शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तस्करको काइदा : प्रहरीलाई २१ लाखको प्रलोभन देखाउँदा ३ जना प्रहरीको फन्दामा !

सोमबार, ०२ वैशाख २०७६, १५ : २३
सोमबार, ०२ वैशाख २०७६

नयाँ वर्षको अघिल्लो दिन ‘न्यू इयर इभ’को साँझतिर महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख (डीएसपी) सुधीर राज शाहीलाई एउटा फोन आउँछ । त्यो फोनमा डीएसपीलाई जानकारी गराइन्छ – ‘अवैध कपडा बोकेको ना५ख ४८४२ नम्बरको गाडी स्वयम्भूतिर आउँदैछ ।’

तत्कालै डीएसपी शाहीले वृत्तबाट ठाउँ–ठाउँमा उक्त गाडी खोज्न प्रहरीलाई आदेश दिन्छन् ।

केही समयमै प्रहरीले चमतीमा उक्त नम्बरको गाडी फेला पार्छ । प्रहरीलाई देख्नेबित्तिकै गाडी चालक फरार हुन्छन् ।

लगत्तै चमती बिटले डीएसपी शाहीलाई खबर गर्छ ।

शाहीले पनि महानगरीय प्रहरी परिसरमा अवैध कपडा बोकेको गाडी फेला परेको खबर गर्छन् ।

परिसरको आदेशमा प्रहरीले गाडीभित्र पसेर हेर्छ । गाडीको सबैभन्दा पछाडीतिर ४/५ वटा सामानको पोका देख्छ । त्यो पोकाभित्र महिला/पुरुष दुवैले लगाउने कपडा हुन्छ ।

केहीछिनमा चमती बिटका प्रहरीको मोबाइलमा एउटा नम्बरबाट फोन आउँछ– ‘सर हामी तपाईंलाई २१ लाख दिन्छौँ । त्यो गाडी छाड्दिनुस् ।’

फेरी तत्कालै चमती बिटले डीएसपी शाहीलाई घटनाबारे जानकारी गराउँछ ।

डीएसपी शाहीले उक्त घटनाबारे फेरि परिसरका एसएसपी लामालाई जानकारी गराउँछन् । परिसरले पनि प्रहरी प्रधान कार्यालय हेर्डक्वार्टरमा घटनाबारे जानकारी गराउँछ ।

हेर्डक्वार्टरले आदेश दिन्छ – ‘हुन्छ पैसा लिएर आउ भन्नु र, तिनीहरुलाई पक्राउ गर्नु ।’

‘त्यत्रो रकम दिन्छु भनेपछि प्रहरीलाई गाडीमा अन्य सामाग्री छ कि भन्ने झनै शंका भयो,’ स्वयम्भूका डीएसपी शाहीले बताए ।

प्रहरीले गाडी थप खानतलास गर्न सुरु गर्छ । प्रहरीले गाडीमा ‘फल्स बटम’ देख्छ । गाडीको छत काटेर ‘फस्ट फल्स’ र डिकीमूनी प्रहरीले हेर्न थाल्छ । प्रहरीले त्यहाँ बोराको–बोरा सामान फेला पार्छ ।

तत्कालै डीएसपी शाही पनि घटनास्थल पुग्छन् ।

डीएसपी शाही पुगेको केहीबेरमै एकजना व्यक्ति आउँछन् ।

सर्लाही घर भई हाल काठमाडौं – १५ स्वयम्भू बस्ने वर्ष २६ को बस चालक श्याम विश्वकर्मा । ३ लाख बोकेर ।

डीएसपी शाहीले अरु पैसा खोई त भनेर उनलाई सोध्छन् । गाडी चालकले आफूसँग यतिमात्र भएको जवाफ दिन्छन् ।

प्रहरीले यति पैसाले हुँदैन भनेपछि गाडी चालक विश्वकर्माले कसैलाई फोन गरेर बोलाएको डीएसपी शाहीले बताए ।

करिब १० मिनेटपछि बा९७प ३५१६ नम्बरको स्कुटरमा २ जना आउँछन् । सुर्खेत घर भई हाल काठमाडौं कलंकी बस्ने वर्ष ३२ की दीपा राना र नुवाकोट घर भई हाल कंलकी नै बस्ने वर्ष २८ को भरत तामाङ ।

दिपा रानाले ५० हजार निकालेर दिन्छिन् । तत्कालै बस चालक श्यामले उक्त रकम प्रहरीलाई दिन खोज्दा तीनै जनालाई नियन्त्रणमा लिइएको डीएसपी शाहीले बताए ।

राती १२ बजेतिर एसएसपी वसन्त लामा पनि घटनास्थलमा पुग्छन् ।

स्वयम्भूका डीएसपीलाई ३ लाख ५० हजार घुस दिन खोज्ने तीन जना पक्राउ

‘म पुगेपछि १५ नम्बरका वडाध्यक्ष र स्थानीय क्लबहरुको उपस्थितिमा बसभित्र रहेको सामानहरुको मुचुल्का उठाइएको हो,’ लामाले भने ।

त्यसपछि गाडीसहित उनीहरुलाई स्वयम्भू वृत्तको जिम्मा लगाइएको एसएसपी लामाले बताए ।

पक्राउ परेका तीनै जनालाई आज पत्रकार सम्मेलन गरी महानगरीय प्रहरी परिसरले सार्वजनिक गरेको छ ।

प्रलोभनमा पार्न खोज्नेहरुको साथबाट बरामद सामान :

१.  चालक विश्वकर्माले प्रहरीलाई घुस दिन खोजेको तीन लाख ।

२. चालकलाई सहयोग गर्नका लागि प्रहरीलाई थप घुस दिन ल्याएको ५० हजार ।

३. बसभित्र चालकको ज्याकेटको खल्तीमा शंकास्पद तरिकाले राखेको १ लाख ।

४. लत्ता कपडाको भन्सार मूल्य अनुमानित ५० लाख ८८ हजार ६ सय ।

५. टुरिष्ट बसको अनुमानित मूल्य ४५ लाख ।

६. ४ थान मोबाइल ।

गाडीबाट कुर्ता ६६० पिस, टप्स २२९५ पिस, पाइन्ट २३४ पिस, सर्ट ८२९ पिस, ति–सर्ट १४१ पिस, समिज १२२ पिस, लेदर ब्याग ६ पिस, लेहेंगा ७०० पिस प्रहरीले बरामद गरेको एसएसपी लामाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पत्रकार सम्मेलनमा एसएसपी लामाले उनीहरुलाई २ वटा केसमा मुद्दा चलाइने जानकारी दिए । अवैध भन्साल छली सामान ल्याएको रावश्व विभागमा र प्रहरीलाई प्रलोभनमा पार्न खाजेकोमा अख्तियारमा मुद्दा चलाइने उनले बताए ।

उक्त बस र सामान कसको हो भन्नेबारे चालक बोल्नै नमानेको र थप अनुसन्धान भइरहेको पसिरमा प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप