मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘सशस्त्र प्रहरी मुलुकको शान्तिसुरक्षामा प्रतिबद्ध’

सोमबार, ०२ वैशाख २०७६, १९ : ३१
सोमबार, ०२ वैशाख २०७६

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न शान्तिसुरक्षाको क्षेत्रमा प्रतिबद्ध भएर लागेको बताएको छ । सशस्त्र प्रहरी बलले आज पत्रकार सम्मेलन गरी मुलुकको विकासका लागि तीनै तहको सरकारसँग सहकार्य गरेर काम गरिरहेको बताएको हो । 

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले मुलुक र जनताका लागि सीमा सुरक्षालाई सुदृढ बनाउँदै लगिएको बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न सशस्त्र प्रहरीले खेल्नुपर्ने भूमिका खेलिरहेको छ,’ महानिरीक्षक खनालले भने । 

आईजीपी खनालले सशस्त्र प्रहरीले आफ्ना सबै युनिटमा मदिरा तथा सुर्तीजन्य पदार्थ किनबेचमा निषेध गरेको बताए । उनले सशस्त्र प्रहरीको सङ्गठनलाई चुस्त तथा दुरुस्त बनाउन ३० वटा कार्यविधि बनाएर काम गरिरहेको बताउँदै ऐन र कानूनअनुसार नियुक्ति तथा पदोन्नति गरिएको उल्लेख गरे ।   

विपद् व्यवस्थापन र सीमा सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरीले कटिबद्ध भएर काम गरेको उनको भनाइ छ । सशस्त्र प्रहरी ऐन, २०५५ लाई समयअनुसार संशोधन तथा परिमार्जन गर्दै अगाडि बढिरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । 

सशस्त्र प्रहरी बलले देशभरका जुनसुकै भूभागमा हुने सुरक्षा चुनौतीलाई सामना गर्न सबै जिल्लामा आफ्नो सङ्गठनसमेत विस्तार गर्दै लगेको छ । ‘५६ जिल्लामा स्थायी कार्यालय रहनेगरी ७७ वटै जिल्लामा सङ्गठन विस्तार गरिसकेका छौँ,’ आईजीपी खनालले भने ।  

उनले संगठनको पुनर्संरचना गरी विगतमा ५८ जिल्लामा उपस्थिति रहेको सशस्त्र प्रहरी बललाई देशका सबै जिल्लाहरुमा तैनाथ गरिएको स्मरण गराए । 

सशस्त्र प्रहरीले आफ्नो सङ्गठनलाई व्यापकता दिन ११ शिक्षालय स्थापना, ३६ गण निर्माण र १५ हजार जनशक्ति तराईका विभिन्न जिल्लामा खटाएको जनाएको छ । यस्तै सशस्त्रमा भर्ना हुने जवानलाई आवश्यक पाठ्यक्रमसमेत परिमार्जन गर्दै लगिएको आईजीपी खनालको भनाइ छ । 

गृह प्रशासन सुधार कार्ययोजनाअनुसार काम गर्दै आएको सशस्त्र प्रहरी बलले हरेक वर्षको भदौ ६ लाई महानिरीक्षक रक्तदान कार्यक्रमका रुपमा समेत मनाउँदै आएको छ । 

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ खटिएका  प्रहरी कर्मचारीबाट कटौती हुँदै आएको १५० डलरलाई कटौती नगर्ने निर्णय गरेको आईजीपी खनालले बताए । सशस्त्र प्रहरीले २०७५ सालमा मात्र ५४८ प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिएको समेत जनाएको छ । 

सशस्त्र प्रहरीले विसं २०७५ मा मात्र विभिन्न खेलबाट २३६ पदक प्राप्त गरेको छ । यस्तै बिनाधितो २५० प्रहरी कर्मचारीलाई ऋण उपलब्ध गराउँदै आएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

विसं २०७५ देखि सशस्त्र प्रहरी अस्पतालमा आइसियु कक्ष स्थापना गरेर बिरामी प्रहरी कर्मचारीलाई सेवा दिन शुरु गरेको सशस्त्र प्रहरीले आगामी दिनमा सातै प्रदेशमा अस्पताल लैजाने बताएको छ । सप्तरीमा भने तत्काल अस्पताल निर्माण गर्न प्रक्रिया अगाडि बढिसकेको छ । 

सशस्त्र प्रहरीले आर्थिक पारदर्शितालाई समेत मध्यनजर गरी शून्य सहनशीलताको नीतिलाई अगाडि बढाएको छ । सशस्त्रले चालू आवमा ४३.७७ प्रतिशत बेरुजु फछ्र्यौट गरिसकेको छ । सशस्त्रले २०७२ साल वैैशाख १२ गते गएको भूकम्पले क्षति पुगेका २८ युनिटमध्ये रु ४२ करोड ७२ लाखमा २५ युनिट पुनर्निर्माण गरिसकेको छ । 

सशस्त्रले उत्तरी तथा दक्षिणी सीमा सुरक्षाका लागि नेपाल–भारत सीमा बैठक ६० पटक र नेपाल–चीन सीमा बैठक १२ पटक बसिसकेको जनाएको छ । विस २०७५ मा मात्र मानव बेचबिखनमा ३० व्यक्तिलाई पक्राउ गरेको छ । 

सशस्त्र प्रहरीले विभिन्न क्षेत्रमा हुने चोरी–पैठारीबाट रु ३३ करोड ७० लाख राजश्व उठाएको छ । यस्तै सीमा नाका सुरक्षाका लागि सीमा नाकामा १६९ हेल्प डेस्क स्थापना गरी सेवा प्रदान गरिएको महानिरीक्षक खनालले बताए । 

सशस्त्र प्रहरीले आफ्नो सङ्गठनका बारेमा आम जनतालाई जानकारी दिन ‘मोबाइल एप्स’समेत सञ्चालनमा ल्याएको र उक्त एप्स आजैबाट सञ्चालनमा आउने आईजीपी खनालले जानकारी दिए ।

उनले विभिन्न वन्यजन्तुको उद्धार गरिएको तथा देशका विभिन्न एक सय स्थानमा ईमिडियट रेस्पोन्स टीम तैनाथ गरिएको कुरा समेत उल्लेख गर्दैै सो टीममा उपलब्ध भएसम्म सशस्त्र प्रहरी बलको स्वास्थ्यकर्मी तथा एम्बुलेन्स समेत राखिएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप