शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाठेघरको मुखको क्यान्सर लाग्नबाट यसरी बच्न सकिन्छ

शनिबार, २३ चैत २०७५, १२ : ०६
शनिबार, २३ चैत २०७५

काठमाडौँ । नसर्ने रोगमध्ये महिलामा देखिने पाठेघरको मुखको क्यान्सर पनि अग्रस्थानमा रहेको छ । पाठेघरको मुखको क्यान्सर भनेको उक्त अंगमा अनियन्त्रित कोषिकाहरुको वृद्धि हुनु हो । 

कसरी हुन्छ ? 
पाठेघरको मुखको क्यान्सर यही कारणले हुन्छ भनेर किटान नभए पनि एक प्रकारको भाइरल संक्रमण यसको मुख्य कारण तत्व मानिन्छ । ह्युमन पापिलो नामको किटाणुका केही प्रजाति यसको प्रमुख कारण हुन् । 

यसैगरी शारीरिक सरसफाइमा ध्यान नदिनाले, धेरै जनासँग शारीरिक सम्पर्कमा राख्नाले पाठेघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ । पाठेघरको मुखमा बारम्बार संक्रमण हुने महिलाहरुलाई यस किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्दछ र त्यसलाई अनियन्त्रित तवरले बढ्न मद्यत पु¥याउँछ । 

जोखिमका कारणहरु 

—परिवारमा कसैलाई पाठेघरको मुखको क्यान्सर भएको (वंशानुगत)

—प्रजनन् सक्षम कुनै पनि उमेरका महिलालाई यो रोग लाग्न सक्दछ । विशेषगरी ३० वर्षदेखि ६० वर्ष उमेरका महिला जसको विवाह भएको अथवा शारिरीक सम्पर्क भएको महिलामा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ । 

— सानै उमेरमा विवाह भएको र धेरै सन्तान जन्माएको महिलालाई यो रोग लाग्ने सम्भावना हुन्छ ।

—यौन व्यवसाय गर्ने महिलामा पनि यो रोग लाग्न सक्ने सम्भावना हुन्छ । 
लक्षणहरु 
पाठेघरको क्यान्सर सबै व्यक्तिमा एउटै लक्षण हुन्छ भन्ने हुँदैन । व्यक्ति अनुसार फरक —फरक लक्षण हुन सक्दछ । 

—सुरुवातमा धेरै गन्हाउने पानी बग्ने, र पानीसँगै रगत मिसिएको हुनसक्छ । सँगसँगै पटकपटक इन्फेक्सन भइराख्ने पनि हुनसक्छ ।

— महिनावारी नभएको बेलामा पनि रगत देखापर्ने पाठेघरको मुखको क्यान्सरको लक्षण हो । 

— महिनवारी बन्द भइसकेको महिलामा फेरि रगत देखा परेमा पाठेघरको मुखको क्यान्सर भएको होकी भन्ने शंका पनि गर्न सकिन्छ । 

— क्यान्सर धेरै फैलिसकेको अवस्थामा भने खुट्टा सुन्निने, ढाड तथा कम्मर दुख्ने हुन्छ । साथै दिसा पिसाबमा पनि समस्या देखा पर्न सक्छ ।
रोकथाम 
पाठेघरको मुखको क्यान्सरका रोगथामको लागि समय—समयमा आईभिएफ परीक्षण गर्नुपर्छ । गर्भाशय श्राव परीक्षण गर्दा गर्भाशयको क्यान्सर शुरुमै पहिचान गरेर उपचार गर्न सकिन्छ । 
— सन्तुलित भोजन  (फलफूल, हरियो सागसब्जी प्रशस्त मात्रामा खाने । 

— दैनिक शारीरिक क्रियाकलाप गर्ने, सानो उमेरमा विवाह नगर्ने र धेरै सन्तान नजन्माउने ।

—हेपाटाइटीस बी विरुद्धको खोप लगाउने र ह्युमन प्यापिलोमा भाइरस खोप लगाउनाले पनि पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिन्छ ।

–गन्हाउने पानी बग्ने, महिनावारी अनियमित हुने, महिनावारी बन्द भइसकेको महिलाहरुमा पुनः रगत देखा पर्ने, यौन सम्पर्क पछि रगत देखा पर्ने जस्ता लक्षण देखा परेमा परीक्षण गर्नु जरुरी हुन्छ ।  

 (यो सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्ने रोगसम्बन्धी पुस्तिकाबाट साभार गरिएको हो)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप