बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुखसमृद्धिका व्यासलाई सलाम ठोक्दै नयाँ वर्ष !

शनिबार, ३० चैत २०७५, १७ : ००
शनिबार, ३० चैत २०७५

विभिन्न समृद्ध संस्कृतिका फूलबगैँचा रहिआएको नेपाल आर्थिक क्षेत्रमा गरीब हुँदा पनि संस्कृतिका क्षेत्रमा समृद्ध छ । धनी छ । नयाँ वर्षका क्षेत्रमा पनि त्यत्तिकै समृद्ध छ । यहाँ वर्षभरीमा अनेकौं  नयाँ वर्षहरु आउँछन् । हरेक नयाँ वर्षका आफ्ना आफ्ना सांस्कृतिक रीतिरिवाज, परम्परा र इतिहासहरु छन् ।

 विश्वविख्यात हिमालयलहरका काखमा रहेको नेपालको विक्रमाब्दवाला नयाँ वर्ष हिमाली चरनका जनावर भेडाबाट शुरु हुन्छ । परम्परागत ज्योतिर्गणना अनुसार वैशाख भेडा महिना हो । वैशाख संक्रान्ति भेडासंक्रान्ति हो । भेडालाई परम्परागत ज्योतिषीहरु ‘मेष’ भन्छन् । संस्कृत भाषामा भेडालाई मेष भनिन्छ ।

अन्य कतिपय मुलुककोमा जस्तै हाम्रोमा पनि वर्षका बाह्र महिनाहरु विभिन्न जलचर स्थलचर पशुका नाममा छन् । जस्तै भेडा, गोरु, घरपालुवा गौरी गाइ, गङ्गटो, सिंह, हात्ती, सर्प, बिच्छी, बँदेल, गोही, कछुवा, र माछा । अनुसन्धानशिल्पी विद्वान् मुरारी अर्यालका अनुसार ‘बाह्र राशिमध्येको मिथुन गौरीगाइको घरपालुवा संस्करण हो । कन्या=भर्जिन=भार्गव=अर्थात् हात्ती हो । तुला=तिलिस अर्थात् सर्प हो । धनु=धन्विन् अर्थात् बँदेल हो । कुम्भ=कुम्भक अर्थात् कछुवा हो । शब्दहरु काँटछाँटमा पर्नुका पछाडि केही विद्वान्हरुका रुचिगत इतिहास जोडिएका हुन सक्छन् ।’ जेहोस् भेडा नामकै संक्रान्तिबाट सधैंजस्तै यस पटक पनि हाम्रो एउटा नयाँ वर्ष शुरु हुँदै छ । 

हामीलाई भेडा प्रिय छ । दशैंमा चीनको तिब्बतबाट हजारौं च्याङ्ग्राभेडा ओसारिन्छन् । जनजीवनमा भेडाका बानीबेहोरबारे चर्चा र यसका लाक्षणिक अर्थहरु आज पनि यथावत् छन् । हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यति बेलाको आर्थिक राजनीतिक वातावरणमा ‘प्रभुजी मलाई भेडा बनाऊ’ कविता कुन मर्मले लेख्नु भयो आजका सन्दर्भमा हामी नेपाली जनताले त्यसलाई पुनः अथ्र्याउनु आवश्यक छ जस्तो मलाई लाग्छ । भेडा पाल्तू पशु मात्र होइन भेडा हाम्रो सांस्कृतिक समस्या पनि हो । भेडापनबाट सचेत रहनकै लागि हाम्रा पुर्खाहरुले वर्षको पहिलो महिनालाई भेडा नाम दिएको पनि हुन सक्छ ।

अव एक छिन परम्परागत सत्तासीनहरुका कुरा गरौं । सरकारी कोषमाथि लामोहात गर्नसक्ने सरकारी गैरसरकारी पहुँचवालाहरुले वर्षभरीमा गरेका अर्बौं खर्बौं रकम हिनामिनाका कथाहरु सधैंझै यस वर्ष पनि वर्षको अन्तमा विभिन्न मिडियामा पढ्न सुन्न पाइएको छ । अझ नचुहिएका कथा कति होलान् तीे अनुमान मात्र गर्न सकिन्छन् । हिनामिना गर्नेले तिर्लान् भन्ने त जनतालाई आशा छैन । नेपालमा त्यो परम्परा नै शुरु भएको छैन । सरकारी रकम जसरी पनि उबाएर खान पचाउन सक्नु नै पराक्रम हो भन्ने राजनीतिक संस्कृतिलाई सत्तापक्ष र प्रतिपक्षले मलजल गरिआएको आजको यस पर्यावरणमा फोहरको डङ्गुरमाथि उभिएर सफाइका सपना बाँड्ने प्रवृत्तिलाई अन्यथा मान्ने कि नमान्ने ? यो सम्बन्धितको पूर्वापर हेरेर भन्नसकिने कुरा हो र पनि नेपालमा होइन । यहाँ त मान्छे सत्तामा पुगेपछि रातारात बदलिन्छन् । बदलिएका छन् । 
यहाँ त व्यासासनमा बसेर कथा भनिरहेका व्यासलाई टाढैबाट सलाम ठोक्न मात्र सकिन्छ । नजिकै गएर जिज्ञासा राख्न कोटरीभित्रकैलाई पनि गाह्रो छ । जहाँसम्म खालि वेला सत्सङ््को कुरा छ त्यति वेला झिङगा, बारुला, अरिङ्गाल लगायत कुनै कीट पतङ्गको सन्दर्भ चलेको हुन सक्छ । सन्दर्भ भङ्ग गर्दा जिज्ञासु कुनै अप्रत्यासित उखान टुक्कामा ठोक्किएर रन्थनिन पनि सक्छ । होचो ढोका भएका घरमा फटाफट प्रवेश गर्ने प्रयास केवल पुर्पुरो ठोक्न मात्र काम लाग्न सक्छ । समय फेरिएको छ । ढोका फेरिएको छैन । आज पनि मुलुकमा ‘थाहा’लाई निर्धक्क आवागमनको सुविधा छैन । अर्थात् मुलुकमा ‘थाहा’ अभैm अप्रतिबन्धित छैन । मुक्त सडकमा सर्वसाधारणका लागि समेत उपलव्धमान भेटिन सकेको छैन ‘थाहा’ । लोकतन्त्र भनिने व्यवस्थामा यो यस्तो प्रहसनको विद्यमानता यद्यपि स्वाभाविक होइन ।
 

   यसैले यस्तो स्थितिमा सत्तासीनहरुको समृद्धिलाई व्यासासनमा बसेको देखेर सलाम गर्दा जनताको असीम दुःख दरिद्रतालाई पनि सलाम गरेको ठहरिन सक्छ । यसो गर्न जनताका लेखककोे अन्तष्करणले मान्दैन । महाकविले उल्लिखित कविता यस्तै बैशाखका अघिल्ला दिन कतै कुनै भेडागोठनिर ढुङ्गामा बसेर भेडाहरु हेर्दै व्यङ्ग्यबोधले रन्थनिँदै लेख्नुभएको पो थियो कि ? आज पनि नेताहरुले चुनावक्षेत्रलाई आफ्नै भेडाखर्क ठानेका छन् । सरकारले कथित नेताहरुलाई खर्कमा नुन छर्न र आफु सुन उमार्न बर्सेनी करोडौंको बजेट दिन्छ ।

विगत बीस वर्षमा विशेष रुपमा फस्टाएको सत्ता र सम्पत्तिमुखी राजनीतिक खेतीको असमेल विकासले सत्तासीनहरुका घरघर र अनुहार अनुहारमा त सुख समृद्धि छाएको देखियो । जनताको दुःखी दैनिकीमा किन्चित् परिवर्तन आएको देखिएन । अकल्पनीय पीडा यातनाका ज्ञाताज्ञात विदेशी श्रमबजारमा नबेचिई स्वदेशमै स्वाभिमानसाथ पसिना पोखेर जीविका उपार्जन गर्न हुट्हुटिएका नेपाली जनताका घर घरमा सुखसमृद्धि ल्याउन सरकारले के गर्नु पर्ला ? एक जिम्मेवार र इमानदार अभिभावकले घरमा सुखसमृद्धि ल्याउन के के गर्नु पर्ला ? प्रश्न विचारणीय हुन सक्छ ।

हामी जनतालाई पुराना वर्षका लिकमा दगुर्ने सुखसमृद्धिका कल्पित रेलहरु चाहिँदैनन् । छिमेकी मुलुकका आवश्यकता र चाहना बमोजिमका पानी जहाजहरु प्नि चाहिँदैनन् । हामीलाई शून्यसहनशीलताका वायुयानमाथि सवार भएर अक्कासिएका चूडामणि, कथित गोरे, एनसेल र वाइडबडीजस्ता घोटाला काण्डका समृद्धियात्राको पुनरावृत्तिहरु चाहिँदैनन् । जनताको मत बटुलेर जनतामाथि नै दम्भ देखाउने धुम्म गजधुम्म नेताहरु जनतालाई झुसिलकीरा निलेजस्तो भएको छ । सत्तासीन कुनै पनि नेता कार्यकर्ताले दुईतिहाइको दम्भपान गर्नु पनि गत वर्ष होटलसोल्टीमा गरिएको पहेँलो पदार्थ पानभन्दा कम खतरनाक होइन । जनताका आँखामा छारो हाल्नै सही, सरकारले गत वर्ष एकाध राम्रा कामहरु गरेको छ भनिन्छ । त्यसकोे प्रकाश पनि यिनै यस्तै प्रवृत्तिका खग्रास ग्रहणमा परेको छ र रात अभैm आँैसीकै बराबर देखिएको छ ।

यसैले हामी कामना गर्छौं, नयाँ वर्षमा सत्तासीन नेता उपनेता निमित्तनेताहरु जनताका समक्ष चुनाव प्रचारका समयमा जस्तै विनम्र्र मुद्रामा प्रस्तुत हुन सकुन् । नयाँ वर्षमा सरकारले भयङ्कर उबडखाबडमा पनि सम्मै देखिने आपत्तिजनक चश्मा फेरोस् । मुलुकका भुइँमान्छे र तिनका दैनिक पीडाका दृश्यहरु स्पष्ट प्रत्यक्ष देखिने चश्मा लगाओस् र सही बाटो पहिल्याएर हिँडोस् । मुलुक र जनताका हितमा सरकारी ढुकुटी खर्च गर्ने चेतना समेटोस् । 

आशा र अन्धकारको यस विषम घडीमा उभिएर कामना गरौं, नयाँ वर्ष जनताका लागि पनि उत्सवमय बन्न सकोस् । जन–जनको प्रत्येक दिन उत्सवमय बनाउन सकियोस् भन्ने त साम्यवादी मानवतावादको सतत आकाङ्क्षा नै हो । सुन्दरतम सपना नै हो । भ्राम्यवादीहरुबाट साम्यवादी सपनाको अनुशरण चाहनु त हास्यास्पद हो । भर्खरै त्यो आकाङ्क्षा पनि होइन । त्यसका लागि जनताको प्रयत्नशील भविष्य छ । जन जनमा राजनीतिक चेतना पलाइसकेको छ । अहिलेको कामना कति मात्र हो भने पुरानो वर्षबाट नकारात्मक शिक्षा लिँदै यो सरकार नयाँ वर्षमा जनमुखी बनेर जनताको भाग्यभविष्य उजिल्याउने सत््कार्यमा पनि दत्तचित्त भएरै लागोस् । 

    नयाँ वर्षको पूर्वसन्ध्यामा सुख समृद्धिका व्यासलाई सडकबाटै सलाम ठोक्दै अग्ला पर्खालभित्रका सत्तासमृद्ध हरेक घैँटामा घामका लागि हामी जनताको हार्दिक शुभकामना !   
                          

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्तिबन्धु
मुक्तिबन्धु
लेखकबाट थप