शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेता र व्यवसायीका हरेक दिन अप्रिलफुल !

शैलेन्द्रले जिस्काउँदा आमाले जूठो बारे, मनोजले विदेशी रिपोर्टर बनेर धुर्मुसलाई जिस्काउँदा
सोमबार, १८ चैत २०७५, १३ : ५८
सोमबार, १८ चैत २०७५

आज अप्रिल १ तारिक अर्थात् ‘विश्व मूर्ख दिवस’ । हाम्रो समाजमा यो दिन बालबालिकाहरू आफ्ना साथी तथा अभिभावकलाई प्र्याङ्क गरिरहेका हुन्छन् । सहकर्मीहरूले एकअर्कालाई उडाइरहेका हुन्छन् । मिडियाले समेत पाठक झुक्याउने खालका लेख र रचना प्रकाशन गर्ने गर्छन् ।

अप्रिलफुल पश्चिमी सभ्यतामा सबैभन्दा लोकप्रिय गैरधार्मिक पर्व हो । तर यो पर्व कसरी मनाउन थालियो ? यो दिन किन झुक्याउने, ठट्टा गर्ने गरिन्छ ? कसरी यो विश्वव्यापी परिघटना बन्यो ? कसरी सुरुवात भयो भन्ने कमैलाई थाहा छ । सम्भवतः यसको यथार्थ इतिहास गर्भमा विलिन भएकै होला ।

इतिहासकारको भनाइ पत्याउने हो भने अप्रिलफुललाई हाल विश्वभर लागू ग्रिगोरियनपात्रो जत्तिकै पुरानो मान्छन् । त्यसलाई सन् १५६३ मा फ्रान्सको काउन्सिल अफ ट्रन्टले लागू गरेको थियो । त्यसअघि पुरानो पात्रोअनुसार नयाँ वर्ष मार्चको अन्तिम सातादेखि अप्रिल पहिलो दिनसम्म मानिन्थ्यो ।

नयाँ पात्रोले नयाँ वर्षलाई जनवरीमा सारेको थियो । त्यो बेलाको सञ्चारको सुस्त विस्तार र कतिले पुरानो परम्पराप्रति अडिगताले धेरैले अर्को वर्ष अप्रिलमै नयाँ वर्ष मनाए । नयाँ पात्रो लागू गर्ने कार्यभार पाएको सत्तापक्ष र तिनको आडमा नयाँ पात्रोका समर्थकहरूले अप्रिलको छेउछाउमा नयाँ वर्ष मान्नेहरूलाई हाँसो– व्यङ्ग्यको पात्र बनाए ।

अप्रिलमा नयाँ वर्ष मान्नेहरूलाई ‘पोइसन अभ्रिल (फ्रेन्स भाषामा अप्रिलको माछा)’ भनेर नाम काटिन्थ्यो । अझ कति अवस्थामा उनीहरूको ढाडमा कागजको माछा टालिन्थ्यो । फ्रेन्स उखान टुक्कामा माछा सजिलै अर्काको कुरामा आउने व्यक्तिलाई जनाउन प्रयोग गरिन्छ ।

त्यो समय फ्रान्स विश्वशक्ति थियो । सन् १६औँ शताब्दीसम्म यो परम्परा फ्रान्सबाट उसका अन्य प्रभावशाली राष्ट्रहरू ब्रिटेन र होली रोमन इम्पायरसम्म फैलिसकेको थियो ।

तर सबै इतिहासकारहरू अप्रिलफुलको मूल यही समयलाई मान्न तयार छैनन् । उनीहरू यो पर्व धेरै अघि अर्थात् २००० वर्षअघि एक रोमन पर्वबाट आएको तर्क दिन्छन् ।

प्राचीन रोममा मार्चको अन्तिममा हिलारिया भन्ने पर्व मानिन्थ्यो । त्यो दिन रोमन साम्राज्यभर मानिसहरू थरिथरिका अनौठा कपडा लगाएर हिँड्थे । त्यो दिन अधिकारीहरूलाई व्यङ्ग्य हान्न पनि छुट थियो । (नेपालमा गाईजात्राको दिनजस्तै) यही पर्वपछि अप्रिलफुल दिनको रूपमा मान्न थालिएको उनीहरूको भनाइ छ ।

पर्व हो

नेपालमा पनि अप्रिल १ लाई कहिलेदेखि ‘मूर्ख दिवस’को रूपमा मनाउन थालियो भन्ने यकिन तथ्याङ्क छैन । तर यो दिनलाई ढाँट्ने, झुक्याएर अरूलाई दुःख दिने र प्र्याङ्क गर्ने दिनका रूपमा लिने गरिन्छ । चर्चित व्याङ्ग्या मास्टर शैलेन्द्र सिंखडाको भनाइ पनि यही छ । ‘यो एउटा शब्द हो’ सिंखडाले भने ‘यसलाई हामीले पर्व जस्तो बनाएका छौँ ।’

अर्काे व्याङ्ग्य मास्टर मनोज गजुरेल भने अप्रिल फुल बाहिरबाट आएको चाडका रूपमा नेपालीहरूले मनाउन थालेको बताउँछन् । उनले यो दिनलाई गम्भीरताका रूपमा भन्दा पनि ठट्टा, रमाइलो गर्ने पर्वका रूपमा लिएका छन् ।

‘गाईजात्रा, होली भने जस्तै यो दिनलाई म मूर्ख पर्वका रूपमा मैले हेर्ने गरेको छु’, गजुरेलले भने ‘सोही अनुरूप सिस्नोपानी नेपालले हरेक वर्ष यसको अवसर पारेर हाँसो र ठट्टाको एक कार्यक्रम गर्दै आएको छ । उनले हिजो आइतबार पनि राजधानीमा एक कार्यक्रम गरिएको जानकारी दिए ।

झुक्किएपछि थाहा भयो अप्रिलफुल
दशैं, तिहार लगायतका ठूला पर्वहरू जस्तै यो पनि सबैका लागि भने सानैदेखि थाहा हुने पर्व भने होइन । मनोजलाई पनि सानोमा फेब्रुअरी महिना त थाहा थियो । तर यसको एक तारिक अप्रिलफुल भन्ने थाहा थिएन । जब उनी ०४५ सालमा काठमाडौँ छिरे, सो समयदेखि १ अप्रिल फुल अर्थात यो दिन अरूलाई झुक्याउने र मूर्ख बनाउने दिन भनेर उनले थाहा पाए ।

शैलेन्द्रले भने यो दिवस २०३३ देखि थाहा पाएका हुन् । त्यो समय उनी स्कुलको विद्यार्थी थिएँ । साथीभाइले उनलाई आफन्त भेट्न आएका छन् भनेर झुक्याएका थिए । स्कुलका साथीभाइले झुक्याएपछि किन भनेर उनले सोधेका अप्रिलफुल भन्ने जवाफ पाए । सो समयदेखि यो पर्वको बारेमा आफूलाई थाहा भएको शैलेन्द्रले सुनाए ।

धुर्मुसलाई प्र्याङ्क  
ठट्टा र मजाजका रूपमा मनाउने यो पर्वमा कोहीले भने जानाजान अरूलाई धेरै दुःख दिने समेत गर्दछन् । कतिपयले त गर्न नहुने र झुक्याउन नमिल्ने संवेदनशील विषयमाथि पनि ठट्टा गर्ने गर्छन् । शैलेन्द्रले पनि एक पटक संवेदनशील विषयमाथि अप्रिलफुल मनाएका थिए । उनको सो क्रियाकलापले उनले नै मान्नुपर्ने व्यक्तिलाई नराम्रोसँग असरसमेत परेको थियो । ‘एक पटक यो दिन दाजुभाउजू मन्दिर जाने तयारी गर्दै हुनुहुन्थ्यो । मैले उहाँहरूलाई अप्रिलफुल बनाउन फलानो ठाउँमा फलानो व्यक्ति बितेको रहेछ । जुठो परेछ भनेर ढाँटेर घरबाट निस्किए’, शैलेन्द्रले अगाडि भने, ‘बेलुका फर्किंदा नमजा लाग्यो । किनभने मैले मनाएको त्यो अप्रिलफुलको कारण आमाले छाक नै छोड्नु भएको रहेछ ।’ आमा नुवाई धुवाई गरेर जुठो बार्दै दिनभर भोकै बसेको थाहा पाउँदा आफूलाई नमज्जा लागेको शैलेन्द्रले सुनाए ।

‘अन्य देशमा सधैँ राम्रो काम हुने, साचो बोल्ने भएकाले यो दिन अप्रिलफुल होला । तर हाम्रो देशमा त सधैँले ढाँट्ने, झुक्याउने, फटाइँ गर्ने गरिन्छ’,

मनोजको जीवनमा भने अप्रिलफुलको यति ठूलो घटना रहेनछ । तर उनले कसैलाई अप्रिलफुलको नाममा मूर्ख नबनाएको भने होइन । उनले थुप्रै सहकर्मी साथीभाइलाई फोनमार्फत, प्रत्यक्ष रूपमा पनि मूर्ख बनाएका छन् । एक समय उनले सीतारम कट्टेल धुर्मुसलाई विदेशबाट खैरेको आवाजमा (रिपोटर) हुँ भनेर फोन गर्दै झुक्याएका थिए । ‘त्यो समय अप्रिलफुल त थिएन’ मनोजले भने प्र्याङ्क गरेको थिए । धुर्मुस नराम्रोसँग मूर्ख भए ।’ विभिन्न गेटअप गरेर सिस्नेपानीका साथीहरूसँगै बसे पनि नचिनाएर कैयौँ पटक उनीहरूलाई झुक्याउन आफू सफल भएको मनोजले हाँस्दै सुनाए ।

ठट्टा पर्व
विजयदशमी, दीपावल जस्तै हरेका लागि अप्रिलफुल सानैदेखि जानकारी हुने पर्व पनि होइन । नेपालमा अप्रिलफुल परम्परा मनाउन थालिएको धेरै भएको पनि छैन । तर यो एक कान दुई कान हँुदै मैदान भइसक्यो । यो दिन कतिपयले हल्काफुल्का जोक्स गर्ने गरेका छन् । कतिपय भने अरूलाई ठूलै  दुःख दिने र मानव संवेदनमाथि खेल्न पछि पर्दैनन् । शैलेन्द्रले पनि यो दिनलाई झुक्याउने दिनकै रूपमा लिएका छन् । यो दिनको नाममा अरूले मानव संवेदनामाथि खेलेको विभिन्न घटना पनि उनले देखेका छन् ।

त्यसैले उनी यो दिन गम्भीर विषय र संवेदनामाथि भन्दा पनि सानोतिनो ठट्ट मात्र गर्न मिल्ने बताउँछन् । ‘अन्य देशमा सधैँ राम्रो काम हुने, साचो बोल्ने भएकाले यो दिन अप्रिलफुल होला । तर हाम्रो देशमा त सधैँले ढाँट्ने, झुक्याउने, फटाइँ गर्ने गरिन्छ’, उनले थपे, ‘हाम्रा लागि सधैँ अप्रिलफुल छ ।’

मनोजले भने यो दिनलाई ठट्टा पर्वका रूपमा लिएका छन् । गाईजात्रा, होली जस्तै अप्रिल १ पनि मूर्ख पर्व भएको धारणा उनले राखे । उनी जहिले पनि यो पर्व व्याङ्ग्यत्मक कार्यक्रम गरेर मनाउने गर्छन् । सोही अनुरूप उनीलगायत सिस्नोपानी नेपालका सबै टिमले हिजो आइतबार साँझ राजधानीमा एक कार्यक्रमसमेत आयोजना गरेको थियो ।

संवेदनशील विषयमा प्रहार किन ?
पछिल्लो समय यो पर्व मनाउने नाममा कतिपयले अरूलाई धेरै दुःख दिएको, विचारै नगरी मानव संवेदनामाथि खेलेको प्रशस्तै देख्न र सुन्न पाइन्छ । यो पर्व मनाउँदा, व्याङ्ग्य गर्दा कसैलाई व्याक्तिगत मान मदर्न गर्ने, दुःख दिने खालको परिचय बनाउनु राम्रो नहुने मनोज बताउँछन् । यो पर्व मनाउने नाममा कसैलाई दुःख दिने सोच आफूमा पहिले पनि नभएको र अहिले पनि नरहेको उनले सुनाए ।

नेताहरूलाई हरेक दिन अप्रिलफुल मनाउन हामीले नै सिकाएको गजुरेलले बताए । ‘हामीले नै भोट दिएका हौँ । हामीले नै उचाल्छौँ’, मनोजले आक्रोस पोखे, ‘नेताहरू मात्र होइन, हामी जनता पनि यो मामिलामा कम छैनौँ ।’

मनोजको विचारसँग अर्का व्याङ्ग्य मास्टर शैलेन्द्रको पनि विचार मिलेको छ । उनी पनि यो दिनमा अरूको संवेदनामाथि खेल्न नहुने बताउँछन् । ‘अरूलाई झुक्याउने, छक्याउने र मूर्ख बनाउने पर्वको रूपमा यो दिन मनाइँदै आएको छ’, शैलेन्द्रले भने, ‘पहिला हामीले गाईजात्रे भन्ने पर्वमा यस्तो कुरा गरिन्थ्यो । त्यो समय झुक्याउने, नपुग्ने, मुख्र्याइँ कुरो गर्यो भने गाईजात्रे कुरो भनिन्थ्यो । अहिले अप्रिल १ लाई त्यस्तो दिनका रूपमा लिइन्छ ।’

नेता र व्यवसायीका हरेक दिन अप्रिलफुल
सर्वसाधारणले झुक्याउन, छक्याउन १ अप्रिल नै कुर्नुपर्छ । तर हाम्रो देशका नेताले जनतासँग र व्यवसायीले ग्राहकसँग हरेक अप्रिलफुल मनाइरहेका छन् । ‘नेता तथा व्यवसायीले वर्षभरि नै अप्रिल फूल मनाउने गरेको शैलेन्द्र पनि स्वीकार्छन् । ‘हाम्रा नेताहरूले यो गर्छु, त्यो गर्छु भनेर सबै र सधैँ झुटो बोलिरहेका छन्’ शैलेन्द्र भन्दै थिए ‘व्यवसायीको पनि हालत त्यस्तै छ ।’

नेताहरूलाई हरेक दिन अप्रिलफुल मनाउन हामीले नै सिकाएको गजुरेलले बताए । ‘हामीले नै भोट दिएका हौँ । हामीले नै उचाल्छौँ’, मनोजले आक्रोस पोखे, ‘नेताहरू मात्र होइन, हामी जनता पनि यो मामिलामा कम छैनौँ ।’ हाम्रो हौसलाले हामीबाट सिकेर नेता तथा व्यवसायीले हामीमाथि नै प्रहार गरेको उनको भनाइ रहेको थियो ।

सिर्जनातिर लागौँ
पछिल्लो समय दशँै, तिहार लगायतका पर्वहरू हाम्रा लागि रहरभन्दा पनि बाध्यता बन्न थालेको छ । अप्रिलफुल भने त्यस्तो बनाउन नहुने व्याङ्ग्य मास्टरहरू बताउँछन् ।

अप्रिलफुलले हाम्रा लागि खासै ठूलै महत्त्व नराख्ने बताएका शैलेन्द्रले यसलाई मनोरन्जन र सूचनाको अवसरका रूपमा सदुपयो गर्न सिक्नुपर्ने धारणा राख्दछन् । ‘मनोरन्जनका नयाँ फम्र्याट केके हुन सक्छन् । विषयवस्तुहरू केके बन्न सक्छन् भन्ने खालका बहसमा हामी मूर्ख दिवसको दिन सदुपयोग गर्न सक्छौँ’ शैलेन्द्रले भने । हास्यव्याङ्ग्य सिर्जनाका लागि यो दिन अवसरको रूपमा लिनुपर्ने उनको धारण रहेको छ ।

शैलेन्द्र झैँ अवसरका रूपमा यो दिन प्रयोग गर्नुपर्ने कुरा मनोजले पनि दोहोर्याए । ‘यसको अर्थ के हो थाहा छैन । तर यो हाम्रो देशमा मनाउँदा हाम्रै कलेवरमा मनाउनुपर्छ’, मनोज भन्दै थिए, ‘हामीले हुबहु विदेशी परम्पराको कपी गर्दा माटो सुहाउँदो नहुन सक्छ ।’ उनले थपे, ‘यसलाई हामीले व्यङ्ग्य गर्ने पाटोका रूपमा उपयोग गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप