शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्तरीय शिक्षासँगै तीन वर्षमा तीन गुणा बढी विद्यार्थी

बिहीबार, २१ चैत २०७५, १४ : ५१
बिहीबार, २१ चैत २०७५

–वासुदेव पौडेल

पोखरा– अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेका अवस्थामा पोखरा महानगरपालिका–१३ आर्वास्थित रतन पाण्डे माध्यमिक विद्यालयले भने गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी अभिभावकको मन जित्दै गएको छ ।

विद्यालयमा अङ्ग्रेजी माध्यमको पढाइका साथै आवश्यक भौतिक पूर्वाधार समेतको उचित व्यवस्थापनका कारण विद्यालयप्रतिको आकर्षण बढ्दै गएको हो । विद्यार्थी सङ्ख्या घट्दै जानथाले पछि शैक्षिक वर्ष २०७४ मा जम्मा ८२ विद्यार्थी रहेको विद्यालयमा गुणस्तरीयता अभिवृद्धि, अङ्ग्रेजी माध्यमलगायतका कारणबाट २०७५ मा उक्त सङ्ख्या बढेर १८० पुगेको थियो । विद्यालयमा यस वर्ष थप १०० विद्यार्थी थप्ने लक्ष्य राखिएको प्रधानाध्यापक डिल्लीराम बरालले जानकारी दिए ।

‘विद्यालयमा शिक्षाको गुणस्तरीयता वृद्धिका साथै भौतिक पूर्वाधार निर्माण समेतलाई जोड दिएका छौँ,’ उनले भने, ‘विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठनका साथै कम्प्युटर विषयको कक्षा सञ्चालन गरिएको छ ।’ विद्यालयबाट अघिल्लो वर्ष सम्पूर्ण विद्यार्थीलाई निःशुल्क विद्यार्थी पोशाक वितरण गरिएको र यस वर्ष पनि पोशाक प्रदान गर्ने लक्ष्य राखिएको छ ।

विद्यालयमा भारत सरकारको सहयोगमा निर्मित २४ कोठे पक्की भवनका साथै पुस्तकालय, नेट इन्टरनेटको सुविधासहितको कम्प्युटर ल्याब, विज्ञान प्रयोगशालाका साथै अध्यापनका लागि प्रोजेक्टरको व्यवस्था गरिएको छ ।

विद्यालयले बाल विकास कक्षाका विद्यार्थीलाई लक्षित गरी निःशुल्क खाजाको व्यवस्थासमेत गरेको जानकारी दिँदै उहाँले गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएको बर्ताए । विद्यार्थीको सुविधालाई लक्षित गरी यसै वर्षदेखि विद्यालयमा बसको व्यवस्था गरिएको छ ।

‘पोखरा बजारबाट जम्मा ६ किमी दूरीमा विद्यालय रहेकाले बजारमा आर्थिक अभावका कारण पढ्नबाट वञ्चित विद्यार्थीलाई समेत पढ्ने अवसर प्रदान गर्ने हाम्रो लक्ष्य छ’, उनले भने, ‘आवासीय रुपमा नै पढ्न चाहने विद्यार्थीका लागि विद्यालयमा छात्रावास सञ्चालन गर्ने दीर्घकालीन योजना छ ।’ विद्यालयका विद्यार्थी समाजका विभिन्न स्थानमा उच्च ओहोदामा पुगिसकेका छन् ।
    
राजनीतिक क्षेत्रमा पूर्वसभामुख तारानाथ रानाभाटदेखि प्रशासकीय निकायका उच्च ओहोदामा विद्यालयका विद्यार्थी पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराज बरालले जानकारी दिए ।
    
स्थानीयवासीका अनुसार यस क्षेत्रकै पुरानो विद्यालय भएका कारण तत्कालिन समयमा आर्वाका साथै मौजा, विजयपुर, कालिकास्थान, लंकाथर काभ्रे, कन्दानीडाँडालगायतका स्थानबाट विद्यार्थी पढ्न आउने गर्दथे । ‘पछिल्ला वर्षमा ठाउँ ठाउँमा अन्य विद्यालयसमेत सञ्चालनमा आउनुका साथै गाउँमा मानिसको बसाइँसराइले पनि विद्यार्थी सङ्ख्या घट्दै गएको हो’, उनले भने, ‘अङ्ग्रेजी माध्यमप्रतिको अभिभावकको इच्छाका साथै पूर्वाधारसहितको गुणस्तरीय शिक्षामा जोड दिन थालेसँगै पुनःविद्यार्थी तथा अभिभावकको मन जित्दै गएका छौँ ।’
    
विद्यालयमा विद्यार्थी तथा अभिावकको आकर्षण बढ्दै गएको बताउँदै अध्यक्ष बरालले विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गरिने लक्ष्य राखिएको बताए । आर्वा र यस आसपासको शैक्षिक उन्नयनमा विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
    
अध्यक्ष बरालका अनुसार आर्वाली जनताका इष्ट देवताका रुपमा पूजा हुँदै आएका रतन पाण्डेको नाममा २०१४ सालमा विद्यालय स्थापना गरिएको हो । विद्यालयको ४२ रोपनी जग्गा रहेको छ । अर्वा गाउँको शिरानमा रतन पाण्डेको थान रहेको र स्थानीयवासीले प्रत्येक वर्ष वर्षात् शुरु हुनुअघि र धान थन्क्याउनु अघि धुमधामका साथ रतन पाण्डेको पूजाआजा गर्ने गरेका छन् । 
    
विद्यालयमा माध्यमिक तहमा तीन वटा राहत दरबन्दी मात्र छ भने प्राथमिक तहमा तीन, निम्नमाध्यमिक तहमा चार, बालविकासमा दुई जना र कर्मचारी एक जना छन् । अन्य निजी स्रोतबाट समेत गरी १९ शिक्षक तथा कर्मचारी रहेको प्रधानाध्यापक बरालले जानकारी दिए ।

स्थानीयवासीका महत्वपूर्ण सहयोगका बलमा विद्यालय सञ्चालन भइरहेको बताउँदै उनले गुणस्तरीय शिक्षाका साथै पूर्वाधार विकासमा निरन्तर सहयोग प्राप्त भएको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप