शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र क्षेत्रमा कोही पनि इमान्दार छैन: बोर्ड अध्यक्ष भट्टराई

सोमबार, ०२ वैशाख २०७६, १८ : ५५
सोमबार, ०२ वैशाख २०७६

काठमाडौं– चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराइले चलचित्र क्षेत्रको विकास नहुनको मुख्य कारण चलचित्र नीतिको अभाव भएको बताएका छन् । 

‘हामी चलचित्रसँग सम्बन्धी विभिन्न संघसंस्था छलफल जुट्छौ । अनेक समस्या निकाल्छौ । समाधानको उपाय पनि खोज्छौ । कार्यन्वयनमा पनि जान्छौ’ उनले भने, ‘हामीसँग नीति छैन । नीति नहुँदा हाम्रो कुरा सम्बन्धि निकायले केही गर्न सक्दैनौ भनेर त्यसै फर्काउछन् । त्यसपछि हामी फर्कन्छौ ।’ चलचित्र नीति नहुँदा यो क्षेत्रको हित हुन नसकेको उनले सुनाए । ‘मेरो पहिलो प्रथामिकता चलचित्र नीति पारित गर्नु रहनेछ । नीति पारित भयो भने समस्या समाधान गर्न सजिलो हुन्छ ।’ उनले थपे । 

चलचित्र पत्रकार संघ नेपालले सोमबार आयोजना गरेको ‘चियापान तथा चलचित्र क्षेत्रको बेथिति’ विषय अन्तक्र्रिया कार्यक्रममा बोर्ड अध्यक्ष भट्टराइले चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु इमान्दार हुन नसक्दा चलचित्र क्षेत्रको समस्या दिनप्रति दिन बढ्दै गएको उनले बताए । 

अध्यक्ष भट्टराइले आफ्नो कार्यकालमा देशभर बक्स अफिस प्रणाली लागू गरिछाड्ने बताए । उनले भने, ‘म साउन महिना भित्र देशभरका हलमा बक्स अफिस परीक्षण गराउने छु ।’ त्यस्तै, चलचित्र संघका अध्यक्ष प्रदीप उदयले चलचित्र क्षेत्र दिन प्रतिदिन धरासायी हुनुमा कुनै एकको हात नभएर यस क्षेत्रका सबै जिम्मेवार भएको बताए ।

‘चलचित्र पत्रकार, निर्माता, निर्देशक, वितरक लगायत सबैले आफ्नो मात्र ब्यक्तिगत स्वार्थ हेर्नाले चलचित्र क्षेत्रको अवस्था अहिलेको स्थितिमा पुगेको उनको भनाई रहेको थियो । चलचित्र क्षेत्रसँग सम्बन्धित कुनै पनि पक्ष इमान्दार नरहेको उनले आरोप लगाए । 

‘यहाँ एकले अर्काेलाई आरोप लगाउँछन् । कसैलाई समस्या पर्यो भने उसको मात्र हो भन्छन् । आफ्नो बाहेक अरुको हित सोच्दैनन्’ उनले भने ‘त्यसको नतिजा ‘कालो बर्ष’को रुपमा आएको चलचित्र क्षेत्रको बार्षिक समिक्षालाई हेर्न सक्छौ ।’

प्रदीप उदयको कुरामा निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पनि समर्थन जनाए । चलचित्र निर्माण गरिरहेका निर्माताहरुले ब्यवसायको बारेमा सत्यतथ्य लुकाएर भ्रामक समाचार बाहिर ल्याउदा पनि चलचित्र क्षेत्रको अवस्था बिगँ्रदो रहेको उनले बताए ।

‘निर्माता मात्र होइन । ती समाचार बाहिर ल्याउने पत्रकार पनि त्यति नै दोषी छन्’ उनले भने, ‘भ्रामक समाचारको प्रचारले नव निर्माताहरु व्यवसाय सम्बन्धी कुनै कुराको ज्ञान बिना होमिएका छन् । यसले नत उनीहरुको लगानी जोगिएको छ । नत चलचित्र क्षेत्र नै उभो लागेको छ ।’ नव निर्मातालाई राम्रोसँग चलचित्र क्षेत्रको अध्यायन गरेर आउन अधिकारीले सुझाए ।

अध्यक्ष अधिकारीले चलचित्र क्षेत्रको बिग्रँदो अवस्थाको जिम्मेवार कलाकारले आफु को हुँ भनेर चिन्न नसक्नु पनि अर्काे कारण भएको बताए ।  ‘कलाकार जहिले जहाँ पनि सजिलै एक्सेस भइदिन्छन् । कुन मिडिया राम्रो, कुन नराम्रो दाँज्ने क्षमता छैन’ उनले भने, ‘जुनै माध्यममा सजिलै भेटिने कलाकारलाई हेर्न हलमा गएर कसले पैसा तिर्छ ?’ उनले कलाकार पैसामुखी भएको पनि आरोप लगाए । ‘कलाकारले पैसाको डिमान्ड बढाउदा आफ्नो कारणले लगानी कति उठ्छ भनेर सोच्नु पर्छ, कि पर्दैन उनले प्रतिप्रश्न गरे । 

चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले पत्रकारले निर्माता, निर्देशक, वितरक र हलवालासँगको सुचनाका आधारमा समाचार बनाउने गरेको बताउँदै मिडियामा गलत समाचार देखिनुमा यी पक्ष नै दोषी भएको बताए । ‘पत्रकारले सहि सुचना सजिलै पाउने ब्यवस्था सबै पक्षले गर्नुपर्छ’ उनले भने, ‘यो पत्रकारको अधिकार पनि हो र यसले गलत सुचना बाहिर आउनबाट पनि रोक्छ । 

चलचित्र सम्बन्धि संघसंस्थाले आफ्नो बारेमा सुचना दिदा इमान्दार भए मिडिया माथि दोष लगाउने स्थिति नआउने उनको भनाई रहेको थियो । अन्तरक्रियामा उठेको बिषय र सुझाव संघले बुँदागत रुपमा चलचित्र विकास बोडमा सुझावको रुपमा समेत प्रस्तुत गर्ने कार्यक्रममा जानकारी दिइयो । 

चलचित्र पत्रकार संघका सचिव समिर बलामीले सञ्चालन गरेको कार्यक्रममा वर्ष २०७५ मा सबैभन्दा बढी व्यवसाय गर्ने चलचित्र ‘छक्का पन्जा ३’ की निर्देशक दीपाश्री निरौला, वितरक गोपाल कायस्थ, निर्देशक दीपेन्द्र के खनाल, निर्माता माधव वाग्ले, अर्जुनकुमार लगायत चलचित्र क्षेत्रका केही व्यक्ति र चलचित्र पत्रकार संघका पदाधिकारी र सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 पत्रकारले सोधेको प्रश्नको जवाफ समेत दिइएको कार्यक्रमको आयोजना गरेर चलचित्र पत्रकार संघले ऐतिहासिक कार्य गरेको भन्दै धेरैले प्रसंशा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप