शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आँधी प्रभावित क्षेत्रमा नेताहरुको लर्को, प्रचण्ड–देउवादेखि सीके राउतसम्म (फोटोफिचर)

मङ्गलबार, १९ चैत २०७५, १५ : ३२
मङ्गलबार, १९ चैत २०७५

जनकपुर– बारा र पर्सामा आइतबार आएको हावाहुरीले व्यापक जनधनको क्षति भएपछि प्रभावितको अवस्था बुझ्न सो क्षेत्रमा नेताहरुको लर्को लाग्न थालेको छ । 

सोमबार प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री उपेन्द्र यादव, काँग्रेस उपसभापति विमलेन्द्र निधिलगायत पुगेकोमा सोमबार नेकपा अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत पुगेका छन् । 

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति देउवाले पीडित परिवारलाई भेटघाट गरी सहयोगको घोषणा गरेका छन् ।

मंगलबार वीरगंज स्थित नारायणी अस्पतालमा पुगेका अध्यक्ष प्रचण्डले हावाहुरीबाट घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझेका थिए । 

त्यसपछि बाराको फेटा गाउपालिका पुगेका प्रचण्डले पीडितको अवस्थाबारे जानकारी लिएका थिए ।  स्थानीय भलुही, भरवलीया र पुरैनीया लगायतका गाउँमा पुगेका उनले मृतक परिवारलाई पार्टीको तर्फबाट ५ लाख दिने घोषणा गरे । 

त्यस्तै देउवाले फेटा गाउँपालिका पुगेर कांग्रेसको तर्फबाट २५ लाख रुपैया सहयोग गर्ने घोषणा गरे । 

यस्तै जनमत पार्टीका संयोजक डा.सिके राउतले सुवर्ण गाउपालिकाका पिडित परिवारहरुसँग भेटघाट गरेका छन् । उनले वस्तुअवस्था बुझेर राहत सामग्री वितरण गर्ने जनाइएको छ ।

त्यस्तै प्रदेश नम्बर २ का सभामुख सरोजकुमार यादवले समेत घाइतेका साथै मृतकका परिवारसँग भेटघाट गरेका छन् । यस्तै राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, अनिल झा, शरतसिंह भण्डारी लगायतका नेताहरु समेत स्थलमा पुगेर पीडितलाई भेटेका छन् । 

यता फेटा गाउँपालिकामा राहत वितरण गर्नेहरुको समेत लर्को लाग्न थालेको छ । यसलाई व्यवस्थित गर्न आवश्यक रहेको भन्दै फेटा गाउँपालिकाले राहत वितरणलाई व्यवस्थित गरी एकद्वार प्रणाली लागू गर्ने भएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप