शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा प्रवासी नेपालीको चुनावी माहोलः साढे दुई सय पदका लागि हजारभन्दा बढी आकांक्षी

सोमबार, ०२ वैशाख २०७६, ०८ : ३४
सोमबार, ०२ वैशाख २०७६

अमेरिका –  गैर आवासिय नेपाली संघ अमेरिकाको निर्वाचन  आगामी मे १८ र १९ तारिखमा हुने भएको छ । 

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका, २० वटा राज्यका शाखा र अन्तरािष्ट्रय समन्वय परिषद् सदस्यको एकसाथ हुने निर्वाचनबाट कुल २५१ जना निर्वाचित हुनेछन् । 

निर्वाचन समितिले निर्वाचन तालिका तय गरी मतदाताको नामावली समेत प्रकाशित गरिसकेको छ । प्रकाशित नामावली अनुसार आसन्न निर्वाचनका लागि ९ हजार १ सय ५७ मतदाता छन् । 

निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने दिन स्थानीय समय अनुसार अप्रिल १६ देखि १९ सम्म तय गरिएको  छ । 

निर्वाचन तालिका अनुसार २३ अप्रिलमा उम्मेदवारको नामावली प्रकाशन, अप्रिल २४ र २५ तारिक उम्मेदवार उपर दाबी, बिरोध,  अप्रिल २७ मा पुनः उम्मेदवारको नामावली प्रकाशन हुनेछ । 

त्यस्तै, उम्मेदवारी फिर्ताको लिन मे ३ तोकिएको छ । मे ७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र मतदानको लागि स्थानीय समय अनुसार मे १८ तारिक विहान ८ बजेदेखि १९ तारिक राती ११ बजेर ५९ मिनेट सम्म मतदान हुने जानकारी गराइएको छ । 

निर्वाचन समितिका अनुसार निर्वाचन सम्पन्न भएको दुई दिन पछि मे २१ तारिक मतपरिणाम सार्वजनिक गरिनेछ । निर्वाचित नयाँ कार्यसमितिको पदभार ग्रहणको लागि आगामी जुलाई ६ तारिक तय गरिएको छ ।  

गैर आवासिय नेपाली संघ अमेरिकामा अहिले हुन लागेको निर्वाचन अनुसार राष्ट्रिय समन्वय परिषद् अमेरिकामा २४ जना, २० वटा राज्य शाखामा प्रति च्याप्टर ११ जनाको दरले २२० जना र अन्तरािष्ट्रय समन्य परिषद्का लागि ७ जना गरि २५१ जना निर्वाचित हुनेछन् । निर्वाचित समितिको कार्यकाल दुई बर्षे हुनेछ । 

राष्ट्रिय समन्वय परिषद् अमेरिकामा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, ४ जना क्षेत्रीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक र १२ जना बोर्ड सदस्यहरु चयन हुनेछन् । 

निर्वाचनमा मनोनयन दर्ताका लागि अध्यक्षको लागि २ हजार डलर, बरिष्ठ उपाध्यक्षको लागि १५ सय डलर, क्षेत्रीय उपाध्यक्षको लागि १३ सय डलर, कोषाध्यक्षको लागि १५ सय डलर, सचिव र कोषाध्यक्षलाई १ हजार डलर, सह कोषाध्यक्षलाई ८ सय डलर, युवा, महिला संयोजक र बोर्ड सदस्यका लागि ७ सय डलर शुल्क तोकिएको छ । 

त्यस्तै ७ जनाको लागि हुने अन्तराष्ट्रिय समन्वय परिषद् सदस्य निर्वाचनका लागि एक हजार डलर शुल्क निर्धारण गरिएको प्रमुख निर्वाचन आयुक्त विश्वनाथ बरालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । ५० राज्य रहेको अमेरिकाको २० राज्यमा रहेका च्याप्टरको पनि निर्वाचन एउटै मितिमा हुनेछ । निर्वाचन समितिले जनाए अनुसार च्याप्टरको अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक र प्रति च्याप्टर ५ जना बोर्ड सदस्य निर्वाचित हुनेछन् । 

निर्वाचन समितिका अनुसार आकांक्षीले आवश्यक कागजपत्र सहित अनलाईन मार्फत उम्मेदवारी दिन सक्नेछन् । यसअघि विभिन्न राज्यको च्याप्टर पदाधिकारी भएर काम गरिसकेकाहरु आगामी कार्यकालका लागि राष्ट्रिय समन्वय परिषद्मा उम्मेदवारी दिने तयारीमा छन् । 

राष्ट्रिय परिषद्को लागि एउटै राज्य शाखामा पनि आकांक्षीको कुरा मिल्न नसकेपछि उम्मेदवारको लर्को लाग्ने देखिन्छ । बिभिन्न राज्य च्याप्टरमा आकांक्षीहरुलाई मिलाउने प्रयास भैरहेको सम्बन्धित च्याप्टरका प्रतिनिधिहरुले जनाएका छन् । आकांक्षीलाई मिलाएर अघि बढ्न नसके साढे दुई सय निर्वाचित कोटाका लागि हजार भन्दा बढीको उम्मेदवारी पर्ने पूर्वानुमान छ । 

यसअघि शाखाका बिभिन्न पदमा रहेर काम गरेको अनुभव, अन्य संघ संस्थाहरुसँगको सामिप्यता, सामाजिक संक्रियतासँगै राजनीतिक आस्थालाई समेत आधार बनाएर आकांक्षी उम्मेदवारहरु आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन् । 

राष्ट्रिय समन्वय परिषद् अध्यक्षका लागि हालसम्म सुनिल शाह, अर्जुन बन्जाडे, विनोद तिवारी, सूर्य लम्साल र सञ्जय थापा आकांक्षीको रुपमा देखिएका छन् । क्यालिफोर्निया च्याप्टर मार्फत क्षेत्रीय उपाध्यक्ष पदका आकांक्षी पूर्ण बानियाँ र राष्ट्रिय परिषद् महिला संयोजक पदकी आकांक्षी दिक्षा बस्नेतले चुनावी प्रचारप्रसारलाई तिब्रता दिइरहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप