केन्द्रीय संस्करण

यस्तो बनोस् नयाँ वर्ष

person explore access_timeबैशाख १, २०७६ chat_bubble_outline0

 

...नयाँ वर्ष आएको छ
फेरि एकचोटि 
भित्ताको नयाँ क्यालेन्डरमा
आफ्नो जीवनको भिसा
झुन्ड्याउनु छ
फेरि एकचोटि 
संगीसाथीहरुको सूची 
बनाउनु छ 
फेरि एकचोटि 
भयानक बमहरु बोकेर,
उडिरहेका हवाइजहाज
र रकेटमुनि बसेर
लेख्नु छ प्रियजनहरुको नाममा
सफलता, शान्ति र दीर्घायुको
शुभकामना–पत्र 
–भूपि शेरचन

फेसबुक, ट्विटर, इन्स्टाग्राम इत्यादिमा बग्रेल्ती शुभकामनाका रङ्गीविरङ्गी तस्बिर तथा भिडियो सन्देशहरु छ्याप्छ्याप्ती छ । ती सबैमा रङ छ, शब्द छ तर भाव छैन । मान्छेलाई प्रविधिले यति सजिलो बनाइदियो कि एकै दबाब (ट्याप)मा सयौंलाई एकैचोटी सन्देश पठाइदिनसक्ने भइयो । अनि सन्देश सिर्जना गर्नुपर्ने लेठो पनि गर्नु परेन । मस्तिष्क खियाउनै परेन । सोच्नै परेन । दुःख गर्नै परेन । बस् कहीँ कसैले एउटा भिडियो वा ग्राफिक्स डिजाइन गरिदिन्छ । अनि त त्यही तयारी डिजिटल सन्देश प्रवाहित हुन्छ दसौं, सयौं, हजारौं अझ लाखौं डिभाइसहरुमा । शुभकामना आदानप्रदानका हिसाबले हाम्रा सबै मेला पर्व एवं चाडहरु डिजिटल बनेका छन् । अझ यसो भनौं अहिले डिजिटल सन्देशको आतङ्क नै छ । 

हो, प्रविधिकै कारण अब संवादको लय फेरियो । संवादको तरिका फेरियो । संवादको शैली फेरियो । सबैभन्दा महत्त्वपूर्ण कुरा संवादको संवेदना पनि फेरियो । अब कसैले कुनै अवसर पारेर दिने शुभकामना सन्देशहरु यति हल्का र विरक्तिलो लाग्न थालेको छ कि त्यो आउनुले भावना होइन हैरानी ल्याइदिन्छ । मोबाइल तथा ल्यापटपमा शुभकामनाका सङ्केत ध्वनिहरु एकाएक पड्किनुमा कुनै मज्जा छैन । बरु त्यसले क्षणभङ्गुरका लागि ध्यान विकेन्द्रित गरिदिन्छ । तपाईं कसैसँग डिजिटल डिभाइसमै गफ्फिँदै हुनुहुन्छ भने तपाईंलाई त्यस्ता सन्देशले डिस्टर्ब गरिरहेको छ । तर, पनि आउने सन्देशहरुलाई रोक्न सक्ने कुरै भएन । ती आउँछन्, अनवरत आउँछन् ।

अब एक औँलाले थिचेर पठाइदिए भयो भिडियो, अडियो वा तस्बिरमूलक सन्देश । हो, सजिलो त त्यही थियो, एनिमेटेड सन्देश पठाइदिन । चाहे जतिलाई, सजिलै सहजै । तर त्यसरी दिइने सन्देशमा भावना होइन केवल परम्परा अभिव्यक्त भएझैं लाग्छ । यसो भन्दै गर्दा पुरानै शैलीमा कागजी सन्देशहरुको प्रवाहलाई जोड दिनुपर्यो भन्न खोजेको होइन । कुरो के हो भने कुनै बधाई, शुभकामना सन्देश वा समवेदाना व्यक्त गर्दा त्यसमा भाव चाहिँ आउनुपर्यो । सन्देशबाहकको मस्तिष्कमा गड्ने खालको सन्देश सिर्जना गर्नुपर्यो । डिजिटल युगमा अनधिकृत अरुले सिर्जना गरेको कन्टेन्टलाई झाराको शैलीमा अन्यत्र पठाउँदा रिसिभर खुसी होइन, हैरान हुन्छ । यो प्रयोग कर्ताहरुले ध्यान दिनुपर्ने कुरा हो ।

यो त भयो डिजिटल सन्देशका कुरा । अब अलिकति नयाँ वर्षकै कुरा गरौं । अब भूपिले जस्तो शुभकामनाका सन्देशहरु लेख्नुपरेन । अक्सर हामी भावनात्मक रूपमा होइन परम्पराकै निरन्तरताका लागि धेरै कुरा गरिरहेका हुन्छौं । जस्तो कि नयाँ वर्षको शुभकामना ! किनकि हामी संस्कार, संस्कृति र परम्परामा बाँधिएका छौं । 

आखिर संस्कार र संस्कृति हाम्रो जीवनकै एउटा अङ्ग हो । अनि त्यो संस्कार, संस्कृति र परम्पराबाट मान्छे अछुतो रहन सक्ने कुरै भएन । अनि त्यसलाई अस्वीकार गर्ने वा परिवर्तन गर्ने हिम्मत पनि त सितिमिति कसैले गर्दैन । किनकि त्यसो गर्नु भनेको झन्झटमा फस्नु हो । समाजलाई प्रश्न गर्नु हो । अनि प्रश्न गर्न सजिलो छैन । फेरि असहज लाग्ने अफ्ठेरो बाटो हिँड्नु पनि किन ? सबै चलनचल्तीकै बाटो हिँड्न रुचाउँछन् । जब अरु हिँडेर फराकिलो बनाएकै बाटोको यात्रा सहज हुन्छ र सुरक्षित पनि मानिन्छ भने कठिन मार्ग खोजेर जोखिम किन मोल्ने ? 

हो, नयाँ वर्षको शुभकामनाको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ । सबैले सबैलाई शुभकामना दिएकै छन् भने हामी कोही किन पछि पर्ने ? आखिर शुभकामनाका दुई शब्द दिँदैमा जाने पनि त केही होइन ? अनि हुने पनि त केही होइन ! त्यसैले शुभकामनाका शब्दले विभूषित गर्न किन कन्जुस्याइँ ? यस्तो सोचियो र शुभकामना लिइँदै छ, दिइँदैछ । तर, नयाँ वर्षको शुभकामना दिँदै गर्दा र पुरानो वर्ष, पुरानो पल र पुरानो विगतलाई बिदाइ गर्दैगर्दा अब केलाई स्वागत गर्ने भन्ने कुरामा भने बडो असामञ्जस्यता भइरहेको महशुस हुन्छ । 

अनि माथि उद्धृत गरिएका भूपिका पंक्तिहरु पनि सम्झनाको तरेलीमा आइ नै रहन्छन् । ती पङ्क्तिहरुले निरन्तर गिज्याइरहेको भान पार्छन् । अनि बाध्य भएर फेरि एकपटक ‘नयाँ’ भएर आएको त्यही पुरानो ‘नयाँ वर्ष’लाई स्वागत गर्न पुग्छौं । अनि जीवनको ‘भिसा’ थप एक वर्ष छोट्याउँदै निरन्तर आइरहने त्यही पुरानो ‘वर्ष’लाई नयाँ भनाउँदै फोन, एसएमएस, इमेल, सामाजिक सञ्जालमार्फत शुभकामनाका शब्दहरुले सजाइरहेका हुन्छौं, नयाँ वर्षको शुभकामना !

नयाँ वर्षकै प्रसङ्गमा एक जना मित्र जङ्गिए –‘मान्छेहरु उही, मान्छेका सोचाइ पनि उही, मान्छेको चिन्तन पनि उही, मान्छेको दृष्टिकोण पनि उही, अनि गर्ने कामधन्दा पनि उही, सबैकुरा उही भएपछि के को नयाँ वर्ष ?’ अनि सबै पुरानै पो छ भने वर्ष मात्र के को नयाँ ? त्यसो त वर्ष सिंगो भएर आउने पनि होइन । आखिर गणना हुने प्रत्येक पल हो र हरेक पल नयाँ नै हो । अनि त्यो नयाँ पलमा हरेक व्यक्तिले नयाँकै खोजी गरिरहेको हुन्छ । कतिपय अवस्थामा उसले त्यो नयाँको खोजीलाई व्यक्त गर्न सक्दैन, त्यो अलग कुरा हो । तर, खोजी चाहिँ सधैँ नयाँकै हुन्छ । 

यस मानेमा हरेक दिनले नयाँको सङ्केत गरेको हुन्छ भनेझैँ पक्कै पनि नयाँ वर्षले केही नयाँ ल्याउने सम्भावनालाई भने नकार्न सकिँदैन र हुँदैन पनि । किनकि भविष्य भनेको अनेकन सम्भावनाहरुको खानी हो । भोलिको त्यो हरेक पल र क्षण भविष्यसँग जोडिएको हुन्छ । अनि भविष्यका हरेक पल र घटना स्वभावैले नयाँ हुन्छन् किनकि त्यसको हामी शत प्रतिशत अनुमान गर्नसक्दैनौँ । अनि त्यही नयाँको आशा नै जीवन जिउने आधार बन्छ सायद । यदि आशा नहुने हो भने जीवन जिउनुको आधार पनि त नहुँदो हो । यसर्थ, नयाँ वर्षले ल्याउने नयाँ भविष्यको आशा नै जीवन जिउने सहारा हो । 

यो आलेखको अग्रभागमा जसरी भूपिका पङ्क्तिहरु उद्धृत गरिए– त्यसले नयाँ वर्ष मनाउनु हुँदैन भनेको पटक्कै होइन । अनि यी पङ्क्तिहरु लेखिंदै गर्दा नयाँ वर्षको शुभकामना दिने कामै बेठिक हो भनेको पनि होइन । सबैले सामाजिक रूपमा खुसीयाली बाँड्ने यो पललाई सम्पूर्ण रूपले बेवास्ता गर्नुपर्छ, त्यो पनि होइन । फगत यस आलेखमा नयाँ वर्षको सार्थकता कसरी प्रमाणित गर्न सकिन्छ ? त्यतातिर ध्यानाकृष्ट गराउन खोजेको मात्र हो । 

हामीले एक आपसमा बाँडिरहेका नयाँ वर्षका शुभकामना के अन्तरहृदयदेखिको शुभकामना हो ? हामीले साँच्चिकै नयाँको कामना गरिरहेका छौं त ? साँच्चिकै शुभकामनामा भनिएजस्तो प्रगति र उन्नति नै चाहेका हुन्छौं ? कि हामीले पारम्परिक रुपमा दिनकै लागि दिइरहेका छौं ? आफूले आफैंलाई प्रश्न गर्न खोजेको मात्र हो । नयाँ वर्षमा के कुरामा नयाँ आशा र अपेक्षा राख्ने ? अनि त्यसलाई प्राप्त गर्नका लागि के कुरा त्याग गर्ने ? कस्तो कसरत गर्ने ? 

अब गएको पुरानो वर्षलाई एक पटक फ्ल्यासब्याकमा उतारेर हेरौँ । गएको वर्ष नागरिक तहबाट उत्साहको वर्ष रहेन । यद्यपि विकास निर्माणका हिसाबले केही उपलब्धिहरु भए । सरकारले केही पुलहरु बनायो । सडक कालोपत्रे गर्यो । जनकपुरमा रेल्वे ट्रयाक बन्यो । केही परियोजना घोषणा भयो । सार्वजनिक सवारीलाई व्यवस्थित गर्ने जमर्को भयो । वर्षको अन्त्यमा लगानी सम्मेलन गरी विदेशबाट १५ खर्बको वैदेशिक लगानी भित्र्याउने प्रतिबद्धता गरायो । 

सामाजिक सुरक्षा अभियान घोषणा भयो । प्रधानमन्त्री रोजगारी कार्यक्रम घोषणा भयो । बेरोजगारलाई भत्ता दिने उद्घोष भयो । यस्तै यस्तै केही पपुलर घोषणाहरु पनि भए । तर, ती सबै प्रचारात्मक थिए । ती सबै लोकप्रियताका लागि गरिएका स्टन्ट थिए । किनकि वर्षान्तमा बारामा आएको विस्मयकारी हुण्डरीबाट घरबारविहीन भएकाहरुलाई सरकारले बास दिन सकेको छैन । सरकारको उद्दार र राहत संयन्त्र यति लबस्तरो भइदियो कि त्यसले भगवान भरोसा शैलीमा काम गरिरहेको छ । मानौं समस्या आफैँ समाधान हुन्छ । विपदमा भोकोपेट धैर्य गरेर बस्नु नै समाधान हो ! 

यसर्थ, गएको वर्ष आम नागरिकको दैनिकीलाई प्रभावित पार्ने खासै केही भएको जस्तो देखिएन । त्यसैले गएको वर्ष पुरानै निरन्तरताको वर्ष रह्यो भन्दा खासै फरक नपर्ला । सरकारले गएको वर्षलाई संविधान कार्यान्वयनको वर्षकै रुपमा लिएको छ । ठीकै छ अरू नियमितता बाहेक वर्ष ७५ राजनीतिक रूपमा ठूलै उथलपुथल गर्ने परिघटना भएन । बाह्य रूपमा गएको वर्ष अलिक स्थिर वर्षझैँ देखियो । तर दुई तिहाई बहुमतको शक्तिशाली सरकारको पहिलो वर्षमा जसरी संभावनाहरु खोतल्न सक्नुपर्दथ्यो, त्यसो हुन सकेन । सरकार बहुमतको दम्भमै रुमल्लियो । सरकारले नागरिकलाई आशावादी बनाउन सकेन । बरु भ्रष्टाचार र आर्थिक अनियमितताका ठूलाठूला काण्डहरुको रुझानमा सरकार अल्मल्लियो । 

पुराना वर्षहरुको एकीकृत उपलब्धिकै रुपमा अहिले केही राजनीतिक परिवर्तनहरु हाम्रा सामु छन् । अब ती उपलब्धिहरुको संस्थागतीकरणसँगै नागरिकको अवस्थामा बदलाव ल्याउने नयाँ कार्यभार हो । त्यसैले अब नागरिकले राजनीतिलाई आफूसँग जोडेर हेर्नेछन् । राजनीतिलाई आफ्नो विकास, उन्नति र प्रगतिसँग समाहित गराउनेछन् । 

अब साँच्चिकै जनताले डाइरेक्ट डेमोक्रेसीको परिभाषा खोज्नेछन् । अनि त्यो लोकतन्त्रले ल्याउने आर्थिक समृद्धिको पनि चर्चा गर्नेछन् । अनि यसका लागि अहिले अवलम्बन गरिएको अर्थराजनीतिको परिभाषालाई नै बदलेर नयाँ आर्थिक र राजनीतिक एजेन्डा सेट गर्नुछ । विगतमा जस्तै यस वर्ष पनि उही पुरानै कोर्सको निरन्तरता भयो भने यो फगत भूपिले भनेझैं भित्तामा टाँसिने नयाँ क्यालेन्डरमै सीमित हुनेछ । अनि यो वर्ष पनि चलचित्रको पर्दामा देखिएको फगत दोस्रो फिल्मी सो हुनेछ । नयाँ वर्ष विगतमा जस्तै फगत पुरानै निरन्तरताकै वर्ष मात्र नबनोस् । नयाँ वर्षको शुभकामना !

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.