे भन्छन्, ‘राष्ट्रियताको रापले हमेशा तातेका घनश्याम राजकर्णिकार जहाँ गए पनि आफ्नो राष्ट्र बोकी लैजान्छन् ।’ राष्ट्रलाई केन्द्रमा राखेर लेख्नु उनको निजत्व हो ।

व्यवसाय र साहित्य दुवैमा सफल उनको विभिन्न विधामा १० किताब प्रकाशित छन् । साहित्य लेख्न धेरै पढ्नुपर्छ भन्ने मान्यता राख्ने उनको ठम्याइ छ, ‘साहित्य लेख्न भावना पनि चाहिन्छ । लेख्नका लागि अत्यधिक पढ्नुपर्छ । नपढी लेख्दा स्तरीय हँुदैन ।’ 

०२० देखि लेख्न थालेका उनको ०२४ मा गोरखापत्र दैनिकमा एकांकी नाटक प्रकाशित भएको थियो । अन्य साहित्यकारले कविताबाट साहित्यिक यात्रा थाल्ने भए पनि उनले एकांकी नाटकबाट सुरु गरेका थिए । 

व्यवसाय र साहित्यमा उचाइ बनाउँदै गएका उनको स्वीकारोक्ति छ, ‘व्यवसाय पैसाका लागि हो भने साहित्यलाई पैसासँग तुलना गर्न सकिँदैन । व्यवसाय अहिले बाँच्नका लागि हो भने साहित्य मृत्युपछि बाँच्नका लागि ।’

नेपालका अधिकांश साहित्यकारको आर्थिक अवस्था कमजोर छ । राजकर्णिकारको सुझाव  छ, ‘साहित्यकारले आर्थिक अवस्था उकास्न साहित्यलेखनका अलावा कुनै पनि पेसा÷व्यवसायसँग जोडिनुपर्छ । काम गर्न लाज मान्नुहुँदैन । कामको पूजा गर्नुपर्छ ।’

नियात्राकार घनश्याम राजकर्णिकारले १५ पुरस्कार पाइसकेका छन् । राजकर्णिकारको मान्यता छ, ‘तर, पुरस्कारका लागि कहिल्यै लेख्न हुँदैन । कसैले सम्बन्धित साहित्यकारको साहित्यिक योगदानको कदर गर्दै पुरस्कार दिन्छ भने थाप्नैपर्यो ।’ पुरस्कारले सम्बन्धित लेखक÷साहित्यकारको लेखन ऊर्जा थपिदिन्छ । पुरस्कार भनेको ‘समथिङ मनी एभब’ हो । पुरस्कार पाउनै ठूलो हुन्छ । चाहे त्यो एक रुपैयाँ नै किन नहोस् । 

पेसा/व्यवसायसँगै साहित्यकारको परिचय बनाएको उनीदेखि घरपरिवार, इष्टमित्र, शुभचिन्तक असाध्यै गौरवान्वित छन् । साहित्यिक क्षेत्रमा त छँदै छन् । व्यवसाय र साहित्यमा सफल उनी आफ्नो कर्मले बनाएको परिचयबाट त्यत्तिकै खुसी र सुखी छन् । 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ