शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बारा–पर्सा आँधी : करोडौँ घोषणा, मुख्यमन्त्री राहतकोषमा १३ लाख मात्रै !

आफुखुसी राहत वितरण, एकद्वार प्रणालीको खोजी
बिहीबार, २१ चैत २०७५, १२ : ३५
बिहीबार, २१ चैत २०७५

२ नम्बर प्रदेशको बारा र पर्सामा आएको विनाशकारी आँधीपछि आफुखुसी राहत वितरण हुन थालेपछि त्यसलाई व्यवस्थित बनाउन प्रदेश सरकारले तत्परता देखाएको छ ।

घटनापछि केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायका जनप्रतिनिधिले आ–आफ्नो किसिमले पीडितहरुलाई राहत वितरणदेखि घर निर्माण गर्नेसम्मका घोषणा गरेका थिए ।

जसले गर्दा विनाशकारी आँधी प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, महागढी माई नगरपालिका लगायतका स्थानमा अव्यवस्थित ढंगले राहत वितरण गरिएको भन्दै पीडितहरुले गुनासो गरेका थिए ।

केन्द्र, प्रदेश र स्थानीय तीनवटै निकायवीच समन्वय र सहकार्य अनुरुप अघि बढ्ने सहमति पछि एकद्वार प्रणाली अनुसार राहत वितरण तथा वासस्थान निर्माण गर्ने तयारी भएको प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए ।

विनाशकारी आँधी आएको क्षेत्रमा मनमौजी तरिकाले वितरण हुँदै आएका राहतका विभिन्न सामग्रीहरुलाई एकद्वार प्रणाली अनुसार वितरण भएमा हरेक पीडित परिवारले राहत सामग्री पाउने भएकाले यसलाई व्यवस्थित गर्न लागिएको मन्त्री यादवले जनाए ।

राहत वितरण कार्य अव्यवस्थित भएको भन्दै यसलाई प्रभावकारी बनाउन र विपद् पीडितको जिविकोपार्जनको लागि सहज बनाउन नियमित अनुगमनका लागि प्रदेश सरकारले गठन गरेको राहत तथा उद्धार व्यवस्थापन उच्चस्तरीय समितिका सदस्यहरु राज्यमन्त्रीत्रय सुरेश मण्डल, डिम्पल झा र अभिराम शर्मा सम्मिलित समितिको टोली घटनास्थलमा खटिएको छ ।

राहत तथा उद्धार व्यवस्थापन उच्चस्तरीय समितिको अध्यक्ष समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले ४ महिना भित्रमा प्रिफाबको घर निर्माण कार्य तत्कालै थालनी हुने बताए । त्यसका लागि प्रदेश सभाबाट समेत ४ कोठाका  १ हजार ४० घर निर्माण गर्न नक्सा तथा डिजाईन तयार भईसकेको छ । तीनै तहको समन्वयमा ४ महिनाभित्रै ति घरहरु सेनाको सहयोगमा निर्माण गरिने मन्त्री यादवले बताए ।

करोडौँ घोषणा, राहतकोषमा १३ लाख मात्रै !

चैत १८ गतेदेखि चालु अवस्थामा रहेको मुख्यमन्त्री राहतकोषमा हालसम्म १३ लाख २५ हजार २ सय ७८ रुपैयाँ मात्रै जम्मा भएको छ । चैत १८ गते देखि चालु भएको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १२२०५०३०००००० मा सो दिन १ लाख १० हजार ६ सय ६२ रुपैयाँ, १९ गते ४ लाख ५ हजार ६ सय ६८ रुपैयाँ र २० गते ८ लाख १९ हजार रुपैयाँ जम्मा भएको मन्त्री यादवले जनाए । उनले राहत सामग्रीदेखि नगद सहयोग गर्नेहरुलाई मुख्यमन्त्री राहत कोषमै जम्मा गर्न आग्रह गरे । उनले कसैले नगद रकम जम्मा गर्ने चाहे वा ईच्छुक रहे सिधै खातामा वा घटनास्थल क्षेत्रमा स्थापना भएको हेल्पडेस्कमा रकम जम्मा गर्न सकिने बताए ।

केन्द्र सरकार तथा पार्टीले गरेको सहयोग घोषणा

विनाशकारी आँधी आएको बारा–पर्सा क्षेत्रमा पुगेर नेकपा, नेपाली काँग्रेस र विभिन्न दलका नेताहरुले पीडित परिवारहरुका लागि राहत स्वरुप रकम प्रदान गर्ने घोषणा गरेका छन् । सो रकमहरु समेत एकद्वार प्रणाली मार्फत हेल्पडेस्कबाट तथा प्रदेश सरकार स्वयम्ले वितरण गर्ने मन्त्री यादवको भनाई छ ।

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले प्रत्येक मृतक परिवारलाई ५ लाख रुपैयाँ, काँग्रेसका सभापति शेरबहादुर देउवाले २५ लाख रुपैयाँ, काँग्रेस उपसभापति विमलेन्द्र निधीले १० लाख रुपैयाँ, सुदुरपश्चिम सरकारले १ करोड र प्रदेश नम्बर ३ सरकारले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । त्यस्तै केन्द्र सरकारले समेत पीडित परिवारलाई पुनर्वासका लागि घर निर्माण गर्ने घोषणा गरेको छ ।

संघीय सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित परिवारलाई पुनर्वासको लागि घर निर्माण कार्यक्रम, घाईतेको उपचार तथा मृतकलाई क्षतीपूर्ती दिने घोषणा गरेको भोलीपल्ट प्रदेश २ सरकारले पनि प्रदेश सभाबाट १ हजार ४० जनाको क्षती भएको घर निर्माण गर्ने घोषणा गरेको थियो । यस्तो घोषणापछि केन्द्र र प्रदेश सरकारमा समन्वयको अभाव खड्किएको भन्दै प्रधानमन्त्री र मुख्यमन्त्री लालबाबु राउतबीच कुराकानी भएको मन्त्री यादवले बताए ।

उनका अनुसार केन्द्र सरकार र प्रदेश सरकारले समन्वय गरी स्थानीय जनप्रतिनिधिसँग समेत समन्वय गरिने र सोहिअनुसार एकद्वार प्रणाली मार्फत काम अघि बढ्ने छ ।

क्रिया खर्च अभाव भएको गुनासो

संघीय सरकार र प्रदेश २ सरकारले राहत तथा सहयोगको घोषणा गरेपनि पीडितहरुले क्रिया खर्च अभाव भएको भन्दै जोहो गरिदिनका लागि आग्रह गरेका छन् ।

विनाशकारी आँधीका कारण पीडामय जीवनयापन गरिरहेका बाराका प्रभावितहरुका लागि आज विहानै देखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठुलै काममा लागि परेका छन् ।

घरबारबिहीन भइसकेका प्रभावितहरुलाई चर्को घाममा ओत लाग्न सम्म ठाउँ समेत नरहेको अवस्थामा नेपाली सेनाले विहानै देखि दर्जनौँ अस्थायी टेन्टको घर निर्माणमा व्यस्त देखिए । नेपाली सेनाका टोली दिनरात खटेर प्रभावितहरुलाई बास बस्न टेन्ट लगाइ दिएको छ ।

भत्केको घर अगाडी सेनाले बासस्थलमा टेन्ट लगाइ दिएपछि आँधीको बेदना भोग्दै आइरहेका प्रभावितहरुले केहि हदसम्म राहत पाएका छन् ।

नेपाली सेनाले अस्थायी बासको व्यवस्था गरिदिएको छ भने सशस्त्र प्रहरी राहत वितरणमा विभिन्न स्थानमा भएको क्षती क्षेत्रमा पुगेर रातह वितरण गर्ने तथा व्यवस्थापन गर्ने तर्फ सक्रिय छ । त्यस्तै नेपाल प्रहरीले स्वास्थ्य शिविर सञ्चालन गरी सैयौँ विरामीलाई उपचार गरिरहेका छ ।

राहत सामग्रीको ओइरो

बारा–पर्सामा आएको विनाशकारी आँधी प्रभावित क्षेत्रमा सयौं घरबार विस्थापित भएपछि राहत सामाग्री लिएर आउनेहरुको ओइरो नै लागेको छ  । पीडितहरुलाई सहयोग गर्ने उद्देश्यले विभित्र जिल्लाबाट राहत सामाग्री बोकेर घटनास्थल आउनेहरुको क्रम जारी नै छ ।

फेटा गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष जयप्रकाश दासले राहत सामग्रीको समस्या नरहेको बताए । उनले भने–हिजोसम्म राहत सामग्री वितरण गर्नेहरुले के कसो गरे थाहा नभएपछि अस्तव्यस्तता थियो, तर आज देखि यस वडामा कसले के गर्दैछन् सबैको कामको संकलन गरेर मात्रै राहत वितरण लगायतका कामहरु हुन थालेपछि व्यवस्थित भएको हो ।

गाउँपालिकाका साथै विभिन्न संघसंस्थाहरुले खाद्यान्न, लत्ताकपडा, खानेपानी जस्ता सामाग्री सहयोग गरेको बताउँदै वडाअध्यक्ष दासले प्रभावितहरुको पुनःस्थापना नै मुख्य चुनौती रहेको बताए ।

विनाशकारी आँधी आएसंगै त्यसको विहानपल्टदेखि सीमावर्ती क्षेत्र भारत विहार प्रान्तको पूर्वी चम्पारण गाउँ लगायत विभिन्न स्थलहरुबाट पनि राहत सामग्रीहरु आईरहेको छ । अहिलेसम्म जनकपुर, वीरगंज, हेटौडा लगायत विभिन्न स्थलहरुबाट भारी मात्रामा खाद्यान्न तथा लत्ताकपडा सामग्रीहरु वितरण भईरहेको छ । राहत सामग्रीको ओइरोले गर्दा यस क्षेत्रमा मेला नै लागेको छ ।

शौचको समस्या

विनाशकारी आँधीले घर नै भत्काएपछि यससंगै शौचालयको पनि निकै समस्या भएको छ । शौचालय नहुँदा विभिन्न रोगहरु फैलिने भन्दै वडाध्यक्ष दासले गुनासो गरे ।

विनाशकारी आँधीबाट फेटा गाउँपालिकाको भलुही, भरवलिया, पुरैनिया, प्रसौनी गाउँपालिकाको चैनपुर, कलैया उपमहानगरपालिकाको धर्मनगर, शीतलपुर, देवताल गाउँपालिकाको रमपुरवा, महागढी माई नगरपालिकाको तेलागाईं, स्वर्ण गाउँपालिकाको परशुरामपुर र हर्दिया लगायतका गाउँहरु प्रभावित भएको छ ।

पीडितको समस्या

विनाशकारी आँधीको कारणले पीडितहरुको बेदना बारा–पर्सामा सहजै देख्न सकिन्छ । आइतबार साँझ केहि मिनेटको आँधीका कारण बारामा सयौं घरबार विस्थापित भइसकेका छन् भने कतिपयले आफन्त गुमाइसकेका छन् भने कतिपय अझै पनि अस्पतालमा उपचारमै छन् ।

तर कसैले पनि मृतक परिवारको अवस्था र आवश्यकतामाथि ध्यान नदिँदा व्यापक समस्याहरु भइरहेको छ ।

धर्म संस्कृतिअनुसार किरिया गर्न सकस भइरहँदा उनीहरुले सरकारसँग किरिया खर्चका लागि आग्रह गरेका छन् ।

सरकारी राहतबारे आफूलाई केही थाह नरहेको भन्दै राजेश दासले किरिया खर्च कसरी गर्ने बारे अन्योलता देखाए ।

मंगलबारसम्म खुल्ला आकाशमूनि रात बिताउँदै आएपनि आजदेखि नेपाली सेनाले विभिन्न स्थलमा अस्थायी टेन्ट घर बनाइदिएपछि उनी खुसीसमेत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप