शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीबाट फर्किएपछि सिन्धुपाल्चोकमा करोडौँको रेन्बो ट्राउट पालन (भिडियो)

मङ्गलबार, १२ चैत २०७५, १३ : १६
मङ्गलबार, १२ चैत २०७५

काठमाडौं–छेउमा बगिरहेको छ, मेलम्ची खोला । नजिकै छ झन्डै साढे २ लाख भूरा र खानयोग्य रेन्बो ट्राउटको फार्म । फार्मसँगै छ क्याफे । हेलम्बु गाँउपालिका वडा नं. २ किउलमा उत्तममणि भण्डारी सहित ३ जनाले विगत ५ वषैदेखि यो व्यवसाय सुरु गरेका हुन् ।

भण्डारीले ७ वर्ष दुबईमा काम गरे । उनीसँगै अन्य दुई जना पनि विदेशबाट फर्किएका हुन । स्वदेशमै केही गर्ने भन्दै ३ जना मिलेर यो व्यवसाय सुरु गरेको उनले बताए । उनले भने, ‘हामी सबै विदेसबाट फर्किएका हौं, यता आएपछि कृषिमा केही काम गर्नुपर्छ भनेर सल्लाह गर्यौ । विदेशिनुमात्र सबै कुरा हैन । यहाँ आफ्नै ठाँउमा पनि केही गर्न सकिन्छ भनेर यो काम गर्न प्रेरित भएका हौँ ।’

अहिले यो फार्ममा ५५ हजार खानयोग्य माछा छन् भने २ लाख भूरा माछा छन् । उनीहरुले खाने माछाका साथै भूरा उत्पादन गर्ने ह्याचरी पनि स्थापना गरेका छ । माछा फार्म ६ रोपनी जग्गामा फैलिएको छ । वार्षिक जग्गा भाडा ४० हजार रुपैयाँ छ । 

फार्म छेउमा रहेको क्याफेमा घुम्न गएकाहरुको अर्डर अनुसार ताजा माछा पकाएर खान पाउने सुविधा पनि छ । 

उत्तमले दुबईमा ७ बर्ष सेल्स असिस्टेन्सको रुपमा काम गरे । विदेशको बसाईमा केही गर्नुपर्छ भन्ने थाहा पाइएको उनले बताए । उनले भने, ‘आफ्नो ठाँउमा पनि केही सम्भावना छ । यहाँ पनि केही गर्दाखेरी हुन्छ भनेर सुरु गरियो ।’ 

विदेशमा कमाएको पैसा यसमा लगानी भएको छ । अहिलेसम्म १ करोडभन्दा माथि लगानी भएको उनले बताए । 

४० लाखबाट सुरु गरिएको यो व्यवसाय सन्तोषजनक रुपमा अघि बढेको छ । बजारका लागि खासै समस्या छैन । उनको फार्मको माछा गोदावरी र नुवाकोटको ककनीमा खपत हुने गरेको छ । 

बिस्तारै मान्छेहरु रेन्बो ट्राउटसँग परिचित हुँदैछन् । ककनीमा रेन्बो ट्राउटका लागि परिचित क्षेत्र भएकोले सिन्धुपाल्चोको माछा नुवाकोटमा खपत हुने गरेको उनले बताए । 

उनले उत्पादन गरेको भूरा माछा भने स्थानीय फार्ममै खपत हुने गरेको छ । हेलम्बु गाँउपालिका भित्र रहेका ९ वटा फार्ममा भूरा बिक्री हुने गरेको छ । 

पछिल्लो समय आर्थिक अवस्था सुर्धान बैदेशिक रोजगारीमा जाने  लहर चलेको छ । उनी भने नेपालमा पनि संभावनाको क्षेत्र पहिचान गरेर काम गर्ने हो भने यहाँ पनि राम्रो आम्दानी गर्न सक्ने बताउँछन् । 

उनले भने–‘नेपालको अहिलेको सन्र्दभ कस्तो छ भने कुनै पनि क्षमतावान मान्छे यहाँ बस्न रुचाउँदैनन् । यहाँ सम्भावना छैन भन्ने कुरा मात्र हुन्छ । हामी ३ जना नै बिदेशबाट फर्किएका हौँ । सानो केही संभावना खोजेर हामीले काम पनि गरेका छौँ, दुई चार जनालाई रोजगारी पनि दिएका छौँ । हामीजस्तै युवाहरुलाई के भन्छु भने हामी पनि आफूले सक्ने सम्भावनाहरु खोजौँ । काम गर्न चाहने हो भने नेपालमा नै धेरै सम्भावनाहरु छ । नेपाल कृषि प्रधानप्रधान देश, कृषि मै केही उद्यम गर्न स्थानीय र केन्द्र सरकारले यूवा स्वरोजगारका कार्यक्रमहरु ल्याएर यूवाहरुलाई पनि काम लगाए भने यूवाहरु बिदेश जानु पर्ने थिएन कि ।’ 


उनको फार्ममा ७ जना कर्मचारी छन् । नेपालमा रेन्बो ट्राउट खेतीको को संभावना त छ तर यो अलि खर्चिलो हुने उनले बताए । ‘यो सी फुड कल्चर अन्र्तगत पर्छ । यसलाई विकास गर्दै जान आवश्यक छ । स्वास्थ्यका लागि धेरै राम्रो भएका कारणले खानाका लागि उपयुक्त छ ।’ उनले भने । 

८ फार्मको चिन्ताः मेलम्चीको पानी काठमाडौं गयो भने के गर्ने ?  
ठूलो लगानी गरेर रेन्बो ट्राउट व्यवसाय सफल भइरहेको बेला अहिले उनीहरुमा चिन्ता पनि थपिएको छ । मेलम्ची खोलाको पानीमा व्यवसाय निर्भर रहेकाले भोली काठमाडौंमा मेलम्चीको पानी गएपछि यहाँको अवस्था के हुने भन्ने बिषयले चिन्तित बनाएको उनले बताए । 

ठीक मात्रामा पानी आउने हो भने माछा पाल्न सक्ने अन्यथा व्यवसाय गर्न संभव नहुने उनको भनाई छ । उनले भने–‘मेलम्चीको पानी सबै सुकाएर लैजाने हो भने संकट हुन्छ । हेलम्बु गाँउपालिमा ८ वटा फार्म मेलम्ची खोलाको पानीमा निर्भर छन ।’

यसबारेमा स्थानीय सरकारलाई पनि पटक पटक भनिरहेको उनले बताए । अहिले उनीहरुले सिन्धुपाल्चोक ट्राउट व्यवसायी संघ पनि स्थापना गर्न लागेका छन् । त्यो संघ मार्फत पनि संबन्धित निकायलाई घच्घच्याउने काम गर्ने उनले बताए ।
हेर्नुहोस् भिडियो :   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप