शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हेल्थ केयर सेन्टरको चरम लापरवाहीका कारण महतोको मृत्यु

शुक्रबार, २२ चैत २०७५, १४ : ०४
शुक्रबार, २२ चैत २०७५

सिरहा– सिरहाको मिर्चैयास्थित मंगलम् हेल्थ केयरको चरम लापरवाहीको कारण एक व्यक्तिको मृत्यु भएको छ । हेल्थ केयरको लापर्वाहीका कारण सिरहा मिर्चैया ९ का ५० वर्षीय शिवजी महतोको मृत्यु भएको हो ।
विष सेवन गरेर  हतारमा उपचार गर्न हेल्थ केयर सेन्टर पुगेका महतोको उपचारमा कमी भइरहेको महसुस हुन थालेपछि थप उपचारको लागि अन्यत्र लैजान हेल्थ केयरका चिकित्सक शम्भु साहलाई बारम्बार अनुरोध गर्दा समेत डिस्चार्ज गर्न नमानेको परिवारजनको आरोप छ ।

लामो समयसम्म उपचार गर्दा पनि बिरामीमा सुधार नआएप्छि हामीले रिफर गर्न भनेपनि हेल्थ सेन्टरले नमानेको मृतकका भतिजा गंगा महतोले जानकारी दिए । उनले भने, ‘हामीले प्राथमिक उपचारको लागि यहाँ ल्याएका थियौं, –अस्पतालले हामी नै ठिक पारिहाल्छौं भनेर राख्यो तर उहाँहरुले मेरो काकालाई मारेरै छाडे ।’

हेल्थ केयरले आफ्नो अधिकार क्षेत्र नाघेर हप्तौं भर्ना गराउँदा महतोको मृत्यु भएको उनका आफन्तको दाबी छ । प्राथमिक उपचार गर्ने कानुनी व्यवस्था भएपनि कानुनी प्रावधानअनुसार हेल्थ केयर सेन्टरले तत्काल उपचार सम्भव नभए बढीमा ३ घण्टा राखेर अन्यत्र रिफर गर्नुपर्ने हुन्छ । तर हेल्थ केयर सेन्टरले भने पैसाको लोभमा कानुनी प्रावधानलाई नै उलंघन गर्दै महतोलाई हप्तौं राख्दा ज्यान गएको परिवारको दाबी छ ।

जिल्ला जनस्वास्थय कार्यालय सिरहाले हेल्थ केयर सेन्टरले प्राथमिक उपचार गर्न पाउने अधिकार भएको तर, पैसाको प्रलोभनमा हप्तौं राखेर पैसा कमाउने नियतले महतोलाई राखेको जनाएको छ । जनस्वास्थय कार्यालयले बेला–बेलामा अनुगमन गरेर नियम पालना गराउने कोशिस गरेको भए पनि कार्यान्वयन हुन नसकेको बताएको छ ।

यसअघि गैरकानुनी रुपमा सञ्चालन भइरहेको मंगलम् अस्पतालमाथि जिल्ला अस्पताल सिरहाले प्रतिबन्ध लगाएपछि मंगलम् पोलि क्लिनिकका नाममा काम गरिरहेको पाइएको छ । पोलिक्लिनिकले विरामीलाई राखेर उपचार गर्ने कानुनी मान्यता नरहेको सिरहा जिल्ला अस्पतालका प्रशासन अधिकृत उमेश कर्णले बताए ।

सिरहामा यस्ता ९२ वटा पोलिक्लिनिक र अस्पतालहरु छन्, जो दिनदहाडै सर्वसाधारणलाई उपचारको नाममा लुट मच्चाइरहेका छन् । नियमकारी निकायले यस्ता पोलिक्लिनिक र अस्पतालहरुलाई कानुनी दायरामा नल्याए सर्वसाधारणहरुले यसरी नै आफन्त गुमाइरहने र ठगिरहने स्थानीयको गुनासो छ ।

हेल्थ केयर सेन्टरमा घटनापछि पीडित परिवार, पोलिक्लिनिकका सञ्चालक, प्रहरीबीच सहमति भएपछि घटना सामसुम भएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालसँग यस घटनबारे बुझ्न खोज्दा यस विषयमा केही बोल्न नमिल्ने बताए । उनी जिल्लामा बुझ्नुहोला भन्दै पन्छिएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधवराज खरेलसँग घटनाबारे जानकारी माग्दा यस विषयमा आफूलाई कुनै जानकारीनै नभएको बताए ।

यता प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले घटनाको विषयमा खोजविन गर्न निर्देशन दिइसकेको बताए । उनले भने, ‘अस्पतालले कानुनअनुसार गरेको छ छैन, बुझेर कानून विपरित भए उनलाई कानुनी दायरामा ल्याउँछौं ।’
 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप