विकास निर्माणमा ढिलासुस्ती हुन दिइन्न : मुख्यमन्त्री गुरुङ
बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विकास निर्माणमा ढिलासुस्ती हुन नदिइने बताएका छन् ।
यहाँ आयोजित पत्रकार भेटघाटमा उनले मुख्य योजनाको अनुगमन तथा निरीक्षणमा आफैं सहभागी हुने बताए ।
अनुगमन फितलो हुँदा योजनाको काम ढिलो र गुणस्तरहीन हुने गरेको मुख्यमन्त्री गुरुङको भनाइ थियो ।
‘अब त्यसमा कडाइ गरिन्छ,’ उनले भने, ‘निर्माण क्षेत्रको बेथिति हटाउन सार्वजनिक खरीद ऐनलाई संशोधन गर्नुपर्छ ।’
मुख्यमन्त्री गुरुङले सङ्घीय सरकार मातहतका ठूला आयोजनाको व्यवस्थापनको जिम्मा प्रदेशलाई दिनुपर्ने धारणा राखे । सङ्घीयताको मर्म विपरीत स्रोत र शक्तिलाई सङ्घमा सीमित गर्न नहुने उनको भनाइ थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश इञ्चार्ज गुरुङले आजै कार्यकर्तासँगको भेटघाटमा यही चैतभित्र पार्टी एकता टुङ्गिने बताए । ‘गाउँ, वडातहदेखि केन्द्रसम्मको एकता चैतभित्रै हुन्छ,’ उनले भने ।