केन्द्रीय संस्करण

भारतको निर्वाचन र कन्हैया कुमार

person explore access_timeचैत २५, २०७५ chat_bubble_outline1
सौगात पोखरेल

रातोपाटी

भारतमा प्रतिवर्ष सयौँ किसानले आत्महत्या गरिरहेका हुन्छन् । धाँजा फाटे जसरी खुट्टा फुटेका किसानको छोरो डिग्री हाँसिल गर्न जेएनयू छिर्छ । जल्दोबल्दो मुद्दामाथि सत्तालाई प्रश्न गर्छ । ती प्रश्नहरू उसको मात्र प्रश्न हुँदैनन् । कन्हैयाँ कुमारको प्रश्न जेएनयू पढ्न छिरेकामध्ये धेरैका र देशभरी हेपिएका, चेपिएका र दबिएकाहरूको प्रश्न बन्न पुग्छ ।

विद्यार्थीहरूले जब सत्तामाथि प्रश्न गर्छन् तब मोदी सत्ता आत्तिएर कन्हैयामाथि दमन गर्न थाल्छ  । फलस्वरूप ऊ त्यहाँको स्ववियु सभापति बन्छ, विद्यार्थीहरूको नेता बन्छ । झन् चर्को चर्को स्वरमा सत्ताको शोषणविरुद्ध आवाज उठाउँछ । जतिजति ऊ सत्तामाथि प्रश्न गर्छ ? त्यतित्यति ऊमाथि मोदी सरकार निर्मम बन्छ । उनको आवाजलाई प्रतिबन्ध लगाउन कन्हैया कुमारलाई राजद्रोहको मुद्दा लगाइन्छ । क्षमतावान मान्छेको क्षमतालाई बन्ध्याकरण गर्न सकिँदैन भन्ने कुरा उनले तिहार जेलबाट निस्कँदा सावित गरेर छाडे ।  उनी जेलमा आफूले गरेको कामको पश्चताप मात्र गरेर बसेनन् । बरु आत्म कथा ‘बिहार से तिहार तक’ भन्ने किताब लेख्न सफल भए । जुन पुस्तक भारतको युवा पुस्तामा अत्यधिक चर्चित रहेको छ । 

त्यही किसानको छोरोलाई फेरि मोदी  सरकारले राजद्रोहको मुद्दा लगाउन कम्मर कसेर लाग्यो । तर दिल्ली सरकारले चार सिट दर्ता गर्न मानेन अनि मोदी सरकार चक्मा खाएर बस्यो । कन्हैयाँ कुमार भन्थे– ‘मोदी सरकारको विरोध गर्नु देशको विरोध गर्नु होइन ।’

यो सँगसँगै कन्हैया कुमार, हार्दिक पटेल र जिग्नेसहरूसँगै मिलेर लोकतन्त्र बचाउ अभियानको थालनी गरे । उनी जेलबाट निस्किएपछि भारतीय सञ्चार माध्यमको सबैभन्दा खोजीको पात्र बनेका थिए । उनीमाथि रचिएका हरेक चालहरूको प्रतिरोध गर्दै उनी लोकसभा निर्वाचनमा बिहारको बेगुसराय आइपुगेका छन् । उनी भन्छन्– ‘जेएनयू डिग्री लिन गएको एक किसानको बेटालाई मोदी सरकारले नेता बनाएर फर्काइदिएको छ । त्यसका लागि मोदी सरकारलाई धन्यवाद ।’

कन्हैयाँ कुमारको उम्मेदवारी चयनसँगै यतिबेला भारतीय सञ्चारमाध्यममा बिहार, बेगुसराय र कन्हैयाँ चर्चाको शिखरमा रहेका छन् । उनी बेगुसरायमा उम्मेदवार बन्ने कुराले त्यहाँका धेरै पुराना नेतालाई जाबो फुच्चे केटाले किन रमाइलो गरिरहेको छ भन्ने कुरा लागेको थियो ।

तर जब कन्हैयाँ बिहारका बस्तीबस्तीमा पुगे तब उनका पछिपछि दगुर्ने हुल देखेर फुच्चे केटासँग कपाल फुलेका अङ्कलहरू तर्सन लागे । अनि फेरि उनीहरू विश्लेषणको अर्को रमाइलोमा लागे र भन्न थाले– ‘विहारमा पैसाविना चुनाव जित्न कहाँ सकिन्छ ? यहाँका ठूला भनिएका बिजनेसम्यान त हाम्रो पक्षमा छन् ।’

जब कन्हैयाँ कुमारले निर्वाचन आचारसंहिता नमिचिने गरी क्राउड फन्ड सङ्कलनमा लागे अनि एकै दिनमा तीस लाखभन्दा बढी सङ्कलन भएपछि उनीहरूले अर्को चक्मा खाए । फन्डमा जम्मा भएको रकममध्ये सय रुपैयाँ सहयोग गर्नेहरू ७० प्रतिशत सङ्ख्यामा थिए ।

उनको अभियानसँग डराएर उनको खाता ह्याक गर्ने अभियान चलेको कुरा पनि स्पष्ट छ । उनले निर्वाचनमा  आवश्यक पर्ने खर्च जुटाएपछि फेरि उनलाई एक्स्पायर्ड कम्युनिस्ट पार्टीलाई कसले मत दिन्छ भन्ने हनुमानी अनुमान सुरु गरियो ।

जब गुजरातबाट विधायक जिग्नेस कन्हैयाँको चुनाव प्रचारमा आए अनि हनुमानका अनुमानहरूले फेल खायो । उनलाई चुनाव जिताउन जिग्नेस मात्र आएनन्  बरु भारतीय युवा पुस्ताका चर्चित युवा नेताहरू हार्दिक पटेल, शैला रसिदहरूले खुलेआम कन्हैयाँको पक्षमा क्याम्पेन गरे । आम आदमी पार्टीका अरबिन्द केजरिवाले कन्हैयाँको पक्षामा खुलेर सामाजिक सञ्जालमा मत मागे । 

अनि बीजेपी र मोदीको पसिना छुट्यो । चुनावी प्रचार अभियानमा उनीप्रतिको आकर्षण र निषेध नै निषेधका बाबजुत पनि जनस्तरमा देखिएको उनीप्रतिको विश्वासको कारण उनि भारतकै चर्चित उम्मेदवार बन्न पुगेका छन् । धेरै समयको अन्तरालमा बेगुसरायले भूमिपुत्रलाई उम्मेदवारको रूपमा पाएको छ । उनको क्षमतासँग डराएर उनका चुनावी कार्यक्रमहरू अवरोध गर्न थालिएका समाचारहरू सञ्चार माध्यममा सुनिएका छन् ।

एक भारतीय राजनीतिक विश्लेषक भन्छन– ‘जब कन्हैयाँको चुनावी कार्यक्रमलाई विथोल्न थालियो अनि बल्ल मलाई पनि विश्वास भयो उनी बेगुसराय विधान सभाका बलिया प्रतिस्पर्धी रहेछन् ।’
भारतको निर्वाचनमा यतिबेला बेगुसरायले थुप्रै नयाँ सन्देसहरू दिएको छ । जसरी हिजोको दिनमा मान्छेहरूले बेगुसराय चिन्दैनथे । आज बेगुसराय चर्चाको शिखरमा छ । जसरी माओवादीको पालुङटार बैठकपछि पालुङटारको चर्चा देशभरी चुलिएको थियो । चुनावका नाममा व्यापारीसँग चन्दाअसुली गर्ने र पछि व्यापारी पोस्न लाग्ने नेताविरुद्ध उनी जनताको पैसामा निर्वाचन खर्च गरिरहेका छन् । यसले व्यापारीप्रति भन्दा जनताप्रति उत्तरदायी नेतृत्वको विकास गर्नेछ ।

आजसम्म भारतको राजनीतिमा गठबन्धन बाहकेका पार्र्टीका उम्मेदवारहरूले अर्को उम्मेदवारलाई भोट माग्दै हिँडेको देखिएको थिएन । अहिले जिग्नेस, शैला, हार्दिकहरू कन्हैयाँ कुमारको पक्षमा खुलेर क्याम्पेन गरिरहेका छन् ।

कन्हैयाँ कुमार मतदातासँग भन्छन्– ‘नेताप्रति विश्वास मात्र होइन प्रश्न पनि गर्नुस्, ताकि नेताले तपाईंको प्रश्नदेखि डराएर कुनै गल्ती गर्ने हिम्मत नगरुन् ।’ उनी थप्छन्– ‘आज प्रश्न गर्न डराउनेले भोलि उत्तर दिने हैसियत राख्दैनन् ।’ उनी जब मञ्चमा उक्लिएर भाषण गर्न थाल्छन््, जनताहरू भुइँमा बसेर आजादीका नारा लगाउँछन् । भारतको निर्वाचनमा कन्हैयाँको उम्मेदवारीले गरिब किसानहरूले भोट मात्र हाल्दैन बरु आफ्नो मुक्तिका लागि भोट पनि माग्छन् भन्ने सन्देश दिएको छ ।  
 

कमेन्ट

  1. April 15, 2019, 5:37 p.m. chandra g.c.
    कन्हैया विजयी भव:
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...