शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चैत १२, प्रदेश नम्बर ५ हेडलाइन: कहाँ के–के भयो ?

मङ्गलबार, १२ चैत २०७५, १९ : ३०
मङ्गलबार, १२ चैत २०७५

सरकार निरङ्कुश बन्दै गयोः काँग्रेस नेत्री संग्रौला

बुटवल– नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले केपी ओली नेतृत्वको सरकार एकपछि अर्को गर्दै निरङ्कुश बन्दै गरेको दाबी गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा.संग्रौलाले सरकारले सिके राउतसँग सम्झौता गर्नु र विप्लवलाई प्रतिबन्ध लगाउनुले फेरि मुलुकमा निरंकुशता जन्माउन सक्ने उनले आशंका ब्यक्त गरिन् ।

संग्रौलाले राष्ट्रियता र स्वाभिमानमा आँच आउन नदिन नेपाली काँग्रेसले ध्यानाकर्षण र खबरदारी जारी राख्ने सो क्रममा बताइन् । मुलुक संघीयतामा गइसकेपछि पनि प्रमुख जिल्ला अधिकारीलाई सुरक्षाको अधिकार दिन खोज्नु संविधानको मर्म विपरित भएको जिकिर गर्दैै उनले  पार्टीको विरोध हुँदाहुँदै सवैधानिक परिषदले एकलौटी गर्नु निन्दनीय भएको बताइन् । उनले प्रदेश भित्रको सुरक्षाको जिम्मा र अधिकार मुख्यमन्त्रीलाई दिनुपर्ने पनि धारणा राखिन् ।

संग्रौलाले विरोधको सूचनामाथि छलफल नभएसम्म प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा संवैधानिक परिषदको बैठकमा सहभागी नहुने पनि बताइन्  । नेपाल महिला संघकी निवर्तमान सभापति समेत रहेकी डा.संग्रौलाले निर्मला हत्याकाण्डका दोषीलाई प्रधानमन्त्री र गृहमन्त्रीले सिंहदरबारबाटै संरक्षण गरेको आरोप लगाइन् । 

संग्रौलाले बहुमतको सरकार आएको एक वर्ष वितिसक्दा पनि मुलुकमा शान्ति र सुशासन कायम हुन नसकेको बताउँदै सरकारले भ्रष्टाचार, महंगीलाई प्रशय दिएको आरोप लगाइन् ।

पाँच बर्षदेखि फरार अभियुक्त दाङ्ग प्रहरीद्धारा पक्राउ

बुटवल– लेनदेन मुद्धामा दोषी ठहर भई  गत पाँच बर्षदेखि फरार रहेका एकजना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरि अदालतमा पेश गरेको छ ।  दाङ जिल्ला अदालतले २०७३ साल चैत्र १६ गतेका दिन उक्त मुद्धामा दोषी ठहर गरिएका तुल्सीपुर उप–महानगरपालिका–५ (ग) लाईन बस्ने बर्ष ३९ का यादवप्रसाद भण्डारीलाई  सोही नगरपालिका–५ को गुमराहचोकमा लुकीछिपी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

पुनः जिल्ला अदालत दाङले १ लाख ३५ हजार कोटर्फी  रकम ४ हजार ८ सय ७४ रुँपैया  २०७१ साउन ९ गते देखि भरी भराउ हुँदाका दिन सम्मको ब्याज भराई पाउने ठहर गरि भएको फैसला बोमोजिम साँवा, ब्याजसहित ल्याई अदालतमा उपस्थित हुने भनि सुचना म्याद सहित पठाउँदा समेत उपस्थित नभएका हुँदा विगो वाफतमा पुनः ६ महिना  कैद गर्ने गरि २०७४ चैत्र १६ गते  सो अदालतले फैसाला गरेको थियो ।

भारतीय नहरमा पानी रोक्ने चेतावनी

परासी– लामो समयदेखि क्षतिपूर्तिको आशामा बसिरहेका पश्चिम नवलपरासीको गण्डक बाढी पीडितहरुले गण्डक नहरमा पानी रोक्ने चेतावनी दिएका छन् । पीडितहरुलाई क्षतिपूर्ति दिलाउन नेपाल तथा तथा भारत सरकारले चासो नदेखाएकाले बाध्य भएर आउँदो मे महिनामा त्रिवेणी ब्यारेजबाट भारतीय नहरमा पानी रोक्ने चेतावनी दिएका हुन् ।

१४ बर्ष लागातार बाढीको चपेटामा परेका बाढीपिडितहरुले १० बर्षसम्ममा पनि क्षतिपूर्ति नपाउँदा दुःखी हुँदै बाध्य भएर भारतीय नहरमा पानी राक्ने निर्णय गरेको गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ताले जानकारी दिए ।

वि.सं. २०५० सालदेखि २०६४ सालसम्म लागातार १४ बर्ष गण्डक कमाण्ड क्षेत्रमा आएको ढुलो बाढीले साविकको १३ गाविस पूर्ण डुबानमा परि २ अर्ब ९३ करोड ६० लाख ९३ हजार ८३ रुपैया बराबरको क्षति भएको थियो भने सो क्षेत्रका ८ हजार ४ सय ६४ घरधुरीका करिब ५० हजार जनसंख्या पीडित भएको अध्यक्ष गुप्ताले जाकारी दिए ।

लगातार १४ बर्षसम्म गण्डक (नारायण नदी) नदीमा आएको भीषण बाढीले नदीको बाँध फुटी जिल्लाको गण्डक कमाण्ड क्षेत्रका साविक गाविसहरु त्रिवेणी, सुस्ता, रुपौलिया, कुडिया, नर्सही, पक्लिहवा, गुठिपर्साैनी, बैदौली, ठुलो खैरटवा, भुजहवा, सोमनी, जमुनिया र प्रतापपुर लगायत १३ वटै गाविसहरु पूर्ण डुबानमा परि अर्बाैको धनजनको क्षति भएको थियो ।

नेपाल र भारत सरकारबीच २०१६ सालमा भएको २१ बुँदे गण्डक सम्झौतामा गण्डक कमाण्ड क्षेत्रमा यातायात, विद्युत, खानेपानी, सिञ्चाई, स्वास्थ्य, शिक्षा क्षेत्रको विकास गर्ने र बाढीले हुने क्षतिको क्षतिपूर्ति समेत भारत सरकारले व्यहोर्ने दुई पक्षीय सहमति भएको थियो । तर त्यस सम्झौताअनुसार भारत सरकारले केही सडक र विद्युत उत्पादन गृह निर्माण बाहेकको कुनै पनि बुँदा कार्यान्वयमा चासो नदेखाएको पीडितको भनाई छ ।

क्षतिपूर्ति नपाउँदा पीडितहरुले २०६५ सालमा त्रिवेणी ब्यारेजबाट भारतीय नहरमा ३४ दिनसम्म पानी रोकी आन्दोलन गरेका थिए । तर त्यस बेलापनि भएको सहमति कार्यान्वय भएन । क्षतिपूर्ति भराउनका लागि नेपाल सरकारले भारत सरकारसँग कुटनीतिक प्रयास नगरकाले संघर्ष समितिले नै भारत सरकारलाई ४ पटक ज्ञापन पत्रमार्फत ध्यानाकर्षण समेत गराइसकेको छ ।

सन् २०१५ सालमा नेपाल–भारत ज्वाइन्ट कमेटी अफ कोशी गण्डक प्रोजेक्टको बैठकमा भारत सरकारले नेपाललाई गण्डक क्षेत्रमा भएको क्षतिको वृस्तृत अध्ययन प्रतिवेदन, तथा प्राविधिक मुल्याङ्कन गर्न र कुटनीतिक पहलमार्फत आउन सुझाव दिएपनि नेपाल सरकारले अहिलेसम्म प्राविधिक मूल्याङ्कनका साथै कुटनीतिक प्रयास पनि नगरेको संघर्ष समितिका प्रवक्ता बृजराज कुश्वाहाले जानकारी दिए ।

अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण

बुटवल– बुटवल उपमहानगरपालिकाले नगरका अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण सुरु गरेको छ । उपमहानगरले अपाङ्गता परिचयपत्र कार्यविधि–२०७५ जारी गरेसँगै परिचयपत्र वितरण सुरु गरेको हो । 

एक समारोहका बीच उपप्रमुख तथा अपाङ्गता नगर समन्वय समिति संयोजक गुमादेवी आचार्यले बुटवलका तीन जना अपांगता भएका बालबालिकालाई परिचयपत्र वितरण गर्दै उक्त कार्यको शुरु गरिन् । 

आचार्यले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलाई अझ व्यवहारिक एवम् प्रभावकारी बनाउने गरी बुटवल उपमहानगरले कार्यविधि बनाएको दावी गरिन्  ।

संघीय सरकारको अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४ का आधारमा बुटवलले नगर सरकारको कार्यविधि बनाउँदै समावेशीकरण तथा मूल प्रवाहीकरण शाखा मार्फत परिचयपत्र वितरणको काम सुरु गरिएको हो ।

त्यसअवसरमा बुटवल उपमहानगरपालिका–५, का १२ वर्षीया सोनाज वानु, बुटवल–३ का चार वर्षीय देवांशराज कसजू र बुटवल–५, का सात वर्षीय आयान खानलाई अवस्थाका आधारमा परिचयपत्र वितरण गरिएको थियो ।

उपमहानगरले परिचय पत्र अपाङ्गताको अवस्था बमोजिम रातो, निलो, पहेँलो र सेतो गरि चार रंगका परिचय वितरण गर्नेछ । यसका लागि वडा कार्यालयको सिफारिससहित तोकिएको ढाँचोको फारम भरेर उपमहानगरको सम्बन्धित शाखाले प्रत्येक यस्तो परिचय पत्र वितरण गर्नेगरि तालिका तय गरिएको समावेशीकरण तथा मूल प्रवाहीकरण शाखाका सदस्य सचिव दामोदर ज्ञवालीले बताए ।

विप्लव समूहका जिल्ला इञ्चार्ज घरबाटै प्रहरी नियन्त्रणमा

कावासोती– नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी जिल्ला इञ्चार्ज गङ्गा ज्ञवालीलाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ  ।
नवलपरासी पश्चिम बर्दघाट–४ बाढी पीडितस्थित उनको घरबाट राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । पक्राउ परेको ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय पश्चिममा राखिएको छ ।

यसैगरी प्रहरीले नवलपरासी पूर्वबाट सो समूहका नवलपरासी जिल्ला सदस्यलाई समेत पक्राउ गरेको छ । जिल्ला सदस्य कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ४७ वर्षीय धनबहादुर मदनियालाई उनकै घरबाट पक्राउ गरिएको नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

कपिलस्तु प्रहरीद्धारा चोरीको मोटरसाइकलसहित दुइ पक्राउ
बुटवल– मंगलवार कपिलवस्तु प्रहरीले भारतबाट चोरी–पैठारी गरि ल्याईदै गरेको एक मोटर साईकल वरामद गर्नुका साथै चोरी पैठारीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका–६, भिल्मी बन्चौरे नाकाबाट करिब २ लाख मूल्य बराबरको कालो रंङ्गको पल्सर मोटरसाइकल चोरी पैठारी गरि ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय कृष्णनगरको गस्ती टोलीले बरामद गरेको हो ।

उक्त चोरी पैठारीमा संलग्न भारतको वाराजङ्गी जिल्ला थाना ईटालियन ग्रामका ३० वर्षीय मोहमद इसाईल र कपिलवस्तु जिल्ला महाराजगञ्ज नगरपालिका–५ इट्रोलका २१ वर्षीय नियाज धोवीलार्ई पनि प्रहरीले नियन्त्रणमा लिई कृष्णनगर भन्सार कार्यालयमा आवश्यक कार्बाहीका लागि बुझाइएको त्यहाँका प्रहरी प्रवक्ता रवि रावलले जानकारी दिए । उनका अनुसार मंगलवार सोही नगरपालिका–१ बडया टोलका जनार्दन पाठक गोठ जल्दा करिव १ लाख बराबरको क्षति भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप