बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

रातभरी निद्रा लागेन: महोत्तरी खोज्दा मुस्ताङ पुर्याइयो (भिडियो)

शुक्रबार, २९ चैत २०७५, १७ : २३
शुक्रबार, २९ चैत २०७५

काठमाडौं– सरकारले कर्मचारी समायोजन व्यवस्थित गर्न नसक्दा भद्रगोल भएको छ । हालै सरकारले २७ हजार स्वास्थ्य सेवा अन्तर्गतका कर्मचारीको समायोजन गरेको थियो । एक ठाउँका लागि समायोजन फारम भरेका कर्मचारीलाई अर्कै ठाउँमा पारिएको छ । प्रदेश नं. २ का सरकारी कार्यालयमा समायोज मागेका कर्मचारीलाई हिमाली क्षेत्रका कार्यालयमा समायोजन गरेको पाइएको छ । 

सप्तरीका सञ्जय चौधरीले आफू जुमुनी मध्यपुराको स्वास्थ्य चौकीमा अहेव छन् । उनकी श्रीमती सप्तरीको राजविराज स्वास्थ्य चौकीमा काम गर्छिन् । तर उनलाई बाराको निजगढको स्वास्थ्य चौकीमा समायोजन गरिएको छ । उनले श्रीमान श्रीमती नजिकै पर्ने गरी समायोन गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गुनासो दर्ता गराएका छन् । 

चन्दन महतोको घर महोत्तरीको रामगोपालपुर नगरपालिका हो । उनले आफ्नो जिल्लाका सरकारी कार्यालयका लागि समायोजन फारम भरेका थिए तर समायोजनमा उनलाई मुस्ताङ पारिएको छ । समायोजनको सूची प्रकाशन भएपछि उनी निरास भएको र रातभर निदाउन नसकेको उनले बताए । उनी मात्र हैन महोत्तरीमा काम गर्ने अन्य १७ जना कर्मचारीलाई म्याग्दी र मुस्ताङमा पठाईएको छ । सर्लाही घर भएकालाई लमजुङ राखिएको उनले बताए ।

महोत्तरीकै रविनकुमार झा पनि सरकारले आफूहरुलाई समायोजन नगरेर सरुवा गरेको बताउँछन् । महोत्तरीमा घर र कार्यक्षेत्र भएका उनलाई पनि मुस्ताङ पुर्याइएको छ ।  यस्तै नवलपरासी सुस्तापूर्वको देवचुली नगरपालिकामा रहेको स्वास्थ्य केन्द्रमा २० बर्षदेखि काम गर्दै आएकी सीता पौडेललाई समायोजनका क्रममा रोल्पा पुर्याइएको छ । समायोजनका लागि आफूले काम गर्दै आएको कार्यालयका लागि फारम भरेकी उनी रोल्पा पुर्याइएपछि अचम्मित भएकी छिन् । उनी भन्छिन– ‘मलाई रोल्पा पुर्याउन त कुनै आधार नै छैन नि ।’

स्वास्थ्य क्षेत्रमा काम गर्ने अर्का कर्मचारी पूर्ण खड्का अहिले रौतहटमा रहेको स्वास्थ्य केन्द्रमा काम गर्छन् । उनले आफ्नो घर जाजरकोटका स्वास्थ्य केन्द्रमा समायोजन मागेका थिए तर उनलाई भोजपुर पारिएको छ । उनी भन्छन्– ‘म सुदुरपश्चिमको मान्छेलाई सुदूरपूर्व पारियो । यो सरासर अन्याय र विभेदपूर्ण भयो ।’

उनीजस्तै बाँके समायोजन माग्नेलाई सिन्धुपाल्चोकको जुगल गाउँपालिका, खोटाङ माग्नेलाई इलामको सूर्योदय नगरपालिका पुर्याइएको छ ।  गत चैत १४ गते सरकारले झन्डै २७ हजार स्वास्थ्य सेवा अन्तर्गतका कर्मचारीको समायोजन गरेको थियो । तर समायोजनमा भद्रगोल भएपछि देशभरका विभिन्न स्थानबाट कर्मचारीहरु समायोजन प्रक्रिया सच्याउनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा गुनासो दर्ता गराइरहेका छन् । समायोजन फरक ठाउँमा परेका कर्मचारीलाई गुनासो दर्ताका लागि संघीय मामिला तथा स्वास्थ्य मन्त्रालयको इमेल तथा तीन÷तीन कर्मचारीको मोबाइल नम्बर वेबसाइटमार्फत सार्वजनिक गरिएको छ । 

फेल खायो मन्त्रालयको कम्प्युटर सफ्टवेयर

दुई साताअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरे अनुसार स्वीकृत संगठन संरचना तथा दरबन्दीअनुसार कर्मचारी समायोजन कम्युटर सफ्टवेयर प्रणालीबाट गरिएको मन्त्रालयको भनाई छ । मन्त्रालयले सफ्टवेयर प्रणालीबाट समायोजन ऐनमा तोकिएको आधार, कर्मचारीले गरेको अनलाइन आवेदन र राष्ट्रिय कितावखानामा अध्यावधिक भएको कर्मचारीको विवरणको आधारमा गरिएको बताएपनि अधिकांश कर्मचारीको रोजेको भन्दा फरक ठाउँमा समायोजन भएपछि मन्त्रालयलाई नै टाउको दुखाई बनेको छ । 

समायोजनको गुनासो सुन्ने र दर्ता गर्ने कर्मचारी नै अहिले मोबाइल फोन आफ गरेर बसेका छन् । शुक्रबार गुनासो निवेदन दर्ता गर्न खटाइएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुपनारायण भट्टराई, उपसचिव ईश्वरकुमार गिरी र बन्धुप्रसाद बास्तोलाको फोन बन्द थियो । 

गत चैत १४ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ लाख १ हजार कर्मचारीको सफतापूर्वक समायोजन गरेको घोषणा गरेको थियो । समायोजनमा भद्रगोल भएपछि झन्डै २० हजार बढी कर्मचारीले गुनासो दर्ता गराएका छन् । 

हेर्नुहोस् भिडियोः 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप