शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘चुनाव धन्दा बनिसकेको छ’

मङ्गलबार, ०३ वैशाख २०७६, १२ : ५६
मङ्गलबार, ०३ वैशाख २०७६

हामीले चलचित्रमा यो लाइन सुनेका छौँ होला – फोहरलाई सफा गर्ने हो भने फोहोरमै पस्नुपर्छ ।

हिन्दी, तमिल र कन्नड चलचित्रका चर्चित अभिनेता प्रकाश राज असली दुनियाँमा यस्तै गर्ने दाबी गर्छन् । ‘सिंघम’ र ‘दबङ्ग–२’ का भिलेन असली दुनियाँमा हीरोको भूमिका निभाउन चाहन्छन् ।

प्रकाश राजका अनुसार ‘आज व्यवस्थामा जुन फोहोर छ, भ्रष्टाचार छ, त्यसको मूल कारण चुनावी प्रक्रिया हो ।’

यसमा सुधार ल्याउनैका लागि ‘भ्रष्ट व्यवस्था’ को हिस्सा बनेर यसपटक चुनावी मैदानमा प्रवेश गरेको उनी बताउँछन् ।

उनी बैंग्लुरु सेन्ट्रलबाट एक निर्दलीय उम्मेदवारको हैसियतमा लोकसभा चुनाव लडिरहेका छन् ।

‘यस देशमा चुनाव एक धन्दा बनिसकेको छ,’ बीबीसीसँग विशेष कुराकानी गर्दै उनले ‘भ्रष्ट’ व्यवस्थामाथि दबङ्ग तरिकाले प्रहार गरेका छन् ।

उनी भन्छन्, ‘कुनै पनि पार्टीको १५–२० प्रतिशत भोट पैसाले किनिन्छ ।’

प्रकाश राजले यही व्यवस्थासँग प्रश्न गर्न ‘ह्यासट्याग जस्ट आस्किङ’ को ट्रेन्ड सामाजिक सञ्जालमा शुरुवात गरेका थिए जसलाई ‘एन्टी–मोदी’ भएको आरोप समेत लगाइएको थियो ।

तर उनी भन्छन्, ‘म नरेन्द्र मोदीको विरोधी होइन । उनी मेरो काका होइनन् । उनी मेरो प्रधानमन्त्री हुन् । म सत्तामा बसेको सरकारमाथि प्रश्न गर्छु । झुठो वाचा र देशलाई विभाजित गर्ने सत्तामाथि प्रश्न गर्छु ।’

अनौठो प्रचार अभियान

शायद यही भएर उनले आफ्नो चुनाव चिन्ह सिटी राखेका छन् । उनी भन्छन्, ‘व्हिसल यानी व्हिसल ब्लोअर । म मानिसहरुलाई भ्रष्ट व्यवस्थाबारे सजग गराउँछु ।’

उनको चुनावी सभाको दौरान उपस्थित मानिसहरु एक भएर सिटी बजाउने पनि गर्छन् । बृद्धदेखि बच्चा र महिलाहरुले सबै एक साथ सिटी बजाएर उनको स्वागत गर्छन् ।

तर के सिटीको आवाज मतदातासम्म त पुगिरहेको छ ? सभामा उपस्थित प्रायः सबै गरीब छन् र व्यवस्थाबाट दुःखी छन् ।

शकील यूनुस नाम गरेका युवाका अनुसार बेरोजगारीले नै उनलाई प्रकाश राजसँग नजिक पुर्याएको हो । उनी भन्छन्, ‘उनको आवाजमा दम छ ।’

नजिकै फलफूल पसलमा उभिरहेका ग्राहकहरु पनि प्रकाश राजले चुनाव जित्न सकेनन् भने पनि उनले उठाएको मुद्दा आम जनतासँग जोडिएको बताए ।

प्रकाश राज पनि यस्तै मुद्दा लोकसभामा उठाउन चाहन्छन् । उनी यस चुनावी प्रणालीलाई बदल्न चाहन्छन् जुन मात्र ‘एक ब्रान्डिङ बनिसकेको छ । मार्केटिङ टुल बनिसकेको छ, विभाजन गर्ने सत्ता बनिसकेको । पैसाले भोट किनिन्छ । भोट दिने अधिकांश गरीब हुन्छन् तर उनी गरीबका गरीब नै रहन्छन् ।’

प्रकाश राजले चुनाव जित्ने सम्भावना कति छ त ?

उनको विरुद्ध खडा छन्, पछिल्लो दुई पटक चुनाव जित्ने भारतीय जनता पार्टीका उम्मेदवार पीसी मोहन । त्यस्तै कँग्रेसबाट युवा नेता रिजवान अरशद छन् ।

यहाँ मुस्लिम भोटरको संख्याले पनि मान्यता राख्छ ।

कँग्रेसलाई घाटा ?

चुनावी विश्लेषक तथा शहरका धेरैको बुझाई छ – प्रकाश राजले धर्मनिरपेक्षता समर्थक र विजेपीबाहेकको भोट काट्ने छन् जसले रिजवान अरशदलाई घाटा हुनेछ । यसको अर्थ पीसी मोहनले लगातार तेस्रो पटक जीत हासिल गर्दै ह्याट्रिक पूरा गर्नेछन् ।

तर, प्रकाश राज भने यो कुरा स्वीकार गर्न तयार छैनन् । ‘कसले भन्छ मैले कँग्रेसको भोट काट्दैछु । पछिल्लो दुई पटक त उनीहरु यहाँबाट हारेका छन् । उनीहरुले जितेको भए त्यसो भन्न मिल्थ्यो । त्यो भोट कँग्रेसको भोट नै होइन ।’

तर धर्मनिरपेक्षताका समर्थकहरु तथा नेताहरु पनि सशंकित छन् – कतै यसको फाइदा विजेपीलाई त हुँदैन ? मोदी–विरोधी मानिने प्रकाश राजले अन्जानमा मोदीकै फाइदा त गरिरहेका छैनन् ?

यसमा उनी भन्छन्, ‘के कँग्रेस धर्मनिरपेक्ष छ ? कँग्रेस र विजेपी दुवै विभाजन निम्ताउने पार्टी हुन् । म कसैको विरुद्धमा छैन ।’

उनी थप्छन्, ‘म धर्मनिरपेक्ष भारतको आवाज बनिसकेको छु र म अप्रशिद्ध बन्नका लागि पनि तयार छु । मैले जनतासँग संवाद शुरु गरिसकेको छु । हामीलाई अहिलेको सत्तासिन पार्टीहरुको जस्तो राजनीति चाहिँदैन, हामीलाई जनताको प्रतिनिधित्व गर्ने नेताहरुको आवश्यकता छ ।’

यद्यपि, आफूले धर्म वा धर्मनिरपेक्षताको नाममा भोट नमागेको पनि उनले स्पष्ट पार्छन् ।

स्थानीय भएको नाताले उनले हरेक क्षेत्रका मानिसहरुसँग भेटिरहेका छन्, कुराहरु सुनिरहेका छन् ।

स्थानीय हुँ, इतिहास बदल्न सक्छु

उनी भन्छन्, ‘मैले अहिलेसम्म चार लाखभन्दा धेरै मानिसहरुसँग भेटिसकेको छु । म त्यस्ता मानिसहरुसँग भेट्छु जसलाई राजनीतिक दलका उम्मेदवारहरुले भेट्दैनन् । म उनीहरुसँग बसेर समस्या जान्न खोज्छु ।’

प्रकाश राजलाई आम आदमी पार्टी र वामपन्थी पार्टीहरुको पनि समर्थन प्राप्त छ । तिनै पार्टीका कार्यकर्ताहरु प्रकाश राजलाई स्वयंसेवकका रुपमा सहयोग गरिरहेका छन् ।

आम आदमी पार्टीका एक युवा नेता अब्बास अहिले प्रकाश राजसँग जोडिएका छन् । उनी भन्छन्, ‘केही खास पार्टीले उनलाई चुनाव नलड्न दबाब दिए ।’ यसमा उनले कँग्रेस पार्टीको नाम लिए ।

प्रकाश राज स्वतन्त्र उम्मेदवार हुन् । ऐतिहासिक दृष्टिले कर्नाटकमा १९५१ देखि अहिलेसम्म मात्र दुई जना निर्दलीय उम्मेदवार विजयी भएका छन् ।

प्रकाश राज भन्छन्, ‘म अभिनेता हुँ । म स्थानीय पनि हुँ । इतिहास बदल्न सक्छु । मिहिनेछ गर्दैछु ।’

कर्नाटकको २८ लोकसभा सिटमा १८ र २३ अप्रिलमा चुनाव हुँदैछ । बैंग्लुरु सेन्ट्रलमा १८ अप्रिलमा चुनाव हुनेछ ।

२३ मेमा यसको नतिजा प्रकाशित हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप