बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाका नेताको कति धेरै चीन भ्रमण !

मङ्गलबार, ०३ वैशाख २०७६, १० : ०२
मङ्गलबार, ०३ वैशाख २०७६

भ्रमण १ – नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव विष्णु पौडेल २०७५ चैत ३० चीन प्रस्थान गरे । महासचिव पौडेलसियान विश्वविद्यालयद्वारा स्थापना गरिएको सियान–साउथ एसियन स्ट्डी सेन्टरको उद्घाटन गर्न चीन प्रस्थान गरेका थिए । चीनमा रहँदा उनले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । पौडेलसँग नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहाल पनि चीन भ्रमणमा छन् । महासचिव पौडेल आगामी वैशाख ७ गते स्वदेश फर्कने छन् ।

भ्रमण २–चैत १३ गते चीन प्रस्थान गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको नेतृत्वको १५ सदस्यीय टोलीले एक साता भ्रमण गर्यो । पार्टी सञ्चालन विधि र पार्टी स्कुलअन्तर्गत अध्ययन तथा अनुसन्धान प्रक्रियाको जानकारी गराउन चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले उनीहरुलाई निमन्त्रणा गरेको थियो ।

भ्रमणको क्रममा चिनियाँ कम्युनिस्ट पार्टीले तल्ला निकाय प्रान्त, नगर, काउन्टी तथा प्रिफेक्चर तहमा नेपाली नेतालाई लगेर पार्टी सञ्चालन विधि, जनताको मन जित्ने तरिका, उत्पादन प्रक्रियामा समन्वय, सैद्धान्तिक पक्ष, स्कुल विभागलगायत विषयमा अनौपचारिक प्रशिक्षण दिएको थियो ।

नेकपाका दुई उच्च नेताहरुले पछिल्लो एक साताको फरकमा  गरेका  यी दुई भ्रमणहरु उदाहरणमात्रै हुन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेकपाका अध्यक्षद्वय, सचिवालयका शीर्ष नेतादेखि अन्य तहका नेताले चीन भ्रमण गरिसकेका छन् । सोही सिलसिलालाई निरन्तरता दिँदै अहिले नेकपाका महासचिव पौडेल चीन भ्रमणमै छन् ।

कुनै बेला नेपालका नेताहरूको दिल्लीमा बाक्लो भ्रमण हुने गथ्र्यो भने अहिले उत्तरी छिमेकको भ्रमण नेकपाका नेताहरूको प्राथमिकतामा परेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले तत्कालीन एमाले र माओवादीबीच चुनाव गठबन्धनदेखि पार्टी एकतासम्ममा चिनियाँ चासोले काम गरेको प्रचार गरेका थिए । अनौठो संयोगको कुरा, ठीक त्यहीबेलादेखि नेताहरूको लगातार हुन थालेको चीन भ्रमण आश्चर्यजनक मानिएको छ ।नेताहरू कहिले चिनियाँ कम्युनिस्ट पार्टीको निम्तामा, कहिले चिनियाँ सरकारको त कहिले निजी भ्रमणमा चीन गएका छन् ।

को-को नेताले चीन भ्रमण गरे ?

पार्टी एकतापछि नेकपाका अधिकांश शीर्ष नेताहरूले चीन भ्रमण गरेका छन् । नेपालबाट चीनमा हुने उच्चस्तरीय भ्रमण पहिले सरकार–सरकारकाबीचमा मात्र हुने गरेकामा पछिल्लो पटक पार्टी–पार्टीहरूको बीचमा पनि भ्रमण हुन थालेको छ । पछिल्लो पटक हुने अधिकांश उच्च स्तरीय भ्रमण चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुने गरेका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा २०७५ असार ५ देखि छ दिवसीय चीन भ्रमण गरेका थिए ।

प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र केही सांसदहरूले चीन भ्रमण गरेका थिए । प्रधानमन्त्रीको चीन भ्रमणमा महत्त्वपूर्ण भेटघाट र सम्झौता भएका थिए ।

त्यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७५ भदौ ३० गतेदेखि चार दिने चीन भ्रमण गरेका छन् । अध्यक्ष दाहाल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीनको भ्रमण गरेका थिए । चिनियाँ राष्ट्रपति सी जिङपिङसँगको भेट तय नभएपछि प्रचण्ड बेइजिङ भने पुगेका थिएनन् । प्रचण्डले आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताएका थिए ।

असारमा वरिष्ठ नेता माधवकुमार नेपाल चीन भ्रमणमा गएका थिए । त्यसलगत्तै असोज तेस्रो साता नेपाल दोस्रो पटक चीन भ्रमणमा गएका थिए ।

त्यस्तै नेकपाका सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल कात्तिक ६ गते चीन प्रस्थान गरेका थिए । बेइजिङमा भएको अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन गएका मन्त्री पोखरेल कात्तिक १३ गते स्वदेश फर्केका थिए ।

पार्टी एकतापछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई पटक चीन भ्रमण गरिसकेका छन् । प्रवक्ता श्रेष्ठले पनि कात्तिक ६ गतेनै चीन भ्रमणमा गएका थिए । चीनको ग्वाङझाओमा आयोजना गरिएको बेल्ट रोड इनिसिएटिभ (बीआरआई) को तीन दिने बैठकमा भाग लिन श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय टोली चीन गएको थियो ।

श्रेष्ठले नेतृत्व गरेको टोलीमा उद्योगी व्यवसायीका साथै प्रदेश सरकारका मन्त्री एवं सांसदसमेत सहभागी थिए । यसअघि उनले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा १५ सदस्यीय टोलीको नेतृत्व गर्दै भदौ २९ देखि असोज ५ सम्म चीन भ्रमण गरेका थिए ।पार्टी एकताका बेला चीन भ्रमणमा रहेका झलनाथ खनालले पनि दुई पटक चीन भ्रमण गरिसकेका छन् ।

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका कृषि मन्त्री चक्रपाणि खनाल बलदेवले फागुन १८ देखि २२ सम्म चीन भ्रमण गरेका थिए । मन्त्री खनाल सिचुवानको इबिनमा भएको तेस्रो अन्तर्राष्ट्रिय चिया सम्मेलनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन गएका थिए ।

कुनै समय ‘शान्त कूटनीति’को नीतिअन्तर्गत अरू देशको आन्तरिक मामिलामा चियोचर्चा नगर्ने चीन पछिल्लो समयमा निक्कै ‘सक्रिय कूटनीति’का साथ विश्वव्यापी रूपमै अघि सरेको देखिन्छ । खासगरी, छिमेकी देशहरुको सवालमा विशेष रुचि र चासो चीनले बढाउँदै लगेको सन्दर्भमा स्वाभाविक रूपमा उसको रुचि, चासो र गतिविधिहरु नेपालमा पनि वृद्धि भएको देखिन्छ । ​

यसबाहेक नेकपाकै नेतासमेत रहेका सभामुख, कृष्णबहादुर महरा पनि भदौ तेस्रो साता चीन भ्रमणमा गएका थिए । नेकपाका नेता एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित असोज पहिलो साता चीन भ्रमण गएका थिए ।

नेकपाका नेता एवम् कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही असोज पहिलो साता, नेकपाका नेता एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ असोज दोस्रो साता चीन भ्रमण गरेका थिए । यी दुई मन्त्रीको पहिलो विदेश भ्रमण चीनबाट भएको थियो ।

यसबाहेक नेकपाबाटै उपराष्ट्रपति बनेका नन्दबहादुर पुनले पनि असोज पहिलो साता चीन भ्रमण गरेका थिए । नेकपाका नेता मात्रै होइन धेरै कार्यकर्ताले पनि चीन भ्रमण गरिसकेका छन् । नेकपाबाटै राष्ट्रपति बनेका विद्यादेवी भण्डारी वैशाख ११ देखि चीन भ्रमण गर्दै छन् ।

एक्कासि नेताहरूको चीन मोह बढ्नुले राजनीतिक वृत्तमा नयाँ बहस पनि सुरु गराएको छ । पछिल्लो समय नेपालमा भारतको स्थान चीनले लिन थालेको भन्ने बहस पनि सुरु भएका छन् । नेपालमा ‘किङ मेकर’को भूमिकामा पछिल्लो समय चीन आएको कूटनीतिक मामलाका जानकारहरू बताउँदै आएका छन् ।

चीन आवतजावत बाक्लो बनाउनुको उद्देश्य के ?

तत्कालीन माओवादी केन्द्रमा विदेश विभाग सचिव रहेका नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईंभन्छन्, ‘चीन र नेपालबीच रणनीतिक हिसाबले पनि धेरै काम अगाडि बढेका छन् । परम्मपरागत ढङ्गको नेपाल चीनबीचको सम्बन्ध थप नयाँ उचाइमा अगाडि बढेको छ । यो स्थितिमा अहिले कुनै पनि सत्ताधारी पार्टीको चीनसँगको सम्बन्ध बाक्लो हुनुलाई स्वाभाविक मान्नुपर्छ ।’

नेता चैलागाईंका नजरमा नेकपाका नेताको चीन भ्रमण बाक्लो हुनुका चार कारण छन् ।

‘पहिलोनेपाल र भारतबीचमा आएका उतारचढावले चीनबीचको सम्बन्ध नयाँ उचाइमा लैजानुपर्छ भन्ने राष्ट्रिय सहमति जस्तै छ । त्यसअर्थमा नेकपाको मात्रै कुरा भएन । नाकाबन्दीपछि नेपाल र चीनबीचको सम्बन्ध धेरै उचाइमा गइसकेको छ ।’

‘दोस्रो बीआरआईमा नेपालले हस्ताक्षर गरिसकेपछि चीनको नेपालसँगको पहिलो प्राथमिकता बीआरआई हो । दुई देशबीच सम्बन्धको मेरुदण्ड बीआरआई हो । हामी बीआरआईको एउटा पार्ट हौँ । त्यसले गर्दा औपचारिक भेटघाट मात्रै होइन कि विभिन्न सङ्घसंस्थाहरुको व्यक्तिहरुसँग चीनको सम्बन्ध निकै बाक्लो भएको छ अहिले । नेताहरुलगायत अन्य व्यक्तिहरु गएको हिसाबले नेकपाका अन्य नेताहरु पनि गएको देखिन्छ ।’

‘तेस्रो तत्कालीन एमाले र माओवादी हुँदा पनि चिनियाँ कम्युनिस्ट पार्टीको धेरै राम्रो सम्बन्ध थियो । त्यहीबेला पनि दुई पार्टीका छुट्टाछट्ुटै औपचारिक अनौपचारिक चीन भ्रमण हुने गरेका थिए । एकतापछि त्यसको ठूलो सङ्ख्यामा नेताहरुको आवातजावत देखिन्छ ।’

‘चौथो चीन भ्रमणमा नेपालका नेताहरु मात्र गएका छैनन् । चीनबाट पनि धेरै भ्रमण नेपालमा भएका छन् । विश्वविद्यालयका बौद्धिक व्यक्तिहरु आएका छन् । राजनीतिक नेताहरु आएका छन् । त्यसकारणले चीन भ्रमण नेताहरुको तहको मात्र छैन । अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरुको पनि छ । यो सबैलाई एकैठाउँ राखेर हेर्दा यिनै परिभाषा, आयामभित्र नेकपाका नेताहरुको भ्रमण पर्छ । नेपालका लागि यो राम्रै कुरा हो । नेकपाका नेताहरुको चीन भ्रमण बढ्यो भन्नुको अर्थ भारत जाने क्रम घट्यो भन्ने हैन । चीनमा जाने क्रममा अलि बढेको छ । जुन विशिष्ट भू–राजनीतिमा नेपाल छ, त्यसले दीर्घकालीन रूपमा राम्रै काम गर्छ ।’

बहस पनि छ

कुनै समय ‘शान्त कूटनीति’को नीतिअन्तर्गत अरू देशको आन्तरिक मामिलामा चियोचर्चा नगर्ने चीन पछिल्लो समयमा निक्कै ‘सक्रिय कूटनीति’का साथ विश्वव्यापी रूपमै अघि सरेको देखिन्छ । खासगरी, छिमेकी देशहरुको सवालमा विशेष रुचि र चासो चीनले बढाउँदै लगेको सन्दर्भमा स्वाभाविक रूपमा उसको रुचि, चासो र गतिविधिहरु नेपालमा पनि वृद्धि भएको देखिन्छ ।

कुनै बेला नेपाल भारत सम्बन्धमा आएको उतारचढावको सन्दर्भमा छिेमकीको हैसियतले ‘मिल्न सल्लाह मात्र दिने’ चीनले २०७२ को अघोषित भारतीय नाकाबन्दीको बेलामा त खुलेरै नेपाललाई इन्धन, आर्थिक लगायतका सुविधाहरु आकस्मिक रूपमा उपलब्ध गरायो ।

चीनको भूमिका त्यतिमा मात्रै सीमित रहेन, उसले त्यसपछिका दिनहरुमा पनि भारतवेष्ठित जस्तै अवस्थामा रहेको नेपालको पारवहनको बाध्यतालाई तोड्ने गरी वैकल्पिक मार्गहरु उपलब्ध गराउने तथा सोही सन्दर्भमा रेल्वे सेवा विस्तार गरिदिने तहसम्म पनि जाने गरी सक्रियता देखायो ।

त्यसबाहेक विश्वबजारमा आर्थिक महाशक्तिको रूपमा स्थापित भइसकेको चीनले कुनै बेला नेपालको विकास निर्माण तथा सरसहयोगमा कायम भारतीय एकाधिकारको स्थितिलाई नै पल्टाउने शैलीमा आफ्नो सहयोग र सेवाहरु पनि नेपालमा विस्तार गर्दै लगेको छ ।  कूटनीतिक क्षेत्रका जानकार पछिल्लो समय नेपालको उच्च तहको राजनीतिक भ्रमण र सम्बन्ध चीनतर्फ बाक्लिँदै जानुका पछाडि नेपालको राजनीतिमा चिनियाँ प्रभाव बढ्दै गएको बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप