मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रवादको कसीमा ओली र प्रचण्ड

बिहीबार, १९ साउन २०७४, ११ : ५८
बिहीबार, १९ साउन २०७४

पहिलो विश्वयुद्धमा फ्रान्ससँग पराजयपछि जर्मन नागरिकहरुमा राष्ट्रभक्तिको भावना चरमचुलीमा पुग्यो । विश्वको भौगोलिक विभाजन र पुनर्विभाजनको लडाइँले विश्व ध्रुवीकरणमा थियो । पराजित भएबापत् बर्सेनि तिर्नुपर्ने जरिवानाका कारण जर्मन नागरिकहरुमा देशभक्तिपूर्ण भावना बढोत्तरी हुनु स्वाभाविकै थियो । अर्कोतिर सन् १९२९–१९३३ को अवधिमा विश्वको पुँजीवादी अर्थतन्त्रमा चरम सङ्कट देखा पर्यो । यी सबै परिघटनाहरुलाई नजिकबाट नियालिरहेका कुटिल खेलाडी एडोल्फ हिटलरले राष्ट्रवादको नारा दिए र सन् १९३३ मा जर्मनीको सत्ता आफ्नो हातमा लिए । 


हिटलरको मूल उद्देश्य युरोपमा कम्युनिस्ट विरोधी र यहुदी विरोधी विचार प्रवाहित गरी सत्ता नियन्त्रणमा लिनुथियो । तर, रुसी समाजवादको प्रभावले विश्वव्यापी तरङ्ग लिइरहेको थियो । तसर्थ, हिटलरले राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी स्थापना गरे । उनको दल युरोपभरि नाजी जातिको एकल सत्ताको स्थापना गर्न चाहन्थ्यो । तर, राजनीतिक र सामाजिक क्षेत्रमा देखापरेको समाजवादप्रतिको लहरका कारण उनले आफ्नो पार्टी समाजवादी पार्टी भएको हवाला दिए । अनि, आफ्नो पार्टीको लक्ष्य राष्ट्रियता र समाजवाद भएको भ्रम दिएर जर्मनीमा निरकुङ्श सत्ताको अभ्यास गरे । हिटलरको निरङ्कुश सत्ताको अभ्यास जर्मन नागरिकहरुको देशभक्तिपूर्ण भावनाको ‘ओपन ब्ल्याकमेलिङ’ थियो । फासीवादी र निरङ्कुशतावादी शासनका समर्थकहरुले यसलाई राष्ट्रवादको आदर्श मोडल मान्दै आएका छन् ।


दक्षिण अफ्रिकाका अश्वेत राष्ट्रपति नेल्सन मण्डेला जीवनभर रङ्गभेदका विरुद्धमा लडे । जीवनको उत्तरार्धमा मण्डेला भन्थे, ‘म जीवनभर अफ्रिकी जनताको सङ्घर्ष र मुक्तिका पक्षमा लडेँ, मैले मनमा एउटा विचार राखेको छु, जसमा प्रजातान्त्रिक र स्वतन्त्र समाज छ, जहाँ प्रत्येक व्यक्तिहरु एकताबद्ध भएर, मेलमिलाप गरेर बराबर अवसरहरुका साथ बाँच्नेछन्, यसका लागि म सधैँ मर्न तयार छु ।’ मण्डेलाका उक्त विचार शासनद्वारा उत्पीडिनमा पारिएका जाति र राष्ट्रहरुका निम्ति आदर्श विचार रहँदै आएको छ । उनीहरु यसलाई राष्ट्रियताको प्रगतिशील मोडल मान्दै आएका छन् ।


मण्डेला काला जातिहरुमाथि गरिने अत्याचार र रङ्गभेदका विरुद्धको सङ्घर्षमा समर्पित थिए । उनी ठान्थे, ‘प्रत्येक जाति राज्यको दृष्टिमा बराबर छ, उनीहरुलाई राजकीय सत्ता र समाजमा बराबरीको अधिकार प्रत्याभूत हुनुपर्दछ ।’ तर, मण्डेलामाथि काला जातिलाई उचालेर राज्य विप्लव निम्त्याएको गम्भीर अभियोग लाग्यो । सन् १९६२ मा उनी समातिए र आजीवन काराबासको सजाय सुनाइयो । उनको प्रजातान्त्रिक र प्रगतिशील राष्ट्रवादी विचारले अन्ततः विजय हासिल गर्यो र सन् १९९४ मा उनकै नेतृत्वमा बहुजातीय राष्ट्रिय सरकार बन्यो । सन् १९९३ मा मण्डेलाले विश्व शान्ति नोबेल पुरस्कारसमेत प्राप्त गरे । आज तिनै मण्डेला विश्व इतिहासमा रङ्गभेदको अन्त्य, बहुराष्ट्रिय प्रजातन्त्रको स्थापना र प्रगतिशील राष्ट्रवादका प्रवर्तकका रुपमा प्रख्यात छन् ।


वि.सं. २००७ सालमा जनताको सङ्घर्षको बलमा स्थापित शिशु प्रजातन्त्रलाई निमोठ्न राजा महेन्द्रले राष्ट्रियताकै नारा दिए । उनको राष्ट्रियताको दायराभित्र महिला, दलित, मुस्लिम, आदिवासी, जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृतहरु अट्दैनथे । १२५ भन्दा बढी जाति, १०० भन्दा बढी भाषा, दर्जनौँ धर्म, विभिन्न जाति र समुदायका आफ्नै मौलिक संस्कृति भएको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलूकभित्र सबैले समान अवसरका साथ बाँच्न पाएनन् । त्यसैको परिणामस्वरुप नेपालमा सङ्घीयता र जातीय, क्षेत्रीय मुक्तिको बहस अगाडि आयो । आज नेपाली समाज जुन धरातलमा उभिएर राजनीतिक मुद्दाहरुको अभ्यास गर्दैछ, त्यो उत्पीडनको अन्त्य र नागरिकहरुको समान अवसरको आकाङ्क्षाकै प्रतिफल हो ।


वर्तमानमा नेपालका दुई राजनीतिक पार्टी र नेता राष्ट्रवादको आफ्नै मोडल र बहसमा छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जातीय मुक्तिको नाराले राष्ट्रिय एकता र सामाजिक सद्भाव कमजोर हुने आफ्नो विचारलाई राष्ट्रवादी विचारका रुपमा प्रस्तुत गर्दै आएका छन् । आन्तरिक वा सार्वजनिक मञ्चहरुमा उनी खुलेआम घोषणा गर्छन्, ‘एमाले र म जीवित रहुञ्जेल राष्ट्रिय एकता कमजोर हुन दिन्नँ । म राष्ट्रिय एकता र सामाजिक सद्भावको पक्षमा छु, जातीय, क्षेत्रीय मुक्ति र पहिचानको कुरा एमाले सुन्न पनि चाहँदैन ।’ राष्ट्रवादको पहिलो मोडलका पक्षधरहरु ओलीको अडानलाई राष्ट्रिय अडान र स्वाभिमानको प्रतीक ठान्छन् ।


राष्ट्रियताको अर्को बहसमा माओवादी केन्द्र र यसका अध्यक्ष प्रचण्ड छन् । उनको राष्ट्रियता एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत मोडलभन्दा ठीक विपरीत छ । प्रचण्ड भन्छन्, ‘उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गलाई समान अधिकार दिएर, उनीहरुको पहिचान र अधिकार स्थापित गरेर मात्र राष्ट्रियतालाई बलियो बनाउन सकिन्छ । एउटा शासक हुने र अर्को शाषित हुने मनोविज्ञान बोकेर राष्ट्रियता बलियो बन्नै सक्दैन । कुनै एउटा भाषा, भूगोल, जाति वा समुदायको पक्षमा उभिएर अरु जातिमाथि दासत्व लादेर राष्ट्रियता बलियो बन्दैन । बरु, त्यसले राष्ट्रवादको नाममा नश्लवाद हुँदै फासीवादमा पुर्याउँछ ।’


प्रचण्डको राष्ट्रवादले महिलाको अधिकार खोज्छ, दलितहरुमाथिको विभेद र अपमानको अन्त्यको वकालत गर्दछ । अनि, जनजाति, मधेसी, मुस्लिमलगायतका जाति र समुदायको पहिचान एवं अधिकार स्थापित गर्दै राज्यमा बराबरीको हक खोज्दछ । प्रचण्डको राष्ट्रवादले हिमाल, पहाड, तराई–मधेसको सुदृढ राजनीतिक र भावात्मक एकताको वकालत गर्दछ । उनको राष्ट्रवाद राज्यद्वारा लादिने कानुनी एकता होइन, सबै भूगोल, जाति र समुदायबीच पैदा हुने स्वेच्छिक र भावनात्मक एकता हो, जसको केन्द्रमा राज्य रहन्छ ।


ओलीको राष्ट्रवादले भन्छ, ‘राष्ट्रियता भनेको भूगोल हो, सीमाना हो । राष्ट्रिय अखण्डता र भौगोलिक एकता हो । भूगोल र सीमाना बलियो भयो भने राष्ट्रियता स्वतः बलियो भएर जान्छ ।’ उनका दृष्टिमा विदेशी हस्तक्षेपबाट मुक्त राष्ट्र नै असली अर्थमा राष्ट्रियता हो । यसले नै नागरिकको आत्म स्वाभिमान बढाउँछ र एकतालाई अक्षुण्ण राख्छ । तर, राष्ट्रियताको ओली परिभाषासँग प्रचण्ड सहमत छैनन् । प्रचण्ड भन्छन्, ‘राष्ट्रियताभित्र भूगोल र सीमानाको आफ्नै महत्व छ । तर, राष्ट्रियताको मुख्य पक्ष निश्चित भूगोल र सीमानाभित्र बस्ने नागरिकहरुको बलियो आत्मिक एकता हो । आन्तरिक एकता सुदृढ गरेर मात्र बाह्य चुनौतीको सामना गर्न सकिन्छ, स्वाधीनता र अखण्डताको रक्षा गर्न सकिन्छ ।’


ओलीको राष्ट्रवादले पहाडि खस–आर्य मनोविज्ञानको वकालत गर्दछ । उनको राष्ट्रवाद नाजी जातिको एकल अधिपत्यको हिटलरको नश्लीय राष्ट्रवादको वरिपरि घुमेको देखिन्छ । आफू जुन समुदायमा जन्मे र हुर्किए, जुन सभ्यता र संस्कृतिबाट आए, त्यसलाई नै सिङ्गो नेपालको सभ्यता, संस्कृति र स्वाभिमान ठान्ने उनको चिन्तन छ । यो राष्ट्रिय चिन्तन नभएर नश्लीय चिन्तन नै हो । आदिवासी, जनजाति, मधेसी, महिला, दलित  लगायतका वर्ग र समुदायमाथि उनी जे–जस्ता आरोपहरु लगाउँदै आएका छन्, यसले उनी राष्ट्रिय चिन्तन र धाराको प्रतिनिधित्व गर्दैनन् भन्ने कुरालाई नै प्रमाणित गर्दछ ।


ओलीको जस्तै मधेसी राष्ट्रवादको वकालत गर्ने प्रवृत्ति पनि नेपाली राजनीतिमा विद्यमान छ । मधेसलाई मात्रै नेपाल देख्ने, मधेसीको एकल अधिकारलाई मात्रै राष्ट्रियताका अर्थमा परिभाषित गर्ने यो प्रवृत्ति पृथकतावादका रुपमा अगाडि आएको छ । यो प्रवृत्तिले मधेसमा मधेसी समुदायबाहेक अरु कसैको अस्तित्व स्वीकार्न गर्न सक्दैन । यो पनि राष्ट्रवादको क्षेत्रीय स्वरुपमा उदाएको निरङ्कुशतावाद नै हो । अन्ततः यो पृथकतावादी चिन्तनले पनि राष्ट्रियतालाई बलियो नभएर थप कमजोर बनाउँछ ।


ओलीद्वारा अघि सारिएको पहाडि राष्ट्रियता र मधेससम्बद्ध दलहरुद्वारा अघि सारिएको मधेसी राष्ट्रियता राष्ट्रवादका नाममा अघि सारिएका नश्लीय चिन्तन नै हुन् । यी दुवै प्रवृत्तिले सबै जाति, धर्म, लिङ्ग, समुदाय र भूगोलको समान अधिकार, आत्मसम्मान र बराबरीको हकमाथि नियन्त्रणको सोंच राख्दछन् । यी प्रवृत्तिले निश्चित भूगोल र समुदायको प्रतिनिधित्व त गर्दछन् । तर, सिङ्गो राष्ट्रको भौगोलिक र नागरिक आकाङ्क्षाको प्रतिनिधित्व गर्न सक्दैनन् । क्षणिक दृष्टिले अन्धराष्ट्रवादप्रति नागरिकको आकर्षण रहन्छ र ती प्रवृत्ति शक्तिशाली पनि बन्दछन् । तर, प्रकारान्तरले त्यसले दुर्घटना नै निम्त्याउँछ । 


राष्ट्रियताकै नारा अघि सारेर जर्मनीमा हिटलरको सत्तागमन भयो । नागरिकको समर्थनबाट औधी हौसिएर उनी निरङ्कुशताको अभ्यासतिर लागे, यहुदीहरुमाथिको निर्मम दमन र अत्याचार एवं समाजवादी रुसमाथिको उनको गिद्देदृष्टिले फासीवादी बाटो हुँदै अन्ततः हिटलर पतन भए । तात्कालीन दृष्टिले अन्धराष्ट्रवादले नागरिकको ध्यान खिच्न सफल भए पनि प्रकारान्तरमा त्यो पतन भएरै जान्छ भन्ने हिटलरको शासन काल एक ज्वलन्त उदाहरण हो । एमालेको अहिलेको लोकप्रियता, प्रवृत्ति र राजनीतिक कदमहरु त्यतैतिर परिलक्षित छन् भन्दा अन्यथा नहोला ।


माओवादी र प्रचण्डका दृष्टिमा राष्ट्रियताका दुई आयाम छन् । पहिलो, देशभित्र बसोबास गर्ने सम्पूर्ण भूगोल र नागरिकको सुदृढ एकता र दोस्रो, बाह्य हस्तक्षेप र अतिक्रमणबाट मुक्त देश । माओवादीले यसलाई आन्तरिक र बाह्य राष्ट्रियताको एकत्वको अर्थमा परिभाषित गर्दै आएको छ । जतिबेला देशभित्रको एकता सुदृढ हुन्छ, त्यति बेला मात्रै बाह्य हस्तक्षेप र अतिक्रमणबाट देशलाई मुक्त पार्न सकिन्छ । देशभित्रकै भूगोल, जाति, समुदाय र मनोविज्ञानलाई खण्डित गरेर, अपमान गरेर वा दमनमा राखेर बाह्य शक्तिविरुद्ध लड्न सकिँदैन । आन्तरिक एकता सुदृढ गरेर बाह्य हस्तक्षेपका विरुद्ध दृढतापूर्वक उभिने नीतिलाई नै माओवादी र प्रचण्डले प्रगतिशील राष्ट्रवाद भन्दै आएका छन् । प्रचण्डको राष्ट्रियता ‘भाइ फुटे, गवार लुटे’ नेपाली किंवदन्तीबाट मुक्त नेपालको सपना हो ।


ओलीको राष्ट्रियतासम्बन्धी नीति असाध्यै अस्थिर र ढुलमूले चरित्रको देखिन्छ । जतिबेला महाकाली सन्धि हुँदै थियो, नेपाली राजनीतिले असमान र अपमानपूर्ण महाकाली सन्धिको प्रमुख हर्ताकर्ताका रुपमा ओलीलाई चिन्यो । त्यसयताका अधिकांश राजनीतिक र कूटनीतिक परिघटनामा उनी दक्षिणप्रति नरम नीति राखेरै राजनीतिको केन्द्रमा आए । राजनीतिक परिस्थितिले उनका सामु सत्तालाई राष्ट्रियताको कूँजीसँग जोड्नैपर्ने बाध्यता आइलाग्यो । ठीक त्यही बिन्दुमा उनी राष्ट्रिय स्वाभिमानको पक्षमा उभिए । उनको राष्ट्रवादले देशभित्रको आन्तरिक एकता र अधिकारलाई सम्बोधन गर्न सकेन । त्यसैको परिणामस्वरुप अहिले उनी पहाडे राष्ट्रवादको धरोहरका रुपमा नेपाली राजनीतिमा छन् । 


समग्रमा ओलीको राष्ट्रवादलाई हिटलरको राष्ट्रवादसँग तुलना गर्न सकिन्छ । यद्यपि, राजनीतिक वृत्तमा हिटलरको जस्तै निरङ्कुश कदम चाल्ने परिस्थिति र सोंचमा उनी छैनन् । तर, पछिल्लो समय उनीमा विकसित अहङ्कार, अरु दल र नेताहरुमाथि गरेको अपमान र रोषपूर्ण व्यवहारले उनी अधिनायकवादी कित्तातिर धकेलिँदै गएको छनक मिल्छ । प्रत्येक भाषणमा झल्कने त्यो अहङ्कार अन्ततः एमाले र देशकै एकता र सद्भावका निम्ति घातकसिद्ध हुने देखिन्छ । 
जतिबेला मण्डेलाले रङ्गभेद अन्त्यको नारा उठाए, त्यतिबेला शासकहरु उनलाई राष्ट्रिय एकता कमजोर बनाएको, जातीय सद्भाव खल्बलाएको र राज्यविरुद्ध गम्भीर अपराध गरेको अभियोग लगाएका थिए । आज फरक सन्दर्भमा प्रचण्डले वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक मुक्तिको मुद्दा उठाएका छन्, जुन मण्डेलाले उठाएको जातीय विभेदको अन्त्य र सुदृढ राष्ट्रियताको मुद्दा नै हो । यद्यपि आजको दुनियाँ, सामाजिक मनोविज्ञान र मानव चेतना मण्डेलाको समयको जस्तो पक्कै छैन । रङ्गभेद विरुद्धको लडाइँमा मण्डेला जस्ता आरोपहरुको सामना गरे, प्रचण्ड र माओवादी नयाँ सन्दर्भमा तिनै आरोपहरुको भिन्न ढङ्गले सामना गरिरहेको छ ।


निचोडमा भन्नुपर्दा एमाले र ओलीले उठाएको राष्ट्रियताको बहस हिटलरकै नाजीवादी प्रभुत्ववादमा आधारित देखिन्छ । ओलीको सोचले राष्ट्रिय एकता बलियो पार्दैन । बरु जातिहरुबीच नयाँ द्वन्द्व, क्षेत्रीय असन्तुलन र घृणालाई नै जन्म दिन्छ । यसको अन्तिम रुप नश्लवाद हुँदै निरङ्कुशतावाद नै हो । अनि, प्रचण्डले अघि सारेको प्रगतिशील राष्ट्रवादको मुद्दा हिमाल, पहाड र तराई–मधेसलाई जोड्ने सेतु हो, देशभित्र विद्यमान सबै भूगोल, जाति, भाषा, समुदाय र लिङ्गलाई बलपूर्वक होइन, स्वेच्छिक र आत्मिक एकताको सूत्रमा बाँध्ने दृष्टिकोण हो । तसर्थ, ओलीको नश्लवादलाई प्रचण्डको प्रगतिशील राष्ट्रवादसँग तुलना गरेर हेर्नु राष्ट्रियताकै निम्ति घातक हुन जान्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनहरि तिमिल्सिना
मनहरि तिमिल्सिना
लेखकबाट थप