शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भयावह बन्दै नसर्ने रोग : मधुमेह, ब्लडप्रेसर र क्यान्सरबाट हुन्छ ६६ प्रतिशतको निधन !

मङ्गलबार, १९ चैत २०७५, १० : ४२
मङ्गलबार, १९ चैत २०७५

नढाँटी भन्नुपर्दा मेरी आमालाई मुधमेह रोग छ । उहाँलाई मधुमेह भएको झण्डै ४ वर्ष भयो । मेरो अङ्कललाई पनि ब्लड प्रेसर हाई छ । अझै भन्नुपर्दा केही दिन पहिला उहाँ ब्लड पे्रसर हाई भएर अस्पताल नै भर्ना हुनुपर्ने अवस्थासमेत आइपरेको थियो ।

म बस्ने घरबेटी आन्टीलाई त झन् मधुमेह, ब्लड प्रेसर दुवै रोग छ । खानामा धेरै कुरा बार्नुहुन्छ । खानपानभन्दा धेरै औषधिमा खर्च हुन्छ । पल्लो कोठाको अङ्कललाई पनि मधुमेह छ । उहाँ दैनिक औषधि खानुहुन्छ । आफूलाई मन लागेको खानेकुरा खानु पाउनुहुन्न । केही कुरा खानुस् भन्दा खाने मन छ तर मधुमेह छ भन्नु हुन्छ ।

यी ४ पात्र काल्पनिक होइनन् । वास्तविक हुन् । उहाँहरुलाई लागेको रोग नसर्ने रोग हो तर वर्गीकरणमा पनि नसर्ने रोगभित्र पर्छ । आज नेपालमा कुनै पनि नसर्ने रोग नलाग्ने परिवार नै छैनन् । मधुमेह, ब्लड प्रेसर, क्यान्सर जस्ता बिरामीहरु प्रत्येक घर र कोठैपिच्छे भेटिन्छन् । यस्ता रोग लाग्ने नजिकका चिनजानका मात्रै गन्ने हो भने पनि कम्तीमा २०, २५ जना सजिलै भेटिन्छन् । नेपालमा अब कुनै पनि रोग नलागेका व्यक्ति भेट्नलाई गाह्रो छ ।

नसर्ने रोग भन्नाले मुख्यगरी मुटु तथा रक्तनलीका रोग, मधुमेह, क्यान्सर तथा दीर्घ अवरोधात्मक श्वासप्रश्वासलाई मानिन्छ ।

तर नेपाल सरकारसँग यस्ता नसर्ने रोग लागेका नागरिकको सङ्ख्या कति छ भन्ने आधिकारिक तथ्याङ्क छैन । 

रोगले हरेक नेपालीलाई छोइसकेको यो अवस्थामा सरकारको कार्यक्रम भने बल्ल ३० वटा जिल्लामा पुगेको छ ।  इलाम र कैलाली जिल्लाबाट  विगत ३ वर्षअघि सुरु भएको नसर्ने रोगसम्बन्धी कार्यक्रम ३० जिल्लामा सीमित बनेको हो ।

नसर्ने रोगसम्बन्धी पनि स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डाक्टर फणिन्द्रप्रसाद बरालका अनुसार हाल सरकारले ४ नसर्ने रोगका बारेमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । दम, क्यान्सर, मधुमेह र मुटु तथा रक्तनलीसम्बन्धी ४ रोगका बारेमा जनचेतना जगाउन कार्यक्रम सरकारले सुरु गरेको बरालको भनाइ छ । एक अनुमानित तथ्याङ्अनुसार ८० प्रतिशत रोगको भार यिनै ४ रोगले लिएको बताइन्छ ।

६६ प्रतिशत निधन नसर्ने रोगबाट

नेपालमा नसर्ने रोगको स्थिति कति भयावह छ भन्ने कुराको उदाहरण यसबाट निधन हुनेको प्रतिशत सङ्ख्या हेर्दा थाहा हुन्छ । हाल नेपालमा ६६ प्रतिशत मानिसको नसर्ने रोगबाट मृत्यु भइरहेको छ । सरकारले केही वर्ष पहिला नसर्ने रोगभन्दा पनि सर्ने रोगलाई चुनौतीका रूपमा लिएको घोषणा गरेको थियो ।

नेपालमा ठूला–ठूला महामारी धेरै पटक सर्ने रोगकै कारणले भएको थियो ।  तर अहिले परिस्थिति उल्टो छ । अर्थात नसर्ने रोग सरकारको चुनौतीको रूपमा आएको छ । सरकारको अनुमानित तथ्याङ्कअनुसार निधन हुनेमध्ये ६६ प्रतिशत नसर्ने रोगकै कारणले हुनुका साथै इन्जुरीलाई समेत जोड्दा बढेर ७५ प्रतिशत पुग्छ । नसर्ने रोग लाग्ने मुख्य कारण सूर्तिजन्य पदार्थ, मादक पदार्थ सेवन, अनहेल्दी लाइफस्टाइल र अस्वस्थकर खानापान रहेको चिकित्सकहरुको भनाइ छ ।

बल्ल नसर्ने रोगको शाखा

अचम्म त के छ भने भयावह रूप हुँदै गएको नसर्ने रोगसम्बन्धी शाखा सरकारले बल्ल स्थापना गरेको छ । इपिडेमियोलोजी तथा रोगनियन्त्रण महाशाखाबाट शाखामा रहने गरी नसर्ने रोग तथा मानसिक रोगको शाखा पहिलो पटक स्थापना गरिएको हो ।

यो शाखा स्थापना भएको बल्ल ६ महिना भयो । यसभन्दा पहिला नसर्ने केही जटिल रोगको कार्यक्रम स्वास्थ्य सेवा विभागअन्तर्गतको पुनर्जागरण महाशाखाले हेर्दै आइरहेको थियो । नयाँ सम्बन्धित शाखा आए पनि नसर्ने रोग सम्बन्धी केही नयाँ काम गर्न सकिन्छ कि भन्ने सरकारको विश्वास रहेको छ । यस शाखाका अनुसार नेपालका अस्पतालको सम्पूर्ण ओपीडी सेवामध्ये सन् २०१३ मा स्टेप सर्भेले दिएको तथ्याङ्कअनुसार ३० प्रतिशत मुटुरोग, हाइपोटेन्सन १७ प्रतिशत, मधुमेह ४ प्रतिशत देखाएको थियो ।

नसर्ने रोगको ३० जिल्लामा तालिम

स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डाक्टर फणिन्द्रप्रसाद बरालका अनुसार भयावह बन्दै गएको नसर्ने रोगको बारेमा जानकारी गराउनको लागि तालिम दिने काम भइरहेका छ । शाखाले तालिम पुस्तिका तयार गर्दै यो वर्ष ३० जिल्लामा नसर्ने रोगसम्बन्धी तालिम दिने तयारीमा सरकार रहेको छ । यो तालिमसम्बन्धित जिल्लाका स्वास्थ्यकर्मीलाई दिइने र स्वास्थ्यकर्मीहरुले नसर्ने रोगको बारेमा नागरिकलाई जानकारी गराउनुपर्ने छ ।

रगत पातलो बनाउने, बोसो कम गर्ने, पिसाब लगाउने, सुगर, प्रेसर, दमलगायत १२ प्रकारका औषधि निःशुल्क सम्बन्धित हल्थपोस्ट तथा सम्बन्धित प्राथमिक स्वास्थ्य केन्द्रसम्म पुर्याउने सरकारका कार्यक्रमहरु सञ्चालन भइरहेको जनाएको छ । जसअन्तर्गत यो वर्षसम्ममा ३० वटा जिल्लामा पुर्याउने सरकारको लक्ष्य रहेको छ । अब आउने वर्ष यो कार्यक्रम थप २१ जिल्ला हुँदै अबको दुई वर्षमा ७० जिल्लामा पुर्याउँने सरकारको तयारी रहेका छ । तालिममा नागरिकलाई  नसर्ने रोगको बारेमा जानकारी गराउने, रोग लाग्न नदिने, लागेपछि उपचार गर्ने विषयमा जानकारी गराइने छ ।

नसर्ने रोगका बारेमा नागरिकलाई जानकारी दिनका लागि सरकारले प्रत्येक प्रदेशमा १ करोड २० लाखको हाराहारीमा बजेट विनियोजन गरिएको छ । यस्तै केन्द्रमा भने नसर्ने रोगको कार्यक्रम विस्तार गर्नका लागि झण्डै ५ करोडको बजेट विनियोजन गरेको छ । १६ वटा जिल्लाका १ सय ५९ वटा पालिकाहरुमा नसर्ने रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नको लागि ७० हजारको दरले बजेट विनियोजन गरिएको छ ।

हाल इलाम, झापा, सोलुखुम्बु, रौतहट, महोत्तरी, पर्सा, चितवन, सिन्धुली, मकवानपुर, भक्तपुर, नुवाकोट, धादिङ, गोर्खा, पाल्पा, कास्की, तनहुँ, कपिलवस्तु, म्याग्दी, बर्दिया, बाग्लुङ, रोल्पा, डोल्पा, हुम्ला, जुम्ला, जाजारकोट, बाजुरा, बैतडी, कैलाली, अछामलगायत ३० वटा जिल्लामा नसर्ने रोगसम्बन्धी सरकारको कार्यक्रम रहेको छ ।

सम्बन्धित सबै मन्त्रालय लाग्नुपर्छ

नसर्ने रोग लाग्नबाट नागरिकलाई जनचेतना जगाउनको लागि सम्बन्धित शाखाले मात्रै अग्रसरता देखाएर नपुग्ने नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डाक्टर फणिन्द्रप्रसाद बराल बताउँछन् ।  बरालका अनुसार खाद्य, खेलकुद, कृषि, सडक लगायत मन्त्रालयले अग्रसरता देखाउनुपर्ने आवाश्यकता छ । पार्क अभाव, सडकको व्यवस्थापन अभाव, खेलकुद, खाद्य पदार्थ लगायतको व्यवस्थापन गर्न सके यसमा यो रोगमा कमी आउने विशेषज्ञहरुको भनाइ छ ।

सुस्त उच्च स्तरीय कमिटी

नसर्ने रोगसम्बन्धी नेपालका विभिन्न १७ वटा मन्त्रालयको सहसचिवसहितको एउटा कमिटी छ । मुख्य सचिवको अध्यक्षतामा सबै मन्त्रालयको सचिव रहनेगरी उच्च स्तरीय कमिटी गठन गरिएको हो । तर अहिले यो कमिटीले लक्ष्यअनुसार काम गरेको देखिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप