बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लगानी सम्मेलन कति सफल, कति असफल ? (भिडियो)

आइतबार, १७ चैत २०७५, ११ : ०९
आइतबार, १७ चैत २०७५

सरकारले शुक्रबार र शनिवार काठमाडौंमा आयोजना गरेको २ दिने लगानी सम्मेलनको समापन भएको छ । ४० देशका ७ सय भन्दा बढी प्रतिनिधी सहभागी भएको सम्मेलनमा १७ खर्ब ३० अर्ब हाराहारीको प्रतिबद्धता आएको छ । सम्मेलनमा ११ वटा परियोजनामा लगानीका लागि १७ वटा प्रस्ताव आएको छ ।  सरकारले गरेको यो तेश्रो लगानी सम्मेलन हो । यसअघि गरिएको लगानी सम्मेलन र अहिले गरिएको यो सम्मेलनमा के फरक छ र यो सम्मेलनको उपलब्धि कस्तो छ भन्नेबारेमा हामीले सम्मेलनस्थलमा भेट भएका उद्योगी, व्यवसायी तथा विभिन्न विज्ञसँग कुराकानी गरेका छौँ । उनीहरुले यो सम्मेलन सफल भएको प्रतिक्रिया दिएका छन् ।

सही समयमा लगानी सम्मेलन : शंकर प्रसाद कोइराला, पूर्वअर्थमन्त्री

नेपालमा पहिलो लगानी सम्मेलन जुन सन् १९९२ मा भएको थियो जुन निकै उपलब्धिमूलक भएको थियो । दोश्रो पटक हामीले २०७३ सालमा ग¥यौँ । त्यो बेला पनि सहभागिता र प्रतिबद्धताको नतिजा राम्रो नै आएको थियो । तर, त्यो सरकार चुनावमा जान लागेको र अस्थायी प्रकृतिको सरकार भएको हुनाले त्यसले त्यो बेला भएको प्रतिबद्धतालाई फलो अप गर्न सकेन । तर, अहिले सही समयमा सही तरिकाले सरकारले लगानी सम्मेलन गरेको जस्तो मलाई लाग्छ ।

एउटा स्थिर सरकार यहाँ भएको हुनाले त्यो नै सबैभन्दा सुन्दर पक्ष हो । सम्मेलनमा स्वदेशी लगानीकर्ता र विदेशी लगानीकर्तामा एउटा उत्साह थपिएको छ, यो सफलताको दिशातर्फ उन्मुख भएको मलाई लागेको छ । पुराणमा खाली आध्यात्मिक र धार्मिक मनासयबाट प्रेरित भएर समाजका लागि केही गरौँ भन्ने प्रेरणाबाट गरिएको हुन्छ भने यसमा प्रतिफलको आशाले गरिएको हुन्छ । लगानीकर्ता तबसम्म आउँदैन जवसम्म लगानीको प्रतिफलको उसले प्रत्याभूति पाउँदैन । अन्त गरेको लगानीभन्दा नेपालमा गरेको लगानीबाट मात्र बढी मुनाफा आउँछ भन्ने भएपछि मात्र उसले लगानी गर्ने हो । त्यो एउटा हामीले दिनसक्नुपर्छ । दोश्रो, उसले जुन जोखिम मोलेर ल्याएको लगानी छ त्यसको सुरक्षा चउसले खोज्छ । यी दुइटा कुरा स्थीर सरकारबाट सम्भव हुन्छ ।

विदेशी लगानीबिना कुनै पनि मुलुक सफल हुँदैन : भवन भट्ट, अध्यक्ष, गैरआवासीय नेपाली संघ

कुनैपनि मुलुक विदेशी लगानीबिना सफल भएको कहीँ पनि पाइएको छैन । हामीले विदेशी लगानीलाई आकर्षित गरेर मुलुकको समृद्धीलाई अगाडि बढाउने यो नियमित प्रक्रिया हो । यसलाई आर्थिक रुपमा नजिक राख्न सकियो भने यसको अरु बढी महत्त्व हुन्छ । यसका लागि सरकारले बलियो नीति बनाएको हुनुपर्छ । हामीलाई सहजीकरणका लागि ३ वटा विधेयक अस्ति मात्रै पास भयो । यो प्रक्रियामा लगानी आउँदा त्यसलाई कसरी व्यवस्थित गर्ने तथा कम्पनी स्थापनादेखि लिएर सञ्चालनका प्रक्रियाहरु हुन्छन् । त्यसका लागि सामान्यतया ३ देखि ६ महिनासम्म लाग्छ । सरकारले यसलाई सकारात्मक रुपमा अघि बढाउँछ जस्तो मलाई लाग्छ ।

गैरआवासीय नेपालीहरु २००३ सालदेखि नै मुलुकको समृद्धीका लागि लागेका छन् । उनीहरु लगानीकर्तासमेत हुन् । गैरआवासिय नेपालीहरु जुन देशमा बसेका छन, उनीहरुले नेपालसँग पुलको रुपमा पनि काम गरेका छन् । जुन देशमा बसेपनि मल्टीनेश्नल कम्पनीमा काम गरेका छन् । सरकारले अब स्मार्ट वेबाट यसलाई कनेक्सन गर्नुपर्छ भन्ने मलाई लागेको छ ।

यो वर्ष लगानीकर्ताहरु उत्साहित छन् : राजेशकाजी श्रेष्ठ अध्यक्ष, नेपाल चेम्बर्स अफ कर्मश

मुख्य कुरा लगानी सम्मेलनपछि हामीले यसबारेमा निरन्तर फलोअप पनि गर्नुपर्छ, खाली मिटिङ सकाएर मात्र छोड्नुहुँदैन । यसपाली र पहिलेको सम्मेलनमा फरक देखेको छु । पहिले सबैले तिमीहरुकोमा स्थिर सरकार छैन, बत्तिको समस्या छ भन्थे । सरकारले अहिले लगानीमैत्री वातावरणका लागि जुन कानुन बनाइरहेको छ, त्यो पनि सकारात्मक कुरा हो । यसपाली लगानीकर्ताहरुको उत्साह पहिलेभन्दा बढी देखिरहेको छु ।

सम्मेलन सफल भयो : पद्म ज्योति, व्यवसायी

दुई दिनसम्म यहाँ जुन उपस्थिति देखियो, उहाँहरुले प्रस्तुत गरेका जुन कन्टेन्टहरु थिए, त्यसको गुणस्तर उच्चकोटीको छ । नेपालले पनि राजनीतिक परिवर्तनपछि अब आर्थिक परिवर्तनको बाटोमा जान लागेको देखाउन एउटा राम्रो अवसर पाएको छ । दुई दिनको यो सम्मेलनमा भएका गतिविधी हेर्दा यसलाई सफल मान्नुपर्छ ।

विगतमा भएका सम्मेलन पनि आफ्नो काल परिस्थिति अनुसार महत्त्वपूर्ण नै थियो, त्यही अनुसार उपलब्धिमूलक पनि थियो । सायद हाम्रो इच्छा अनुसारको भएन होला । तर यो पटक चाहीँ हामीले आस गर्नुपर्ने कारण के छ भने नेपालमा एउटा लामो द्वन्द्वपछि शान्तिको स्थापना भएपछि राजनीतिक संरचनाको केही आधार बनिसकेको छ  । राजनीतिले एउटा बाटो लिएको छ, अब आगामी दिनका लागि सोच्ने फुर्सद पनि आएको छ, केही हुन्छ भन्ने अब आशा बढेको छ ।

हामीले सरकारात्मक रुपमा लिएका छौँ : झपट बहादुर बोहोरा, आर्थिक तथा योजनामन्त्री, सुदुरपश्चिम प्रदेश

हामीले यसलाई निकै महत्त्वका साथ हेरेका छौँ । संघीयतामा गइसकेपछि सातै प्रदेशका सरकारका लागि पनि यो सम्मेलन प्रतिक्षाको विषय हो । अझ सुदुरपश्चिमका ठूला परियोजनाका लागि अहिले तत्कालै लगानी सम्झौता हुन नसकेपनि आगामी दिनमा यसको खोजीनीति गरेर लगानीकर्ता आउँछन् भन्ने हाम्रो बुझाइरहेको छ । लगानी बोर्डले सुदुरपश्चिमको तर्फबाट ७ वटा परियोजना राखेको छ । हामीले ९ वटा योजनाहरु सुदुरपश्चिम प्रदेशको तर्फबाट अन्र्तराष्ट्रिय लगानीकर्ताका लागि राखेको छ ।

हामीले जुन १६ वटा योजनाहरु लगानी सम्मेलनमा राख्यौँ, त्यसको लागत लगभग १४ खरब जति पर्छ । जसमध्ये जुन ७ वटा लगानी बोर्डले राखेको छ, त्यसको लागत साढे ८ अर्ब हाराहारीमा रहेको छ । अहिले केही योजनाहरुको खोजीनिती भइरहेको छ । केही लगानीकर्ताहरुले चासो पनि देखाएका छन् । केही लगानीकर्ताले छलफल पनि गरेका छन् र आगामी दिनमा यी योजना अघि बढ्छ, यसलाई हामीले सरकारात्मक रुपमा लिएका छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप