बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय नेता बन्ने होडमा मधेसी नेता

बुधबार, १३ चैत २०७५, १५ : १२
बुधबार, १३ चैत २०७५

काठमाडौँ– मधेसका अधिकार र पहिचानका लागि सङ्घर्ष गरिरहेका दल तथा तिनका नेतामा अहिले राष्ट्रिय नेता बन्ने भूतले सताएको टिप्पणी हुन थलेको छ ।  ‘स्वायत्त मधेस, एक प्रदेश’ को नारा लगाउँदै २०६४ सालदेखि निरन्तर मधेस आन्दोलनमा होमिएका ती दलले अहिले आआफ्ना पार्टीको नामबाट ‘मधेस’ तथा ‘तराई’ शब्द हटाएर राष्ट्रिय पार्टी बन्ने होडमा लागेका छन् । त्यति मात्र कहाँ हो र ? स्वतन्त्र मधेस (अलग देश) को नारा बोकेर आन्दोलन गरेको सीके राउतको पार्टीले पनि मधेस शब्द मिल्काएको छ । 

यस्तो किन गरे ? विश्लेषकहरु भन्छन्, ती सबैमाथि राष्ट्रिय नेता बन्ने, राष्ट्रिय दल बनाउने भूत चडेको छ । त्यसो त स्व. गजेन्द्रनारायण सिंहले तराई मधेसको मुद्दामा केन्द्रित भएर आन्दोलन गर्न नेपाल सद्भावना पार्टी गठन गरेका थिए । त्यो दलसँग पनि मधेसको भावना जोडिएको थियो । त्यसपछि गठन भएका सबै दलले आफ्ना पार्टीमा मधेस वा तराई शब्द जोडेर, त्यसैमा केन्द्रित भएर आन्दोलनमा उत्रिएका थिए ।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल अहिले सङ्घीय समाजवादी फोरम नेपाल भएको छ । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी मिलेर राष्ट्रिय जनता पार्टी नेपाल बनेको छ ।

त्यस्तै, विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) लोकतान्त्रिक फोरम नेपाल बनेको थियो । पछि काँग्रेससँग एकीकरण गर्यो । स्वतन्त्र मधेस अर्थात अलग देश नै बनाउने भन्दै अभियानमा थालेका स्वतन्त्र मधेस गठबन्धनका तत्कालीन संयोजक सीके राउत मूलधारका राजनीतिमा आएका छन् । उनले पनि जनमत पार्टी बनाएका छन् । 

अतः मधेस वा तराई नाम जोडेर पार्टी निर्माण गरी आन्दोलन गर्दै अएका सबै दलले अहिले आआफ्नो पार्टीको नामबाट मधेस तथा तराई शब्द हटाएर राष्ट्रिय पार्टीको रूप धारण गराएका छन् । तर अझै पनि ती दलको राजनीतिक आधार क्षेत्र भनेकै मधेस नै हो । मधेसबाट नै चुनाव लडेको छन् । मधेसकै लागि सङ्घर्ष गरिरहेका छन् । जतिले निर्वाचन जितेका छन् सबै मधेसबाट नै प्रतिनिधित्व गरेका छन् ।

फोरम र राजपा नेपालका सबै नेता प्रदेश २ (मधेस) बाट मात्र जितेका छन् । फोरम नेपालले प्रदेश २ मा २९ वटा सिट जितेर प्रदेश सरकार गठन गरेको छ । राजपा नेपालले २५ वटा सिट जितेको छ र फोरम नेपाललाई सरकार निर्माणमा सघाएको छ । राजपा नेपालले त प्रदेश २ बाहेक अन्य कुनै प्रदेशको चुनावमा भागसमेत लिएको थिएन । यहाँसम्म कि राजपा नेपालका सबै शीर्षनेता प्रदेश २ कै छन् । 

उपेन्द्र यादव प्रदेश १ छाडेर मधेसको बाहुल्य रहेको, मधेस आन्दोलनको नेतृत्व गरेको स्थान सप्तरीबाट चुनाव लडेका हुन् । तर मधेसी जनअधिकार फोरम नेपाललाई सङ्घीय समाजवादी पार्टी नेपाल बनाए ।  
यस्तो किन भयो त ? हामीले राजनीतिक विश्लेषक राजेन्द्र महर्जनसँग जिज्ञासा राखेका थियौँ । उनी भन्छन्, ‘ती सबै दललाई राष्ट्रिय पार्टी बन्ने भूत सवार भएको छ ।’ मधेस भनेको क्षेत्रीय शब्द हो भन्ने बुझाइ ती दलका नेतामा रहेको बताउँदै महर्जनले भने, ‘कुनै क्षेत्र विशेषको नाम राख्दैमा क्षेत्रीय हुनसक्दैन । मुख्य कुरा एजेन्डा र विचार हो । मधेस शब्द राख्दैमा राष्ट्रिय दल हुनसक्दैन । नेताहरुले गलत बुझे ।’ 

२०५४ सालमा समाजिक संस्थाको रूपमा गठन भएको मधेसी जनअधिकार फोरम नेपालले त्यतिबेला आफ्नो उद्देश्यमा मधेसको अधिकार, पहिचान र मानव अधिकारका लागि सङ्घर्षरत रहने, सभा सम्मेलन तथा गोष्ठी गर्ने उल्लेख थियो । पछि २०६४ सालमा अन्तरिम संविधान जलाएर आन्दोलनमा आएपछि पार्टीको रूपमा स्थापित भएको थियो । 

त्यसपछि पनि मधेसी जनअधिकार फोरम नेपालकै नामबाट मधेसको हक अधिकारका लागि सङ्घर्षरत रह्यो । २०७० सालको दोस्रो संविधानसभा चुनावमा त्यो दल जब कमजोर भयो अनि यसलाई राष्ट्रिय पार्टी बनाउनुपर्छ भन्ने सोचले अन्य दलहरुसँग एकीकरण गर्दै सङ्घीय समाजवादी फोरम नेपाल बनायो । 

पार्टीको नामबाट नै मधेस शब्द जब हटायो अनि पार्टीभित्र र बाहिर त्यसको विरोध भएको थियो । धेरैले त्यसको आलोचना गरे । मधेस नाम राखेर मधेस जनताको भावनासँग जोडेर मधेस आन्दोलन गर्ने तर आज मधेस शब्दलाई नै छाडेको भनी विभिन्न टीकाटिप्पणी भएका थिए । जवाफमा उपेन्द्र यादवले भनेका थिए, ‘क्षेत्रीय सोच होइन, राष्ट्रिय सोचले अगाडि बढे मात्र मुक्ति सम्भव छ । देशमा पीडित रहेका आदिवासी जनजाति, दलित, मुस्लिम आदिलाई जोड्न सोच पनि ठूलै राख्नुपर्छ ।’

देशैभरि सङ्गठन विस्तार गरे पनि सो पार्टीको आधार क्षेत्र भनेको मधेस नै हो । मधेसको मतले नै त्यो पार्टी ठडिएको छ ।  ‘मधेस शब्द अन्तरविरोधी शब्दको रूपमा प्रयोग हुँदै आएका हुनाले पनि मधेसवादी दलहरुले आआफ्नो पार्टीको नामबाट त्यो शब्द हटाएको हुनुपर्छ’, विश्लेषक महर्जनले भने, ‘मधेस शब्द अन्तरविरोधी शब्दका रूपमा प्रयोग भइरहेको छ । मधेस भन्ने वित्तिकै धेरैले आन्दोलन सम्झन्छन् । विरोधभासका रुपमा सम्झन्छन् तर वास्तवमा त्यो होइन ।’

मधेस राख्दैमा अराष्ट्रिय र मधेस शब्द नराख्दैमा राष्ट्रिय हुनसक्दैन । मुख्य कुरा सोच रहेको बताउँदै उनले नेताहरुका राष्ट्रिय नेता बन्ने सोचले गर्दा यस्तो भएको हो जुन कुरा राम्रो होइन । आन्दोलन मधेसका लागि गर्ने, मधेसको पहिचानको कुरा गर्ने तर व्यवहारमा त्यस्तो नदेखाउनु गलत भइरहेको बताए ।’

आन्दोलनको समयमा एक मधेस एक प्रदेशको नाममा आन्दोलन हुँदा थारुहरुले त्यसको विरोधमा आन्दोलन गरेका थिए । उनीहरुले मधेस होइन, तराई हो भनेर त्यसको विरुद्धमा आन्दोलन नै गरेका थिए । त्यसको नेतृत्व अहिलेको राजपा नेपालका महासचिव राजकुमार लेखी लागयतका थारु नेताले गरेका थिए । 

त्यतिबेला थारु र मधेसीको भावनालाई समेट्न महन्थ ठाकुरले आफ्नो पार्टीमा तराई र मधेस दुईटै शब्द राखेर तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरेका थिए । यसले गर्दा उनका पार्टीमा पश्चिम मधेसका थुप्रै नेता जोडिन पुगेका थिए । पार्टीप्रति थारुहरुको झुकाव पनि बढेको थियो ।

२०६५ मा गठन भएको सो पार्टी नौ वर्ष नबित्दै विभिन्न पार्टीसँग एकीकरण गर्दै राष्ट्रिय जनता पार्टी बनायो । मधेस होइन तराईका लागि आन्दोलन भएको राजकुमार लेखी भन्छन्, ‘राष्ट्रलाई जोड्नका लागि यस्तो गरेको हुनुपर्छ । राष्ट्रिय पार्टी बनाउनका लागि मधेस तथा तराई हटाएको मलाई लाग्छ ।’

विजयकुमार गच्छदारका तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट अलग भएका शरतसिंह भण्डारीले छुट्टै पार्टी गठन गर्नेबेला पार्टीका नाम राख्न बानेश्वरस्थित मसला कटेजमा केही पत्रकार तथा बुद्धिजीवीलाई छलफलका लागि बोलाएका थिए । 

त्यहाँ उनले भनेका थिए, तपाईंहरुले पार्टीको नाम जस्तोसुकै राख्नुस् तर मधेस शब्द छुट्नु हुँदैन है !  र, त्यहीँबाट राष्ट्रिय मधेस समाजवादी पार्टी नामकरण भएको थियो । तर आज उनले पनि राष्ट्रिय जनता पार्टी नेपाल बनाएका छन् । तमलोपाबाट अलग भएका महेन्द्रराय यादवले अर्को पार्टी गठन गर्दा तराई मधेस छोड्नु हुँदैन भन्दै तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल बनाएका थिए ।

पछि रामनरेश राय यादव नेतृत्वको राष्ट्रिय सद्भावना पार्टीसँग एकीकरण हुँदा पनि उनले तराई मधेस छाडेनन् । तराई मधेस सद्भावना पार्टी बनाए । त्यतिबेला उनले तराई मधेसका लागि आन्दोलन गर्ने तर नाममा पनि कन्जुस्यायी गर्ने भनी सद्भावना पार्टीका नेताहरुप्रति टिप्पणी गरेका थिए ।’

राजपा नेपाल अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव भन्छन्, ‘राष्ट्रिय राजनीतिमा आफ्नो हिस्सा लिनका लागि पार्टीको नाम परिवर्तन गरेका हौँ ।’ मधेस वा तराई राख्दा क्षेत्रीय पार्टीको रूपमा देखिन्छ । देशका सम्पूर्ण उत्पीडित समुदायको मुक्तिका लागि राष्ट्रिय पार्टी बनाउनका लागि नै यस्तो गरिएको उनले दाबी गरे । पहिला मधेसको भावनासँग जोडेर आन्दोलन गरेका तर अहिले सबैको भावनालाई जोड्ने कोशिसमा छौँ, देशका सम्पूर्ण उत्पीडित समुदाय एक ठाउँ नआएसम्म कसैले मुक्ति पाउँदैनन् । त्यसको सुरुवात भएको छ, त्यसमा केही समय लाग्छ’, उनले भने ।

पूर्वराजदूत एवम् राजनीतिक विश्लेषक विजयकान्त कर्ण भन्छन्, ‘मधेसी नेताले ठूलो गल्ती गरिरहेका छन् । कुरा मधेसको गर्ने, आन्दोलन मधेसका लागि गर्ने तर मधेस शब्द राखेमा राष्ट्रिय नेता हुनसक्दैन कि भने भय मधेसी नेतामा रहेको छ ।’ कुरा क्षेत्रीय गर्ने तर राष्ट्रिय नेता बन्ने भूत मधेसी नेतामा देखिएको हुँदा यस्तो भएको उनले बताए । प्रदेश २ मा सीमित भएका दलका नेतहरूले पनि आफूलाई राष्ट्रिय नेता देखाउनका लागि पार्टीका नाम परिवर्तन गरेकोप्रति टिप्पणी गर्दै उनले भने, ‘प्रदेशको मुख्यमन्त्रीसमेत बन्न नचाहने नेताहरु पनि छन् ।’

मधेस आन्दोलन हुँदा उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुर, मातृका यादवमध्ये एकजना मुख्यमन्त्री बन्ने चुनावका समयमा विश्लेषण भइरहेको थियो । मधेसका जनताले पनि त्यही अनुसार नारा पनि लगाइरहेका थिए । तर राष्ट्रिय नेता बन्ने भूत यसरी लाग्यो कि उनीहरु प्रदेशमा चुनाव लड्न पनि मानेका थिएनन् ।

अहिले पनि मधेस प्रदेशमा बलियो मुख्यमन्त्री हुन नसकेको गुनासो भइरहेको छ । प्रदेश २ बाहेक अन्य प्रदेशमा राष्ट्रिय छवि बनाएका नेताहरु मुख्यमन्त्री बनेका छन् तर मधेसमा त्यस्तो कोही पनि मुख्यमन्त्री बन्न नचाहेको गुनासो भइरहेको छ । 

मधेसका बारेमा थुप्रै अध्ययन अनुसन्धान गरेका भाष्कर गौतमको धारणा पनि त्यस्तै छ । जति पनि मधेसका दलहरु थिए, सबै क्षेत्रीय राजनीतिक गरे पनि आफूलाई राष्ट्रिय नेताको रूपमा प्रस्तुत गरेको उनले टिप्पणी गरे । ३ प्रतिशतको थ्रेसहोल्डका लागि क्षेत्रीय राजनीतिबाट राष्ट्रिय राजनीतिमा आउन बाध्य भएका ती दलहरुको आधार क्षेत्र अझै पनि त्यही रहेको उनले बताए ।

उनले भने, ‘दुई नम्बर प्रदेशमै खुम्चिने हो कि खतराबाट मुक्ति पाउन नेताहरुले त्यस्तो गर्नुभएको हो ।’ यद्यपि नामले केही फरक पर्दैन, सबै कुरा कामले हुन्छ तर मधेस केन्द्रित दलले काम गर्न नसकेको पनि उनको टिप्पणी छ । 

सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनलाई मूलधारमा ल्याउन मुख्य भूमिका खेलेका जनमत पार्टीका नेता चन्दन सिंह भन्छन्, ‘हामीले मधेसको मिसन छाडेका छैनौँ, हामीले जनमत संग्रहको कुरा मुख्य रूपमा उठाएका कारण जनमत पार्टी नाम राखेका हौँ । तराई वा मधेस पनि जोड्न सकिन्थ्यो तर पछि त्यस्तो गर्ने सोच रहेको छ ।’

विगतमा मधेस वा तराई शब्द जति प्रयोग गरे अहिले त्यति नै खण्डन भएको भएको बताउँदै उनले पूर्व पश्चिम जोड्नका लागि पनि पार्टीको नाममा ख्याल गर्नुपर्ने अवस्था रहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप