बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका–मेक्सिको सिमानामा पर्खाल बनाउन अमेरिकी रक्षा मन्त्रालयद्वारा १ अर्ब डलर स्वीकृत

मङ्गलबार, १२ चैत २०७५, १४ : ०८
मङ्गलबार, १२ चैत २०७५

बीबीसी–अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सिमाना पर्खालको लागि १ अर्ब अमेरिकी डलर स्वीकृत गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले लामो समयदेखि दक्षिण छिमेकी मेक्सिकोसँग जोडिएको सिमानामा पर्खाल बनाउने प्रस्ताव गरिरहेका छन् । 

पेन्टागनले हाल स्वीकृत गरेको रकम अमेरिकी सेनाभित्रका इन्जिनियर्सहरुले पाउनेछन् । रक्षा मन्त्रालयले जारी गरेको रकम ट्रम्पले पर्खाल बनाउनकै लागि राष्ट्रिय संकटकाल घोषणा गरेपछिको पहिलो निकासा हो । अमेरिकामा राष्ट्रिय संकटकालको अवस्थामा राष्ट्रपतिले त्यहाँको कँग्रेसलाई बाइपास गर्न सक्छन् । 

अमेरिकी कँग्रेसले आफूले मागेको ५.७ अर्ब अमेरिकी डलर नदिएपछि ट्रम्पले फेब्रअरी १५ मा संकटकाल घोषणा गरेका थिए । विपक्षी डेमोक्रेटले अमेरिकी राष्ट्रपतिबाट भएको घोषणालाई असंवैधानिक भन्दै आएको छ । 

हाल निकासा भएको रकम ९१ किमी तारबारको लागि प्रयोग गरिनेछ ।  राष्ट्रपति ट्रम्पले मेक्सिकोको सीमानामा रहेको अवस्थालाई ‘संकट’ भनेका छन् । उनले निर्वाचन अभियान देखिनै अमेरिकी सीमानातर्फ आउने ‘अपराधी’हरुलाई रोक्नको लागि भौतिक अवरोध आवश्यक भएको बताइरहेका छन् ।  

ट्रम्पका आलोचकहरुले भने ट्रम्पले सिमानाको अवस्थालाई बढाइचढाई गरेको आरोप लगाउने गरेका छन् ।  पेन्टागनले जारी गरेको एक विज्ञप्तिमा अमेरिकी रक्षा मन्त्री(डिफेन्स सक्रेटरी) प्याट्रिक शनाहानले ‘अमेरिकी सेनाको इन्जिनियरहरुको समूहलाई अमेरिकी गृह मन्त्रालय (डिपार्टमेन्ट अफ होमल्याण्ड सेकुरिटी) को लागि सहयोग हुने गरी एक अर्ब अमेरिकी डलर निकासा गरेका छन् । यो रकम यस सम्बन्धमा योजना बनाउन र काम गर्न सुरु गर्न स्वीकृत गरिएको हो,’ भनिएको छ । 

विज्ञप्तिमा एक संघीय कानुनलाई उल्लेख गरिएको छ जसले ‘रक्षा मन्त्रालयलाई सडक र तारजाली निर्माण गर्न र अमेरिकाको अन्तर्राष्ट्रिय सिमाना वारपार भएर बनेका ड्रग्स तस्करीको लागि प्रयोग हुने मार्गमा प्रकास जडान गर्न अधिकार दिन्छ ।’

जारी रकमले ५ मिटर (८ फिट) अग्लो तारजालीको अतिरिक्त सडक सुधार र नयाँ प्रकासको व्यवस्थाको खर्च बेहोर्नेछ ।  डेमोक्रेटिक पार्टीका सिनेटरहरुले पेन्टागनले कोष स्थान्तरण गर्नुअघि उपयुक्त समितिहरुलाई अनुमति नखोजेको गुनासो गरेका छन् ।

 अघिल्लो महिना डेमोक्रेटको बहुमत भएको अमेरिकाको तल्लो सदनमा संकटकाललाई उल्टाउन एक प्रस्ताव लगिएको थियो । तल्लो सदनबाट पास हुने र रिपब्लिकनहरुको बहुमत रहेको माथिल्लो सदनमा पनि संकलकाल उल्टाउने प्रस्तावमा १२ रिपब्लिकनको समर्थन हुने देखिएपछि ट्रम्पले प्रस्तावमाथि राष्ट्रपतीय भिटो लगाइदिएका थिए । 

अमेरिकी संसदमा राष्ट्रपतिको भिटोलाई उल्टाउनको लागि दुवै सदनमा दुई तिहाई बहुमत आवश्यक पर्छ । विज्ञहरुले हालको संसदमा त्यो सम्भव नभएको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप