केन्द्रीय संस्करण

काँग्रेसले निचोरेको नेकपा

person explore access_timeबैशाख १, २०७६ chat_bubble_outline0

  प्रधानमन्त्री केपी शर्मा ओलीले एक प्रसङ्गमा नेपाली काँग्रेसलाई विचरा भनिदिनुभयो । यो शब्दको प्रयोग नेकपा नामको विप्लव पार्टीका सम्बन्धमा नेपाली काँग्रेसको अवसरवादी चरित्रमा आधारित देखिन्छ  । 

तर प्रधानमन्त्रीले एक सन्दर्भमा नेपाली काँग्रेसलाई विचरा भने पनि यस लेखकले भने त्यही विचरा काँग्रेसले नेपाल कम्युनिस्ट पार्टी र यसले नेतृत्व गरेको सरकारलाई निचोरेको देखेको छ । 

म र मेरो भन्नु सामन्तवादी र पुँजीवादी चरित्र हो तर यही चरित्र नेकपाका राजनीतिक र राजकीय प्रमुख नेतृत्वमा यदाकदा बिझ्ने गरी सुन्नुपर्छ । 

समाजवादी चेत, चिन्तन वा आम श्रमजीवी जनताको प्रतिनिधित्वको बोली, वचन र व्यवहारका ठीक व्यवहार गरेपछि  विचरा भन्ने काँग्रेसले नै कतै नेकपालाई निचोरिरहेको त छैन ?

निजामती कर्मचारीका बाम निकट नेताहरु नै नितान्त निजी स्वार्थमा लिप्त भएर कर्मचारी समायोजनका विरुद्ध जब्बर अटेर गरेको देख्दा के तिनीहरुलाई कुन विचार र धारणाबाट शासित भइरहेका छन् ? 
नाम मात्रका बामहरु  हाम मात्र गर्ने हुँदा उनीहरु को र कुन विचार र मान्यताबाट परिचालित रहेछन् थाहा हुन्छ  । 

नेपाली काँग्रेस पार्टीलाई धारे हात लगाउने र पार्टी नै  परित्याग गरेका सामान्यदेखि विशिष्टहरु नेका पक्षधरहरु नेकपा र यसको नेतृत्वको सरकारका कुनै पनि सकार देख्दैनन् । यिनीहरु सरकारका  मनोगत नकारहरु एक मुख लगाएर विरोध गरिरहेका हुन्छन् । 

तर नेकपाका धेरैजसो नेताहरुले सरकारका सकारको पक्षपोषण गर्न छाडेर बरु  तीन बित्ता उफ्रिएर उल्टो चर्को विरोध गरेपछि ती सबै नेकाबाटै परोक्षतः निचोरिएका होइनन् र ?

०७५ चैत २९ गते एक भ्रमपूर्ण, अस्पष्ट तथा विवादास्पद  लेख लेखेर नेता  राम कार्कीले नेकपामा धाँजा पार्न  खोजेका छन् । तर त्यहीँ नेता लेखनाथ न्यौपानेले एक लेखमार्फत् गम्भीर वैचारिक तथा व्यावहारिक विषय उठान गरेर आन्दोलनको चिन्ता जाहेर गरेका छन् ।   

 कतिपय उपल्ला तहकै नेता बोल्नै नजानेर आफूसहित  पार्टी र सरकारलाई फन्दामा पारिरहेका छन् । श्वेतपत्र जारी गरेको ओली सरकारले घोषणापत्र अनुसार काम गरेन र ज्येष्ठ नागरिक भत्ता यसैपालि दिएन भनेर कुर्लनुभन्दा श्वेतपत्र जारी गर्नुपर्नाको  यथार्थ सत्य बोलेर नेकाको नियत जनता सामु खुलाउन सकिन्थ्यो  । त्यसो गर्ने बुद्धि धेरैको देखिएन । 

जस्तालाई त्यस्तै जवाफ दिएर आम जनता उत्साहित गर्नुभन्दा लोते कुरा गरेर निराश पार्ने नेता धेरै दखिएको छ । 

जननेता मदन भण्डारीको हत्या गर्दागर्दै त्यसबेला देखिका सारा दसी प्रमाणहरु  उतिबेलै समाप्त र नष्ट गरिएको थियो । अन्तिम जिउँदो दसी प्रमाण अमर लामालाई मारेपछि पनि हामी जसरी पनि भण्डारीको हत्यारा पत्ता लगाउँछौँ भनेर अन्धाधुन्द  तरिकाले बोल्ने त सभासद् र मन्त्री नै छन् ? अनि राज्यसत्ता हातमा हुँदा पनि हत्यारा पत्ता लगाएनौ त भन्दा ती जनता सामु ङिच्च गर्छन् परेका छन् । 

संविधान २०७२ ले धर्म, प्रथा, परम्परा र रीतिका नाममा अब विभेद, अन्याय र शोषण गर्न निषेध गरेको र सांस्कृतिक रुपान्तरण गर्ने संविधानको दृष्टिकोणसमेत अनेक धार्मिक कार्यक्रममा समुपस्थित राष्ट्रपति, मन्त्रीलगायतले संविधान निर्दिष्ट विचार उच्चारण गर्न नजानेपछि गणतन्त्रको जग बलियो हुन्छ र ?

काँग्रेसले उहिल्यैदेखि अहिले र आजका मितिसम्म विभिन्न राजकीय र राजनीतिक विभिन्न नियुक्ति दिए दिलाएका आम बौद्धिक वैचारिक मानिस काँग्रेसको कुनै न कुनै मात्रा र रूपबाट दृढ पक्षपोषण गरिरहेको देखिन्छ ।  

तर नेकपाबाट विभिन्न कालखण्डमा विभिन्न महत्त्वपूर्ण र अझ बिर्तासरह दिव्यबाह्र वर्ष सरसुविधाको नियुक्तिको  अवसर पाएर ढलीमली गर्नेहरु लोलीबोली मिलाएर नेकपा र सरकारका कुनै सकारको समर्थन गरेको देखिन्न । 

अनि पिँधबिनाका लोटा भेला पारेर तिनका भरमा  दिशा र दृष्टिकोणको जग बन्छ ? ढोडको तोक्मा टेकेर लम्बे यात्रा तय गर्न सकिन्छ ?

 नेपाली काँग्रेसमा पार्टी पक्षधर व्यक्ति र व्यक्तित्वहरुका  मुख र कलम मिडियामा बारबार देखापर्छन्  तर नेकपामा मुख र कलम भएका मान्छे नै छैनन् भनेझैँ देखिन्छ । अनि वाद प्रतिवाद गर्ने मुखै नभएपछि गोयवल्स शैलीको प्रचारबाट आम जनमानस दुष्प्रभावित हुँदा नेकपा नराम्ररी निचोरिएको देखिन्छ ।  


नेपाल बारको निर्वाचनमा प्रतिशील पक्षलाई हरबर तुल्याएको देखियो । नेपाली काँग्रेसले अहिलेको ओली सरकारलेझैँ आफ्नो पार्टी नेतृत्वमा देश र जनताका लागि सकारात्मक गरेको भए बारको निर्वाचनमा बामपन्थी समूह शून्य हुनसक्थ्यो । 

काँग्रेस अहिले सत्ता र सरकार बाहिर भए पनि ओलीले भनेझैँ विचरा देखिँदैन । यस पार्टीको प्रभाव यत्रतत्र देखिन्छ । यस पार्टीमा नियमित रुपमा लेख्ने र बोल्ने हैसियत बनाएका व्यक्त र व्यक्तित्वमा सशक्त देखिन्छन् ।

कतिपय छापा पत्रिका र डिजिटल मिडियाहरुमा यस सरकार र नेकपाका सकार तथा नकारहरु स्वस्थ्य रूपमा प्रवाहित गरिँदैनन् । सकेसम्म भए नभएका नकारहरुमा मात्र केन्द्रित भएर लिखित र मौखिक विचार प्रवाह गरिएको देखिन्छ । यस पार्टीको मिडिया र मिडिया मैत्री हालसम्म देखिएन  । 

ओली सरकारलाई सरकार बनाउनै नदिन हरप्रकारका बाधा अड्चन दिइयो । त्यसलाई रोक्नै नसकेपछि अनि अधिनायकवाद र स्वेच्छारिताको आरोप राष्ट्रव्यापी मात्र होइन अन्तराष्ट्रिय रूपमा लगाउन खोजियो तर अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रधानमन्त्रीले नै यस कुराको बलियो र चित्त बुझ्दो प्रतिवाद गनुभयो । तर यस बारेमा नेकपाका मुख जति खुल्नुपथ्र्यो, त्यति खुलेको देखिएन । 

पार्टी र सरकारका सकारहरु ओझेल परिरहेका मात्र होइनन्, केही पनि सकारहरु नै छैनन् र भएनन् भन्ने सन्देश जनमानसमा प्रवाह भइरहेको स्थिति देखिन्छ । 

 १८५ तुइनमध्ये १८ वटा तुइन हटाउन बाँकी भन्ने समाचार भाइरल हुन्छ तर १६७ वटा तुइन विस्थापित भएको खबर ओझेल पारिन्छ । ०६७ सालको भ्रष्टाचार, अनियमितता  उधिन्दा उल्टो ओली सरकारलाई सराप्नेहरुको कमी देखिन्न ।  

 बौद्धिक भनी प्रचारित  भीमार्जुन आचार्यको तमसोमा ज्योतिर्गमय नामको एक टीभी कार्यक्रममा त्यस अनुसारको सन्तुलित बौद्धिक स्तर देखिएन । विप्लव पार्टीका आततायी र आतङ्ककारी गतिविधिप्रति आचार्यको अनुराग रिस खा आफू बुद्धि खा अर्को मात्र हो भने विखण्डनकारी राउत सुध्रँदा आचार्यको होसहवास उड्नु खोजीकै विषय हो । 

पुरुषोत्तम दाहाल मात्र होइन डा. प्रकाशचन्द्र लोहनीलाई  समेत सीके राउत सही बाटामा लागेको मन नपर्नु अचम्मको कुरा हो । 

रत्नाकर डाँका वाल्मीकि बनेको देखीदेखी राउतले विखण्डनकारी गतिविधि गरिरहे । त्यसलाई महत्त्वपूर्ण मुद्दा बनाएर कथित राजनीतिको बिस्कुन फिँजाएर च्याँखे दाउ पार्न नपाउने चिन्ता लोहनीको देखिन्छ । 

हुँदाहुँदा राजतन्त्रका र दरबारका रछ्यानहरु महामहिम राष्ट्रपतिप्रति विनवित्थामा अनेक आरोप, फत्तुर र आलोचना गरिरहेको देख्दा तिनलाई रैतान मात्र हुन मन रहेछ भन्ने बुझ्न सकिन्छ  ।

नेपाली काँग्रेस पार्टी र यसको नेतृत्वको सरकार भन्दा तुलनात्मक रूपमा जाति मात्र भएर नेकपा र सरकारले चित्त बुझाउनु किमार्थ हुँदैन । नेका भन्दा धेरै फरक नल्याएसम्म आफूलाई नेकपा भन्न सुहाउँदैन । 

सरकारलाई उप्रेती, सङ्ग्रौला र खरेल नै चाहिने भए प्रा.डा. युवराज सङ्ग्रौला, शम्भु थापा जस्ता सम्बन्धित क्षेत्रमा मात्र होइन देशमा  नै सुकाम र  सुनाम ख्यात व्यक्तित्वले मात्र सम्बन्धित क्षेत्रको  प्रतिष्ठा कायम मात्र होइन, वृद्धि नै हुनेछ । झिनाझाँक्रा बटुलेर राप, ताप र प्रताप प्राप्त गर्न सकिन्न ।   
नेपाली काँग्रेस पार्टीले २००७ सालदेखिका प्रायः परिवर्तन र सकारात्मक पक्षहरुको चर्चा आफ्नै पोल्टामा राख्न सफल भएको छ । यस पार्टीका पक्षमा यसको गर्विलो इतिहास बारबार पढाइयो । बीपी कोइरालाको  सहिद कथाले तमाम उच्च शिक्षा हासिल गर्ने युवाहरुलाई शिक्षित गरेको छ । 


नेपाली काँग्रेसका नेता र सामान्य कार्यकर्ता पनि कम्युनिस्ट विरुद्धका विदेशी र स्वदेशी अनेक अधिनायकवादी हिंसात्मक इतिहास भट्याएर नाजवाफ गरिदिन सक्छन् । 
तर नेकपाका नेता र कार्यकर्ताहरु नेपाली काँग्रेसले लामो समय शासन सत्तामा रहँदा गरेको अक्षम्य गल्तीसमेत मौकामा भन्न सक्तैनन्, जान्दैनन् । 

काँग्रेस पार्टीका अमुक नेताप्रतिका आरोप र अवहेलनाका बारेमा यस पार्टीका तमाम नेता र कार्यकर्ता एक ढिक्का प्रतिवाद गर्छन् । 

तर नेकपाका नेता र कार्यकर्ता एकलकाँटे विचार र मान्यताका हुँदा आफ्नै पार्टीका नेताप्रति विपक्षीका अस्वस्थ्य आलोचनाका प्रसङ्गमा मौन, मूक, तमासे बन्छन् र अझ खुच्चिङ भन्न बेर लगाउँदैनन् । 

नेपाली काँग्रेस पार्टी र यसको नेतृत्व वर्ग पक्षधर सिद्धान्त र व्यवहारको वकालत गर्दैन तर व्यवहारमा जहाँतहाँ वर्ग पक्षधरता कायम गरिछाड्छ । तर यता नेकपा अधिकांश नेता, बुद्धिजीवी तथा स्रष्टाहरु वर्ग पक्षधरताबाट स्खलित र च्यूत पनि देखिन्छन् । 
नेपाली काँग्रेस पार्टीका नेता र कार्यकर्ताहरु लोकल कुखुरा जस्ता छन् भने नेकपाका अधिकांश नेता र कार्यकर्ताहरु ब्वाइलर कुखुरा जस्ता छन् । सूचना र ज्ञानको खुराप आफैँ खोज्छन् र टिप्छन् । 

नेकपाका नेता र कार्यकर्तालाई जतिको पार्टीका सिद्धान्त, सिर्जना र सङ्गठन लगायत अनेक वियषयमा बारबार र हजार बार प्रशिक्षण दिएको हुन्छ तर गोपी कृष्ण कहो भन्दा अगाडि बढेर  सिर्जनामक चेत र कर्म यिनले गर्नै जान्दैनन् । 
 नेकपामा देशव्यापी सङ्गठनको सञ्जाल देखिन्छ तर पनि यस विपरीतको काँग्रेसले नेकपालाई हरबर पार्ने गरी  कार्यक्रम गरिदिने क्षमता राख्छ ।
    त्यसैले नेपाली काँग्रेस कमजोर देखिन्न । अहिले त देउवाका कारण कमजोर देखिएको छ । समेट्ने र सम्हाल्ने क्षमताका अभावमा यो पार्टी कमजोर देखिएको हो ।  

 अहिले प्रदेश र स्थानीय तहमा नेकाले पाएको अवसर राम्ररी सदुपयोग गर्दा भोलिको बलियो विकल्प नेपाली काँग्रेस नै हुने देखिन्छ । नेकपा अब स्थानीय स्तरको सरकारमार्फत् भ्रष्टाचार र अनियमिताका कारण बदनाम हुने खतरा तीव्र रूपमा बढ्दो छ । 

यसलाई  नेतृत्वले बेलैमा नियन्त्रण गरेन भने भोलिका दिनमा नेका चाहिँ बलशाली बन्ने निश्चित देखिन्छ । अनि त्यति बेला नेकाले निचोरेको नेकपाको वास्तविक हविगत अवगत हुनेछ ।    
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...