बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लोकसेवा टिप्सः ३० वस्तुगत प्रश्नोत्तर

बुधबार, २० चैत २०७५, १० : ४४
बुधबार, २० चैत २०७५

१. मध्य युरोपेली राष्ट्र स्लोभाकियामा पहिलोपटक महिला राष्ट्रपति बन्न सफल नेतृ को हुन् ?
- जुजाना क्यापुटोभा (सन् २०१९ मार्च)
२. भारतद्वारा पहिलो भू–उपग्रह भेदी क्षेप्यास्त्रको सफल परीक्षण कहिले गरियो ?
- सन् २०१९ मार्च २७
–    यो भारतको पहिलो भू–उपग्रह भेदी हतियारको प्रयोग भएको बताइएको छ ।  भारतले पृथ्वीको भू–उपग्रहीय तल्लो कक्षमा राखिएको भू–उपग्रहलाई क्षेप्यास्त्रमार्फत खसाल्न सफल भएको हो । यसरी क्षेप्यास्त्र खसाल्न सफल हुने देशको सूचीमा भारत चौथो (अमेरिका, रुस र चीनपछि) स्थानमा रहन पुगेको छ ।
–    भारतीय वैज्ञानिकहरूका अनुसार क्षतिग्रस्त भू–उपग्रह पृथ्वीबाट करिब ३०० किलोमिटर माथि पृथ्वीको तल्लो कक्षमा रहेको छ ।
–    भारतले यति कम उचाइमा कुनै पनि भू–उपग्रह प्रक्षेपण गरेको थिएन । सामान्यतया यस प्रकारको परीक्षणले अन्तरिक्षमा फोहर फैलिने गर्छ, जुन पछि गएर खतरनाक साबित हुन सक्छ । चीनले यस्तै प्रकारको क्षेप्यास्त्र परीक्षण गर्दा विश्वका कैयौँ देशले त्यसको आलोचना गरेका थिए ।
३. हाल नेपालमा आउने वैदेशिक लगानीको अनुपात प्रतिव्यक्ति कति रहेको छ ?
 -दुई डलर
(यस्तो लगानी भारतमा प्रतिव्यक्ति ३३ र चीनमा १०० डलर रहेको छ ।)
४. लेप्चा सङ्ग्रहालयको निर्माण कहाँ गरिने भएको छ ?
-इलाम
५. नेपालमा हाल आरोहणका लागि खुला गरिएका हिमालको सङ्ख्या कति छ ?
-४१५
–    राजधानीबाट नजिक रहेको सिन्धुपाल्चोक जिल्लास्थित जुगल हिमाल आरोहण पहिलोपटक खुला (२०७५) गरिएको छ ।
–    अझै एक हजार तीन सयभन्दा बढी हिमाल आरोहणका लागि योग्य रहेको विज्ञले बताएका छन् ।
६. ताल र हिमनदी विशेषज्ञ भनी चिनिने नेपाली को हुन् ?
-डा. रिजनभक्त कायस्थ
७. नेपाल र टोगोबीच कूटनीतिक सम्बन्ध कहिले कायम भएको हो ?
-सन् २०१९ मार्च २२ 
(नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने टोगो १६४ औँ राष्ट्र हो ।)  
८.  काजकिस्तानले आफ्नो देशको राजधानीको नाम परिवर्तन गरी के नामकरण गरेको छ ?
-नुर सुल्तान
(सन् २०१९ मार्च २३ मा राजधानी अस्तानाको नाम परिवर्तन गरी नुर सुल्तान बनाइएको हो ।)
९. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सिरियामा खटाइएका अमेरिकी फौज फिर्ता गर्ने घोषणा कहिले गरिएको हो ?
-सन् २०१८ डिसेम्बर १९
१०. बेलायती प्रधानमन्त्री थेरेसा मेद्वारा बेलायत ईयूबाट विना कुनै सम्झौता बाहिरिने विषयमा पेस गरिएको प्रस्ताव हाउस अफ कमन्सबाट तेस्रोपल्ट कहिले अस्वीकृत भएको हो ?
-सन् २०१९ मार्च २९
–    ब्रेक्जिटबारे आफ्नो पुरानो सम्झौता संसद्बाट पारित गराउने प्रयासस्वरूप मार्च २९ मा गराइएको मतदानमा ईयूसँग विनासम्झौता बाहिरिनु ठीक हो भन्ने प्रस्ताव ३४४ जना सांसदद्वारा अस्वीकृत भएको । प्रस्तावको पक्षमा २८६ मत मात्र परेको ।
–    ईयूसँगको सहमतिबमोजिम यही मार्च २९ देखि बेलायत ईयूबाट बाहिरिनुपथ्र्यो तर प्रधानमन्त्री मेले गत साता बहिर्गमन मिति बढाउन युरोपेली नेताहरू समक्ष आग्रह गरेकाले सो समयावधि अप्रिल १२ सम्म लम्बाइएको ।
११. अरूको कुरा गरेर समय खेर फाल्नुभन्दा आफ्नो अवगुणको आलोचनात्मक चिन्ता गरे चरित्रको विकास हुन्छ । भन्ने विद्वान् को हुन् ?
-स्वामी विवेकानन्द
१२. आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कति खेल समावेश गरिने भएको छ ?
-३५
–     राष्ट्रिय खेलकुद परिषद्को १११औँ बोर्ड बैठकले आठौँ राष्ट्रिय खेलकुद वि.सं. २०७६ वैशाख ५–११ सम्म सञ्चालनको मिति तय गरेको छ । यद्यपि आठौँ राष्ट्रिय खेलकुदमा समावेश विभिन्न खेलमध्ये केही खेलहरू यही चैत २७ गतेदेखि नै सुरु गरिने भएको । प्रदेश पाँचमा आयोजना गरिएको आठौँ राष्ट्रिय खेलकुदका खेलहरू बाँके, बर्दिया, दाङ र रुपन्देहीमा खेलाइने छ ।
–    प्रतियोगितामा  पाँच हजार २११ खेलाडी  (दुई हजार ८२५ पुरुष र दुई हजार ३८६ महिला) को सहभागिता रहने छ । 
प्रतियोगितामा समावेश ३५ खेलहरू ः
फुटबल, एथ्लेटिक्स, बक्सिङ, भारोत्तोलन, टेबलटेनिस, क्रिकेट, लङटेनिस, पौडी, सुटिङ, भलिबल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कबड्डी, खो–खो, उसु, बास्केटबल, ब्याडमिन्टन, साइक्लिङ, कराँते, कुस्ती, फेन्सिङ, ट्रायथलन, प्याराग्लाइडिङ, गल्फ, ह्यान्डबल, बुद्धिचाल, सफ्टटेनिस, आईटीएफ तेक्वान्दो, सेपाकताक्रो , जिम्न्यास्टिक, शारीरिक सुगठन, फुल कन्ट्याक्ट कराँते र हकी ।
१३. चैतालो पर्व नेपालको कुन क्षेत्रमा प्रचलित पर्व हो ?
-सुदूरपश्चिम 
(महाकाली, सेती र कर्णालीमा प्रचलनमा रहेको यो पर्वमा विवाहित छोरी–चेलीलाई माइती पक्षले चैत महिनामा छोरीको कर्मघरमा गएर भेट गर्ने परिपाटी रहेको छ । भेटमा सौगातको रूपमा विभिन्न परिकार एवं कपडा प्रदान गर्ने गरिन्छ । चैतालो भन्नाले माइतबाट दिइने विशेष कोसेली बुझिन्छ । यो पर्व भारतको पिथौरागढ, कुमाउँ, देहरादुनमा पनि प्रचलनमा रहेको छ ।)
१४. नेपाल इन्भेस्टमेन्ट समिट–२०१९ को आयोजना कहिले गरियो ?
-वि.सं. २०७५ चैत १५ र १६
–    सम्मेलनमा बहुपक्षीय विकास साझेदार संस्थालगायत करिब ४० देशका उच्चस्तरीय प्रतिनिधि मण्डल र लगानीकर्तासहित छ सयभन्दा बढी स्वदेशी र विदेशी लगानीकर्ता सहभागी रहेका थिए ।
–    सम्मेलनमा कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ३० खर्ब रुपियाँभन्दा बढीका ७७ वटा परियोजना प्रस्तुत गरिएको ।
–    सरकारले सम्मेलनका क्रममा विभिन्न ७७ वटा आयोजनालाई ‘शो–केस’ मा राखेको भए पनि १५ वटा आयोजनाको सम्झौता भएको । ‘शो–केस’ मा राखिएका आयोजनामध्ये १७ वटा आयोजनामा वैदेशिक लगानीकर्ताले चासो देखाए । यद्यपि, अप्रिल २० तारिखसम्म ‘शो–केस’ मा राखिएका आयोजनामा आवेदन दिन सकिने बताइएको छ ।
–    सम्झौता भएका आयोजनामा पूर्वाधार तथा यातायात क्षेत्रका सात, ऊर्जाका चार, कृषिका तीन, शिक्षा तथा स्वास्थ्यका दुई र लजिस्टिक पार्कको एक रहेको ।
–    नेपालले सन् २०२२ सम्ममा अति कम विकसित मुलुकबाट मध्यम आयस्तरमा, सन् २०२५ सम्ममा तीव्र गतिको विकास गर्नका निम्ति अनुकूल आर्थिक विकासको स्तर र सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्य लिएको । 
१५.    नेपाल टेलिकमद्वारा फोर्थ जेनेरेसन (फोरजी) सेवा कहिलेदेखि सुरु गरिएको हो ?
-वि.सं. २०७३ पुस १७
–     फोरजी सेवाको सञ्चालनपश्चात् ३२ दशमलव ४ एमबीपीएसको गतिमा इन्टरनेट चलाउन सकिने ।
–    फोरजी सेवा थ्री जीभन्दा करिब दश गुना तीव्र गतिको हुने । 
१६. अमेरिकास्थित केबल न्युज नेटवर्कद्वारा प्रदान गरिन सीएनएन हिरो अवार्ड प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?
-अनुराधा कोइराला (सन् २०१०)
–    सीएनएन–हिरो अवार्डबाट सम्मानित हुने दोस्रो नेपाली पुष्पा बस्नेत (सन् २०१२) हुनुहुन्छ । उहाँ सीएनएन सुपर हिरो अवार्डबाट समेत सम्मानित हुनुभएको थियो । 
–    सन् २०१५ मा नेपाली बालबालिकाको क्षेत्रमा कार्य गरेकी अमेरिकी युवती म्यागी डोयन यो अवार्डबाट सम्मानित हुनुभएको थियो ।
–    सन् २००७ बाट घोषणा गर्न थालिएको यो अवार्डको पुरस्कार राशि ५० हजार डलर रहेको छ ।
–    सीएनएन हिरो अवार्ड–२०१८ बाट सम्मानित हुने व्यक्ति पेरुका डा. रिकार्डो पुन–चोङ हुनुहुन्छ ।
१७. युवा वर्ष मोती पुरस्कार–२०७५ बाट सम्मानित हुने स्रष्टा को हुन् ?
-केशव सिग्देल  र चन्द्र रानाहछा
–    वि.सं. २०७२ बाट प्रदान गर्न थालिएको यो पुरस्कारबाट पहिलोपटक साहित्यकार दैवज्ञराज न्यौपाने सम्मानित हुनुभएको थियो ।
–    हाल यो पुरस्कारस्वरूप ५० हजार रुपियाँ र स्वर्ण पदक प्रदान गरिन्छ । 
१८. नोबल शान्ति पुरस्कार प्राप्त गर्ने पहिलो इराकी नागरिक को हुन् ?
-नादिया मुराद 
–    उहाँले सन् २०१८ को नोबल शान्ति पुरस्कार प्राप्त गर्नुभयो । त्यहाँको आतङ्ककारी सङ्गठन आईएसद्वारा अपराधमा परी यौनदासी बनाइएकी नादिया त्यहाँबाट निस्किन सफल हुनुभएको थियो ।
१९. बराबर क्षेत्रफल भएका नेपालका दुई जिल्ला कुन–कुन हुन् ?
-रामेछाप र तनहुँ 
(१५४६ वर्ग कि.मि.) तथा बर्दिया र डोटी (२०२५ वर्ग कि.मि.)
२०. ‘हरियो साइकल’ नामक कृतिका लेखक गोविन्द वर्तमान हुन् भने हरियो राहदानी नामक कृतिका लेखक को हुन् ?
-युवराज नयाँघरे 
२१. नेपाल टेलिभिजनबाट साप्ताहिक रूपमा संस्कृृत भाषामा समाचार प्रसारण गर्न कहिलेदेखि थालिएको हो ?  
-वि.सं. २०७५ असोज ६
२२. नेपाली साहित्यको इतिहासमा पहिलोपटक १३ जना कविद्वारा सिर्जित महाकाव्य कुन हो ?
-आरोहण (विमोचन ः २०७५ मङ्सिर १५)
२३. बराबर क्षेत्रफल भएका नगरपालिका बनेपा र धुलिखेल (५५ वर्ग कि.मि.) हुन् भने बराबर क्षेत्रफल भएका गाउँपालिका कुन–कुन हुन् ?
-चम्पादेवी र चिशङ्खुगढी गाउँपालिका ः क्षेत्रफल १२६.९१ वर्ग कि.मि.)
२४. मुलुकी देवानी (संहिता) ऐन, २०७४ अनुसार कति वर्ष उमेर पूरा नगरेको बालबालिकालाई नाबालक मानिन्छ ?
-१८ वर्ष 
–    यस ऐनअनुसार १८ वर्ष उमेर पुगेका प्रत्येक नागरिक बालिग मानिने ।
–    त्यस्तै, १० वर्ष उमेर पूरा भई १८ वर्ष पूरा नगरेको व्यक्ति अर्ध सक्षम मानिने ।
२५.    नेपाल राष्ट्र बैङ्कद्वारा हाल खरिद र बिक्रीको सुविधा प्रदान गरिएका विदेशी मुद्राको सङ्ख्या कति रहेको छ ? 
- २१
(राष्ट्र बैङ्कले पछिल्लोपटक हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, स्वीडिस क्रोन्ट र डेनिस क्रोनरको बिक्री खुला गरेको ।)
२६.    पेपर गोल्ड मुद्रासँग सम्बन्धित छ भने ग्रिन गोल्ड केसँग सम्बन्धित छ ? 
- चिया
२७.    नेपालमा कुन अवधिलाई वन दशकका रूपमा घोषणा गरिएको छ ? 
- वि.सं. २०७१–२०८०
२८.    नेपाल सरकारले राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णय कहिले गरेको हो ? 
- वि.सं. २०७३ माघ ६
 २९.    सबैभन्दा बढी उमेरमा प्रधानमन्त्री बनेका नेता को हुन् ? 
- महाथिर मोहम्मद (मलेसिया)
(सन् २०१८ मे ९ मा सम्पन्न निर्वाचनमा ९२ वर्षको उमेरमा उहाँ त्यहाँको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको हो ।)  
३०.    कोप–२४ सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? 
-सन् २०१८ डिसेम्बर २–१४, पोल्यान्डको कोटोविस । सम्मेलनमा करिब दुई सय राष्ट्रको सहभागिता रहेको । सम्मेलनमा दुई सय राष्ट्रमा प्रतिनिधिहरू हरितगृह ग्यास उत्सर्जन कटौती र विश्वव्यापी तापक्रम वृद्धि रोकथामको प्रयासलाई नियमन गर्ने विषयमा सहमत भएका । 
–    सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता रहेको । 
–    कोप–२५ सन् २०१९ मा चिलीमा आयोजना हुने । 

-गाेरखापत्रबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप