केन्द्रीय संस्करण
अन्तरवार्ता

वेद र बुद्धप्रति उपेक्षा बढ्दै जानुमा पण्डित र लामाहरुकै दोष छ : दीनबन्धु पोखरेल

'भौतिकवादको सबैभन्दा विकसित रूप वेद र पूर्वीय दर्शनमा छ'

person explore access_timeचैत २७, २०७५ chat_bubble_outline2

वाचन प्रविण पण्डित दीनबन्धु पोखरेलको नाम नसुन्ने कमै होलान् । देश विदेशमा समेत पुगेर श्रीमद्भागवत महापुराण वाचन गर्ने पोखरेलसँग आध्यात्मिक र भौतिकवादको सम्बन्धका बारेमा रातोपाटी अनलाइन टिभीको कार्यक्रम ‘द भ्यूका लागि  कुवेर पाठकले गरेको कुराकानी :

सैद्धान्तिक प्रश्नबाट संवाद सुरु गरौँ, आध्यात्मवाद र भौतिकवाद बीचको सम्बन्ध पहिलेदेखि देखाइएको जस्तै द्वन्द्वात्मक नै हो त ? 
अत्यन्त गहन प्रश्न गर्नुभयो । यसका लागि हार्दिक साधुवाद । अहिलेसम्म विभिन्न कालखण्डमा आध्यात्मवाद र भौतिकवादलाई एउटा नदीका दुई किनारा जसको समानान्तर यात्रामा रहेको तर मिलन सम्भव नभएको जसरी व्याख्या विश्लेषण हुँदै आएको छ । 

तर यथार्थ के हो भने व्यक्ति अध्यात्मवादी पनि हो र व्यक्ति भौतिकवादी पनि हो । भौतिकवाद र अध्यात्मवादको समायोजनबाट जीवन चल्छ । 

यदि भौतिकवाद र अध्यात्मवाद नदीका दुई किनारा हो भने हामीले त्यसलाई जोड्ने पुलका खालका सोच विचार ल्याएका छौँ । म त आध्यात्मवाद र भौतिकवादलाई जीवनका लागि अपरिहार्य तत्व हो भन्छु । 
जीवनका लागि होला तर आध्यात्मवाद र भौतिकवादबीचको सम्बन्ध हेर्ने हो भने विपरीत त हुन् नि, होइन ?

त्यस्तो सम्बन्ध निर्माण गरिएको हो । तर दुई बीचको सम्बन्ध अन्तरसम्बन्धित पनि छ । जस्तै मेरो शरीर हेर्दा त्यो भौतिक हुन्छ, यो पञ्च महाभूतले बनेको छ । तर त्योभित्र मसँग भएको ऊर्जा, चेतना, त्यो ‘करेन्ट’ छ नि चैतन्य सत्ता भनिने त्यो पनि नभई नहुने कुरा हो । फेरि त्यो एक्लै भएर पनि जीवन चल्दैन । 

भौतिक आवरण मात्र भएर त्योभित्र ऊर्जा थपिएन भने त्यो पनि चल्दैन । त्यसैले योबीच अन्योन्याश्रित अन्तर–सम्बन्ध छ । यस अन्तर–सम्बन्धबारे बहस गर्न आवश्यक छ । भौतिकवाद र अध्यात्मवादको समायोजनको मध्यमार्गी धारबाट जीवन जगत र मानवीय जीवन पद्धति चल्छ भनेर नेपाली समाजमा अनि विश्वजगतमा वकालत गरेर अघि बढ्नुपर्छ । 
 

परा–विद्या र अपरा–विद्या भनेर पनि यसबारेमा व्याख्या हुने गरेको छ नि ?

परा–प्रकृति र अपरा–प्रकृति विषयमा व्याख्या गर्ने हो भने सात दिन र सात रातसम्म जान सक्छ । परा, अपरा दुईलाई जोडेर जीवन बन्दछ अनि मानवीय जीवन सञ्चालन हुन्छ भन्ने कुरालाई चाहिँ तपाईंले अङ्गीकार गर्नसक्छ । 

भनेपछि तिनै दुईवटा कुरा संयोजनबाट सफल जीवन सम्भव छ भन्न खोज्नुभएको हो ? 

सही कुरा गर्नुभयो । अब हेरौँ न हामीकहाँ कस्तो छ भने मानिसहरु मलाई भौतिक चीजबीज सबै चाहिने भन्छन् । उनीहरु मलाई पैसा चाहिन्छ, मलाई घर चाहिन्छ, मलाई गाडि चढ्नुपर्छ तर मलाई भौतिकवादी होइन भन्छन् । त्यसका लागि उनीहरु चन्दन घसेर मात्र पुुग्छ जस्तो गर्छन् ? यदि मैले उपभोग चाहिँ सबै चीज गर्छु तर म चाँही भौतिकवादी होइन भनेर ढोँग देखाए भने एकाङ्की हुन्छु । त्यो जीवन सफल जीवन होइन । 

त्यस्तै जसले चेतनाको भरपुर उपयोग गरेर बोल्ने, हिँड्ने, खाने, सामाजिक क्रियाकलाप गर्ने काम गर्छ छ तर त्यो चेतनालाई उपेक्षा गरेर भौतिक चीज मात्र सबै हो, भौतिकवादभन्दा अर्को चीज छैन भनेर वकालत गरेर हिँड्या छ, त्यो पनि जडता हो । 

यी दुवैथरी अतिवादबाट जीवनलाई मुक्त गरेर अघि बढ्न जरुरी छ । 

म त मन पनि भौतिक विषय हो भन्छु । यसको बहस धेरै गहिरो छ । त्योभित्र भएको चैतन्य सत्ता, जसलाई हामी आत्मा भन्छौँ, केहीले यसलाई चेतना भन्छन्, त्यसले जड रूपी मनलाई पनि चेतन बनाइदिन्छ । 

वैदिक दर्शनअनुसार शरीर पनि तीन किसिमको छ । स्थूल, सूक्ष्म र कारण । मन सूक्ष्म शरीरभित्र पर्छ । यसको व्याख्या धेरै गहन छ । अहिले त्यस विषयतिर नजाऊँ । त्यसैले चेतना शक्ति जुन छ हामीले बोल्ने हिँड्ने, हिँड्दा खुट्टामा सियोले बिझायो भने मस्तिष्कले थाहा पाउँछ । किन भने त्योभित्र चेतना छ । त्यसलाई पनि उपेक्षा गर्न मिल्दैन । किनभने त्यो भएन भने मेरो शरीर अहिले नै शव बन्दछ । 
मैले भन्न खोजेको कुरा चाहिँ दुवै अपरिहार्य कुरा हो भन्ने हो । त्यसको वकालत र बहस अब गर्न जरुरी छ । 

अलिकति म आध्यात्मतिर बढी केन्द्रित हुन चाहेँ । जब विज्ञान टुङ्गिन्छ, अध्यात्म सुरु हुन्छ भनिन्छ नि । 

एक जना दार्शनिकले भनेको छन्ः ‘भौतिकताको अन्त्य भएको विन्दूबाट अध्यात्म सुरु हुन्छ’ । विज्ञानका विद्यार्थीहरुले मलाई नियालिरहनु भएको होला । म भौतिकवादको पनि विद्यार्थी हो । 
अहिलेको भौतिकशास्त्रको सबैभन्दा पछिल्लो विधा ‘क्वान्टम फिजिक्स’ले पदार्थको तत्वको विवेचना गर्छ । अझ विवेचना परमाणुस्तरमा गर्छ । त्यस्तो विज्ञानले परमाणुको लागि इलेक्ट्रोन, प्रोटोन, न्युट्रोन मात्र होइन, परमाणु बन्न ‘गड पार्टिकल’ भनिने सूक्ष्मदर्शक यन्त्रले समेत पत्ता लगाउने नसक्ने चीज आवश्यक हुने बताउछन् । 

(आज ‘गड पार्टिकल’ भनिने चिनिने हिग्स बोसोनको उपनाम त्यसो रहनुमा रमाइलो किस्सा छ । नोबेल पुरस्कार विजेता लियोन लेडरम्यानद्वारा सन् १९९३ मा लेखिएको पुस्तकको नाम ‘द गड पार्टिकल’ थियो । लेखक लेडरम्यानले पछि गरेका स्मरणमा पुस्तकको नाम सुरुमा ‘गडड्याम पार्टिकल’ राखिएको थियो । कैयौँ वैज्ञानिक वर्षौंसम्म लाग्दा पनि रहस्योद्घाटन गर्न नसकेकाले उनले त्यसलाई गाली गरेर शीर्षक राखेका थिए । तर प्रकाशकले विज्ञान पुस्तकको लागि उक्त नाम उदण्ड खालको भनेकाले गडड्यामबाट ‘ड्याम’ हटाइएको थियो । तर पछि पुस्तक यति लोकप्रिय भयो पदार्थलाई तौल दिने हिग्स बोसोन उपनाम नै ‘गड पार्टिकल’ हुन पुग्यो ।– सं.)

पदार्थ बन्न ऊर्जा चाहिन्छ । आइन्स्टाइनले प्रस्ताव गरेको यी बराबर एमजी वर्गअनुसार पनि ऊर्जा बन्न तरङ्ग चाहिन्छ । अनि तरङ्गको स्रोत के हो त ? आइन्स्टाइनले त्यसलाई कन्ससनेस (चेतना) भने । 
त्यसलाई कसैले चैतन्य प्रकृति भन्लान् । कसैले आत्मा भन्लान् । कसैले ब्रह्म भन्लान् । नाम जे भए पनि त्यो चेतनाको चिन्तन नै अध्यात्म चिन्तन हो । 

तपाईंको जन्म पनि आध्यात्मिक परिवारमा भयो । अध्यात्मतर्फ तपाईं सानैबाट जोडिँदै जोडिँदै जानु भयो र यो स्थानसम्म आइपुग्नुभयो । तपाईंले एक सन्दर्भमा नेपालमा शक्तिपीठहरु दुईवटा मात्रै छैनन् भनेर भन्नुभएको छ । यसको अलिकति व्याख्या गरिदिनुस् न । 

नेपाल भनेको विश्वको अनुपम आध्यात्मिक केन्द्र हो । बेलायतमा एकजना गोराले मेरो टोपी देखेर कुन देशबाट भन्ने जिज्ञासा राख्दा मेरो जवाफ सुनेपछि ‘ओ, रियल प्लेस फर स्पिरिच्युअल प्राक्टिस (ओहो, आध्यात्मिक साधनाका लागि उत्तम भूमि)’ भने । 

यो भूमिमा वैश्विक धर्म जन्मियो, साङ्ख्य दर्शन जन्मियो, योग दर्शन जन्मियो । यी सबै हाम्रो सम्पत्ति हो । मिमांस र वेदान्त दर्शन जन्मियो । त्यस्तै न्याय दर्शन जन्मियो । भौतिकवादको सबैभन्दा विकसित रूप उत्तर–आधुनिकता विचारवाद सबै वेद र पूर्वीय दर्शनको आधारमा छ । म त्यसको प्रमाण दिएर बोल्न सक्छु । 

पूर्वीय दर्शनको आधार भनेको नेपाल हो । नेपाल केवल आस्थाको शक्ति पीठ मात्र होइन, नेपाल इतिहास र विरासतले भरिपूर्ण भएको विचारभूमि, ज्ञानभूमि हो । 

संस्कृत भाषाको उत्पति पनि हाम्रै अर्घाखाँची जिल्लाको पाणिनी तपोभूमिमा भएको हो । संस्कृत भाषाका महान सर्जक पाणिनीले यो देव भाषाको भाषाविज्ञानलाई वैज्ञानिकीकरण गरिकन सूत्रबद्ध रूपमा समाजमा ल्याउने काम गर्नुभयो । 

त्यसैले विश्वको भाषाको जन्मभूमि पनि यही हो । विचारको जन्मभूमि पनि यही हो । 

योग यहाँ जन्मिएको भनेर विश्वले मानेको छ । बुद्ध यहाँ भन्ने पनि जन्मिए विश्वले मानेको छ । 

त्यही भएर मैले विश्वमञ्चमा बोल्दा एक दिन नेपालले विश्वको नेतृत्व गर्नेछ भन्ने गरेको छु । 

तर यहीबेला संस्कृत पढ्नेहरु हामीहरुबीच हराइरहेका छन् ? 

अब यसको जागृति हुँदैछ । हिजो हामीले यसलाई मृतभाषा पनि भन्यौँ । तर अहिले नजानेर भन्यौँ भनेर भनिरहेका छौँ । हिजो त्यस्तो भन्नेहरुले नै भनिरहेका छन् । 

आज संकृत भाषा हार्भर्ड विश्वविद्यालयमा, जर्मन विश्वविद्यालयमा पढाइन्छ । यसका वैज्ञानिक आधारहरु परीक्षण गर्दा यो विश्वको सबैभन्दा वैज्ञानिक भाषा भनेर प्रमाणित भइसकेको छ । यस्तो भाषालाई हामीले उपेक्षा गर्नु भनेको हामीले आफैलाई लत्याउनुजस्तै हो । 

नेपालबाट प्रारम्भ भएकाले पनि यसलाई लत्याउनु हुँदैन भन्ने मेरो मत छ ।  

तपाईं जोडिएको ‘नारायण आध्यात्मिक केन्द्र’ले २०७६ वैशाख २३ देखि वैशाख ३० ऐतिहासिक गीता ज्ञान महाअनुष्ठान गर्दैछ । यसको उद्देश्य के हो ?

यो गीता ज्ञान महाअनुष्ठानको उद्देश्य सर्वप्रथम गीता ज्ञान के हो बुझाउनु हो ? सामान्य रूपमा भन्दा गीता ध्यान योगको पुञ्ज हो । कर्म योग, ध्यान योग र भक्ति योगको सङ्ग्रह हो भन्ने रूपमा बुझिन्छ । तर त्यति मात्र भन्दा पनि मेरो जीवन, जगत (पदार्थ) र परमात्मा अर्थात यी सबै चलाउने चेतनाको अत्यन्त समन्वयात्मक विश्लेषण हो गीता । 
गीताले पनि भौतिकवाद र अध्यात्मलाई जोडेको छ ? 

किन नहुनु ? कर्म नगरी तिमी महान बन्न सक्दैनौँ । कर्म नगरी एक क्षण पनि बस्न सक्दैनौँ भनेर सबैभन्दा बढी वकालत गर्ने पुस्तक हो गीता । 

त्यसैले कर्म भौतिकवाद अर्थात कर्मलाई ईश्वरीय सत्ता र चेतनासँग जोडेर व्याख्या गर्ने भौतिकवाद हो कर्म भौतिकवाद । हामीले भजन गाउँदा ‘हातमा काम, मुखमा राम’ भन्ने गरेको छौँ । हातमा काम भनेको कर्म, मुखमा राम भनेको चेतनासँग जोडिने भनेको हो ।

त्यसैले भौतिकवाद र अध्यात्मवादको समायोजनलाई अत्यन्तै गहन, विहंगम विश्लेषणात्मक ढङ्गबाट अहिलेको युग सुहाउँदो वैज्ञानिक, दार्शनिक र व्यावहारिक तवरबाट जन जनमा यो कुरा उजागर गर्नको निमित्त गीताको तथ्यपरक व्याख्या गर्दै गीतालाई समसामयिकतामा व्याख्या गरेर विश्वसनीयता बढाउनको निमित्त गीताको अनुष्ठान गर्दैछौं । यो पहिलो उद्देश्य भयो । 

दोस्रो उद्देश्य भनेको नेपाल यसै पनि ज्ञानभूमि हो, पुण्यभूमि हो । यसैले नेपालको यो महत्त्व उजागर गर्ने उद्देश्यले काठमाडौंको नागारजुन नगरपालिकास्थित वडा नम्बर ७ रामकोटमा एउटा विशाल ‘नारायण आध्यात्मिक केन्द्र’ बन्दैछ । 

त्यो केन्द्रमा पूर्वीय आध्यात्मिक चिन्तनका साधनास्थल, त्यसलाई एउटा अध्ययनस्थलको रूपमा विकास गर्दै हाम्रो नेपालबाट धार्मिक पर्यटनका नाममा, आध्यात्मिक पर्यटनको नाममा विदेशिने धन राशिलाई रोकेर नेपालको समृद्धिका केही आयाम पनि खुल्ला गर्नेछौँ । 

नेपालबाट धार्मिक पर्यटनको नाममा वार्षिक झण्डै १४–१५ अर्ब पैसा विदेशिन्छ । यसलाई न्यूनीकरण गरौं भन्नेमा हामी छौं । भौतिकतासँग रोजगारी, स्वरोजगारीको विकास पनि गर्ने र आध्यात्मिक चेतनाको माध्यमबाट व्यक्तिमा सकारात्मक सोचको विकास गराउने भन्ने छ । किनकि सकारात्मकताको भावना उर्जित व्यक्तिले मात्र समाजको विहंगम, बहुआयामिक योगदान दिन सक्छ  । 

अर्को उद्देश्य भनेको यदि भगवत भावले ओतप्रोत भएका हाम्रा भक्तजनहरुले दिएको दान केही रह्यो भने यज्ञमा भएको खर्च कटाएर बचेको पैसाले बद्रीनाथ धामसहितको ‘नारायण आध्यात्मिक केन्द्र’ बनाइनेछ । यसको अहिलेको अनुमानित लागत ४० करोड छ । 

हामीले नेपाल सरकार, प्रदेश सरकारको सहयोगमा १०–१२ करोड खर्च गरिसकेका छौं ।

कहाँ बन्नेछ नि बद्रीनाथ धाम ? अनि कति क्षेत्रफल छ त्यसको ?

त्यो पनि त्यही ठाउँ, नागार्जुनमै बन्नेछ । क्षेत्रफलको कुरा गर्दा नेपाल सरकारले २०६७ सालमा माधव नेपालको सरकारले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी रक्षामन्त्री भएको बेला ‘नारायण पोखरेल प्रतिष्ठान’को नाममा दिने निर्णय भएको हो । 

९९ वर्षका लागि भोगाधिकार हुने गरी दिनुभएको छ । यो काम शुभारम्भ गरेको ५ वर्ष भइसकेको छ । 

धेरै देश गइसक्नुभएको छ तपाईं, वेदको कुरा गर्दा विदेशीहरुको कस्तो प्रतिक्रिया हुने गर्छ ?
एक पटक म अमेरिकाको म्यासाचुसेट राज्यस्थित बोस्टन सहरमा रहेको ब्रान्डाइज विश्वविद्यालयमा गएको थिएँ । त्यहाँ मैले एउटा सानो कार्यपत्र प्रस्तुत गर्दा भनेको थिएँ कि नेपाल वेद र बुद्धको देश हो । 
वेदले योग सिकायो, त्यो आज विश्वव्यापी छ । त्यस्तै बुद्ध पनि यही जन्मे । बुद्धलाई पनि वेदले जन्माएको हो । योभन्दा अतिरञ्जित कुरा गर्यो भन्ने पनि हुन्छ । तर मसँग प्रमाण छ । म त बुद्ध दर्शनमा पनि प्रवचन गर्ने मान्छे हुँ । 

शील, प्रज्ञा, समाधिको विषयमा जानकारी भएको र सधैँ बुद्धको बारेमा जानकारी दिन्छु म । आवरणमा लामाजस्तो पहिरन नलगाए पनि मैले पनि लामाजस्तो बुद्धको प्रचार गर्ने गर्छु । 
म जहाँ जहाँ जान्छु त्यहाँ बुद्ध जन्मिएको, वेदको देश भनेर नेपालको प्रचार गर्ने गरेको छु । 
 

जहाँ जहाँ प्रचार गर्नुभएको छ, कस्तो पाउनुभएको छ मानिसहरुको प्रतिक्रिया ? 

हामीले हाम्रो गरिमा चिन्न सकेनौँ । हामी हीराको थालमा माग्न हिँडेका छौँ । हामीले पर्यटनलाई अध्यात्मसँग जोड्न सक्यौँ भने के हुन्छ भने बाँकी विश्वका केही उदाहरणबाट थाहा पाउँछौँ । 
मक्का मदिनामा हजमा जानेहरुले तिरेको रकमले समग्र साउदी अरबको अर्थतन्त्रको २५ देखि ३० प्रतिशत हुन आउँछ । 

यहुदीको केन्द्र इजरायलले बेथलेहमलाई जिससको जन्मभूमि भनेर आफ्नो संविधानको प्रस्तावनामै उल्लेख गर्दा विश्वभरीका इभ्यान्जेलिकल, प्रोटेस्टेन्ट र क्याथोलिकहरु त्यहाँ जान्छन् । इजरायलको पनि २५–३० प्रतिशत आर्थिक हिस्सा धार्मिक पर्यटनले धानेको छ । 

हामी पनि वेद र बुद्धलाई ब्रान्डिङ गर्न सकौँ । राज्यस्तरमा पनि त्यो होस् । केही कुरामा मजस्ता युवाहरु, भौतिकवाद पढेका समाजिक कार्यकर्ताहरु पनि अध्यात्म र भौतिकताको मिलन सम्भव छ । यसलाई जोड्ने काम गरौँ । अर्को कुरा वेद र बुद्धलाई विश्व चिनाउँ भन्ने अभियानमा हामीहरु अघि बढेका छौ । 

अस्तिसम्म ज्ञान चाहिँ थियो अब त्यसलाई अभियान स्तरमामा लग्नुपर्छ भन्ने स्थानमा आइपुग्नुभएको हो ?
अब यो अभियानको रूपमा जानुपर्छ । मैले मात्र होइन । हरेक युवाहरु यसमा आउनुपर्छ । 

कोही नेतृत्व गर्ने त मानिस त चाहिन्छ नि ?
म आफूलाई नेता भन्न पनि चाहदिनँ । म एक सामाजिक जागरण पैदा गर्ने मानिस हुँ । तर परिआयो भने यसको वकालत अन्तर्राष्ट्रिय फोरममा गर्न तयार छु । 

आजको दिनमा संस्कृत त परको कुरा बोर्डिङ स्कुल पढ्ने साना भाइबहिनीलाई कुन विषय गाह्रो लाग्छ भनेर सोध्यो भने नेपाली भन्छन् । नेपाली भाषाप्रति यस्तो वितृष्णा हुँदा संस्कृतिको हाल के होला ?
तपाईं चीन जानुभयो भने त्यहाँका मानिसहरुले अङ्ग्रेजी बुझ्दैनन् । जापान र कोयिामा पनि त्यस्तै छ । 

उनीहरुले आफ्नो भाषा, वेशभूषा भुलेका छैनन् । उनीहरु तिनको संरक्षणमा लागिरहेका छन् । हामीहरु भने संरक्षण त परको कुरा, मास्न लागेको छौँ । 

क्वान्टम फिजिक्सका दिग्गजमध्ये एक वारनर हाइजेनवर्गले अध्यात्मलाई सहयोग पुग्ने गरेका यस्तो भनेका छन् : “द फस्र्ट गल्प फ्रम द ग्लास अफ नेचुरल साइन्स विल टर्न यु इन्टु एन एथेइस्ट, वट एट द बटम अफ द ग्लास गड इस वेइटिङ फर यु (प्राकृतिक विज्ञान नामको गिलासको पहिलो घुट्कोले तपाईंलाई नास्तिक बनाउनेछ तर गिलासको पिँधमा तपाईंलाई भागवान पर्खिरहेका हुन्छन् ।)’
त्यत्रा विद्वान भौतिकवादीले यस्तो भनिरहँदा हामीले यो पुरातनवादी, यो पाखण्डीपन हो भन्ने कुरा गर्यौं भने हामीले आफ्नो आमालाई लत्याइरहेका हुन्छौँ । हामीले त्यो गर्न हुँदैनौँ । 

आजको पुस्तामा वेद र बुद्धप्रति यो हदको उपेक्षा किन बढ्दै गइरहेको छ जस्तो लाग्छ तपाईंलाई ?

म त यसमा अरूलाई दोष दिन्नँ, यसमा पण्डितहरुकै दोष छ भन्छु । हामीले यसलाई विशुद्ध कर्म काण्डमा ढाल्यौँ । यसलाई हामीले विशुद्ध पुरातन ढङ्गमा लग्यौँ । यसलाई समसायिकतामा ढालेर युवापङ्क्तिलाई आकर्षित गर्ने हिसाबमा ल्याउन सकेनौँ । 

यसैले गर्दा आजको युवाहरुमा वितृष्णा जन्मेको हो । म यसमा मेरो हिस्साको जिम्मा लिन्छु । 

अध्यात्म व्यवहार हुनुपर्यो । अध्यात्म भनेको जीवन जिउने कला हो । एक महिना ध्यान गर्दा तपाईंको दिमागको १० देखि १५ प्रतिशत क्षमता बढ्छ । ध्यान भनेको त न कुरानमा छ, न बाइबलमा छ, न अहिलेको भौतिक विचारमा छ । 

अहिलेको हाम्रो समाजमा त पश्चिमाहरुले भनेको कुरा सबै सत्य भनेर लागिरहेको छ । तर ती कसैसँग नभएको ध्यान गर्ने तरिका, कुण्डलिनी जाग्रित गर्ने तरिका, आफूलाई जाग्रित गर्ने तरिका त पूर्वीय आध्यात्ममा मात्र छ । 

यी कुरा नेपालमा उत्पत्ति भएकाले म फेरि पनि भन्छु एक दिन नेपालले विश्वको नेतृत्व गर्नेछ । 

तर कति विडम्बनाको कुरा यी दुवै कुराको जस हामीले लिन पाइरहेका छैनौं नि ।

यसमा मुख्य त हामी पण्डितहरुको कमजोरी रह्यो । त्यसपछि लामाहरुको कमजोरी रह्यो । राज्यको त उपेक्षामा परेकै छ । 

मक्का मदिनामा जन्मिएको दर्शन, बेथलेहममा जन्मिएको दर्शनलाई हाम्रोमा जन्मिएको दर्शन सबैलाई एउटै नजरले हेरेपछि त्यो राज्यको पहिचान कहाँ गयो ?

भन्नुको मतलव धर्म निरपेक्षतामा पनि तपाईंको रिजर्भेसन छ ?
मेरो रिजर्भेजन कागज (संविधान)मा के छ त्यसमा होइन । राज्यले यहाँको कुराहरु, वेदलाई संरक्षण गर्न ध्यान दिएन भन्ने हो । 

राज्यले बुद्धलाई संरक्षण गर्न सकेन भने, किराँत दर्शनलाई संरक्षण गर्न सकेन भने, यहाँको प्राग–ऐतिहासिकता बोकेको बोन धर्मलाई संरक्षण गर्न सकेन भने ? कसले गर्छ ?

साउदी अरबले पशुपतिलाई हेर्ने दृष्टिकोण, लुम्बिनीलाई हेर्ने दृष्टिकोण र मक्का मदिनालाई हेर्ने दृष्टिकोण एउटै गर्छ ?
अनि नेपालले चाहिँ लुम्बिनी हेर्ने दृष्टिकोण र मक्का मदिना हेर्ने दृष्टिकोण एउटै गरेर हुन्छ ? पशुपति हेर्ने दृष्टिकोण र बेथलेहमलाई हेर्ने दृष्टिकोणलाई एउटै गरेर हुन्छ ? त्यसमा हाम्रो आपत्ति हो । 
तर हामीहरु बुद्ध नेपालमा जन्मिएका हुन् भनेर दाबी गर्नेभन्दा बढी पनि गर्न सकिरहेका छैनौँ नि ।

बुद्ध मात्र होइन, हामीले वेद नेपालमा जन्मिएको हो । वेद नेपालमा सिर्जना भएको हो भन्न सक्नु पर्छ । 

नेपाल वेद र बुद्धको जन्मभूमि हो भन्ने कुरालाई विश्वव्यापी गर्नुपर्छ । यसैले हामीले अरूलाई दोष नदिऊँ आ–आफ्नो हिस्साको दोष लिएर सँगसँगै अघि बढ्यौं । 
गीता ज्ञान अनुष्ठान त्यही ज्ञान विस्तारको हेतु गर्न थालिएको हो । 

वेद र बुद्ध नेपालका हुन् भनेर विश्वव्यापी गर्ने कुरामा हाम्रो रणनीति के हुन सक्छ ?
यसका लागि मिडियाको सबैभन्दा ठूलो हात हुन्छ । यसैले मैले केही समयमा ‘मिडिया क्याम्पेन’ गर्दैछु । तर फेरि त्यसलाई मेरो व्यक्तिगत अभियानका रूपमा नलिइदिनु होला । 

त्यसो भन्नु त तपाईंको महानता होला तर तपाईंसँग त्यति धेरै ज्ञान छ । एक पटक तपाईं आफैले भनिदिनुस्, तपाईं आफैले कतिवटा देशमा श्रीमद्भागवत महापुराण लगाउनुभयो ?
मैले २५, ३० वटा देशमा गरेँ होला । 

कतिवटा देश भ्रमण गरिसक्नुभयो ?
लगभग ३०, ३५ वटा देश भ्रमण गरेँ । 
 

यति धेरै अनुभव भएपछि तपाईंले अभियानको संरक्षकत्व गर्दा हुन्छ नि ?

संरक्षकत्व त राज्यले गर्नुपर्छ भन्ने लाग्छ । किनकि बेथलेहमको संरक्षण राज्यले गरेको छ । मक्का–मदिनाको संरक्षण राज्यले गरेको छ । भ्याटिकन सिटीको संरक्षण त्यहाँको राज्यले गरेको छ भने यहाँ पनि राज्य संरक्षकत्वका लागि अघि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो । 

हामी गर्ने भनेको मानिसहरुमा जागरण पैदा गर्ने मान्छे । विश्वव्यापी बनाउनका लागि अब सबै विधाका मान्छे विहंगम रूपमा, व्यापक रूपमा अगाडि बढ्न मेरो अनुरोध छ । 

तपाईंले आयोजना गर्न लाग्नुभएको गीता ज्ञान अनुष्ठानमा विदेशी पाहुनाहरु पनि बोलाउनु भएको छ ?

मैले विदेशी पाहुना बोलाएको छैन । म सम्पर्क त गर्दैछु । नेपालकै बौद्ध लामाज्यूहरु, प्रतिष्ठित सन्यासीहरुलाई पनि बोलाउँदैछु । मसँग सम्पर्कमा रहनुभएका गैरआवसीय नेपाली साथीहरुलाई पनि बोलाउँदैछु । 
नेपालका कैयौँ, जिल्लामा मैले स्कुल, कलेज, अस्पताल, पुल–पुलेँसाका लागि महायज्ञ गर्दा बनेको भक्तजनहरुलाई पनि बोलाएको छु । 

राजनीतिक व्यक्तित्व, विभिन्न कलाकार, सञ्चारकर्मी सबै विधाका व्यक्तिलाई बोलाएर यस विषयमा वकालत गर्न हामी खोजिरहेका छौँ । यो मेरो मात्र अभियान होइन, यसमा तीन हजार जना मूल समारोह समितिमा हुनुहुन्छ । यसको आयोजना मात्र ‘नारायण पोखरेल प्रतिष्ठान’ले गरेको हो । 

यही मिति चाहिँ किन भने यो दिनमै २०६२ सालको वैशाख २३ गते नेपालका प्रथम धार्मिक सहिद मेरा परम–आदरणीय पिताश्री वाचन शिरोमणि पण्डित नारायण पोखरेलले पाञ्च भौतिक शरीर त्यागेको दिन हो । 
अहिलेसम्म वेद अङ्गे्रजी भाषामा अनुवाद भएको पाउनु भएको छ ?

वेद अङ्ग्रेजीमा अनुवाद भएको छ । यहाँबाट त भएको छैन । भारतमा धेरै दिग्गज गुरुहरु हुनुहुन्छ, उहाँहरु गर्नुभएको छ । 
स्कुल तहमा वेदको कुराहरुलाई राख्नुपर्छ जस्तो लाग्छ कि लाग्दैन ?

व्यक्तिको मस्तिष्कलाई सबैभन्दा बढी परिवर्तन गर्ने कुरा भनेको संविधान र शिक्षा हो । यी दुई चीज मुलुककको आमूल परिवर्तनका संवाहक हुन् । 

हाम्रो मौलिक पहिचानको विषयलाई यदि समाविष्ट गरेर अघि बढ्न सक्यौँ भने भावि पुस्ताले यो कुरा बुझ्छ । साथै यो विचार, विरासत, इतिहासलाई अर्को पुस्तालाई हस्तान्तरण गर्न सकिन्छ । सबैभन्दा ठूलो उपलब्धि यहीँ हुनेछ । 

त्यसैले वेद र बुद्धको कुरालाई पाठ्यक्रममा राखिनुपर्छ भनेर हामीले घनिभूत रूपमा उठान गर्नेछौँ । 

विदेशमा पुराणका लागि जाँदा त्यहाँ नेपालीबाहेक पनि विदेशीहरु पनि सुन्न आउँनुहुन्छ ?

मैले नेपाली समुदायबाहेक गोराहरुलाई पनि सुनाएको छु । नेपालीहरुको कार्यक्रममा नेपालीहरु आउनुहुन्छ । मैले भारतीयहरुलाई पनि सुनाएको छु । त्यहाँ अहिले पूर्वीय दर्शनप्रति यति ठूलो लगाव जागेको देखेको छु । युरोपमा त पूर्वीय दर्शनको अध्ययन गर्ने मान्छे त झण्डै झण्डै १५ प्रतिशत पुगिसकेको छ । भित्रभित्रै भुसको आगोजस्तो फैलिँदो छ अकर्षण । 

नेपालकै लुम्बिनी बौद्ध विश्वविद्यालयमा विद्यावारिधि गर्नेहरु कत्ति विदेशी हुनुहुन्छ ? 

यो हाम्रो लागि ठूलो उपलब्धीको कुरा हो । ययसलाई अपनत्व ग्रहण गर्नुपर्छ । 

यो अनुष्ठान त्यसैका लागि दबाब हो भनेँ भने म सही हुन्छु ?

दबाब त म भन्दिनँ । म आध्यात्मिक व्यक्ति हुँ । मेरो पिताजीलाई हत्या गर्ने व्यक्तिलाई त कारबाही नगर्नु सद्बुद्धि आओस भन्ने मान्छे म । म त जागरण बढाउने मान्छे मात्र हो । 
राज्यमा सबैतिर जागरण भयो भने परिवर्तन आउँछ । 

भागवत सुन्ने र सुनाउने पुस्ता विगतदेखि नै एउटै छ भन्ने आरोप छ नि ? 

हाम्रो यज्ञमा आउनुस् न, हामीले युवालाई परिवर्तन गर्ने काम गरेका छौँ । 

यो विधामा म अरुको नजरमा अलि क्रान्तिकारी, परिवर्तनकारी भनेर पनि चिनिन्छु । म अलिकति आलोचनाको पात्र पनि हुन सक्छु । भए पनि म कसैलाई केही भन्न चाहन्नँ । म कसैलाई दोषारोपण गर्न पनि चाहन्न । दोष मेरो हो भन्ने लाग्छ भन्नेहरुलाई भन्छु कि मैले यो विषयलाई समाजसँग जोडिनुपर्छ । यो विषयलाई भावि पुस्तालाई जोड्नुपर्छ त्यस्तै समसामयिकतामा ढाल्नुपर्छ भन्दा के गलत भने ? 

छुवाछूत अन्त्यका लागि गरिएको प्रयास होस् या बलि प्रथाको अन्त्यका लागि गरिएको प्रयास होस् या वेद र बुद्धलाई वैज्ञानिकरण गरेर विश्वसनीयता जगाउने कुरामा म पहिलेदेखि लागिरहेको छु । 
अरू गुरुहरूप्रति मेरो कुनै वितृष्णा, अपमान वा नकारात्मक भावना छैन, खालि एउटा अनुरोध छ हामीहरु रूपान्तरित हुनुपर्छ । लामा गुरुहरुसँग पनि मेरो यही अनुरोध छ । 

हामीहरुलाई भावि पुस्तालाई पश्चिमा दर्शनसँगै पूर्वीय दर्शन यो हो है भन्ने जिम्मेवारी छ । यदि हामीले त्यस्तो गरेनौँ भने इतिहासले हामीलाई धिक्कार्नेछ । 

तपाईं आफ्ना पिता नारायण पोखरेलज्यूलाई कसरी सम्झनु हुन्छ ?

पिताजी अध्यात्मवाद र भौतिकवादलाई समायोजन गरेर अघि बढ्नुपर्छ भनेर हिँड्ने प्रथम अभियन्ता हुनुहुन्थ्यो । 

उहाँले जहिले मसँग दुईटा कुरा गर्नुहुन्थ्यो । एउटा मलामी धेरै बनाउनुपर्छ भन्ने । तिम्रो वैयक्तिक उन्नतिभन्दा तिमीले समाजका लागि के गर्न सक्छौ भन्ने कुरामा ध्यान देऊ भन्ने । त्यही कारणले म अङ्ग्रेजी साहित्य पढेको मान्छे, यो विधामा लागेँ । 

दोस्रो कुरा, उहाँमा सधैँ हाम्रो दर्शनलाई समसामयिकतामा कसरी ढाल्ने भन्ने थियो । ‘छुवाछूत र रुढीवाद, हिन्दू धर्मलाई गम्भीर आघात’ भनेर वकालत गर्ने सुरुका धार्मिक व्यक्तित्वमध्ये उहाँ पनि हुनुहुन्थ्यो । 

सभ्रान्त व्यक्तिहरुको स्वामित्वमा रहेको निष्क्रिय पुँजीलाई सामाजिक यज्ञहरुको माध्यमबाट प्रफुल्लित तुल्याएर, स्वस्फूर्त रूपमा दान गर्न लगाएर सङ्कलन भएको रकम पण्डितले नलगेर स्कुल, कलेज, अस्पताल निर्माणको लागि लगाउने पहिलो धार्मिक व्यक्तिमध्य एक उहाँ हुनुहुन्थ्यो । 

उहाँ त एउटा समाजिक समृद्धिको आध्यात्मिक चिन्तक र समाज समृद्धिको एउटा द्योतक नै हो । उहाँलाई म यो ढङ्गबाट बुझ्छु । 

यदि उहाँ तपाईंको पिताश्री नहुनुभएको भए अथवा तपाईं उहाँको अभिभावकत्वमा हुर्कन नपाउनुभएको भए, आजको दिनबन्धु पोखरेल बन्न सम्भव थियो ?

मैले उहाँलाई नबुझेको भए एक हदसम्म सम्भव थिएन । यदि मैले उहाँलाई परैबाट देखेर बुझेको भए पनि म लाग्थे । उहाँलाई बुझेरै लागेको हो म । 

त्यो प्रेरणा मलाई उहाँबाट प्राप्त भएको हो । त्यो विरासतलाई कायम राख्नुपर्छ भनेर मलाई एक खालको जागृति पैदा भयो । 

अहिले तपाईंले श्रीमद्भागवत गरेर उठाउनु भएको रकमबाट धेरैवटा विद्यालयहरु सञ्चालनमा छन् । धेरैवटा अस्पताल बनेका छन् । ती ठाउँमा पुनः पुग्दा कस्तो महसुस हुँदोरहेछ ? 

अत्यन्त गर्व लाग्छ, मैले के प्राप्ति गरे भन्ने एकदम गौण कुरा हो । मलाई कति भक्तजनले प्रेम गरे, त्यो पनि गौण कुरा हो । म कति परिचित भएँ त्यो पनि गौण कुरा हो । 

म साँच्चै त्यो दिन खुसी हुन्छु, जब अथक प्रयास गरेर जनजनलाई जगाएर त्यसबाट उठेको पुँजीले समाजमा समृद्धि ल्याउँछ । 

त्यसैमा वेद र बुद्धलाई विश्वव्यापीकरण गर्ने उद्देश्य थपिएको छ, होइन ?

एकदमै । यसमा तपाईंहरु जस्ता सञ्चारकर्मीको साथले ठूलो अर्थ राख्छ । राज्यस्तरको मानसिकता बदल्न यसको ठूलो हात हुन्छ ।

 तपाईंसँग अन्तक्र्रिया गर्छु भनेर सुचित गर्दा केहीले ‘हिन्दू धर्म र राजतन्त्रको सम्बन्ध छ भनेर सोध्नु होला’, भनेका थिएँ, यसबारेमा के भन्नु हुन्छ ?

राजतन्त्र विशुद्ध राजनीतिक विषय भयो । यो राज्यस्तरबाट अथवा जनस्तरबाट अनुमोदन हुन्छ हुँदैन, त्यो जनताको कुरा भयो । तर राजतन्त्र हिन्दू धर्मसँग सम्बन्धित विषय होइन । 

म त आफूलाई हिन्दूभन्दा पनि वैदिक भन्छु । फारसी भाषामा ‘स’ उच्चारण नभएर ‘सप्ताह’लाई ‘हप्ताह’ भनेझैँ ‘सिन्धु’ ‘हिन्दू’ भएको हो त्यसले यसैको कुनै वास्तविक अर्थ छैन । हामी वैदिक हौँ । 
हामी अहिलेसम्म गलत व्याख्या गरिरहेका थियौं ? 

हो, हिन्दू भन्ने शब्दको इतिहास डेड–दुई सय पनि छैन । वेदमा हिन्दू भन्ने शब्द नै छैन । सिन्धु घाँटीको सभ्यतामा विकास हुँदै आएको भन्ने अर्थमा भन्न खोजिएको हो । सिन्धुलाई फारसीमा हिन्दू भनिन्थ्यो । त्यही नाम चल्तीमा आयो ।

वेद एउटा सनातनीय विचार धारा हो । यो अपौरुषीय हो । त्यो भनेको यसलाई कुनै व्यक्तिले रचना गरेको होइन । यो कुनै कालखण्डमा जोडिएको विषय होइन । यस्तो सनातनीय पद्धतिसँग जोडिएको कुरालाई कुनै देशको, क्षेत्रको अथवा राजनीतीकरण गरेर राजतन्त्रसँग जोड्नु वेदप्रतिको अपमान हो । 

राजतन्त्रको विषयमा मेरो भन्नु केही छैन । त्यो जनताले के गर्नुहुन्छ उहाँहरुको कुरा हो । त्यसको पक्ष विपक्षमा बोल्न म चाहन्नँ । तर वैदिक संस्थालाई एउटा विचारधारासँग, एउटा सस्थासँग जोड्ने ? यो त मानव निर्मित विषय होइन नि त । 

बुद्धत्व भनेको आकृति होइन, यो त सनातनीय परम्परा हो । वेद भनेको कुनै किताब होइन, यो त जीवन विज्ञान हो । अझ यी दुई ब्रह्माण्डीय नियम हुन् । यस्तो नियमलाई राजनीतिक संस्थासँग जोड्नु इतिहासप्रति अत्यन्त अन्याय हो । 

धर्मलाई राज्यसत्ताको चस्माले हेर्न हुँदैन भन्नुभएको हो ?
कुनै हालतमा पनि हुँदैन । त्यसलाई राजनीतीकरण गरियो भने ब्रह्माण्डीय नियमप्रतिको अन्याय हुन्छ । मानव जीवनप्रतिकै अन्याय हो । 

अघि पनि सोधेँ तपाईंले प्रष्ट रूपमा बताउनुभएन, धार्मिक निरपेक्षताप्रति तपाईंको रिजर्भेसन हो ?

एक दार्शनिकले ‘अध्यात्मविनाको राजनीति अपाङ्ग हुन्छ’ भनेका छन् ।

 

विश्वमा हरेक विषयको आत्मिक चेतना जागृति गर्ने कुरा वेद र बुद्धले गरेको छ । मैले कसैलाई अपमान गर्न खोजेको हैन तर तपाईंले कुरान र बाइबल पढ्नुस् अनि वेद र बुद्ध पढ्नुस्, तपाईंले फरक पाउनुहुनेछ । वास्तवमा यी दुई ब्रह्माण्डीय सत्य हुन् । 

वेद र बुद्धले मानवको कुनै झुण्डलाई मात्र लिएको छैन । त्यहाँ समग्र मानव सभ्यता, मानव जीवन पद्धति, प्राणी जगतसँग जोडिएको कुरा गरेको छ । 
त्यसैले त्यस्तो विषयलाई राज्यले उपेक्षा गर्नु हुदैन । म त के भन्छु भने यो देश ‘ओमकार सापेक्ष’ हुनुपर्छ । ओमलाई वेदले मान्छ । किराँतले पनि मान्छन् । बुद्ध दर्शन अवलम्बन गर्नेहरुले पनि मान्छन् । शिख र जैनले पनि मान्छन् । 

ओमको उत्पत्ति नेपालमा भएको हो । ओम भनेको परमाणुको विशेष व्याख्या हो । परमाणुमा इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन छ । ओमभन्दा अ, उ र म बन्दछ, बीचमा विन्दु छ । यस्तो ओमकार भूमिलाई हामीले त्यही गर्नुपर्छ । 
तर उहाँहरुको व्याख्या हेर्ने हो भने त कुनै व्यक्तिलाई धर्म मान्ने स्वतन्त्रता छ तर राज्य स्वयमको धर्म हुँदैन भन्ने छ । 

यसमा उहाँहरुमा अध्ययनको जरुरी देख्छु । मैले पनि विश्व विचारवाद पढेको छु । मैले अहिलेको उत्तर–आधुनिकवाद सिद्धान्तअन्तर्गतको विनिर्माणवाददेखि माक्र्सवादसम्म पढेको छु । माक्र्सवादको त म विद्यार्थी नै हुँ, द्वन्द्वात्मक भौतिकवादको ।

मैले बीए पढ्दा अङ्ग्रेजी साहित्यमा ‘कम्युनिस्ट घोषणापत्र’ पढ्नै पथ्र्यो । एमए पढ्दा त त्यसको व्यापक अध्ययन गरेको हुँ । माक्र्सको ‘पुँजी’ पुस्तक मैले स्वअध्ययन गरेको छु । बीपीको समाजवाद, मदन भण्डारीको विचार अलि अलि हेरेको छु । 

यी भौतिकतासँग जोडिएका विचारधारा हुन् । इतिहासको कुनै कालखण्डमा आउने विचारधारा हुन् । यी इतिहासको कुनै विन्दुमा वकालत हुन छाड्छन् । वेद र बुद्ध भनेका ब्रह्माण्डीय नियम हुन् । यिनलाई कुनै राज्यसँग, यो या त्यो विषयसँग जोड्नु नै यी विषयप्रति अन्याय हो जस्तो लाग्छ । 

एक लाख वर्षअघि पनि त्यो कुरा थियो । नेपालको संविधान ६–६ महिनामा परिवर्तन हुन्छ तर वेदले एक लाख वर्षअघि भनेको कुरा अहिलेसम्म कालजयी छ, स्वीकार्य छ भने यस्तो दर्शन अपरिपक्व होला त ? वेद र बुद्ध सास्वत सत्य हुन् । 

अन्तिममा एउटा शब्द भन्छु दिमागमा जे आउँछ त्यसलाई सकेसम्म नसोची फ्याट्ट भन्नु होला । 
हुन्छ । 
 

धर्म ?
धारण गर्ने विषय 

जीवन ?
एउटा उपहार ।
 

सङ्घर्ष ?
जीवनको पाटो ।
मृत्यु ?

शास्वत ।
 

पैसा ?
साधन ।

सुख ?
क्षणिक प्राप्ति ।

दुःख ?
त्यो पनि क्षणिक प्राप्ति नै हो । 

पशुपति ?
प्राणीको नायक ।

वेद ?
शास्वत सत्य ।

त्रिपिटक ?
जीवन विज्ञान ।

कुरान ?
जीवन जिउने पद्धति र धारण गर्ने विषय ।

गौतम बुद्ध ?
शुद्धताको प्रतीक ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ?
एक कालखण्डमा विचारधारा लिएर अघि बढ्ने पुरुष । अब उहाँलाई ‘युग पुरुष’ भनौँ कि एक विचारको द्वेतक भनौँ । उहाँप्रति मेरो सम्मान छ । 

नारायण पोखरेल ?
अघि नै भनेँ, उहाँ आध्यात्मिक, सामाजिक अभियन्ता हुन् ।

अब मन पर्ने कुरातिर जान्छु । पहिलोमा मन पर्ने खाने कुरा ?
मकै ।

मन पर्ने कपडा ?
कुर्ता सुरुवाल ।

मन पर्ने फिल्म ?
मैले फिल्म हेर्न छाडेको त धेरै भयो । मैले धेरै अगाडि ‘चिनो’ भन्ने फिल्म हेरेको थिएँ । सानोमा हेरेको त्यो फिल्म मन परेको थियो । 

मन पर्ने पुस्तक ?
श्रीमद्भागवत गीता

मन पर्ने नेपालको स्थान 
अन्यथा नलागोस्, म जन्मेको गोर्खाको बगुवा भन्ने ठाउँ । जन्मस्थल ।

मन पर्ने नेता
महात्मा गान्धी 

अन्त्यमा केही भन्नै पर्ने मन छ ?
त्यही हो, यहाँहरु सबैलाई वैशाख २३ देखि वैशाख ३० बीचमा नेपालमा हुन लागेको ऐतिहासिक ‘गीता ज्ञान महाअनुष्ठान’मा उपस्थित हुन र ज्ञान गङ्गामा डुबुल्की मार्न हार्दिक निमन्त्रणा गर्छु । 
अन्त्यमा यस रातोपाटी डट कम अत्यन्त लोकप्रिय अनलाइन मिडिया, जुन दिनमा एक पटक नहेर्दा मलाई के नपुगे नपुगे जस्तो हुन्छ, त्यस्तो मिडियाले आज मलाई आफ्नो विचार प्रकट गर्ने अवसर दियो । यसका लागि धेरै धेरै आभार व्यक्त गर्दछु । 


अन्तरवार्ता उतार : श्रवण उप्रेती

कमेन्ट

  1. April 11, 2019, 10:26 a.m. pravin bhattarai
    वाचन शिरोमणी परम आदरिण दिनबन्धु पोखरेल ज्यूको धारणाबाट असाध्यै प्रभावित भएँ । यो अभियानलाई हामी संपूर्ण नेपालीजनले साझा अभियानको रुपमा अगाडी बढाउन सक्यौं भने अवश्य नै नेपालको आफ्नै मौलिक पहिचान सहितको समृद नेपाल निर्माणमा कोशेढुङ्गा सावित हुन्छ । यसमा मेलै मेरो स्तरबाट गर्न सक्ने प्रयास निरन्तर गर्ने प्रतिवद्दता समेत व्यक्त गर्न चाहन्छु । जय होस् हामी सबै नेपालीजनको....................
  2.  0 Reply
  3. April 11, 2019, 2:57 a.m. rohan gurung
    bhanepachi sabai baigynik le you thagi dhanda lai gayera puja garna parne? agyanata hunu kamjori hoina tara aganata lai thagera khane yi paji pandit thag hun; yin lai 21sst century ma thagne thau narakhau hai patrakar ji; asta ko interview bhanda baigyanik/prabhidi sambandi lekh rakhau; asta lai samajik bahiskar garau
  4.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...