शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सत्ताबाहिरका पार्टी नेताको नयाँ वर्ष योजना : सरकारविरुद्ध संघर्षको वर्ष !

आइतबार, ०१ वैशाख २०७६, १५ : ५८
आइतबार, ०१ वैशाख २०७६

काठमाडौं– विक्रम संवत् २०७६ साल सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित सत्ताबाहिरका केही राजनीतिक दलका नेताहरुसँग २०७६ सालका राजनीतिक एजेण्डा र सरकारसँग सम्बन्धबारे रातोपाटीले कुराकानी गरेको छ ।

कुराकानी गरेका सबैजसो राजनीतिक दलका नेताहरुले सरकारको अहिलेसम्मको कार्यशैलीका आधारमा ०७६ साल सरकारविरुद्ध संघर्षको वर्षका रुपमा अगाडि बढ्ने जनाएका छन् ।

 उनीहरुले आ–आफ्नो पार्टीको संगठन सुदृढिकरणका साथै सरकार विरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने संकेत दिएका छन् । 

काँग्रेसको योजना


प्रमुख प्रतिपक्षी दल काँग्रेसका उपसभापति विमलेन्द्र निधिले रातोपाटीसँगको संक्षिप्त कुराकानीमा ७६ सालमा काँग्रेसले राष्ट्रिय जागरण अभियान थालनी गर्ने बताए ।

‘२०७६ साल पूरै समय नेपाली काँग्रेसले राष्ट्रिय जागरण अभियान चलाउँछ । सैद्धान्तिक र वैचारिक कुराहरुलाई नेता कार्यकताको माझमा पुर्याउने काम गर्छ’, उसभापति निधिले भने, ‘संघीयता र धर्म निरेपक्षताको रक्षाका लागि राष्ट्रिय जागरणमार्फत अग्रसरता देखाउने तयारी गरेका छौँ । ७ वटै प्रदेश र ७ सय ५३ वटा पालिकामा केन्द्रबाट प्रतिनिधि खटाएर तीन चरणमा जनजानगण कार्यक्रम गर्छौँ ।’

सरकारले गरेका गलत क्रियाकलाप र त्यसले मुलुकमा पर्ने दूरगामी असरबारे पनि जनतालाई बुझाउने उनले जानकारी दिए । 

उनले भने, ‘संविधानको मर्मविपरीत सत्ता सञ्चालन भइरहेको छ । संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा लागेको कुरा उजागर गर्छाैँ ।’

उपसभापति निधिले ७६ साल पार्टी सुदृढिकरण, संसदीय संघीय प्रणालीको सुदृढिकरणका साथै नेपाली जनताको पक्षमा काँग्रेसलाई अगाडि बढाउने दाबी गरे ।

 ‘हामीले ७७ वटै जिल्लामा केन्द्रीय सदस्यलाई पठाइसकेका छौँ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरुलाई देशैभरी महासमिति सदस्य, स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभा सदस्यको प्रशिक्षण लगायतका काम गर्छौँ,’ केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख समेत रहेका निधिले भने, ‘त्यसका लागि हामीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई पूर्णता दिएका छौँ । यो वर्ष काँग्रेस बृहत तरिकाले अगाडि बढ्दैछ ।’ 

मुलुकको विकास, राजनीति, विदेश नीति र सुरक्षा नीतिलगायतका विषयमा विचार गोष्ठीका साथै राष्ट्रिय बसह सिर्जना गराउने उनले बताए । 

‘आगामी दिनमा संघीय प्रणाली अनुसार प्रदेश र स्थानीय तहको अधिकारलाई संस्थागत गर्ने संवैधानिक प्रावाधानहरु पूरा गर्ने सफलता मिलोस् । कम्युनिष्ट सरकारले संघीयता र जनविरोधी काम त्यागोस्, उसलाई यसमा सद्वुद्धि मिलोस्’, उनको शुभकामना दिएका छन् । 

राजपा नेपालको योजना 


राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले २०७६ आफूहरुका लागि संगठन निमार्ण र संघर्षको वर्ष हुने बताए ।

उनले भने,‘यो वर्षको सुरुमा राजपाले एकता महाधिवेशन गर्छ ।  अनि संगठनको गतिविधि अगाडि बढाउँछाँै । यो वर्ष हाम्रो लागि संघर्षको वर्ष पनि हुनेछ । समग्रमा भन्नु पर्दा हाम्रो लागि यो वर्ष संगठन निमार्ण र संघर्षको वर्ष हुन्छ ।’

सरकारले आफ्नो मागहरु ‘इग्नोर’ गरेकाले समर्थन फिर्ता लिएको भन्दै महतोले आफूहरुले संघर्षको थालनी गरिसकेको बताए । 

‘सरकारले हाम्रो मागहरु इग्नोर गर्यो । अनि हामीले पनि दिएको समर्थन फिर्ता लिएका हौँ । सरकारलाई खबदारी स्वरुप शुक्रबार हामीले प्रदर्शन पनि गर्यौ । निर्वाचिनपछि हामी सडकमा पहिलो पटक गएका हौँ । यो सांकेतिक मात्र हो,’ नेता महतोले भने, ‘सरकार यसरी नै अगाडि जाने हो भने त्यसको परिणाम राम्रो हुँदैन । यसअघि ६ वटा संविधान पनि यस्तै कारणले समाप्त भएका हुन् । सरकार यो सातौ संविधान पनि समाप्त पार्ने खेलमा लागेको देखिन्छ ।’ 

उनले संविधान संशोधनका लागि आफूहरुले जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी पनि दिए । ‘यो संविधान सबैको स्वीकार्यको छैन । हाम्रो संविधान राम्रो संविधान त्यो कही लेखिएको छैन । त्यसैले आफ्नो हक अधिकार र पहिचानका लागि यो वर्ष संघर्षको उत्कसको वर्ष हुन्छ नै,’ नेता महतोले भने । सरकारले यो एक वर्षमा असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याउन नसकेको भन्दै ७६ सालमा देश विकासका लागि सबैको सरकार भएको प्रत्याभूति दिन सक्नुपर्ने उनको सुझाव छ ।  

विवेकशील साझा पार्टीको योजाना 


विवेकशील पार्टीका प्रवक्ता सुर्यराज आचार्यले वर्तमान सरकारलाई आएको जनमतको कदरका लागि आफूहरुले ०७६ साललाई प्रयोग गर्ने बताए । उनले भने, ‘जनताले ५ वर्षका लागि यो सरकारलाई अनुमोदन गरेर पठाए । तर सरकारले ७५ सालमा जनपक्षीय कुनै पनि काम गर्न सकेन । जताततै लुटतन्त्र हाबी भएको छ । नयाँ वर्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लुटतन्त्रमा गुट्मुटीन नदिन विवेकशील साझा सदैव खबदारी गर्छ ।’

आचार्यले आफूहरुले वैकल्पिक राजनीतिक दलको निर्माणका रुपमा यो वर्षलाई सदुपयोग गर्ने बताए ।

 ‘हामी वैकल्पिक राजनीतिक दलको विस्तारमा छौँ । वैकल्पिक सोच र विचार भएका पक्षहरुसँग कार्यगत एकता गरेर राजनीतिक फोहोरी खेल हो भन्ने मानसिकता परिवर्तन गर्न लागि पर्नेछौँ,’ उनको भनाई थियो । 

विवेकशील नेपाली दलको योजना 
विवेकशील नेपाली दलका संयोजक उज्वल थापाले मुख्य रुपमा आफूहरुका दुई वटा योजना रहेको बताए । 

 उनले भने, ‘हामीले केही दिनमै पार्टीको आन्तरिक नीति तथा राष्ट्रिय सम्मेलन गर्दैछौँ । जसबाट हाम्रो पार्टीको सांगठनिक संरचना, विधान, नीति र पार्टीको राष्ट्रिय पोजिसनबारे धारण तय हुनेछ । पार्टीका संगठन विस्तारका लागि यो वर्षमा उपयोग गछौँ ।’

साथै उनले मुलुकमा लोकतन्त्र खतरामा पर्ने संकेत देखिएको भन्दै लोकतन्त्रवादीबीच महागठबन्धन  गराउनु पर्ने धारणा राखे । 

‘मुलुकमा लोकतन्त्रमाथि खतरा बढ्दै गएको छ । त्यसैले लोकतन्त्रवादीहरुले महागठबन्धन बनाउनुको विकल्प देखिँदैन । त्यसका लागि हाम्रो प्रयास जारी रहन्छ । जसका लागि मुलकमा लोकतन्त्रको अवस्था कस्तो छ । लोकतन्त्र भनेको के भन्नेबारेमा बसह गर्ने छाैं,’ संयोजक थापाले भने,‘ लोकतन्त्रवादी एक ठाउँमा र लुटतन्त्रवादी एक ठाउँमा भनेर नागरिक अगुवा र राजनीतिक दलका प्रमुख नेताहरुसँगको सहकार्यमा त्यो खालको माहोल सिर्जनामा लाग्छौँ ।’ 

उनले ७६ सालमा नागरिकलाई कसरी विवेकशील बनाउने भन्नेमा केन्द्रित हुने पनि बताए । ‘नागरिकलाई कसरी विवेकशील बनाउने भनेर त्यो यात्रामा लागिराख्छौँ ।  सरकार शासक बनेको छ सरकारलाई सेवकको रुपमा जनताको काम गराउन दबाब दिन्छौँ । सरकारले पनि शासक नभएर सेवकका रुपमा आफूलाई बुझोस् । हाम्रो सबैलाई शुभकामना छ’ थापाको भनाई थियो ।

नीति तयार गर्दै राप्रपा


कमल थापा नेतृत्वको राप्रपाले देशलाई हिन्दुराष्ट्र बनाइनु पर्ने भन्दै आन्दोलन गर्दै आएको छ । यही आन्दोलनलाई यो वर्ष पनि निरन्तरता दिने योजना बनाएको छ । पार्टीका प्रवक्ता भुवन पाठकले बैशाख ४ र ५ गते धर्मनिरपेक्षताको ब्यानर जलाउने र देशका मुख्य राजमार्गमा २ घण्टा सत्याग्रह गरिने जानकारी दिए । त्यसपछि बस्ने बैठकले थप आन्दोलनको तय गर्ने उनको भनाई छ। 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप